यु–१४ फुटबल प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
football

पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।

दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा १० दिनसम्म चलेको प्रशिक्षण बुधबार समापन भयो । सहारा एकेडेमीका १३ सहित कुल ३५ जनाले भाग लिएको सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले बताए । ग्रासरुटबाटै फुटबल सिकाउन क्लबले सोको व्यवस्थापन गरेको उनले बताए । उनीहरुलाई किरण श्रेष्ठ, प्रल्हाद हिराचन, सुनिल रानामगरले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणका लागि कास्कीसहित पर्वत, म्याग्दी, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र बागलुङ जिल्लाका बालकहरुलाई आवासीय सुविधा दिइएको थियो ।

जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बाँनिया, सहारा क्लबका मानार्थ सदस्यहरु महेश गुरुङ, लोकबहादुर गुरुङ, मुछेत्र गुरुङ, परिषद्का सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, मञ्च अध्यक्ष दीननाथ बरालले उनीहरुलाई प्रमाणपत्र वितरण गरेको क्लब सचिव टंक पौडेलले बताए ।

प्रशिक्षणमा ८ देखि १४ वर्षसम्मका गरी ८ जिल्लाका बालकहरुले भाग लिएको क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर गुरुङले बताए ।

यसैबीच, सहारा क्लब पोखराले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २८ वैशाखमा आयोजना गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्डलाई यस वर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने सम्बन्धमा बुधबार क्लब अध्यक्ष केशवराज बराल र मञ्च अध्यक्ष दीननाथ बरालबीच सम्झौता भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width