नेपालीपनको कथा ‘धनिरामको गोरू’

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
Dhaniramko goru

पोखरा । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म ‘धनिरामको गोरू’ नाटक मञ्चन तयारी गरिएको छ । केदारनाथ पौडेलले लेखेको यो नाटकको निर्देशन कपिल शर्माले गरेका हुन् ।

यही माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा उक्त नाटक मञ्चन हुने सोमबार पत्रकार सम्मेलनमा पद्मा प्रेम थिएटरकी अध्यक्ष सावित्रा पाठक (सबु) बताइन् ।

उनका अनुसार नाटक हरेक दिन ५ बजे मञ्चन गरिनेछ । शनिबार थप सो (दिउँसो १) बजे पनि हुनेछ ।

अध्यक्ष सबुले यो नाटक समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको बताइन् ।

नाटककार केदारनाथ पौडेलले यो नाटक विशुद्ध नेपालीपन कथा भएको उल्लेख गरे । उनले भने, ‘धनिरामको गोरू आफ्नोपनको कथा हो । ग्रामीण समाज र किसानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।’ नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रू, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ । पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत उठाउन खोजिएको उनले बताए । प्रविधिको प्रयोग राम्रोसँग प्रयोग नगर्दा आइपर्ने समस्या पनि नाटकको विषय छ । नाटक १ घण्टा १५ मिनेट लामो छ ।

नाटकमा दिलप्रसाद गुरुङ प्रमुख पात्र हुन् । उनी धनिरामको भूमिकामा छन् । उनीसँगै विभु भुसाल, सबु पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसाललाई देख्न सकिन्छ ।

गएको भदौ २९ मा मात्र स्थापित भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मञ्चन गर्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width