‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ राशि वृद्धि

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
Sarubhakta Photo

पोखरा। ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ को राशि वृद्धि गरिएको छ । २०५७ सालदेखि सुरु गरिएको पुरस्कार विविध कारणले २०६९ सालदेखि रोकिएको थियो । ११ वर्षपछि व्युतिएको पुरस्कार सरुभक्त केन्द्रले वितरणको जिम्मा लिएको छ । कुमदिनी होम्सले प्रदान गर्ने राष्ट्रिय बालप्रतिभा पुरस्कारले केन्द्रले बाड्ने भएपछि नाम पनि परिवर्तन गरी राशि वृद्धि गरिएको छ ।

यो पुरस्कारको राशि ५० हजार पुर्‍याइएको छ । पुरस्कारका संस्थापक सरुभक्तको इच्छा अनुसार केन्द्रले सञ्चालन गर्ने गरी प्रत्येक वर्ष प्रदान गर्नका लागि अक्षयकोषमा १० लाख ५० हजार थप गरी ११ लाख बनाइएको छ । पहिले १ लाख अक्षयकोष रहँदा राष्ट्रिय बालप्रतिभा पुरस्कारको नामबाट वर्षेनी १५ हजार रुपैयाँ पुरस्कार अर्पण गरिन्थ्यो ।
यो वर्षको ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । कम उमेरमा नै गीतसंगीतको क्षेत्रमा सफलता पाएका उनलाई ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौंको महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत ठकुरीलाई यही माघ २७ गते पोखरामा एक समारोहका बीच पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए । आफ्नो प्रतिभामार्फत् देशको इज्जत र प्रतिष्ठा कायम गर्न सफल बालप्रतिभालाई केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ थियो ।

पुरस्कृत हुन लागेका बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म १ सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन् । उनी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप भएका थिए ।

१२ वर्षीय ठकुरी यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’ लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताइन् ।

यसअघि उक्त पुरस्कारबाट विसं २०५७ मा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, विसं २०५८ मा नृत्यमा ज्योति थापा, विसं २०६० मा गायनतर्फ ऋतु लामा, कलामा विसं २०६१ म शिखा कटुवाल, विसं २०६२ मा कला क्षेत्रमा करुणा गुरुङ, विसं २०६४ मा खेलकुदतर्फ सिपोरा गुरुङ, विसं २०६५ मा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र विसं २०६९ मा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई प्रदान गरिएको थियो ।

विसं २०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’ लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ का नाममा वितरण गर्न लागिएको केन्द्रले जनाएको छ । साहित्यकार एवं संगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

पुरस्कार कोष सञ्चालन, प्रतिभा पहिचान, पुरस्कार वितरणलगायत काम केन्द्रमार्फत् सञ्चालन हुँदै आएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । उनले यसअघि रहेको ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’ लाई गत वर्ष ‘सरुभक्त केन्द्र’ का रूपमा नाम परिमार्जनसहित विधिवत् दर्ता गरी संस्था घोषणा गरिएको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width