बालविवाहविरुद्ध सडक नाटक

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
Street-Drama-Tolka 2

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाहविरुद्ध नाटक प्रदर्शनी गरिएको छ । वडाको हिमालय माविमा उक्त नाटक प्रदर्शनी गरिएको हो । बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा ७ अध्यक्ष भरतमान गुरुङले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अर्कोतर्फ स्वास्थ्य जोखिम पनि हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरे ।

एकीकृत सामुदायिक विकास परियोजना अधिकृत महेश विश्वकर्माले नेपाल दक्षिण एसियामा बालविवाह उच्चदर रहेको मुलुकमध्ये तेस्रो स्थानमा रहेकाले त्यसलाई न्यूनीकरणका लागि नाटक प्रदर्शन गरिएको बताए ।

परियोजनाका सहजकर्ता बलबहादुर केसीले हिमालय बाल क्लबको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, नौलो घुम्ती नेपालको सहजीकरण र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा प्रदर्शन गरिएको बताए ।

कार्यक्रममा शिक्षक त्रिलोचन पौडेल, शिअसंघ अध्यक्ष चेतबहादुर विक, प्रअ शरद् सुवेदीलगायतले बोलेका थिए । नाटक खेलेका १४ कलाकारलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज दुराको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक प्रेमसिंह महराले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width