लकडाउनको शान्तिमा चिरबिराउँदैछन् चराहरु   

रासस
वैशाख ८, २०७७
001

कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ।

सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको लकडाउनमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् । शहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरु ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरूमा अनेकौँ प्रकारका चराले बच्चा कोरलिरहेको उहाँले बताउनुभयो । उहाँले नेपालमा ८८६ प्रजातिका चरा भएको बताउनुभयो।

“ध्वनि प्रदूषण घटेपछि चराले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन्”, चराहरुको खोज, अनुसन्धान र फोटोग्राफी गरिरहनुभएका झापा मेचीनगरका खरेल भन्नुहुन्छ, “चैत–वैशाख धेरै चराले गुँड बनाउने र अण्डा कोरल्ने मौसम हो, लकडाउनले साह्रै राम्रो भएको छ ।” राजमार्ग र बजारभित्रका रुखमा यतिबेला शान्तपूर्वक चराले बच्चा कोरलिरहेको उहाँले जानकारी दिनुभयो।

गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलङ्का र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् । ती आगन्तुक चराचुरुङ्गीलाई लकडाउनले यसअघि कहिल्यै नपाएको स्वतन्त्रता र बच्चा कोरल्ने शान्त वातावरण दिएको नेपाल पक्षी संरक्षण सङ्घका आजीवन सदस्यसमेत रहनुभएका चराविद् खरेलको भनाइ छ । लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन् । हुटिट्याउँ, सिम कुखुरा, बट्टाई चरा खोलाका बगर र सिमखेततिर जताजतै देखा पर्न थालेका छन् । प्रजनन मौसममा लज्जालु स्वभावका चरालाई मान्छेबाट डरत्रास नहुँदा बच्चा कोरोल्न सजिलो भएको छ।

जुरे कोइली, ठूलो जुरे कोइली, रङ्गीबिरङ्गी काजले चरा, सानो मयूर, निलपुच्छ्रे लगायतका दर्जनौँ नयाँ चरा यतिबेला झापाको घरगाउँ छेउछाउका साना वनमा भेटिने गरेको उहाँको भनाइ छ । ती चराले सडक आसपासमा रहेका रुखमा बच्चा कोरलिरहेका छन् । “लकडाउनले सडक सुनसान छन्, मान्छेको चहलपल छैन”, उहाँ भन्नुहुन्छ, “चराचुरुङ्गी साँच्चै रमाएका छन् । लज्जालु स्वभावका चराले यो समयमा सहजरूपमा बच्चा कोरलिरहेका छन्।”

उहाँले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा निर्भर बकुल्ला, टिकटिकेलगायतका चरा खोलाखोल्सीमा बढी देखिन थालेको बताउनुभयो । यी रैथाने चरासँगै विदेशबाट आएका रातो बकुल्ला, पहेँलो बकुल्लासमेत देखिन थालेका छन् । लकडाउनका कारण जमीनबाट हुने प्रदूषण घटेको र वातावरण सफा बनेकाले पनि चराका लागि तराई भूमि अनुकूल बनेको उहाँको भनाइ छ।

लकडाउनमा जङ्गल पस्न निषेध गरिएको हुँदा झापाको बाँसबारी, पाँचपोखरी, थोप्लेविरान, हरियालीलगायतका दर्जनौँ सामुदायिक वनमा मान्छेको चहलपहल शून्य छ । लोपोन्मुख अवस्थामा पुगेका जङ्गलका रैथाने पक्षी मयूर, पानीहाँस र वन कुखुरा (कालिज)हरु प्रशस्त देखिन थालेको छ । “म जङ्गलमा चराका नयाँ प्रजाति खोज्दै र क्यामेरामा कैद गर्दै हिँड्छु, तर भुइँमा चारो खोज्दै हिँड्ने यी चरा पहिला हत्तपत्त देखिँदैनथ्यो”, उहाँले भन्नुभयो, “आजकल जङ्गल छेउछाउ चर्न आएको प्रशस्त देखिन्छन्।”


उहाँले कतिपय प्रजातिका चरा अझै पनि मानवाश्रित रहेको बताउनुभयो । उहाँका अनुसार भँगेरा, काग, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनीहरु मान्छेले दिएका वा फ्याँकेको खानामा मै बाँचेका हुन्छन् तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेको उहाँले बताउनुभयो । भीडभाडमा नडराउने बानी परिसकेका यी चरा मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे । यस्ता आश्रित चरा लकडाउनमा भोकले व्याकुल हुने गरेका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले रैथाने चराका लागि कार्यालय परिसरमा चारोको व्यवस्था गर्नुभएको छ । उहाँले दैनिकजसो बिहान कार्यालय परिसरमै चारो हालेर मानवाश्रित चरालाई सहारा दिँदै आउनुभएको छ।

Related News

सम्बन्धित समाचार

  • बाढीपहिरोबाट तनहुँमा ७ हजार प्रभावित हुने अनुमान   

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    दमौली ।  यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन…
  • जलवायु परिवर्तनका असरबारे चिन्ता

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । जलवायु परिवर्तनको असरबारे एक कार्यक्रमका वक्ताले चिन्ता व्यक्त गरेका छन् । निवृत्त प्राध्यापक समाज पोखरा आयोजनामा शुक्रबार ‘जलवायु…
  • बकुल्लाको बास जोगाउन आग्रह

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८१
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास…
  • अन्नपूर्णमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८१
    पोखरा । विश्व वातावरण दिवस अवसरमा अन्नपूर्ण गाउँपालिका आयोजनामा वृक्षरोपण गरिएको छ । पालिका परिसर, सडक पेटी, वडा. २ र…
  • लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार वृक्षरोपण गरेका हुन् । सामाजिक…

hero news full width