टिकटमा मुक्तक : खचाखच दर्शक, वान्समोर- वान्समोर

आदर्श समाज सम्वाददाता
माघ २१, २०८०
muktak

पोखरा । पोखरा र मुक्तक पर्याय हुन् । पोखरालाई मुक्तकको सहरका रुपमा चिनाउने काम भने पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) ले ग¥यो । मुक्तकको सहर भनेर चिनिएको पोखरामा ३० को दशकबाट साहित्यिक गतिविधिले तीव्रता पायो । पोयुसापले २०३५ माघ २० मा पोखरामा पहिलो पटक टिकटमा मुक्तक आयोजना ग¥यो । हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रमको छाप पछिसम्म पनि परिरह्यो । माधव घिमिरे, तुलसी दिवसहरुलाई बोलाएर बर्सेनि यस्तो कार्यक्रम भइरहे । जसले मुक्तक लेख्नेहरुलाई हौस्यायो । पोयुसापले माघ २० लाई टिकटमा मुक्तक दिवसकै रुपमा स्थापित गरेको छ । ४५ वर्षअघिको दिनलाई स्मरण गर्दै पोयुसापले शनिबार ऐतिहासिक कार्यक्रम ग¥यो ।

पोखरा उद्योग वाणिज्य संघको खचाखच भरिएको प्रेक्षालयमा २९ जनाले गहकिला मुक्तक सुनाए । गैह्रापाटनको त्यही ठाउँमा ४५ वर्षअघि पोयुसापले पहिलो कार्यक्रम गरेको थियो । फरक त्यही हो, त्यतिबेला अहिलेको भवन थिएन । मञ्च बनाएर कार्यक्रम गरिएको थियो ।

युवादेखि अग्रजपुस्ताको उपस्थितिमा रहे पनि मुक्तकमा रमाइलो गर्नेमा युवाहरु नै अगाडि थिए । हुटिङ गर्नेदेखि वान्समोर भन्नेमा युवाकै आवाज सुनिन्थ्यो । मायापिरतिका कुरा मात्र हैन, रुस युक्रेन युद्ध अनि राजनीतिभित्रको विदू्रप रुपका बारेका मुक्तक कार्यक्रममा सुनिए । अमृता पोखरेलको दोस्रो गजलबाट सुरु भएको हुटिङ रामकाजी कोनेका २ वटा मुक्तकमा ‘वान्समोर’ को माग आयो । १ जना मुक्तककारलाई ३ वटा मुक्तक वाचन गर्न दिइएको थियो ।

३५ सालको कार्यक्रममा समेत सहभागी सरुभक्त, बुँद राना, उषा श्रेष्ठ, विश्वविमोहन श्रेष्ठले शनिबार पनि मुक्तक सुनाए । तीर्थ श्रेष्ठ स्वास्थ्यका कारण कार्यक्रममा सहभागी भएनन् । भैरहवाका रुद्र ज्ञवाली, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, डा. ईश्वरमणि अधिकारी, दीपक समीम, सुरेश रानाभाट, सरस्वती श्रेष्ठ सरु, मन क्षत्रीले मुक्तक सुनाए । यसैगरी, लक्ष्मण थापा, गौरी तमु, शिव त्रिपाठी, डा. भूमिराज बस्ताकोटी, जीवनसागर भण्डारी, सरला लामिछाने ‘सरु’ का चतुष्पदीय शैलीका मुक्तकमा दर्शक रमाए । प्राञ्जल, कपिल शर्मा, रुपिन्द्र प्रभावी ‘कटु’, सावित्री गिरी, कृष्ण सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, सञ्जीव पौडेल र श्रीराम अधिकारीले मुक्तक वाचनका लागि मञ्च पाए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भूपीको मुक्तक वाचन गरी कार्यक्रमको दैलो उघारे । भाषण नराखिएको कार्यक्रमबीच सरुभक्तलाई एक राष्ट्रिय पुरस्कार प्रदान गरियो । राष्ट्रिय मुक्तक प्रतिष्ठानले मुक्तक दिवसका अवसरमा प्रदान गरेको ५१ हजार राशिको पुरस्कार मेयर आचार्यले सरुभक्तलाई हस्तान्तरण गरे । पुरस्कार हस्तान्तरणका लागि माघ १८ गते काठमाडौंमा कार्यक्रम राखिएको भए पनि सरुभक्त जान पाएका थिएनन् । प्रतिष्ठान अध्यक्ष रामकाजी कोने सरुभक्तककै सहरमा आएर सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

पोखरेली युवा सांस्कृतिक परिवार आफ्नो स्थापनाकालदेखि नै साहित्य, कला र संगीतको उन्नयन, विकास र सम्वद्र्धनमा निरन्तर रूपले क्रियाशील रहँदै आएको नाफारहित संस्था हो । अध्यक्ष उपेन्द्र पौडेलका अनुसार पोयुसापले टिकटमा मुक्तक कार्यक्रम, सामूहिक साहित्य जयन्ती, तत्स्थानीय चित्रांकन कार्यक्रम, समता काव्य सन्ध्या, समता सांगीतिक कार्यक्रम, समता कला कार्यशाला, पुस्तक प्रकाशन लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । शिरोमणि पुरस्कार, ललितकला पुरस्कार, सोम बज्राचार्य स्मृति संगीत पुरस्कार, अम्बर गुरुङ स्मृति पुरस्कारको स्थापना र सञ्चालन पनि गर्दै आएको छ ।

टिकटमा मुक्तक कार्यक्रम संस्थाको सर्वाधिक लोकप्रिय र ऐतिहासिक कार्यक्रम हो । २०३८ सालमा स्रोताको माग बमोजिम टिकटमा मुक्तक कार्यक्रम लगातार दुई दिनसम्म गरिएको स्मरण गर्छन्, सरुभक्त । अध्यक्ष पौडेल भन्छन्, ‘अहिले विश्वव्यापी रूपमा मुक्तक लेखन र सशुल्क कविता कार्यक्रममा जुन गति आएको छ, त्यसको पृष्ठभूमिमा टिकटमा मुक्तक कार्यक्रमको ठोस योगदान छ ।’

अभिव्यक्ति स्वतन्त्रता नभएको शासनकालभरि निडर र सफलतापूर्वक नियमितरूपले सञ्चालन भएको टिकटमा मुक्तक कार्यक्रमले देश र समाजमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जनमत सिर्जना गरेको थियो । २०३५ सालमा २ रुपैयाँको टिकटबाट सुरु गरिएको कार्यक्रम अहिलेसम्म आइपुग्दा नेपाली साहित्यमा गौरवमय इतिहास नै बनाइसकेको दाबी छ, पोयुसाप उपाध्यक्ष रीता अधिकारीको । उनले भनिन्, ‘पञ्चायती शासनकालभरि नियमित र पछि पनि अनियमित रूपले सञ्चालित यस ऐतिहासिक कार्यक्रमलाई स्मरण गर्न र सम्मान गर्न यस संस्थाले पहिलोपल्ट टिकटमा मुक्तक कार्यक्रम भएकै दिन फेरि एक नयाँ शृंखला जोडेका हौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

trending post

ट्रेन्डिङ्ग