नयाँ राष्ट्रपतिको चर्चा

सम्पादक
माघ १८, २०७९

नयाँ राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गतेका दिन काठमाडौंमा हुने भएको छ । निर्वाचन आयोगले यो मितिको घोषणा गरेलगत्तै नयाँ राष्ट्रपतिको चर्चा अरु चुलिएको छ । राजनीतिक पार्टीहरु एकातिर आफ्नो पक्षकालाई राष्ट्रपति बनाउने प्रयासमा छन् भने गैर राजनीतिक पक्षहरु राष्ट्रपति सकेसम्म संविधान बुझेको तटस्थ व्यक्ति हुनुपर्नेमा जोड दिँदै छन् । देशमा पहिलो राष्ट्रपति डा. रामवरण यादव भएका थिए भने दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी आसीन छन् । तिनीहरुका काम कुराका सम्बन्धमा पनि समीक्षा हुन थालेका छन् । नेपालको संविधानले राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने कुरा उल्लेख छ । नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने तथा संविधानको पालना र संरक्षण गर्ने राष्ट्रपतिको प्रमुख कार्य हुनेछ भनी तोकिएको छ । त्यसको साथै राष्ट्रपतिको काम कर्तव्यमा राष्ट्रपतिबाट सम्पादन गरिने कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ भनी उल्लेख गर्दै त्यस्तो सिफारिस सम्मति प्रधानमन्त्रीमार्फत् पेस हुनेछ भनी लेखिएको छ ।

विगतमा राष्ट्रपतिबाट भएका काम कुराहरु विवादास्पद भएकोले महत्वपूर्ण कामहरु स्थापित भएका छैनन् । राष्ट्रपतिबाट सरकारलाई सहयोग नभएको सिकायत बराबर सार्वजनिक नै हुने गरिएका छन् । राष्ट्रपतिबाट त्यस्तो भूमिका गरिएकाले राजनीतिक पार्टीहरु आफ्नो अनुकूलको राष्ट्रपति बनाउनुपर्नेमा लागि परेका छन् । सत्ता साझेदारका ठूला पार्टी एमालेले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति गर्नुपर्ने जिकिर गरिरहेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल अन्य दललाई पनि स्वीकार्य हुने उम्मेदवार खोज्नमा लागि परेका छन् । उता प्रतिपक्षी कांग्रेस आफ्नै उम्मेदवार खडा गर्ने कसरतमा छ । अन्य दलहरुले पनि आ–आफ्नै किसिमले भूमिका खेल्दै छन् ।

विगतमा राष्ट्रपतिको क्रियाकलापबाट सबभन्दा बढी पीडित कोही छन् भने उनी प्रधानमन्त्री दाहाल नै हुन् । उनले प्रधानसेनापति रुकमाङ्गत कटुवालको मामिलामा राष्ट्रपति डा. रामवरण यादवसँग कुरा नमिल्दा प्रधानमन्त्री पदबाट राजीनामा नै गरेका थिए । त्यस्तै पछि नागरिकताको सवालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग मतभेद भएको सर्वविदित छ । त्यसै भएकाले पनि उनले राष्ट्रिय सहमतिको कुरा ल्याएर नयाँ पासा फ्याकेका छन् । राष्ट्रपति निश्चय नै सर्वोपरी पद हो । तर देशको नेतृत्व भने प्रधानमन्त्रीले नै गर्ने हो । जिम्मेवारी प्रधानमन्त्रीकै हो, नेतृत्व गर्नेलाई अप्ठेयारोमा पार्नु हुँदैन । यो विवेकसम्मत कुरा हो । त्यसकारण नयाँ राष्ट्रपति विवेकशील, तटस्थ, निष्पक्ष र राष्ट्रिय एकतालाई सघाउने तथा सरकारलाई उचित सल्लाह परामर्श दिएर साथ र सहयोग गर्ने हुनुपर्दछ । राष्ट्रपति र प्रधानमन्त्रीबीच वैमनस्यता आउनु हुँदैन । उनीहरु एक अर्काका पूरकका रुपमा रहेर देशविकासको काममा गति दिने हुनुपर्छ । अब आउने राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो जोडी होस् कि जुन जोडी इतिहासकै लागि उल्लेखनीय होस् ।

Related News

सम्बन्धित समाचार

  • स्ववियुको महत्वपूर्ण चुनाव

    सम्पादक चैत्र ७, २०७९
    देशको सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले १४ वर्षपछि यसपटक आफ्नो मातहतका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन…
  • व्यङ्ग्यकलाकार वात्स्यायनको सम्मोहन

    सम्पादक चैत्र ५, २०७९
    सहरीकरणतिर अघि बढिरहेको पोखरामा दिनहुँ राजनीतिक, धार्मिक, सामाजिक एवं सांस्कृतिक समारोह एवं अनुष्ठान हुने गर्दछन् । ती कार्यहरुले पोखरामा निश्चय…
  • आर्थिक पक्षको महत्व सर्वाधिक

    सम्पादक चैत्र ३, २०७९
    आज उपराष्ट्रपतिको निर्वाचनसँगै देशमा चुनावी श्रृङ्खला एक किसिमले समाप्त भएको छ । सबभन्दा पहिले स्थानीय तहको निर्वाचन भएको थियो ।…
  • चीनमा सीजिनफिङ फेरि राष्ट्रपति चयन

    सम्पादक फागुन २९, २०७९
    चीनका राष्ट्रपति सी चिनफिङ फेरि राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई चिनिया जनकांग्रेसले गत शुक्रबार निर्वाचित गरेको हो । राष्ट्रपतिमा…
  • नयाँ राष्ट्रपतिका नयाँ चुनौती

    सम्पादक फागुन २८, २०७९
    समसामयिक राजनीतिका वरिष्ठतम् व्यक्तित्व तथा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भएका रामचन्द्र पौडेल २५ गते सम्पन्न निर्वाचनबाट शानदार मत प्राप्त…

hero news full width