अर्खले गाउँ पहिरोको उच्च जोखिममा,

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
Bhoje Pahiro@Lamjung

लमजुङ, ८ साउन । लमजुङको एक सिङ्गो अर्खले गाउँ पहिरोको उच्च जोखिममा परेको छ । मस्र्याङ्दी गाउँपालिका– ३ स्थित अर्खले गाउँ पहिरोको उच्च जोखिममा परेको हो । पहिरोको जोखिम बढेको हुँदा स्थानान्तरणका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।

आकाश गर्जने र पानी पर्ने बित्तिकै निदाउन नसकिने पहिरोको नजिकै घर रहेका ६५ वर्षीय श्रीप्रसाद गुरुङले बताए । उनले भने ‘रातभरी के र कसो गरी वितारउने भन्ने हुन्छ । घर बाहिर, भित्र गर्दैमा रात कट्ने गरेको छु,’ उनका अनुसार पहिरो घरछेउमै आइसकेको छ । पानी परेपछि बग्न थाल्छ, कुन बेला घरसमेत बगाउँला भन्ने डर छ । उनले भने, ‘पहिरोले गतवर्ष बगाएको खानेपानीको मुहान हिउँद लागेपछि मर्मत गरेका थियौं त्यसलाई पनि यो वर्षको पहिरोले बगाइसक्यो ।’

आफ्नो गाउँमा कुनै पनि समय पहिरो जान सक्ने भन्दै स्थानीय त्रसित भएका छन् । पहिरोका कारणले गर्दा स्थानीय विस्थापित हुन थालेका छन् । गतवर्षको भदौ २७ गते आएको भीषण पानीका कारण चलेको पहिरो आएर गाउँ नै थर्काएपछि स्थानीय टेकबहादुर गुरुङ बेसीसहर झरेर बस्न थालेका छन् । सोही गाउँका वासिन्दा धनराज गुरुङ केही वर्षदेखि बेसीसहर बस्न थालेको बताए ।

बाढी पहिरोबाट बच्नका लागि तत्काल सुरक्षित हुन गाउँलेलाई १५ वटा पाल बाँडिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार उक्त पालले गाउँको दायाँपट्टी पर्ने माथिल्लो चौरमा गोठ निर्माण गरिएको छ र पानी पर्ने बित्तिकै सुरक्षित हुन स्थानीय त्यहाँ जाने गरेका छन् । पहिरोले दायाँ बायाँबाट च्याप्दै ल्याएको स्थानीयवासी जितबहादुर गुरुङ बताए । पहिरोले जोखिममा पारेको घरबाहेक अन्यत्र बस्ने उपाय नरहेको स्थानीय पाते गुरुङले बताए । उनले भने, ‘जति पानी पर्छ, हामीलाई उत्तिकै डर लाग्छ, पानी परेको रात त जाग्रम बसेरनै वित्ने गरेको छ ।’

यसअघि २०५८ मा गाउँ वरपर ठूलो पहिरो गएको थियो । त्यस अघि पनि स– साना पहिरो खस्ने गरेको हुँदा स्थानीयले स्थानान्तरण हुने सोच बनाएका हुन् । अहिले गाउँमाथि करिब ५ सय मिटरबाट छेउछाउ पहिरो झरिरहेको स्थानीय बताउँछन् ।

अर्खले गाउँमा १६ घर रहेका छन् पञ्चकन्या देवी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार यीमध्ये २ घरपरिवार बेसीशहरमा बस्ने गरेका छन् । उनले भने ‘पहिरोले निकै दुःख दिने र डरमर्दाे स्थिति उत्पन्न गरेको छ, पानी पर्न थालेपछि हामी डाँडाका चौरमा जान्छौं ।’ उनका अनुसार जनचेतना प्रावि पनि जोखिममा छ ।

यसबारेमा मस्र्याङ्दी गाउँपालिकामा सम्पर्क गर्दा त्यो जोखिमका बारेमा जानकारी छ अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार पहिरो रोकिएला भन्दा निरन्तर झरिरहेको छ, त्यसले जोखिम बढ्दै गएको छ । उनले भने, ‘अर्खले गाउँ उच्च जोखिममा छ । स्थानान्तरण गर्नुपर्ने लागेको छ,’ उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँलेलाई स्थानान्तरणका लागि निर्णयसहितको आग्रह सरकारलाई पठाएका छौं ।’ अर्खले गाउँमा हिउँदको समयमा पनि सुक्खा पहिरो जान सक्ने डर रहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width