पहिरो पीडितलाई स्थानान्तरणको तयारी

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
pahiro

symbolic pic

लमजुङ, २२ असार । लमजुङमा दुई दशकदेखि चल्न थालेको पहिरोको कष्ट झेल्दै आएका गाउँलेलाई अन्ततः स्थानान्तरण गरिने भएको छ । मस्र्याङदी गाउँपालिका– ५ उपल्लो चिप्ला गाउँबासीलाई स्थानान्तरण गर्न लागिएको हो ।

गाउँ नजिकैबाट दुई दशक अघिदेखि चल्न थालेको पहिरोले घर नै तान्ने गरी पहिरो खस्दा स्थानीय त्रसित भएका छन् । पहिरोको उच्च जोखिम भएर पहिरोले सताए पनि कतैबाट केही सहयोग नपाएको उक्त गाउँका स्थानीयले गुनासो गर्दै आएका थिए । वर्षातको बेला पानी पर्न शुरु हुने वित्तिकै पहिरोले गाउँलाई च्याप्न थाल्छ स्थानीय कविजङ गुरुङले बताए । उनले भने ‘रातको समयमा आनन्दले सुत्न समेत पाइँदैन ।’ उनी भन्छन्, ‘बर्षा लाग्यो । पहिरोकै चिन्ताले डराई डराई बस्नुपरेको छ ।’ पहिरोसंगै ढुंगा पल्टिएर आएमा गाउँ नै बगाउने डर छ उनको भनाई छ । अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरे पनि पुनःस्र्थापनाको काम ढिला भएको स्थानीयले बताएका छन् ।

दुई दशक अघिदेखि निरन्तर बग्दै गरेको पहिरोलाई ०७२ बैशाख १२ गतेको भूकम्पले हल्लाएपछि अझ धेरै पहिरो बग्न थालेको स्थानीय कुमेर गुरुङले बताए । उनका अनुसार ८५ घरधुरी रहेको उपल्लो चिप्ला गाउँमा पहिरो फैलिदै गएपछि बसाईसराई जानेको संख्या प्रतिवर्ष बढ्दै छ । अहिले गाउँमा ४० घर मात्र बाँकी रहेको उनको भनाई छ । पहिरोले गाउँलेको ११ सय हेक्टर जग्गा बगाएको र सामुदायिक वन समेत विनास गरेको छ । २२ सय हेक्टर भन्दा बढी पहिरो फैलिएको स्थानीयले बताए ।

गत बर्ष मात्र गाउँका ७ घर गाउँभन्दा आधा घण्टाको उकालो पैदल समय लाग्ने क्रमुचेडाँडामा बसाई सरेका छन् । एक जना गाउँ नजिकै प्रोजु डाँडामा सरेका छन् । उनीहरु बाघेता समाज युके, बास्क कन्ट्री, स्पेनमा रहेका नेपाली, स्थानीय निकाय र स्थानीय सरकारको सहयोगमा निर्मित अस्थायी टहरामा सरेका हुन् । क्रमु चेमा ४ घर र प्रोजु डाँडामा १ घरपरिवार सर्ने तयारीमा रहेको उनले बताए । उनले भने– ‘हामीले जोखिममा रहेकाको नाम दिएपनि कति छुटेका छन् । छुटेकालाई पुनः सिफारिसको माग गरेका छौं । छिट्टै हुन्छ भनेको छ । बर्षा लागिसक्यो । कहिले स्वीकृत भएर आउने हो थाहा छैन ।’

पानी नपरेको समयमा खासै समस्या नभए पनि पानी पर्दाको समयमा जोखिम बढेको स्थानीय रामबहादुर गुरुङले बताए । उनले भने, ‘घरलाई भेटाउन १५ मिटर मात्र बाँकी छ । पोहोरको बर्खा त कटाइयो । यो बर्षा कसरी कटाउने हो भन्ने चिन्ता छ ।’ तर उनीहरू काम गर्न भने पहिरो छेउछाउ जानुपर्ने बाध्यता छ । स्थानीयलाई पुनः निर्माण प्राधिकरणबाट स्थानान्तरणको काम सुरु भएपनि वास्तविक पीडितको नाम छुटेको बताएका छन् ।

स्थानीयका अनुसार घरदेखि पहिरोसम्मका ठाउँठाउँमा चिरिएका छन् । धारापूधेरामा धाँजा फाटेका छन् । घरमात्र होइन गाउँका केटाकेटी पढ्ने स्कुल पनि जोखिममा छ । उपल्लो चिप्लाका १७ घर स्थानान्तरण्का लागि स्वीकृत भएर आएको छ । उच्च जोखिमको आधारमा प्राधिकरणबाट स्वीकृत भएर आएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका निमित्त प्रमुख जगदिश मिश्रले बताए ।

उनका अनुसार उनीहरू भूकम्प र पहिरोबाट जोखिममा परेकाले घर निर्माणका लागि ३ लाख अनुदानको व्यवस्था छ, जग्गा नभएकालाई जग्गा खरिद र्गन थप २ लाख रुपैयाँ दिने उल्लेख छ । उपल्लो चिप्ला गाउँका १० घरको जग्गा रहेकोछ, दुई जनाले जग्गा खरिद गरेका छन् राष्ट्रिय मिश्रले भने । उनका अनुसार अन्य पनि जग्गा किन्ने प्रक्रियामा छन् । चार घरलाई थप स्वीकृत गर्न प्राधिकरणमा फाइल सिफारिस गरिएको उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width