पानीका मुहान सुक्दै

रासस
असार ४, २०७६
ifeelsLOVEnia_sr__ek_banner_

बैतडी, ४ असार । पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताए । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो ।

पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या बल्झिँदै गएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताए । उनले भने “गाउँका कुवामा समेत पानी सुक्न थालेपछि गाउँलेलाई खानेपानीको समस्या भएको छ”, जथाभावी वन फडानी हुनु, लागत अनुमानविना ठाउँठाउँमा सडक खनिनुले पानीको मुहान सुक्दै गएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए ।

जङ्गल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताए । उनले भने , “जथाभावी सडक खन्दा पानीका मुहानजस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा सङ्कट निम्त्याउने छ ।”

यसैबीच सुक्खायामको शुरुआतसँगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ । काँडाबजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन । खानेपानी अभाव हुँदा होटल व्यवसायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताए ।

प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीयवासी गङ्गासिंह नायकले बताए । काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटल व्यवसायी सीता चन्दले बताए ।

मेलौलीमा विसं २०४० मा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो । स्थानीय सरकारले खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीय बासिन्दा निराश छन ।

सतबाँझमा वाटर टेबल टेस्ट

बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रमा वाटर टेबल टेस्ट गरिएको छ । वाटर टेवल टेस्ट गर्दा उक्त क्षेत्रमा पानी निस्किने देखिएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।

रु छ लाख ७५ हजार खर्च गरेर गरिएको उक्त टेस्टमा पानी निस्किने भएपछि आगामी आर्थिक वर्षदेखि उक्त क्षेत्रमा बोरिङबाट पानी निकालिने उनले बताए । बोरिङबाट पानी निकाल्नका लागि करीब रु ७० लाख लाग्ने अनुमान गरिएको छ । २२५ फिट गहिराइबाट बोरिङ गरी पानी निकालिन लागिएको हो ।

सुक्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ । त्यहाँ रहेका १४ पोखरीसमेत हाल पानी नहुँदा सुक्दै गएका छन । आकाशे पानीको भरमा रहेका ती पोखरी सुक्दै गएका हुन । पोखरी सुक्दै जाँदा हाल तरकारी उत्पादनमा पनि कमी आएको छ ।

विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ देखि सुक्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छाडेपछि स्याउ फल्न पनि छाडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width