४ महिनादेखि युरिया मल अभाव

रासस
जेठ २७, २०७९
Chemical sewage

तनहुँ । गत माघ महिनादेखि युरिया मल अभाव हुँदा तनहुँका किसान मारमा परेका छन् । मकै र चैते धान बालीमा मल प्रयोग गर्न नपाउँदा उत्पादनमा कमी आउने किसानको चिन्ता छ । दैनिक किसान आउने गरे पनि खाली हात फर्किनुपर्ने बाध्यता रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।

करिब पाँच महिनादेखि युरिया मल आयत नहुँदा किसानले चर्को समस्या भोग्नुपरेको छ । उहाँले भन्नुभयो, “कार्यालयमा पोटास मल करिब ६० टन स्टक रहे पनि डिएपी मल यसअघि नै किसानलाई वितरण गरिसकिएको छ ।” सरकारले ग्लोबल टेण्डरमार्फत विश्वका जुनसुकै मुलुकबाट खरिद गरी ल्याउने प्रक्रियामा रहेकाले असार पहिलो साताभित्र युरिया मल आउने आश्वासन मन्त्रालयबाट पाइएको उहाँले बताउनुभयो ।

“खरिद गर्ने हाम्रो अधिकार हँुदैन”, उहाँले भन्नुभयो, “मन्त्रालयबाट खरिद गरी कृषि सामग्री कम्पनीलाई दिएको मल वीरगञ्ज कार्यालयबाट विभिन्न जिल्लालाई पठाएको मल प्राप्त गरी किसानलाई वितरण गर्ने गरिएको छ ।” गत साउनदेखि माघसम्म ६०० टन युरिया मल किसानलाई वितरण गरिए पनि त्यसपछि मल आयात नहुँदा किसानले समस्या भोग्नुपरेको उहाँँले जानकारी दिनुभयो ।

युरिया मल अभाव भएको बजारमा विभिन्न माध्यमबाट आएको मल बिक्री वितरण गर्न व्यास नगरपालिकाले अनुमति दिएको छ । अनुमतिपत्र लिएका र गुणस्तर खाद्य तत्व भएको मल बिक्री गर्न निर्णय नै गरी बिक्रीका लागि अनुमति दिइएको व्यास नगरपालिका कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार युरिया मल प्रतिकिलो रु ५५ मा बिक्री गर्न अनुमति दिइएको छ । दिनैभरि मल छैन भन्दै किसानलाई फकाउनुपरेको मलखाद व्यवसायी सङ्घ तनहुँका अध्यक्ष एवं पशुपति बीज भण्डार दमौलीका सञ्चालक गुञ्जमान कोइरालाले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width