हरिनासमा गठबन्धनले जिते निशुल्क स्वास्थ्य बिमाः भुजेल

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७९
Harinas Photo 1

पोखरा, २३ वैशाख । नेपाली कांग्रेस हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार टोपबहादुर भुजेलले आफू निर्वाचित भए पालिकाका सम्पूर्ण जनतालाई निशुल्क स्वास्थ्य विमा सुविधा उपलब्ध गराउने बताएका छन् । स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित गठबन्धनको हरिनास गाउँपालिका बनेमा जनताको स्वास्थ्य पहिलो प्राथमिकता हुने उनले दाबी गरे ।

निशुल्क स्वास्थ्य बिमाका लागि सम्भव बनाउने गरी रकम व्यवस्थापनमा कुनै समस्या नरहेको उनको भनाइ थियो । गाउँपालिकामा यसअघि नेकपा एमालेको नेतृत्वले वार्षिक ठूलो रकम बेरुजु गरेकाले त्यही रकम नागरिकको स्वास्थ्य बिमामा खर्च गर्न सकिने उनको तर्क थियो ।

एमालेको सरकारले जनताको मन छुने प्रशंसनीय काम गर्न नसकेकाले यो पटक गठबन्धनलाई जिताउने उनको मतदातालाई आग्रह थियो । आफूहरुको नेतृत्वमा वडामा पनि गठबन्धनको नेतृत्व आएमा हरिनासको विकासले फड्को मार्ने उनले बताए ।

हरिनासको जनसंख्या करिब १७ हजार माथि छ । गाउँमा करिब ३ हजार २ सय घरधुरी छन् । यही आंकडालाई वार्षिक १ करोड १२ लाख आवश्यक पर्ने र ५ वर्षमा ५ करोड ६० लाख चाहिने बजेट पछिल्लो ५ वर्षको बेरुजु भन्दा पनि कम भएकाले कुनै समस्या नहुने उनको भनाई थियो ।

यसपटक हरिनास गाउँपालिकामा गठबन्धनका उम्मेदवार छन् । जसअन्तर्गत अध्यक्षमा कांग्रेसका तर्फबाट टोपबहादुर भुजेल र उपाध्यक्षमा माओवादी केन्द्रकी मिठु लम्साल उम्मेदवार छिन् । हरिनासमा १४ हजार ८ सय ५६ मतदाता छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका खिमनारायण मानन्धरले कांग्रेसका देवकुमार मानन्धरलाई १ सय ७६ मतले पराजित गरेका थिए । खिमनारायणले ३ हजार ८ मत प्राप्त गर्दा देवकुमारले २ हजार ८ सय ३२ मत ल्याएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width