घरदैलो थाले एमाले उम्मेदवार

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
madi cpn uml starts

पोखरा । मादी गाउँपालिकामा नेकपा (एमाले) ले शुक्रबारदेख चुनावी घरदैलो अभियान सुरु गरेको छ । मादी–३ कुस्कु डाँडाबाट एमालेले घरदैलो अभियान सुरु गरेको हो ।

याङ्जाकोटको घामलुङको वस्तीमा घरदैलो गरिएको एमाले पालिका कमिटी सचिव सुवास सापकोटाले जानकारी दिए । गाउँपालिका अध्यक्ष उम्मेदवार, शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङ, वडाध्यक्ष र वडा सदस्य उम्मेदवारसहित एमालेका स्थानीय नेता–कार्यकर्ता घरघरै मत माग्न पुगेका हुन् ।

कुस्कु डाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार शिवबहादुर गुरुङ महेन्द्रले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताए । हालको पालिका सरकारले सुरु गरेको कामलाई पूरा गर्ने उनको प्रतिबद्धता छ ।

आफूले खेलकुद विकास समितिमा बसेर काम गरेको बताउँदै उनले खेलकुद पूर्वाधार विकास पनि आफ्नो प्राथमिकता भएको सुनाए । मादीमा ४० लाख रुपैयाँ लागतमा रंगशाला बनाउन बजेट छुट्याए पनि प्रदेश सरकार फेरिएसँगै बजेट काटिएको उनको भनाइ थियो । उनले कृषिमा परम्परागत शैली नभई नयाँ प्रविधिको प्रयोग गर्ने बताए ।

उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङले आफूहरु भोट माग्नमात्रै नभई जितेर गएपछि पनि जनताको समस्या बुझ्न वस्तीवस्ती आउने बताइन् । पालिका ठूलो भएको र पिछडिएका वडा र वर्गलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन् ।

गाउँपालिका अध्यक्ष वेदप्रसाद गुरुङले असहज परिस्थितिमा पनि आफूले गरेको काम जनताले मूल्यांकन गरेकाले फेरि एमालेले जित्ने दाबी गरे । मादी ३ का वडाध्यक्ष उम्मेदवार जेमप्रसाद गुरुङले खानेपानी पुग्न बाँकी रहेका घरघरमा पानी पुर्‍याउने वाचा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width