विकास हेर्न मादी आऊ : नेता अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
madi cpm uml~main

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले केपी ओलीको सरकारले ५ वर्ष खेर फाल्यो भन्नेहरुलाई मादी गाउँपालिका पुगेर त्यहाँ भएका विकास कार्य हेर्न चुनौती दिएका छन् ।

कांग्रेससहित पाँचदलीय गठबन्धनतर्फबाट एमालेले कामै नगरी ५ वर्ष खेर फाल्यो भन्ने टिप्पणीप्रति लक्षित गर्दै अधिकारीले मादीमा सडक र वडा कार्यालयको निर्माण तथा अन्य थुप्रै जनमुखी काम भएको दाबी गरे ।

एमाले मादी निर्वाचन परिचालन कमिटीले पोखरामा आयोजना गरेको उम्मेदवार परिचय तथा प्रतिबद्धता घोषणा सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले तप्राङ र सैमराङमा कृषिका पकेट क्षेत्र छुट्याएर काम अगाडि बढेको उदाहरण पनि पेस गरे ।

गठबन्धनको सरकार बन्नासाथ पहिला घोषणा भएका विकास निर्माणका काम र बजेट रोक्ने काम भएको उनले बताए । मादी गाउँपालिकाका लागि बढीभन्दा बढी बजेट व्यवस्था गर्न र विकासको गतिलाई तीव्रता दिन पनि नेकपा एमालेका उम्मेदवार जिताउन जरुरी भएको भनाइ उनको थियो ।

एमालेबाट गाउँपालिका अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेदवार छन्

मादी गाउँपालिकाको छुट्टै चक्रपथ, याङ्जाकोटबाट मादी पुग्ने कोरिडोर, सिक्लेस र ताङतिङ जोड्ने पुलजस्ता योजना एमालेको सरकार बनेपछि अगाडि बढ्ने उनले आश्वासन दिए । एमाले सरकारले विकासको जग बसालेको भन्दै बाँकी कामलाई आफ्नो दलको सरकार बनेपछि पूरा गरिने उनले बताए । विकासका काम गर्न खोज्दा मुद्दा मामिलाका काम अगाडि बढाइएको भन्दै उनले अब मुद्दाका दिन गए हामी विकास गरिरहन्छौं भने । वडाको भवन बनाउने काम मादी गाउँपालिकामा करिव सकिएको भन्दै उनले गाउँपालिकाको भवन पनि छिटै बन्ने बताए । लम्तरी, याङ्जाकोट, पाखरीकोट लगायत ठाउँबाट सडकमार्फत क्होलासोथर जोड्ने आफ्नो पार्टीको योजना रहेको भनाइ पनि उनले राखे । मादीमा केवलकारको निर्माण, पर्यटनको विकास र कफुचे तालको संरक्षणमा पनि काम गरिने उनले बताए ।

एमाले मादी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार शिवहादुर गुरुङ (महेन्द्र) ले मादीको विकासका लागि आफू हरतरहले लाग्ने प्रतिबद्धता जनाए । गाउँमा कृषि र पर्यटनको विकास तथा जनसेवामा आफूले ध्यान दिने उनले बताए । गाउँपालिकामा एमालेतर्फबाट उपाध्यक्षको उम्मेदवार वर्तमान वडा सदस्य एवं कलाकार कल्पना गुरुङ हुन् ।

वडा १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा इ. सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल वडा अध्यक्षको उम्मेदवार रहेका छन् । कार्यक्रममा सबै वडा सदस्यका उम्मेदवारको पनि उपस्थिति थियो ।

कार्यक्रममा एमाले कास्कीका अध्यक्ष एवं प्रदेश सांसद मनबहादुर गुरुङ, एमाले सल्लाहकार परिषद् सदस्य पदमप्रसाद पौडेल, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया आचार्य, नेतृ निर्मला सुवेदी लगायतले भनाइ राखेका थिए । एमाले मादी गाउँ कमिटीका अध्यक्ष वालकृष्ण गुरुङको सभापतित्वमा भएको कार्यक्रममा शिवहरि ढुंगाना लगायतका कलाकारको टिमले गीत प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन पत्रकार रोशनी गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width