घरजग्गा बेच्न नमान्दा आमाको हत्या

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
police crime

पोखरा । घरजग्गा बेच्न नमान्दा आफूलाई जन्मदिने आमाकै हत्या गरेको घटना सार्वजनिक भएको छ ।
पोखराको शीतलादेवी बस्ने ३६ वर्षीय ओमबहादुर नेपालीले आफ्नी आमालाई घरजग्गा बेच्न पटक–पटक प्रयास गरे । तर आमाले उनको आग्रह बेवास्ता गरिन् । घरजग्गा बेच्न अटेर गरेको त्यहीं झाेंकमा ओमबहादुरले साथीको सहयोगमा आमाको हत्या गरेको खुलासा भएको हो ।
कास्की प्रहरीले हत्याकाण्डमा संलग्न रहेको अभियोगमा ओमबहादुरसहित उनका साथी ३७ वर्षीय कुमार नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटना विवरणअनुसार कास्कीको मादी गाउँपालिका वडा १० घर भइ हाल पोखरा महानगरपालिका वडा १२, शीतलादेवीको सुकुमबासी बस्तीमा ओमबहादुर नेपालीको परिवार बस्दै आएको थियो । त्यसैक्रममा ६७ वर्षीया आमा नौमाया नेपालीलाई घरजग्गा बेच्न आग्रह गरे । आफ्नो आग्रह नमानेपछि ओमबहादुरले मादी ५ घर भै हाल पोखरा १२, माटेपानी बस्ने कुमार गुरुङलाई १ लाख दिएर आमाकै हत्याको योजना बुने ।
गएको चैत ३ गते राति दुवै जना रक्सी खाए । घर फर्किने बेलामा ओमबहादुरले कुमारलाई भने, ‘मेरी आमालाई मार । म बाहिर बस्छु ।’ कुमार पैसाको लोभमा हत्या गर्न राजी भए ।
रातिको समय थियो । ओमबहादुरले घरको औलो खोलेर कुमारलाई भित्र पठाए । कुमारले नौमाया निदाएको मौका पारी घाँटी थिची मारे र फर्किए । त्यसबेला रातिको साढे ११ बजिसकेको थियो ।
घटनापश्चात् दुवै जना त्यहाँबाट निस्केर कुमारको कोठामा गई सुते । भोलिपल्ट बिहान ४ बजे ओमबहाुदरले आफू घर नभएको बेलामा आमाको कसैले हत्या गरेको झुठो विवरणसहित प्रहरीलाई खबर गरे । उनले हारगुहार गरे ।
नौमायाका अर्का छोरा ३२ वर्षीय टेकबहादुर नेपालीको जाहेरीपछि प्रहरीले सो घटनाको सूक्ष्म ढंगले अनुसन्धान थाल्यो । अन्ततः हत्यामा संलग्नको खुलासा भयो । प्रहरीले हत्या अभियोगमा ओमबहादुर र कुमारलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार निज अभियुक्तविरुद्ध फौजदारी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसूरको दफा १७ बमोजिम ६ दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।
नौमाया प्यारालाइसिसकी बिरामी थिइन् । उनको स्याहारसुहार ओमबहादुर आफैंले गर्थे । तसर्थ उनी आफैले हत्या नगरी साथीलाई पैसाको प्रलोभनमा हत्याकाण्डको जालो बुनेको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।
यसैबीच, गत पुस ५ मा कासकी जिल्ला अदालतबाट धरौटीमा रिहा भएकी स्याङ्जा चापाकोटकी अम्बिका पुलामी मगर पुनः पक्राउ परेकी छन् । चोरीसम्बन्धी कसुरमा समातिएपछि १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया पुलामी फेरि पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई बालबालिकाको कानको मुन्द्रा चोरेको आरोपमा दोस्रो पटक ४ चैतमा पक्राउ गरेको हो । अम्बिकासँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । चोरी डाँकासम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width