प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
असार १०, २०८१
indra baral

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको ठगी मुद्दामा सोही सहकारीका कानुनी सल्लाहकार इन्द्र बराल १२ लाख धरौटीमा रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई सोमबार धरौटीमा छाड्ने आदेश गरेको हो ।

बराल आइतबार अदालतमा हाजिर भए पनि थुनछेक बहस नसकिएकाले १ रात थुनामा बसे । त्यसो त उनी पक्राउ परेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरी प्रहरीले बोलाएका बखत हाजिर हुने गरी थुनामुक्त भएका थिए । तर अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने बेलामा उनी सम्पर्क विहीन भएका थिए ।

उनीसँगै पक्राउ परेका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना गत विहीबार नै पुर्पक्षका लागि थुनामा गएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले  उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने अर्को सहकारी ठगी मुद्दामा कारागारमै छन् ।

सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

३ दिनसम्मको थुनछेक बहसपछि बिहीबार मात्र यस्तो आदेश आएको हो । अदालतमा हालसम्म ९ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी अझै फरार छन् । अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए ।

नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको यो ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठूलो सहकारी ठगी प्रकरण हो ।

वादी नेपाल सरकारतर्फ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता विपीनराज तिवारीले र प्रतिवादीका तर्फबाट करिब डेढ दर्जन अधिवक्ताले बहस गरेका थिए ।

पोखराको गैह्रापाटनमा कार्यालय रहेको प्राइमको ठगी प्रकरणले यस क्षेत्रको समग्र सहकारी क्षेत्र तरंगित छ । सो मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी, समेतलाई विपक्षी बनाइएको छ । विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम १ अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर अभियोगपत्र दायर गरेको हो ।

प्रहरीले गत २० जेठको समय दिएर सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित उजुरी दिन आह्वान भएकोमा झण्डै १ हजार बचतकर्ताले उजुरी दिएका थिए । सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन् ।

६५ प्रतिवादीमध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने सरकारी वकिल कार्यालयको राय छ । अभियोगपत्रमा सहकारी विभाग काठमाडौंका कर्मचारीले रकम लिएको, वैदेशिक भ्रमणमा सहकारीकै खर्चमा गएको, सहकारी विभागबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेलले समेत १५ लाख रकम लिएको अभियोग छ ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोगपत्रमा छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी सहकारीको अनियमिततामा संलग्न रहेको प्रतिवादीले बयान दिएका छन् । प्रदेश नीति तथा योजना आयोगका सचिव उनी हाल सम्पर्कमा छैनन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग