अलैंची खेती प्रविधिसम्बन्धी तालिम

आदर्श समाज सम्वाददाता
फागुन २, २०७८

पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा अलैंची खेती प्रविधिसम्बन्धी तालिम माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित कोलेलीमा सम्पन्न भएको छ । कार्यक्रममा करिब ४० अगुवा अलैंची किसानको सहभागिता थियो । कास्कीमा यस आर्थिक वर्षदेखि अलैंची जोन निर्माण भएपछि किसान सहभागिता वृद्धि गर्न, रोग किरा व्यवस्थापन गर्न, नर्सरी व्यवस्थापन, वृक्षरोपण, स्याहार तरिका, टिपाइ तरिका, भट्टीमा सुकाउने तरिका, ग्रेडिंग, भण्डारणबारे सिकाइएको तालिम सञ्चालन गरिएको परियोजनाका कास्की प्रमुख अजय अधिकारीले बताए । कार्यक्रममा परियोजनाका बागबानी विज्ञ मनोज ढकालले अलैंची खेती प्रविधिसम्बन्धी विभिन्न विषयमा किसानलाई तालिम दिएका थिए । तालिमले किसानको क्षमता अभिवृद्धि संगै आत्मविश्वास बढेर अलैंची खेतीमा लाग्न उत्प्रेरित गरेको तालिममा सहभागी पार्वती भण्डारीले बताइन् ।
अलैंची जोनभित्र कास्कीका मादी गाउँपालिका १ देखि ३ र ८, १० र ११ वडा, अन्नपूर्ण गाँउपालिका १,३,४,७ र ११ वडा, माछापुच्छ्रे गाउँपालिका २,६,७,८ र ९ ,पोखराका १६ र १९ नम्बर वडा समावेश गरिएको छ । आव २०७८/०७९ मा परियोजना कार्यान्वयन इकाइ अलैंची जोन कार्यक्रमअन्तर्गत कार्यक्रम माग संकलन गरी अहिले फिल्ड निरीक्षणको काम भइरहेको कार्यालयका सूचना अधिकारी निशा कँडेलले बताइन् । यस वर्ष अलैंचीको लागि सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सहकारी सञ्चालमार्फत बजारीकरण सहयोग, यान्त्रीकरण सहयोग, गत वर्ष बिस्तार भएका क्षेत्र र नयाँ क्षेत्र बिस्तारको लागि सिँचाइ पूर्वाधार निर्माण, बजार, भण्डारण, पूर्वाधार, प्राथमिक प्रशोधन, सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोगलगायत कार्यक्रम सञ्चालन गरिने परियोजना कार्यान्वयन इकाइ कास्कीले जनाएको छ ।
यसैबीच कास्कीमा अलैंची जोन स्थापना भएसँगै अलैंची जोन सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ । जसको संयोजक इन्द्र गौचन, सहसंयोजक रुपेश गुरुङ, सचिव दीपक पौडेल, सह सचिव पार्वती भण्डारी, सदस्यहरू रुपा लामा, गणेशप्रसाद आचार्य, काशीराम आचार्य र वृन्दा तिवारी छन् । समितिले किसान र परियोजना कार्यान्वयन इकाइबीच पुलको काम गर्ने नवनिर्वाचित सचिव दीपक पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width