टिस्यु कल्चरलाई बिजुली अभाव

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७८

लमजुङ । क्होलासोंथार–८, घाम्राङ गाउँमा २ वर्षअघि स्थापित टिस्यु कल्चर (तन्तु प्रजनन्) प्रयोगशाला विद्युत अभावका कारण सञ्चालन हुन सकेको छैन । यहाँस्थित हिमालयन हव सेन्टरले बिउँबिना बिरुवा उत्पादन गर्ने प्रविधि टिस्यु कल्चरका लागि ७० लाख रुपैयाँमा संरचनासहित उपकरण जडान भएको २ वर्ष पुगे पनि विद्युत अभावमा सञ्चालन हुन नसकेको हो ।
हिमालयन हव सेन्टरले लोपोन्मुख जडिबुटीको संरक्षण र व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ । उसले जिल्लामै पहिलो पटक आफ्नो कम्पनीको स्तरवृद्धि गर्नेक्रममा टिस्यु कल्चर प्रविधि सुरु गर्न लागेको कम्पनीका अध्यक्ष गमप्रसाद गुरुङले बताए । उनका अनुसार उक्त ठाउँमा आवश्यक मात्रामा विद्युत जडान हुन नसक्दा अहिलेसम्म टिस्यु कल्चर मेसिन सञ्चालन गर्न सकिएको छैन । उनले भने, ‘स्थानीयस्तरमा उत्पादित लघु जलविद्युत भए पनि यो उपकरणका लागि पावर पुग्दैन । राष्ट्रिय प्रसारणको विद्युत लाइनबाट सेवा प्रवाह हुन नसक्दा सञ्चालन नहुने अवस्था भयो ।’ टिस्यु कल्चर प्रविधि सुरु गर्न घाम्राङमा राष्ट्रिय विद्युत प्रशारण लाइन पुगे पनि हालसम्म विद्युत जडान हुन सकेको छैन ।
कृषि, जडिवुटी तथा फलफूलका लागि भाइरसमुक्त नयाँ बिरुवा उत्पादनका लागि करोडौं रुपैयाँ लगानीमा टिस्यु कल्चर प्रयोगशाला सुरु गर्न लागिएको हो । तर विद्युत अभावमा सञ्चालननै गर्न नपाएपछि नोक्सानी व्यहोर्नु परेको अध्यक्ष गुरुङले गुनासो गरे ।
गत वर्षको दसैंसम्म संरचना निर्माण र उपकरण जडानका काम सकेर बिरुवा उत्पादनको काम सुरु गर्ने तयारी गरेकोमा हालसम्म सञ्चालन गर्न नसकिएको संस्थाले जनाएको छ । सो मेसिन जडान गर्दा ७० लाख रुपैयाँ लगानी भएको हिमालयन हव सेन्टरका अध्यक्ष गुरुङले बताए । उनका अनुसार गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि निर्देशनालय सो टिस्यु कल्चर मेसिन खरिदका लागि २९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
टिस्यु कल्चरमा कुनै पनि नयाँ बिरुवा उत्पादनका लागि सम्बन्धित बिरुवाको तन्तु, कोषिका लगायतबाट नयाँ बिरुवा उत्पादन गरिन्छ । बिरुवा उत्पादनअघि भाइरस परीक्षण गर्ने तथा भाइरसमुक्त भएपछि मात्रै प्रयोगशालामा लगिने हुँदा उत्पादित बिरुवा पनि भाइरसमुक्त हुने प्राविधिकहरू बताउँछन् ।
कृषि, जडिवुटी तथा फलफूलको नयाँ बिरुवा उत्पादनका लागि लमजुङमा सुरु हुन लागेको टिस्यु कल्चर प्रविधि जिल्लामा मात्र नभई गण्डकी प्रदेशअन्तर्गतकै पहिलो हो । टिस्यु कल्चरमा उत्पादित बिरुवा बिक्रीवितरणमा पहिलो प्राथमिकता जिल्लाभित्र र त्यसपछि प्रदेश र अन्य जिल्लाहरूमा पनि बिक्री वितरण गरीने कम्पनीको योजना छ ।
कृषि विज्ञहरूका अनुसार जीवित बिरुवाको रोगरहित भाग वा एउटा कोषको प्रयोग गरी टेस्ट ट्युवमा नियन्त्रित वातावरणमा प्रसारण गर्ने विधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । अति बायो सेक्युरिटीसहित टिस्यु कल्चर ल्याबमा उच्च प्रविधि र केमिकलको प्रयोग, प्राविधिकद्वारा नियमित जाँच गर्ने, उपचार गर्ने, कटिङ गर्ने गरी प्रोसेसमा राखिएको टिस्युलाई प्राविधिकले नै रेखदेख गरी बिरुवा उत्पादन गर्ने गरिन्छ ।
प्रयोगशालामा तयार त्यही सानो बिरुवा नर्सरी फार्ममा ल्याई आधुनिक प्रविधिको प्रयोगले टिस्युमा जरा, पात निकाल्ने र हुर्काउने गरिन्छ । उच्च बायो सेक्युरिटी अपनाएको हुनाले यस्ता बिरुवामा कुनै पनि रोग र भाइरस लाग्न नसक्ने र बिरुवा एकै समयको हुने भएकाले एकनासको फल लाग्ने प्राविधिकहरूको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width