फिल्म अवार्ड विजेता सर्ट फिल्म ‘परिबन्द’ माथि छलफल

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७८
paribandha (1)

पोखरा । ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’ माथि छलफल गरिएको छ । दक्षिण भारतमा आयोजना हुने कुकु इन्टरनेशनल फिल्म अवार्ड पाएपछि पोखरामा एक कार्यक्रमबिच फिल्ममाथि छलफल गरिएको हो ।
मगर भाषामाथि बनेको ‘परिबन्द’मा न्याय प्रणाली चुस्त नहुँदा आइ लाग्ने समस्या उठाइएको छ । यसअघि काठमाडौंमा ‘स्पाइनी इन्टरनेशनल फिल्म फेस्टिभल’, ‘ब्लयाक वल्र्ड इन्टरनेशनल फिल्म फेस्टिभल केरेला’, ‘लण्डन सट्र्समा फाइनलिस्ट’मा पुगेको थियो ।
दक्षिण भारतको तमिलनाडुमा हुने कुकु इन्टरनेशल फिल्म अवार्डमा अर्जेन्टिना, जापान, भारत, अष्ट्रेलिया लगायतका देशमा बनेका सर्ट फिल्मसँग प्रतिस्पर्धा गरेर जित हात पारेको परिबन्दका लेखक तथा निर्देशक मेजन पुनले बताए ।
कोभिडको कारण अवार्ड अनलाइनबाटै आयोजना भएको उनले सुनाए । प्रतिश्पर्धामा विजेता घोषित भई सकेपछि अक्टोबर २१ मा तमिलनाडुमा पनि प्रद्धर्शन भएको थियो । ‘हाम्रो लागि ठूलो कुरा हो । भाषाभाषीमा बनेको फिल्म पनि यो चरणमा पुगेपछि अर्को पनि बाटो रहेछ भन्ने म आफैंलाई पनि रह्यो,’ निर्देशक पुनले भने, ‘यो तरिकाले पनि गर्न सकिने रहेछ भन्ने लागेको छ ।’
मगर भाषामाथि बनेको फिल्ममा केही प्रतिशत भाषा भने नेपाली पनि प्रयोग गरिएको छ । समुदाय मगर भए पनि सुरक्षा निकायका पदाधिकारीहरु मगर भाषा नबोल्ने भएकाले नेपाली पनि प्रयोग गर्नु परेको उनले बताए ।
भाषामाथि बनेको फिल्मले उपाधि हात पार्नुलाई सकारात्मक रुपमा लिएको उनको धारणा छ । यसअघि नवीन सुब्बाद्वारा निर्मित नुमाफुङले पनि उपाधि हात पारे पनि पूर्ण भाषामा बनाएर अवार्ड हात पार्ने सम्भवत यो नै पहिलो फिल्म रहेको उनले सुनाए । ‘नेपालकै आदिवासिमा त भएको हो । नेपाल र आफ्नो कम्युनिटीभन्दा बाहिर फस्र्ट नै भयो कि भन्छु,’ उनले भने ।

पहिला फिल्म बनाएर समाजमा मात्रै देखाउदै आए पनि अब बाहिर पनि हुन्छ है भनेर बाटो खुलेको जस्तो लागेको निर्देशक पुनले बताए ।
कार्यक्रममा सहभागीहरुलाई फिल्म पनि देखाइएको थियो । निर्देशक पुनले बनाएको मगर भाषामाथिको फिल्म ‘ट्याङचलाक’ डर्बान फिल्म फेस्टिभल र अमेरिकामा बसोबास गर्दै आएका नेपालीले आयोजना गर्ने आदिबासि चलचित्र अवार्ड ‘निफ’मा पनि छनौटमा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width