व्यास नगरपालिकामा लकडाउन

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७७
Byas Municipality

दमौली । व्यास नगरपालिकाले एक साताको लागि लकडाउन गर्ने भएको छ । समुदायस्तरमा कोरोनाको उच्च जोखिम देखिएसँगै सोमबार दिउँसोको १२ बजेदेखि लकडाउन गरिने भएको छ ।

आइतबार नगरपालिकामा सर्वपक्षीय बैठकको भेलाले नगरपालिका एक साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । व्यास १, भादगाउँकी ६९ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यको परीक्षणका क्रममा थप पाँचजनामा कोरोना संक्रमण देखिएको हो । एक साता लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उनले भने, “ केही दिनअघि छिमेकी भानु नगरपालिकामा कोरोना सामुदायस्तरमा देखिएपछि यस पालिकामा पनि जोखिममा रह्यो । त्यसपछि यही पालिकामा पनि समुदायस्तरमा कोरोना देखिएपछि जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने निर्णय गरेका हौं । ” गत चैत ११ देखि जारी गरिएको लकडाउन असारमा खुल्नासाथ बजारमा भीडभाड बढ्नाले कोरोनाको जोखिम निम्त्याएको उनले बताए । लकडाउन अवधिमा नगरभित्र स्वास्थ्य सेवा र सरसफाइ बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गरिने उनले बताए ।

उनले थपे, “लकडाउन अवधिमा समुदाय स्बाब संकलनलाई पनि तीव्रता दिइने छ । कन्टयाक्ट टे«सिङबाट स्वाब संकलन गरी जोखिम कम गर्ने छौं । ” लकडाउन पालना गर्दै सबैलाई घरमै बस्न नगरप्रमुख न्यौपानेले आग्रह गरे ।

यस्तै नगरभित्रका सबै टोल विकास संस्थाहरुले निगरानी गरी शङ्कास्पद अवस्था देखिएमा तत्काल नगरपालिकाको स्वास्थ्य शाखामा सूचना दिन आग्रह गरिएको छ ।

यसैबीच, आँबुखैरेनी गाँउपालिकाले पनि एक साता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने भएको छ । गाउँपालिकाको छिमेकी पालिकाहरुमा समुदायस्तरमा कोरोनाको जोखिम बढेको भन्दै गाँउपालिकाले पनि एक साताका लागि अत्यावश्यक सेवा मात्र संचालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width