कोरोना संक्रमित २२ हजार नाघे

रासस
श्रावण २४, २०७७
covid 19 corona banner

काठमाडौं । नेपालमा एकै दिन ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा थप ४ सय ६४ जना संक्रमित थपिएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनायो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमितसहित कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए । तीमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ ।

यस्तै, ४ सय २५ जना पछिल्लो २४ घण्टामा निको भइ घर फर्केका छन् । कुल निको हुने १५ हजार ८ सय १४ जना पुगेका छन् । प्रवक्ता गौतमका अनुसार अहिले देशभरि विभिन्न स्थानमा १० हजार २ सय ५ जना क्वारन्टिन बसेका छन् । गएको २४ घण्टामा देशभर कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म कुल ७० जनाको मृत्यु भयो ।

यसैबीच, संक्रमण दर पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका अन्य कामहरू आइतबारदेखि बन्द हुने भएका छन् । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार बसेको बैठककले उपत्यकामा रहेका ३ वटै जिल्ला प्रशासन कार्यालयहरूमा अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

यता, पोखरामा एकपछि अर्को कोरोना संक्रमित थपिदै गएको छ । शुक्रबार १० जनामा संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा संक्रमण देखा परेको हो । तीमध्ये ४–४ जना पुरुष र महिला छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा १९ का वर्ष ५८, ६८ र ८८ का ३ जना महिलामा कोरोना पुष्टि भएको हो । वडा १९ मै वर्ष ५७ का एक जना पुरुष तथा वर्ष ६० का २ जना पुरुषमा कोरोना देखिएको छ ।

यस्तै, वडा १५ मा वर्ष ३२ की महिला र वडा ३२ मा वर्ष १९ का पुरुषमा कोभिड–१९ देखिएको जनाइएको छ ।

पोखरामा शुक्रबार बिहान वडा २ र ८ मा गरी २ जनामा कोरोना संक्रमण देखा परेको जनाइएको थियो । बिहीबार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । तीमध्ये १ हजार ३ सय ८३ जना निको भएका छन् । ४ जनाको मृत्यु भएको छ ।

यता, सरकारले प्रभावकारी कदम चालेकोले कोरोना संक्रमित बढ्न नपाएको दाबी गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए साउन २५ सम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन थियो । स्वास्थ्य मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो संख्यामा सङ्क्रमित हुन नपाएको दाबी गर्दै शुक्रबारसम्म ६ हजार ३ सय ३० जना सक्रिय सङ्क्रमित रहेको बताइएको छ ।

नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । हाल कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि दुई दर्जन बढी जिल्लामा ‘लकडाउन’ गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width