किसानलाई दूध चिस्याउने मेसिन

तोलाकान्त बगाले
श्रावण ५, २०७७
tolakanta

वालिङ, ५ साउन । वालिङ नगरपालिकाले व्यावसायिकरुपमा दूध उत्पादन गर्दै आएको फर्मलाई आइतबार दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ ।

वडा १४ स्थित पनियारेमा रहेको ‘पनियारे पशुपालन तथा कृषि फर्म’ लाई वालिङ नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

वास्तविक किसानलाई ओझेल पर्न नदिन नगरपालिकाले प्रोत्साहनस्वरुप यन्त्र उपकरण तथा आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख खाँणले बताए ।

“अब निर्वाहमुखी कृषि तथा पशुपालन गर्ने पद्धतिबाट माथि उठेर आधुनिक र ब्यवसायिकतातर्फ जोडिनुपर्छ” नगर प्रमुख खाँणले भने, “व्यावसायिकरुपमा अगाडि बढ्नुहोस् । कहीँ कतै अप्ठ्यारो महशुष भयो भने नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउँछ । साथै उत्पादित वस्तु बजारीकरणका लागि सहयोग समेत गर्छ ।”

ब्यावसायिकरुपमा फर्म सञ्चालन गरेका वास्तविक किसानलाई थप उर्जा दिन र अझै व्यावसायिक बन्नतर्फ उत्प्रेरित गर्न नगरपालिकाले मेसिन उपलब्ध गराएको उपप्रमुख कल्पना तिवारीले बताइन् ।

यहाँ उत्पादन भएको दूधलाई केही दिनसम्म सुरक्षितरुपमा राख्न चिस्याउने मेसिन फर्मका लागि निकै उपयोगी रहेको फर्म सञ्चालक पिताम्बर डुम्रेले बताए ।

“दूध चिस्याउने मेसिन नगरपालिकाले उपलब्ध गराएसँगै बिहान बेलुका कुनै पनि समयमा दूध संकलन गरेर राख्न सकिने भएको छ” युवा व्यवसायी एवं फर्म सञ्चालक डुम्रेले भने, “पाँच सय लिटर क्षमताको दूध चिस्याउने मेसिन भएसँगै अब बिहान बेलुकाको दूध संकलन गरेर राख्न सकिने र समय मिलाएर बिक्री वितरण गर्न सकिने भएकाले फाईदा हुने विश्वास लिएको छु ।”

साना तथा ठूला गार्ई तथा भैंसी गरी हाल डुम्रेको फर्ममा ९५ वटा गार्ई भैंसी छन् । दैनिक २७५ लिटर दूध उत्पादन गर्दै आएका डुम्रेले यहाँ उत्पादन भएको दूधसहित दूग्धजन्य पदार्थहरु दही, नौनी, पनीर वालिङ, गल्याङ तथा भीरकोट नगरपालिकाका विभिन्न बजारमा खपत गर्दै आएका छन् ।

वडध्यक्ष झम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गरीबसँग विश्वेश्वर कार्यक्रमकी सीता गैह्रेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width