चुरुङ्गामा नमूना मन्दिर निर्माण हुँदै

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
20200618_161910

पोखरा–१९ को चुरुङ्गामा निर्माणधीन दुर्गा पाञ्चायन मन्दिर

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ चुरुङ्गामा आकर्षक दुर्गा पाञ्चायन मन्दिर निर्माण हुदैछ । प्राचीन दुर्गा मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि सोही मन्दिरलाई पुनः निर्माण गरि नयाँ रुप दिन लागिएको हो ।

महेश सन्यास आश्रम देवघाटका संस्थापक डा. स्वामी रामानन्द गिरीको कृपाबाट २०६९ सालमा स्थापित गौरीशंकर ब्रह्मविद्यापीठ परिसरमा निर्माण हुन लागेको उक्त मन्दिर यस क्षेत्रकै नयाँ नमूनाको भव्य मन्दिर हुने मन्दिर पुनः निर्माण समितिका अध्यक्ष ढाकामोहन गौतम बताउँछन् ।मन्दिरको लागि स्वामीले शुरुमै एक लाख तीस हजार रुपैया प्रदान गरि निर्माण कार्यलाई प्रोत्साहन गर्नुभएको स्मरण गर्दै अध्यक्ष गौतम भन्छन्– उहाँ अहिलेसम्म रहनुभएको भए सायद निर्माण सम्पन्न भईसक्ने थियो ।

महेश सन्यास आश्रमका वर्तमान पीठाधीश स्वामी रमणानन्दबाट २०७६ वैशाख ३० मा पुनःनिर्माणको शिलान्यास भई मन्दिरको निर्माण कार्य धमाधम अघि बढेको थियो ।उहाँको आह्वानमा दानदाताहरु उत्साहित भएर दान प्रदान गरिरहेका थिए । गर्भगृह सहित झण्डै २० प्रतिशत काम सकिएका थियो । एक्कासी कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य रोकियो । दान संकलन पनि हुन पाएको छैन । अध्यक्ष गौतम भन्छन्–अब कसरी पुरा गर्ने चिन्ता थपिएको छ ।

एक करोड २५ लाख लागत अनुमान रहेको सो निर्माणमा अहिलेसम्म भक्तजनहरुबाटै संकलन गरिएको रकमबाट काम भएको हो । उनी भन्छन्–अन्त कतैबाट सहयोग आएको छैन । सहयोगका लागि वडा देखि महानगरपालिका र प्रदेश सरकारसँग पनि अनुरोध गरिएको थियो । तर, अहिलेसम्म पाइएको छैन–उनले भने । आश्वासन त धेरै पाइयो तर सहयोग पाइएन ।
निर्माणाधीन मन्दिरका विशेषताहरुमा जमिनको सतहमूनि बसेर साधना गर्न सकिने गर्भगृह, दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वतीको मूर्ति तथा गणेश, सुर्य शिव र विष्णुको माझमा देवी रहेको देवी पाञ्चायन देवताको स्थापनाको साथै अठ्ठाइस नक्षत्रका स्वामीहरुको प्रतिमा रहेको छ । १३ वटा गजुर रहने उक्त मन्दिरमा नवदुर्गाको मुर्तिहरुको स्थापना, मन्दिरको द्वारमा देवीवाहन सिंहको मूर्ति र एउटै मन्दिरबाट देवीका सबै स्वरुपहरु तथा ब्रह्माण्डीय शक्तिहरुको अलौकीक दर्शन गर्न सकिनेछ ।

मन्दिरका गजुरहरु, ढोका, नक्षत्रस्वामीहरुको मूर्ति, देवदेविका मूर्तिहरु, सिंहका मूर्तिहरु, ठूलो घण्टी आदि लगायतका छुट्टाछुट्टै खर्च अनुमान भएको र दानदाताले ती मध्ये आफुले इच्छाएको कुनै एकको लागि दान गर्न सकिने व्यवस्था पनि रहेको समितिका अध्यक्ष गौतम बताउँछन् । पोखराको केन्द्रबाट ९ किमी उत्तरतर्फ रहेको रमाइलो गाउँ चुरुङ्गामा रहेको उक्त नमूना मन्दिरको निर्माण पुरा भएपछि सो क्षेत्रमा पर्यटन बृद्धि भई आर्थिक विकासमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width