खोप अभियान तीव्र पार

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा खोपको अभियान स्थगित गरेकोमा मानिसहरु आश्चर्य चकित भएका छन् । सरकारले अभियानकै रुपमा लैजाने भनेर घोषणा गरेको अभियान किन रोक्नुपर्‍यो, त्यसको कारण पनि दिएको छैन । सर्वसाधारणसँग सम्बन्धित तथा सबैले आशा अपेक्षा राखेको अभियान रोक्नै पर्ने उचित कारण भए त्यसको कारण खुलाउनु पर्दथ्यो । पारदर्शिताको नाम लिएर कहिल्यै नथाक्ने मन्त्रीले समेत त्यसबारे केही नबोल्दा त्यसमा के रहस्य छ भन्ने संशय उत्पन्न भएको छ । रोकिएको कामबारे यसो त्यसो भनेर केही फाइदा छैन । हामी केही भन्ने पक्षमा पनि छैनौं, तर रोकिएको त्यो अभियान छिट्टै सञ्चालन गर्न भने हामी सरकारसँग आग्रह गर्दछौं ।
देशमा कोभिड–१९ विरुद्धको खोप अझ पनि आधा जनसंख्याले पनि पाएका छैनन् । सरकारले चैत महिनासम्म सबै नागरिकहरुलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ५ लाख जनालाई खोप लगाउनु पर्दछ भनेका छन्, तर मन्त्रालयले त्यो लक्ष्य प्राप्त गर्न सकेको छैन । एकताका खोप कार्यक्रम राम्ररी सञ्चालन भएको थियो । बीचमा आएर कहिले के नभएर कहिले के नपुगेर व्यवस्थित हुन सकिरहेको छैन । यसलाई व्यवस्थित किसिमले लैजानु आवश्यक छ । देशमा केही महिना यता कोभिड–१९ को महामारी कम हुँदै गएकोमा ३/४ दिन यता फेरि महामारी बढ्न थालेको छ । संक्रमण बढ्न थालेकोले सरकारले खोप लगाउने कार्यक्रमलाई सुव्यवस्थित किसिमले लैजानु आवश्यक छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप विभिन्न देशहरुबाट ल्याउने गरेको छ । खोपको अभाव नहोस् भनेर सरकारले यता र उताबाट ल्याउनु प्रशंसनीय कार्य हो । त्यही खोपको कारण पनि केही महिनादेखि महामारी कम हुँदै गएको हुनसक्छ, तर अहिले फेरि कोभिड–१९ को भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो छ । अफ्रिकाबाट निस्केको ओमिक्रोन विश्वव्यापी भएको छ । भारतमा संक्रमण बढ्दै गएको छ । केही ठाउँमा लकडाउन गर्नुपर्ने अवस्था आएको छ । हाम्रै देशमा पनि त्यसले प्रवेश गरेको छ । यो स्थितिमा सरकारले छिट्टै व्यवस्थित किसिमले अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्दछ । अब त अर्काे एउटा कुरा पनि ख्याल गर्नुपर्ने अवस्था आएको छ । त्यो के हो भने सुरुमा निकालिएको खोपको आयु सकिने अवस्थामा पुगेको छ । कतिपय देशले पहिले आफ्ना नागरिकलाई चाहिन्छ भनी स्टोरमा राखेको खोपको आयु समाप्त भएको र केहीको आयु समाप्त हँुदै छ । आयु समाप्त भएको खोप हाम्रो देशमा आउन सक्छ । हाम्रो देशमा आइसकेको औषधीको पनि के कति अवधि बाँकी छ, त्यो पनि हेर्नुपर्दछ । खोप राख्ने कार्यक्रम ढिलो भएमा यहाँ राख्दाराख्दै पनि त्यसको आयु समाप्त पनि हुन सक्दछ । यो ज्यादै महत्वपूर्ण कुरा हो । यो महत्वपूर्ण कुरालाई गम्भीरतापूर्वक लिएर ३ वटै कार्यक्रम साथसाथै लैजाने व्यवस्था गर्नु पर्दछ । खोप नपाएकालाई छिटो खोप हाल्ने, एक पटक पाएकालाई त्यसको अवधिभित्रै दोस्रो मात्रा खोप दिने र दोस्रो मात्रा पाइसकेकालाई अतिरिक्त खोप दिने काम छिटो गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width