पर्यटनको इतिहास र सांस्कृतिक विविधता

के.वी. मसाल
चैत्र ५, २०७९

मानिस अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन् । सूचना र सञ्चार प्रविधिको प्रचूर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायत दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोलि होड नै चलेको छ । पर्यटनको लागि नेपालमा प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदा लोभ लाग्दा छन् । तिनै कारणले विश्वका पर्यटक नेपालमा आउने गर्दछन् ।

विश्वमा पर्यटनको इतिहासमा १८ औं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ  । पर्यटनको इतिहासमा नेपालको भूमिमा टेक्ने पहिलो पर्यटक मन्जुश्री हुन् भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाडौं उपत्यकाको जलाशयलाई चोभारको डाँडालाई गल्छी बनाएर पानीलाई निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेकी थिइन् । लिच्छवी शासक अंशुवर्माकी छोरी भृकुटीलाई सन् ५९२ मा तिब्बती सम्राट सोङ्चन गम्पोसँग विवाह गरी नेपालसँग सम्बन्ध गाँसिएको थियो । वैवाहिक सम्बन्धबाट तिब्बत गए पनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पलिो नेपाली पर्यटक मानिन्छ ।

सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक ८ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै छन् । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । त्यसपछि रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७/५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थाले । त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिकाको वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।

तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा युरोपेली देशहरुमा लागुपदार्थ ओसारपोसार र सेवनविरुद्धको कानुन ल्याउने लहरै चल्यो तर नेपालमा भने त्यो कानुन सन् १९७३ मा मात्र आयो । यसबीच युरोपेली युवाहरु युरोपको टर्की, मध्यपूर्वका रसिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरुमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले । युरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल/गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो तर आजभोलि नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ । पछिल्लो समय नेपालमा प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, स्काई ड्राइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर अवलोकन गर्न नेपालमा आउने गर्दछन् ।

पर्यटनको लागि नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रमणीय मानिन्छ । नेपालको सांस्कृतिक र धार्मिक विरासत हजारौं वर्ष पुरानो र विश्वमा छुट्टै पहिचान भएको छ । पर्यटनको विकासले अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान सावित भएको छ । नेपालमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका पर्यटकहरुका लागि अनौठो लाग्दछ । कतिपय पर्यटकहरु संस्कृतिकै अध्ययनका लागि पनि नेपाल आउने गर्दछन् । नेपाली समाजको विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अध्यनमा पर्यटकहरु रमाउँछन् । यहाँको विविधता हेर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि पर्यटकको रोजाइ नेपाल पर्दछ । विश्वमा सानो भूगोलभित्र प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश नेपालमात्रै होला । त्यसैले सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

नेपालका हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा, चाडपर्व छन् । ती सबै मौलिक छन्

नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक कार्यक्रमको खाँचो छ । पर्यटकीय स्थलको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनका लागि अब प्राथमिकता योजना ल्याउनुपर्छ । पर्यटन व्यवसायको संवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल, गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गर्नुपर्छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यापर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्छ । पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रुपमा लिइने पर्यटकका लागि सुरक्षित सडक, बासस्थान अर्थात् होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटनको विकास हुन्छ । अब नेपालमा पर्यटनको विकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षण गरी सबै प्रदेशमा सांस्कृतिक संग्रहालय स्थापना गर्नुपर्छ ।

पर्यटनको क्षेत्रमा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा भएर पनि त्यसको महत्व पर्यटकलाई बुझाउन सकेका छैनौं । नेपालमा पर्यटकको लागि धेरै आकर्षणका गन्तव्यहरु छन् । नेपालमा यति धेरै प्राचीन मन्दिरहरु, मस्जिदहरु, किल्लाहरु र अन्य ऐतिहासिक स्थानहरु छन् जुन विभिन्न देशका पर्यटकहरुले हेर्न चाहन्छन् । नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरु रमाउँछन् । नेपालमा पर्यटन प्रवद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिँगारेको धेरै ठाउँहरु छन् । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतामात्र होइन, पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, मठ मन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तव्य बनेका छन् । पर्यटनकै माध्यमबाट संस्कृतिको आदान प्रदान हुन्छ । विदेशी पर्यटक बढ्ने बित्तिकै देशमा विदेशी मुद्रा भित्रिन्छ । यसले राज्यलाई फाइदा त हुन्छ नै, सँगसँगै पर्यटन व्यवसायीलाई पनि फाइदा पुग्दछ ।

पर्यटन प्रवद्र्धनका लागि प्रकृतिले हामीलाई धेरै चीजहरु प्रदान गरेको छ । जुन पर्यटकहरुले मन पराउँछन् । पर्यटकहरु नेपालमा प्राकृतिक सुन्दरतासँग रम्न चाहन्छन् । नेपालमा पर्यटनको क्षेत्रमा सबै ठाउँमा पूर्वाधार नबन्दा केही समस्याहरु छन् । मुख्य समस्याहरु यातायात र सुरक्षा हुन् । अधिकांश पर्यटकलाई मनपर्ने सुन्दर मनोरम ठाउँहरु दुर्गम क्षेत्रमा पर्दछन् । ती सबै स्थानहरुमा पर्यटकहरु पुग्नका लागि सडकहरु निर्माण भएका छैनन् । दुर्गम क्षेत्रहरुमा पर्यटकलाई बस्न सुविधायुक्त होटल छैनन् । नेपालमा ५ हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरी नदी, खोलानालाको संख्या पनि ६ हजारभन्दा बढी छ । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन् ।

नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकि हरेक वर्षमा पर्यटकको संख्या नियाल्ने हो भने पनि खासै प्रगति हुन सकेको छैन ।

नेपाल पर्यटनको सम्भावना भएको देश हो । यसमा द्विविधा छैन । यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन । विज्ञान, प्रविधि र सञ्चार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रुपमा परिणत हुँदै गइरहेको छ । नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार हो । पर्यटन व्यवसायबाट आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नुपर्दछ । नेपालका गाउँहरु पर्यटन व्यवसायका लागि सुन्दर गहना हुन् । नेपालका हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा, चाडपर्व छन् । ती सबै मौलिक प्रकृतिका छन् । जुन कुरा पर्यटकले मन पराउँछन् । पर्यटकलाई हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन् । त्यसकारण राज्यले ती सबै गाउँको पर्यटन प्रवद्र्धनको योजना बनाउनु पर्दछ ।

नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रुपमा विश्वमा पहिचान छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु नै पर्यटन विकासका प्रमुख आधारका हुन्छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्दछन् । नेपालको भूगोलमा प्रत्येक १० किलोमिटरको अन्तरमा फरक–फरक हावापानी पाइन्छ । अर्कोतर्फ सांस्कृतिक रुपमा पनि धनी रहेको नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी छन् । यी क्षेत्रका आधारमा हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना धेरै छ । पर्यटन क्षेत्रमा देखिएका चुनौतीको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरुको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइँ र खर्चमा वृद्धि गराइ रोजगारीका अवसरको सिर्जना गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागिता चाहिन्छ ।

जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतिले फड्को मार्छ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गए पनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नुपर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत सहयोग पुर्‍याउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । नेपाल भित्रिने पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटक उल्लेख्य हुन सकेका छैनन् । जसले गर्दा पर्यटन व्यवसायीको व्यवसायसमेत धरापमा पर्ने जोखिम हुन्छ ।

नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रुप लिँदै गएको छ । विभिन्न देशहरुमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरु वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ । पर्यटनबाट लाखौं मानिसहरुलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठूलो अन्तर पार्दछ । त्यसरी पर्यटनले विश्वस्तरमा नै एउटा ठूलो उद्योगको रुप लिंदै गएको छ । नेपालमा पनि पर्यटनको क्रमश विकास हुँदै गइरहको छ । पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरु हुन्छन् । पर्यटनको क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग