इतिहासमा नलेखिएको स्याङ्जाको क्रान्ति

सुरेन्द्र थापामगर
जेठ ११, २०७८

यतिबेला क्रान्तिका कुरा बेमौसमी बाजाजस्तो भएको छ । विश्व कोरोनाले तहस नहस भइरहेको छ । मान्छेको मृत्युका खबरले सञ्चार जगत छाएको छ । प्रत्येक मान्छे आफू बाँच्न कोसिस गरिरहेको छ । मान्छेका मोबाइलका स्क्रीनमा समवेदनाका लस्करहरु छाएका छन् । यस्तोबेला इतिहासका दिनहरु सम्झने सायद कमै फूर्सद हुन्छ हामीलाई । कोरोनाको भयावहबीच हामी बाँच्न बाध्य छौं । हाम्रा दैनिकीहरु फेरिएका छन् । हिजो आफन्तसँग भेट हुँदा हातमिलाउने चलन अब नमस्कारमा परिणत भएको छ । मुख खोलेर दाँत देखाएर हाँस्ने हाम्रो बानी मास्क भित्रबाट आँखाले हाँस्नुपर्ने भएको छ ।

हामीले हाम्रा ऐतिहासिक दिनहरुलाई सम्झनुपर्छ । बाँच्न होडबाजीमा विगतको क्रान्ति बिर्सन हुँदैन । हाम्रो इतिहासले हामीलाई पढाएको क्रान्तिका दिवसमा २००७ सालको राणा विरोधी क्रान्ति पहिलो हो । त्यसभन्दा अघि गोरखामा लखन थापाको विद्रोह, सुपति गुरुङको विद्रोह, पश्चिममा एक दलितको विद्रोह सम्झन लायक छन् । २००७ सालको क्रान्तिको सेरोफेरोमा तत्कालीन पश्चिम ४ नम्बर नुवाकोट हाल स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नं. ८ बहाकोटमा होबिर आलेको नेतृत्वमा क्रान्ति भएको थियो । २००७ साल जेठ ११ गते तत्कालीन बडाहाकिमले नरविक्रम राणाको नेतृत्वमा सशस्त्र सैनिकलाई बहाकोटमा हमला गर्न पठाउँदा झडप भएको थियो । राजनीतिक आन्दोलनको इतिहास (लेखक दुर्गानारायण ढकाल) पुस्तकका अनुसार राणा विरोधी आन्दोलनमा बहाकोटका जनताहरुले २००५ सालदेखि नै मादल बजाउँदै नारा लगाउँँदै आएका थिए । कम्युनिस्ट नेता निर्मल लामा, नेपाली कांग्रेसका जमानसिङ गुरुङ र प्रजापरिषदका होबिर आलेले त्यस भेगमा राणा विराधी आन्दोलनलाई अघि बढाएका थिए । आन्दोलनकै दौरानमा २००७ साल जेठ ११ गते हतियारधारी राणाको सेनासँग त्यँहाका जनताले ढुंगामुढा लिएर गरेको सशस्त्र विद्रोह इतिहासको एउटा अविस्मरणीय आन्दोलन थियो । राणाको सेनासँग आमनेसामने भएर लड्नु त्यतिबेला चानेचुने कुरा थिएन ।

राणाका सिपाहीसँग ढुंगामुढा, लौरो, चिर्पट, तगारो लिएर लड्ने वीरंगनाहरुको साहस नालापानीको युद्धझैं थियो

त्यतिबेलाको क्रान्तिको मुख्य योजनाकार कम्युनिस्ट नेता निर्मल लामा नै थिए । निर्मल लामालाई सुवर्ण समशेरले जनसेना गठन गर्ने काम सुम्पेका थिए । विश्वेश्वरप्रसाद कोइरालाले २००७ सालको क्रान्ति हुनु अघि नै उनलाई पटना बोलाएर स्याङ्जा, बन्दीपुर, गोरखा कब्जा गर्ने मुक्तिसेनाको कमान्डर बनाएर पठाएका थिए । त्यतिबेला दुईवटा रिभल्भर र स्टेगन बिग्रेको रहेछ । त्यसैले बाटोमा फालेर पटकामात्र बोकेर १८ जनाको विद्रोही जनसेना लिएर निर्मल लामा स्याङ्जा नुवाकोट कब्जा गर्न सुरिएर नेपाल पसेका थिए । निर्मल लामाका अनुसार नुवाकोटमा १५/२० जना कालो लवेदा सुरुवाल लाउने राणाका मिलिसियाहरु रहेका थिए । निर्मल लामा राणा विरोधी आन्दोलनको क्रममा स्याङ्जाको कोल्मा बहाकोट, काहुले भारकोट, राङभाङ आदि गाउँमा जानुभएको र ५०/६० वटा भरुवा बन्दुकसमेत जम्मा गरेको उहाँको आत्मवृतान्तमा उल्लेख छ । लामाले मुक्तियोद्धाको रुपमा ५०/६० जना मानिसहरु पनि भर्ना गरेका थिए । बहाकोटमा उनले होबिर आलेकै घरमा बसेर भूमिगतरुपमा संगठन निर्माण गरी क्रान्तिको वातावरण तयार गरेका थिए । बहाकोट भञ्ज्याङको क्रान्तिबारे इतिहासमा त्यति लेखिएको छैन तापनि स्थानीय तहमा आफैं जागरुक भएर इतिहास खोतल्ने प्रयास भएका छन् । त्यो काम स्थानीय युवाहरुबाट भएको छ । जसअनुसार बहाकोटबाट प्रकाशित स्मारिकामा यामबहादुर खवासद्वारा लिखित अनुसन्धानात्मक लेख अनुसार बहाकोटमा राणा विरोधी आन्दोलन हुनुभन्दा अगाडी बहाकोटको बजारथुमको जंगलमा श्रीमाने दमै (लालबहादुर ), होबिर आले र रमणबहादुर हमाल जम्मा भएछन् । श्रीमाने दमैले झोलाबाट एउटा पोको झिकेर अत्यन्त गोप्य कुरा छ मसँग यो कुरा भंग भयो भने मेरो जीवन बर्बाद हुन्छ भनी गोपनीयता भंग नगर्ने कसमस्वरुप वनको काँडाले तीनै जनाले नङमुनि कोपेर रगत निकाली सपथ लेखी राणा विरोधी आन्दोलन गर्ने कसम खाएका रहेछन् । श्रीमाने दमैले भनेको त्यो ज्यान जाने चिज भनेको भारतमा छापिएको राणा विरोधी पर्चा थियो ।

राणा विरोधी गतिविधि गरेको सुराकीमार्पmत थाहा पाएपछि नुवाकोटबाट राणाका मिलिसियाहरु २००७ साल जेठ ११ गते नीरविक्रम राणाको नेतृत्वमा बहाकोटमा हतियारसहित आए । बाटामा आउँदै गर्दा बहाकोटभन्दा तल गोठमा भैंसीलाई घाँस हालेरघरतर्फ जान लागेको भारतीय सेनाबाट छुट्टीमा घरआएका चित्रबहादुर खवाससँग उनीहरुको जम्का भेट भएछ । सेनाले उनलाई यता कांग्रेस आएका छन् ? उनीहरु कहाँ कहाँ बस्छन् देखा भनेछन् । उनले मैले चिन्दिन भनी सरासर आफ्नो घर आएछन् । एक छिनपछि चित्रबहादुर खवासलाई घरमा भात खाइरहेको बेलामा उनको घरमा एक हुल सिपाहीहरु आएर ‘तल आइज ए लाहुरे’ भनी बोलाएर तल चौतारीमा लगी केरकार गरेछन् । ‘यहा को को नेता आउँछन् भन्’ भनेर बलजफ्ती हप्की दप्की गर्दासमेत उनी अडिग भएर आफूलाई थाहा नभएको बरु गोली हाने हान भनेछन् । पछि पूर्णबहादुर शाही र सु.चित्रबहादुर थापासमेतलाई बाँधेर पोखरीमा राखियो । एक एक गर्दै केही अन्य पुरुषहरुलाई राणाका सिपाहीहरुले कब्जामा लिई कुटपिट गर्न थालेपछि गाउँमा हल्लाखल्ला भयो ‘लौ राणाका फौजले गाउँले दाजुभाइलाई बाँधेर कुटे’ भनेपछि त्यहाँका स्थानीय आमाहरु आफ्ना मान्छे छुटाउन सिपाहीसँग आमनेसामने भिडन्तमा उत्रेछन् । सबैभन्दा पहिले समल जेठी (इन्द्रकुमारी मल्ल) ले तगारो झिकेर राणाका सिपाहीलाई आक्रमण गरेर कैयांैलाई घाइते बनाएका र यही जरियाबाट राणाका सिपाहीहरुसँग त्यतिबेला झडप भएको स्थानीयबासी बताउँछन् । राणाका सिपाहीसँग ढुंगामुढा, लौरो, चिर्पट, तगारो लिएर लड्ने वीरंगनाहरुको साहस नालापानीको युद्धझैं थियो । फरक यति छ नालापानीको युद्धको गाथा नेपाली इतिहासमा लेखियो तर स्याङ्जा बहाकोटको राणा विरोधी आन्दोलन लेखिएन । यसरी साहसपूर्ण लड्ने महिलाहरुमा ललितकुमारी गुरुङ, खगीकुमारी आले, यामकुमारी मल्ल, ठूली माइली (कृष्णकुमारी थापा), नरकुमारी खवास, पारु राना, दुर्पा राना, पूर्णकुमारी आले, नन्दकुमारी आले छन् भने पुरुषहरुमा हेमबहादुर थापा, कोठे सार्की, पूर्णबहादुर शाही, बदले थापा, ढाकबहादुर मल्ल, जीतबहादुर खवास, चित्रबहादुर थापा,जंगे थापा (गाँडाकौला काइला), लोकबहादुर सिंह, उजिरसिंह शाही र लालबहादुर आलेलगायत गाउँलेहरु थिए । झडपमा स्थानीय उजिर शाही, भीमकुमारीलाई गोली लागेको र दोजिया ललितकुमारी शाहीको त्यही घाउका कारण पछि मृत्युसमेत भएको बताइन्छ । त्यस आन्दोलनमा राणाका मिलिसियाहरुले निर्दाेष २८ जना गाउँलेहरुलाई गिरफ्तार गरेर नुवाकोट जेल लगेका थिए ।

बहाकोट भञ्ज्याङ भएको राणा विरोधी आन्दोलनमा नेतृत्व गर्ने मुख्य व्यक्ति होबि आले नै थिए । राणाले उनलाई गिरफ्तार गर्न नै त्यतिबेला सेना पठाएको थियो । मुक्तियोद्धाको कमान्डर बनेर स्याङ्जा नुवाकोटको क्षेत्रमा खटिनु भएका होबिर आले प्रजातान्त्रिक कांग्रेसमा सम्मिलित भई कांग्रेसको झण्डा लिएर त्यस भेगमा सभा जुलुुस गर्दै राणा विरोधी आन्दोलन चर्काउनु भएको थियो । त्यतिखेर राणका सिपाहीले होबिर आलेलाई पक्रन उनको घर घेरेका थिए तर छापामार शैलीमा होबिर आले राणाको पञ्जाबाट फुत्कनुभयो । उहाँलाई गिरफ्तार गर्न नसकेपछि राणाका सिपाहीले उहाँको घर खानतलासी गर्ने नाममा घरका सबै सामानहरु बारीतिर फाल्दिएका थिए । गिरफ्तारीबाट बचेपछि उहाँ राणा शासन विरोधी आन्दोलनमा जुटिरहनु भयो । राणाशाहीले उहाँको टाउको लिएर आउनेलाई ६० हजार नगद र लेप्टिनेन्ट दर्जा दिने सम्मको घोषणा गरेका थिए । तर राणाको हरप्रयासले पनि उनलाई पक्रन सकेन । बरु उल्टो उनले जमानसिह गुरुङसँग मिलेर नुवाकोट कब्जा गर्ने साहसपूर्ण काम गरेर आफ्ना साथीहरु छुटाउन सफल भएका थिए । दिल्ली सम्झौतापछि होबिर आलेको कांग्रेससँग मोह भंग भएपछि कम्युनिस्ट पार्टीसँग आबद्ध भएका थिए भनिन्छ । पछिल्लो कालखण्डमा उहाँ राजाबाट मनोनित माननीय पनि हुनु भयो । जीवनको अन्तिम कालखण्डमा उहाँ धर्मकर्मका पुस्तक अध्ययन गरेर समाजमा अर्तीउपदेश दिँदै समय गुजार्नुहुन्थ्यो । जेहोस् समाज सुधारक क्रान्तियोद्धा होबिर आले इतिहासले बिर्सेको युगपुरुष हो ।

यसरी हेर्दा राणा विरोधी आन्दोलनमा स्याङ्जा बहाकोट भञ्ज्याङको आन्दोलन नेपालको ग्रामीण भेगमा पहिलो थियो । त्यहाँका स्थानीयबासीले राणाविरुद्ध गरेको संघर्ष त्यतिबेला साँच्चै अनुकरणीय थियो । बहाकोट भञ्ज्याङका ती वीरंगना नारीहरु जसले काखमा नानी च्यापेर राणाको सेनासँग लडे, भिडे त्यसले नालापानीको युद्धको झल्को दिन्छ क्रान्ति बजारको इतिहास सम्झँदा । २००७ साल जेठ ११ गते करिब ११ बजे नै त्यहाँ राणाका सिपाही (मिलेसिया) सँग भएको सशस्त्र संघर्षको वीरतालाई सम्झँदै हरेक वर्ष स्याङ्जाको बहाकोट भञ्ज्याङमा विविध कार्यक्रमसहित मेला लाग्ने गर्छ । त्यसभेगमा लाग्ने हाटबजारमध्ये पछिल्लो मेला हुँदा क्रान्तिबजारलाई कान्छी बजार भनेर जनजिभ्रोमा भन्ने गरिन्छ । जुनसुकै क्रान्तिको पनि इतिहास गर्विलो हुन्छ तर अक्सर सहरबजारको क्रान्ति देखिन्छ, लेखिन्छ तर बिडम्बना गाउँ घरको क्रान्ति देखिँदैन, लेखिँदैन । अब इतिहासमा स्याङ्जा बहाकोटको भञ्ज्याङको त्यो क्रान्ति लेखिनुपर्छ, देखिनुपर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग