विश्वकर्मा जयन्तीमा दिव्य सन्देश

ब्रह्माकुमारी सुधा
असाेज १, २०७९

सनातन संस्कृतिमा मनाइने श्री विश्वकर्मा दिवसको उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

धार्मिक मान्यताअनुसार ब्रह्माजीले संसारको रचना गर्नुभयो र त्यसलाई सुन्दर बनाउने जिम्मा विश्वकर्माजीलाई दिनुभयो । यो पनि मान्यता छ कि विश्वकर्माजी ब्रह्माजीका पुत्र वास्तुको सन्तान हुनुहुन्थ्यो । भनिन्छ, रावणको लंका, कृष्णजीको द्वारिका, पाण्डवहरुको इन्द्रप्रश्थ, देवराज इन्द्रको वज्र, भगवान् शिवको त्रिशूल, विष्णुको सुदर्शनचक्र र यमराजको लागि कालदण्ड लगायत कैयौं चिजहरुको निर्माण विश्वकर्माद्वारा भएको थियो । देवताहरुले विश्वकर्माजीलाई जुनसुकै कार्य दिए तापनि विश्वकर्माजीले आफ्नो सम्पूर्ण कार्यकूशलताका साथ पूर्ण गर्नुहुन्थ्यो । त्यस कारणले नै भगवान् विश्वकर्मालाई संसारको सबैभन्दा पहिलो र ठूलो इन्जिनियर मानिन्छ ।

आज उहाँकै जयन्तीको अवसरमा देशभरिका कालिगढहरु, शिल्पकारहरु, मूर्तिकारहरुले उहाँको पूजा आराधाना गरेर उहाँलाई नमन गर्दछन् र यही चाहना राख्छन् कि विश्वकर्माजीको कलाकृतिमा जुन निपूणता थियो, त्यस्तो निपूणता, कार्य क्षमता, कार्य कुशलता, उनीहरुभित्र पनि आओस् ।

जब हामी विश्वकर्माजीको चित्र हेछार्, त उहाँलाई चारओटा हात भएको देखाइन्छ र हरेक हातमा एउटा एउटा विशेष अलंकार लिएको देखाइन्छ । उहाँको वाहन हाँस देखाइन्छ । चारवटा अलंकारहरुमध्ये दुइटा अलंकारहरु रस्सी र नाप्ने टेप, कर्म कुशलताको प्रतीक हो भने बाँकी दुइटा अलंकारहरु शास्त्र र कमण्डलु आध्यात्मिकताको प्रतीक हो । विश्वकर्माजीका यी अलंकारहरुले हाम्रो जीवनमा कार्यकुशलताको साथ साथै सन्तुलित जीवनको महत्वलाई दर्शाउँछन् । जब जीवन सन्तुलित हुन्छ तबमात्र कुनै पनि कार्यमा निपूणता सजिलै प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी विश्वकर्माजीलाई दाह्री जुँगा भएको वृद्ध अवस्थामा देखाइन्छ जुन अरु कुनै पनि देवताहरु जस्तै श्रीकृष्ण, श्रीराम, लक्ष्मण आदिलाई देखाइँदैन ।

वृद्ध अवस्था अनुभवी हुनुको प्रतीक हो भने दाह्री जुँगा भनेको यही कलीयुगी संसारमा रहनुको प्रतीक हो । सत्युगी देवी देवताहरुको कञ्चन काया हुन्छ, त्यहाँ कोही पनि वृद्ध अवस्थालाई प्राप्त गर्दैनन् । भावार्थ यही हो कि आजको दुनियाका मानिसहरुले पनि आफ्नो जीवनमा विश्वकर्माको जस्तो क्षमता, विशेषतालाई धारण गर्न सक्छन् र आफ्नो हर कलाकृतिमा सम्पूर्ण रुपले निपूणता हासिल गर्न सक्छन् । त्यसकारण आज हरेक मानिस एउटा कारिगर हो जसले आफ्नो सुन्दर जीवन निर्माण गरिरहेको हुन्छ ।

एक पटक एउटा शिल्पकारले एउटा ढुंगालाई फोर्न थाल्छ, उसलाई सोधिन्छ तिमी यो के गर्दै छौ ? तब उसले जवाफ दिन्छ,‘ यो ढुंगाभित्र मूर्ति लुकेको छ, म त केवल यो बाहिरको अतिरिक्त भागलाई फाल्दै छु ताकि भित्र लुकेको मूर्ति बाहिर देखिओस् । ठिक, त्यसैगरी मानिस पनि एउटा कारिगर हो, जसले आफ्नो जीवनलाई नियालेर हेर्न जान्नुपर्दछ । जब मानिसले आफ्नो जीवनलाई नियालेर हेर्दछ, त्यति बेला उसले यो स्मृतिमा राख्नपर्दछ कि ऊ भित्र पनि त्यस्ता कैयौ अतिरिक्त तहहरु छन् जुन कुनै कामका छैनन् । त्यस बाहिरी आवरणलाई जान्नु पर्दछ तब मात्र ऊ भित्रबाट पनि एउटा सुन्दर मूर्ति प्रत्यक्ष हुन सक्दछ र उ, उसकै विश्वकर्मा बनेर आफ्नो कार्य कुशलतालाई विकसित गर्न सक्दछ ।

विश्वकर्माजीको एउटा हातमा शास्त्र देखाएको छ जुन आध्यात्मिक प्रज्ञालाई आफ्नो जीवनमा ढाल्नु, त्यसलाई व्यावहारिकतामा ल्याउनु र अरुलाई पनि आफ्नो जीवनद्वारा प्रेरणा दिनुको प्रतीक हो । त्यसकारण त विश्वकर्माजीले बनाएका हरेक आश्चर्यलाई आजसम्म पनि मानिसहरुले सम्झन्छन् । यथार्थता यही हो कि उहाँको जीवनको पूर्णताको आधार आध्यात्मिक ज्ञान र त्यसको पराकाष्ठा नै थियो । साथै योग तपस्याको प्रतीक होः कमण्डलु र माला । जीवनमा ज्ञानको साथै योगको पनि उत्तिकै आवश्यकता छ । श्रीमदभागवद् गीतामा वर्णन गरिएअुनसार योग अर्थात् स्वयंलाई सुसंस्कृत गर्ने विज्ञान हो । जब हामीले जीवनलाई तपस्याको रुपमा लिन्छौं तब हाम्रो कर्ममा सद्गुणहरुको सुन्दरता स्वतःस्फूर्त प्रकट हुन थाल्दछ । आजको मानव जीवन नैतिकता, अनुशासन, मर्यादाविहीन भइसकेको छ । जसबाट जीवन अनुशासित, सुसंस्कारी र मर्यादित बन्नुको साथै कर्मेन्द्रियहरुमाथि सम्पूर्ण नियन्त्रण हुन्छ, त्यही विज्ञानलाई भनिन्छ, योग ।

विश्वकर्मा बाबाको वाहन हाँस देखाइएको छ । हाँस पारख शक्ति तीव्र हुनुका साथै स्वच्छता र सुन्दरताको पनि प्रतीक हो

जस्तै कुनै एउटा कारिगरले लामो समयको अभ्यासद्वारा एउटा कलाकृति तयार पार्छ भने त्यो उसको तपस्या हो । ठिक यसैगरी कर्म गर्दा हामीले प्रयोग गर्ने औजार, एवं साधन तिनै हून्, तर साधन र साधना– यी दुवै कुरामा सन्तुलन ल्याउन जरुरी छ । विश्वकर्माजीले हामीलाई यही स्पष्ट गर्नुहुन्छ कि साधनको साथमा साधना नछुटोस् । जब हामीले जीवनमा योगलाई समावेश गर्दछौं तब एकाग्रताको विकास हुन्छ । एकाग्रताबाट जीवनमा निखार आउनाको साथै हाम्रा हरेक रचनाहरुमा पनि निखार आउँछ । आज हरेक कारिगरहरु यही चाहन्छन् कि उनीहरुको रचनामा यस्तो निखार आओस् कि त्यसलाई हेर्ने जति सबैजना मन्त्रमुग्ध होऊन् ।

योगले हाम्रो जीवनमा सुन्दरता भरिदिन्छ र त्यस सुन्दरतामा निखार ल्याउने शक्ति प्रदान गर्दछ । किनकि योग भनेको आत्माको परमात्मासँगको आन्तरिक आध्यात्मिक मीलनको नाम हो । जब बुद्धि परमात्मासँग जोडिन्छ तब आत्मारुपी बेट्री चार्ज हुन थाल्छ । आत्मारुपी बेट्री चार्ज भएको छ भने कुनै पनि कार्य गर्दा थकाइ महशुस हुँदैन । जीवन खुसीले भरिन्छ र खुसीसाथ कार्य गर्नाले कर्ममा निखार सजिलै आउँछ । यसरी आफ्नो हरेक कलाकृतिलाई सुन्दर बनाउनका लागि योग अर्थात् एकाग्रता, साधना, अभ्यास र साथमा खुसी अति आवश्यक हुन्छ । जति हामी हरेक कार्य खुसी, प्रेम र उमंग उत्साहले गर्दछौं, त्यति हाम्रो रचना मनमोहक बन्दछ ।

त्यसैगरी नाप्ने टेपको अर्थ हो एक्युरेसी र रस्सी अर्थात् संगठनको शक्ति । अनेक स–साना धागोहरुको संगठनबाट रस्सी बन्दछ, त्यसैले रस्सीलाई चुँडाल्न सकिँदैन तर धागोलाई सजिलै चुँडाल्न सकिन्छ । कुनै पनि कारिगरले एक्लै कुनै पनि कार्य गर्न सक्दैन, संगठनमा गरेको कार्य छिटो सम्पन्न हुनुका साथ सुन्दर पनि हुन्छ । भनिन्छ, जब ताज महल बन्यो, त्यतिबेला २२ हजार कारिगरहरु मिलेर ताजमहल बनाए । संसारका कुनै पनि आश्चर्यजनक निर्माणहरु कुनै एक व्यक्तिको मेहनतले मात्र बनेका होइनन् । जब धेरै कारिगरहरु आपसमा मिलेर, आफूमा भएको क्षमतालाई प्रयोग गरेर कार्य गर्दछन् भने अनेक आश्चर्यहरुको निर्माण हुन सक्दछ ।

विश्वकर्माजीले पनि जब स्वर्ग रच्नुभयो एक्लै त रच्नुभएन होला ? उहाँको संगठनमा पनि कैयौं कारिगरहरु थिए होलान् । संगठनको शक्तिको धेरै ठूलो महत्व छ । जसरी संगठित रुपमा बनाइएका ७ आश्चर्यहरुको आजसम्म पनि मानिसहरुले महिमा गर्दछन्, त्यसैगरी परमात्मा भन्नुहुन्छ, हाम्रो हर कर्म यादगर बनोस् त्यसका लागि संगठित रुपमा रह्यौं, एक अर्कामा भएको क्षमतालाई कार्यमा लगायौं भने खुसीसँग अगाडि बढ्न सकिन्छ, जसबाट कार्यमा शक्ति भरिन्छ र त्यही शक्तिबाट अन्य धेरै कुराहरुको निर्माण गर्न सकिन्छ । विश्वकर्मा बाबाको वाहन हाँस देखाइएको छ । हाँस पारख शक्ति तीव्र हुनुका साथै स्वच्छता र सुन्दरताको पनि प्रतीक हो ।

हामीले आफ्नो जीवनलाई अभिमानी भएर चलाउनु हुँदैन । जब हामीमा अभिमान आउँछ तब स्वाभाविक रुपमा आफूभित्र भएका कलाकृति, सीप एवं खुबीहरुमा निखार ल्याउन सक्दैनौं र विस्तारै विस्तारै त्यसमा कमजोरीहरु आउन थाल्छन् । त्यसकारण परमात्माले हाम्रो जीवनलाई सही दिशामा लिएर जानको लागि जुन आध्यात्मिक ज्ञान दिनुहुन्छ त्यस ज्ञानलाई आफ्नो जीवनमा समावेश गर्न आवश्यक छ । किनकि जति त्यस ज्ञानलाई हामीले व्यवहारमा ढाल्दछौं, त्यति नै जीवन सुन्दर बन्दै जान्छ, सबैसँग मधुर सम्बन्ध हुन्छ र जीवनको हर कर्म सुन्दर र निपूण हुन्छ । त्यसकारण मानिस आफ्नो जीवनको आफैं शिल्पकार हो । आध्यात्मिकताले जीवनको हरेक पक्षमा सन्तुलन एवं सम्पूर्णता ल्याउँछ, कार्य क्षमता, कार्य कुशलतालाई विकसित गर्दछ र हाम्रो हरेक कलाकृति, हरेक रचना विना कुनै अहंकार, निपूण हुन्छ । किनकि जहाँ अभिमान आँउछ त्यहाँ मनुष्यको उत्थानको सट्टा पतन हुन्छ । तसर्थ अहंकारलाई नष्ट गर्न आध्यात्मिकता अपरिहार्यता हुन्छ ।

यसरी जीवनमा सधै राम्रा कुराहरुलाई धारण गरी अघि बढ्ने र अभिमानलाई छोडेर आफ्ना हरेक कलाकृतिलाई सुन्दर बनाउनु पर्दछ भन्ने सुन्दर प्रेरणा विश्वकर्मा देवताको जीवनबाट लिन सकिन्छ । ओम शान्ति
(लेखक ब्रह्माकुमारीज् नेपालका वरिष्ठ राजयोग प्रशिक्षक हुन् ।)

Related News

सम्बन्धित समाचार

hero news full width