योगीराज भगवान् श्रीकृष्ण

रवीन्द्र माकाजू
भाद्र ३, २०७९

भगवान् श्रीकृष्णलाई योगेश्वर अर्थात् योगीराज भन्ने गरिन्छ । योगीराज सम्बोधन हुनुको प्रमुख कारण श्रीमद्भागवत् गीता दर्शनमा योग शब्दको अत्याधिक प्रयोग हुनाले हो । गीताका १८ अध्यायलाई विभिन्न योगको नामकरण गरिएको छ । यसकारण भगवान् श्रीकृष्णलाई योगका सूत्रधारका रुपमा लिने गरिन्छ । वास्तवमा श्रीकृष्ण हुन्, कर्मयोगका प्रेरक । यही कारणले नै हुनुपर्छ अहिले विश्वमा श्रीमद्भागवत् गीता निकै लोकप्रिय बन्दै गइरहेको । हजारौं वर्षदेखि यो पुस्तक साधकका निम्ति प्रेरणाको श्रोत बन्दै आइरहेको छ । यो पुस्तकमा कुनै फेरबदल भएको छैन । धेरैको विश्वास छ यो पुस्तक भगवान्को दिव्य अमृतवाणी हो ।

वास्तवमा योग शब्दले आत्मा र परमात्माको गहन सम्बन्धलाई जनाउँछ । भगवान् श्रीकृष्णमा सिद्धान्तअनुसार मानव शरीर परमात्माको दिव्य स्वरुप हो । परमात्माको विस्तार रुप हो आत्मा । जसरी संसारमा जे–जति प्रकाश स्वरुप छन्, ती सबै सूर्यको बिस्तार हुन् । यही परमसत्य ज्ञानलाई प्रकाश पार्ने ध्येयले श्रीमद्भागवत गीताको रचना गरिएको हो । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई माध्यम बनाएर समस्त मानव जातिलाई योगको मार्मिक सन्देश दिनुभएको छ । यही योगदर्शन प्रतिपादनका कारण श्रीकृष्णलाई जगद्गुरुको सम्मान दिइएको छ ।

योग स्वयंमा एक दिव्य दर्शन मानिन्छ । तसर्थ योग जीवन दर्शन हो । जुनसुकै साधनाका माध्यमबाट परमात्माको अनुभूति गर्नु गराउनु योग दर्शनको मूल लक्ष्य हो । लक्ष्य महान भए निष्ठा र सर्मप्रण भए हरेक लक्ष्य प्राप्ति गर्न सकिन्छ । भगवान् श्रीकृष्णले निष्काम कर्मयोगको शिक्षा दिनुभएको छ । कामनासहितका कर्म नै वास्तवमा दुःखको मूल कारण मानिन्छ । श्रीकृष्णले गीतामा यतिसम्म भन्नुभएको छ—वास्तवमा यस धर्तीमा सुख, दुःख, लाभ, हानी, मान, अपमान भन्ने वस्तु नै छैन । यो त केवल मनको उपज हो । मन नै सुख दुःखको मूल कारण हो । मनका कारण बन्धन र मुक्ति मिल्छ । मन स्वतन्त्र भए, निर्विकार भए मुक्तिको अनुभूति हुन्छ । देहाभिमान त्यागेर अजर अमर परमानन्द स्वरुप आत्मामा रमाउन जान्यो भने व्यक्तिले त्यही क्षण त्यही पल परमानन्द र मुक्तिको अनुभूति गर्न सक्दछ ।

जसरी संसारमा जे–जति प्रकाश स्वरुप छन्, ती सबै सूर्यको बिस्तार हुन् । यही परमसत्य ज्ञानलाई प्रकाश पार्ने ध्येयले श्रीमद्भागवत गीताको रचना गरिएको हो ।

वास्तवमा जीवन जटिल पनि छ, अनि अति सहज पनि । जीवन स्वयंमा एक दृष्टिकोण हो । तसर्थ कृष्णको भाषामा जीवन स्वयंमा एक अहोभाग्य हो अनि दुर्भाग्य पनि । उहाँ भन्नुहुन्छ—म कसैलाई विगार्न पनि विगार्दिन न त कसैलाई सपाछु नै । मान्छे आफ्नै कर्मले मायाको बन्धनमा बाँधिन्छ अनि आफ्नै दुष्कर्मले बन्धनमा पर्दछ ।

भगवान् श्रीकृष्णका योग दर्शन आज विश्वमा निकै लोकप्रिय बन्दै गइराखेको छ । किनभने यो दर्शनले मानव जातिलाई मार्ग दर्शन गराएको छ । उहाँ भन्नुहुन्छ—कर्ममा तिम्रो अधिकार छ फलमा होइन ।

मातापिताले आफ्ना सन्तानलाई आफ्नो दायित्व अनुरुप उच्च शिक्षा दिक्षा, संस्कार प्रदान गर्नुपर्दछ । हरेक नागरिकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने हो भने रामराज्य खोज्न टाढा जानु पर्दैन । कर्तव्य कर्म पूरा नगर्ने केवल अधिकार खोज्ने प्रवृत्ति नै दुःखको कारण हो । सात्विक भोजन नगर्ने, तामसिक आहार बिहारले समाजमा अनेकौं झमेला, झै–झगडा सृजना गर्दछ । श्रीमद्भागवत् गीता समत्व र समानतामा विश्वास राख्दछ । समग्र विश्वलाई एउटै परिवार मान्दछ । सबै मानवमा परमात्माको वास हुन्छ भन्ने परम् सुखदायी सिद्धान्तलाई प्रतिपादन गर्दछ ।

श्रीमद्भागवतको माध्यमबाट श्रीकृष्णले ज्ञान, कर्म र भक्ति योगको महिमा झल्काउनु भएको छ । लाग्छ, श्रीमद्भागवत हर समस्याको समाधान हो । मानव जातिको मान्छेले आफूलाई, अरुलाई देह नठानी आत्मा मान्न सके ठान्न सके घृणा र द्वेष नै कहाँ हुन्छ र? समत्व र समानता सहअस्तित्व र सद्भावमय जीवन सुखका शान्तिका माध्यम हो भन्ने सन्देश दिन्छ । व्यक्तिलाई आसुरी प्रवृत्तिबाट सात्विक राजमार्गमा लम्कन हरपल, हरक्षण मार्ग निर्देशन गरिरहेको छ । यस कारण श्रीकृष्णको लोकप्रियता झनझनै बढ्दो छ । उहाँद्वारा प्रतिपादित श्रीमद्भागवत गीताको अनुशीलन आवश्यक छ ।

आज जन्माष्टमी महापर्व । समस्त भक्तहरुले आज भगवान् यस धर्तीमा अवतरण भएको पावन दिन मानेर उहाँको पूजा अर्चना, उपवान आराधाना गरेर मनाइरहेका छन् । विश्वका हरेक भू–भागमा । यस उपलक्ष्यमा सबैलाई मंगलमय शुभकामना ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width