शिरको टोपीः घिरौलाको जालो

असफल गौतम
असार ६, २०७७

बालखैमा आमाले घिरौलाका जालाले मिचेपछि मयल जान्छ बाबु भनेर बिऊ राखेको घिरौलाको जालो निकै जतनले घरको पालिमा सिउरनु हुन्थ्यो । नुहाउने दिनमा कन्नापछाडि मिच्दा छाला गयो कि जस्तो नभएको होइन, तर छोराछोरीको माया कुन बाबुआमालाई नहोला र ? दुख्यो भनेर खुट्टा बजार्थे भैहाल्यो अब भनेर नुवाइसकेपछि चिल्लोचाप्लो गरेर दिनभर घाममा सुत्दाको निद्रा काम प्यारो हुँदैनथ्यो । २०६७ सालमा पङ्क्तिकारलाई आमाको त्यो व्यवहार झलक्क याद आयो । याद आउनुको सन्दर्भ त्यही घिरौलाको जालोसँग जोडिएको थियो । जिन्दगीमा कहिल्यै नदेखेको अनौठो दृश्य घिरौलाको जालोको टोपी बनाएर लगाएको देख्दा व्याधाले सिकार हेरे झैँ हेरे हुँला । शिरको शोभा बनेर बसेको घिरौलाको जालाको टोपी त्यसमाथि लालीगुराँसको फूली देख्दा राष्ट्रियताप्रतिको भावले मन गह्रुङगो बनायो । यो सबै सन्दर्भ लोककवि चेकबहादुर बरुवालको लोकप्रिय कर्मसँग जोडिएको थियो । १९९६ जेठ ३१ गतेका दिन पिता नैनसिंह बरुवाल र माता मुगादेवी बरुवालको कोखबाट जन्मेका दुई सन्तानमध्येका चेतबहादुर बरुवालको शिरमा विराजमान घिरौलाको जालाको टोपीले साच्चै नेपाली हुुनुको गौरवबोध एकपटक गराएर छाड्यो ।

८० प्रतिशत नेपाली कृषिमै निर्भर हुनुपर्ने, बाँच्नका लागि कृषि कर्म नै गर्नुपर्ने अवस्था छ । सोहीकारण खेतबारीका छेऊकुना खनीखोस्र्री गर्नैपर्ने, बिऊबेर्ना छर्नैपर्ने, कतै बाँझै रह्यो कि भनेर हेर्नुपर्ने, कतै भुङ्गान प¥यो कि, मुसा वा जङ्गली जनावारले खन्यो कि ? जस्ता किसानी परिवारका समस्या, धेरै समयसम्म बाली लगाउन गोरु किन्नुपर्ने, किन्दा ख्याल गर्नुपर्ने, वर्षे सिर्जनको ख्याल गर्नुपर्ने, दाजुभाइ सरसल्लाह गर्नुपर्ने जे जति सन्दर्भ जसरी आए तापनि बरुवालले हाम्रै लोकजीवनकै लोकोक्तिलाई जम्मा गरेर छोडेका छन् ।

जनकविकेशरी धर्मराज थापाले आफ्नो भेगको लेखनलाई अगाडि बढाउने मनसायले स्थापना गरेको शुक्ला साहित्य समितिका माध्यमले नै पङ्क्तिकारलाई लोककवि चेतबहादुर बरुवालसँग साक्षात्कार हुने सौभाग्य जुराएको थियो । ‘पोखराको लोकगीत’ र ‘विश्वप्रकाश’ जस्ता दुई लोकप्रिय कृति प्रकाशन गरेका बरुवालको योगदानको कदर गर्दै इन्द्रराज्य लक्ष्मी मावि लामाचौर, विन्ध्यवासिनी मावि बाटुलेचौर, लेखनाथ साहित्य प्रतिष्ठान, नवआदर्श युवा क्लब लामाचौरलगायतका संघसंस्थाले सम्मान, अभिनन्दन गरेका थिए । जुन सम्मान र अभिनन्दन उनको टोपीको भन्दा सिर्जनाको थियो । जन्मेपछि मर्नुपर्ने जिन्दगीको रित नै हो । २०७० कार्तिक ९ गतेका दिन मेरो मानसपटलमा बिराजमान शिरको शोभा घिरौलाको टोपी भुइँमा झरेको खबर धुवा झैँ फैलियो । मन गहु्रङ्गो भयो । दुई पटकमात्रै वाङ्मयिक अनुष्ठानमा देखेर क्वारक्वारर्ती हेरेको टोपी हेर्ने दिनको अन्त्य भयो । त्यसपछिका दिनमा शुक्ला साहित्य समितिसँगको सामिप्यता बढ्दै जाँदा घरको चुलोचौकोदेखि साहित्यको कलम र कुची सबैमा आफूलाई समाहित गराउँदै आएकी इन्दु भट्टराईबाट जालाकै टोपी विराजमान भएको उपहार ‘लोककवि चेतबहादुर बरुवालका गीतहरु’ (२०७१) कृति हात परेपछि धोका पुग्ने गरेर टोपी हेरे । पुनः हेरे । शुक्ला साहित्य समिति पोखराले बरुवालको निधनपछि छरिएका २५ गीतलाई एकीकृत गरेको रहेछ, खुसी लाग्यो । नेत्रबहादुर बानियाँ, सुन्दर मानन्धर, कुलबहादुर खत्री सम्पादक रहेको कृति ६० पृष्ठमा संरचित छ ।

बालकैमा पितृस्नेहबाट बञ्चित बरुवाल सानैदेखि कविता लेख्न र वाचन गर्न माहिर थिए । आर्थिक अभावकै कारण २०२० सालमा विद्यालयबाट वनभोज जान नपाएपछि वनभोजवापत लाग्ने एक रुपैयाँ ५० पैसा शिक्षक मुक्तिनाथ शर्माले सहयोग गरेपछि वनभोज गएर सुनाएको कविताको प्रभावबाट तत्कालीन समयमै समाजसेवी इन्द्रमान थकालीले पाँच रुपैयाँ पुरस्कार दिएर उनको प्रतिभालाई प्रोत्साहन गरेको पाइन्छ । २०२० सालदेखि सडकमै कविता वाचन गर्दै हिँडेका बरुवाललाई चोकमा बसेर कविता सुनाइरहेका बेला पञ्चायतकालीन प्रहरीले पक्राउ गरेका थिए । त्यो मात्रै होइन, सिस्नुपानी लगाई तीनदिनसम्म थुनामा राखी आइन्दा राजनीतिक कविता नभन्ने सर्तमा कागज गराएर छोडेका थिए । तापनि उनले कविता लेख्ने क्रम छोडेनन् २०३६ सालमा चोकचोकमा बहुदलको पक्षमा कविता सुनाएकाले उनी तत्कालीन समयका चर्चित कवि थिए । २०३४ सालमा पत्नी वियोगमा परेका बरुवालले शोकलाई शक्तिमा बदलेर निरन्तर कविता लेख्दै गएकाले उनी प्रिय लोककवि बनेका थिए ।

बरुवालको प्रस्तुत सङ्ग्रहमा जन्मभूमिमा बसेर वरिपरिको परिवेशलाई लिएर लेखिएको गीत त्यो चरीले के गीत गा’को कृतिको पहिलो गीत हो । जहाँ एकदिन सबैले छोडेर जानुपर्ने जीवनको क्षणभङ्गुरतालाई यसरी देखाइएको छ:

हेर्दा खेरी डर लाग्ने भुलेत्राको घारी
जानुपर्छ एकदिन हामी माया मारी (पृ. १) ।

जन्मेपछि मर्नु जीवनको रित हो । यसरी जीवनलाई नजिकैबाट छामेका बरुवालले प्रस्तुत गीतमा जन्मभूमि आसपासको मनोरम् दृश्यलगायतका सन्दर्भलाई अभिव्यक्त गरेका छन् । यसरी सङ्कलन गरिएका लोकगीतमा कथ्य लोकजीवनको भाव अभिव्यक्त भएको पाइन्छ । कहिले यहाँको प्रकृतिको लिला देखेर धोका नपुगेका कुरा गरेका छन् । कहिले मनमा पालेर राखेको फोहर फालौं भनेर त कहिले डुम्म बादल लाग्दा निद्राले झुमलेका कुरा:

तलपट्टी दाइको घर खैलाबैला थियो
शान्त होला भन्दाभन्दै नराम्रो रुप लियो (पृ ५) ।

गाउँ समाजमा छटाएका साँढेहरुले निकै दुःख दिएका छन् । कति दुःख गरेर किसानले लगाएको खेतीवालीमा ती साँढेले सिँगौरी खेलेर ध्वस्त पारेका छन् । यसैले बरुवालले किसानको खेती खाएर चार खुट्टे साँढेले रुवाएका सन्दर्भलाई पनि गीत बनाएका छन् । ऊ बेला लेखिएका उनका गीत पछिल्लो समय पनि उत्तिकै सान्दर्भकि छन् । देशमा देखिएका दुई खुट्टे छटाएका साँढेले रुवाउनु रुवाएका छन् । त्यसैले अब ती देश बिगार्ने साँढेलाई पनि ठिक पार्नुपर्छ । हल मिलाएर बनाइएको उम्मेदवारले राम्ररी छेऊकुना लगाउन सकेका छैनन् । हल मिल्यो भनेर मात्र के गर्ने भन्ने व्यङ्ग्यपुटले भनिएका गीत पनि कृतिमा छन् ।

मानवीय स्वभाव अनौठो हुन्छ । जीउँदो छँदा उसको कुवास्ता हुँदैन तर मरेपछि यस्तो र उस्तो भन्ने गरेको धेरै सुनिन्छ । त्यो लोकाचारको के काम भन्दै उनी भन्छन्:

बाँचुञ्जेल छैन वास्ता मरेकालाई वास्ता
मरेपछि जाने कहाँ कस्ले देख्छ रस्ता ? (पृ ११)

देशमा परिवर्तनका लागि कविता लेख्दा सिस्नुपानीसमेत खाएका लोककविले देशको बिग्रेको चाला देखेर पनि गीत लेखेका छन् । र गीतमै कहिले हुने भलो भन्दै सोध्छन्:

सात सालमा प्रजातन्त्र पहिलो पटक आयो

सत्र सालमा केके भयो छिन्नभिन्न भयो
प्रजातन्त्र शान्ति क्षेत्र भन्ने नेपालमा
गोली मात्र थाप्नुप¥यो आफ्नै कपालमा (पृ. १४) ।

सीमान्तकृत समुदायका स्वरलाई पनि बरुवालले उत्तिकै महङ्खवका साथ उठाएका छन् । बिहान बेलुकाको छाक टार्न मुुस्किन हुनेहरुका कथाकहानीलाई लिएर उनले यसरी गीत लेखेका छन्:

दिन र रात गरेर काम बेलुकी ठिक्क छ
जोतेर हलो नपुग्दा खान साह्रै न दिक्क छ (पृ.१७) ।

समाजमा पछिल्लो समय मौलाएको जुवाप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् । घरको पैसा मात्र होइन, श्रीमतीका घरगहना, आफने माने फलाउने गैरीखेत पनि जुवाले खाइदिएकाले आफ्नो कलेजी छिया भएको छ भन्ने भावका गीत पनि लेखेका छन् । यस्तै पोखराको लोकगीत शीर्षकको गीतमा धेरै टुक्कालाई यहाँ समावेश गरिएको छ । शीर्षकका हिसाबले छुट्याएर हेर्दा यो कृति भित्रको सबैभन्दा लामो गीत हो । तर यो एउटा मात्र गीत नभएर जहाँ पोखरामा चलनचल्तीमा रहेका लोकगीतलाई एकीकृत गरेर राखिएको छ । जहाँ सिङ्गो पोखराको कला, संस्कृति, प्रकृतिलाई यस गीतले अभिव्यक्त गरेको छ । यहाँका भीर, वन, पाखा, खोलानाला, तालतलैयाको व्याख्या वर्णन मात्र होइन, मनको विरह, वेदना समकालीन समयमा देखिएको अन्याय, अत्याचार, भ्रष्टाचार, कमिसनखोर पनि ती टुक्कामा अभिव्यक्त भएका छन् । हेरौं एक टुक्राः

रातो चरो कराउँछ कोइरालो, गाउँमा मान्छे मरेर बैरालो
अन्धा नेपाली, के कति रहेछन् हेरौं यसपाली (पृ ३५) ।

प्रस्तुत कृतिलाई हेरेपछि के भन्न सकिन्छ भने, बरुवालले जति लोकगीत लेखेका छन् । ती हाम्रै जनजीवनमा प्रचलनमा रहेका लोकोक्ति हुन् । जसले लोकजीवनको सुस्वास्थ्य र अभावप्रति सचेत गराएको अनुभव हुन्छ । कृतिमा धेरै जसो खेतीकिसानीका कर्म र त्यसका लागि भोग्नु परेका व्यवधान र त्यसबाट प्राप्त हुने राम्रा पक्षको आशय प्रकट भएका छन् । अधिकतम् नेपालीको बाँच्ने आधार कृषि भएकाले उनका लोकगीत कृषि कर्मसँग सम्बन्धित रहेका हुन् भन्न सकिन्छ । फेरि आजको परिवर्तित परिस्थितिले विभिन्न अवसर ल्याए पनि ८० प्रतिशत नेपाली कृषिमै निर्भर हुनुपर्ने, बाँच्नका लागि कृषि कर्म नै गर्नुपर्ने अवस्था छ । सोहीकारण खेतबारीका छेऊकुना खनीखोस्र्री गर्नैपर्ने, बिऊबेर्ना छर्नैपर्ने, कतै बाँझै रह्यो कि भनेर हेर्नुपर्ने, कतै भुङ्गान प¥यो कि, मुसा वा जङ्गली जनावारले खन्यो कि ? जस्ता किसानी परिवारका समस्या, धेरै समयसम्म बाली लगाउन गोरु किन्नुपर्ने, किन्दा ख्याल गर्नुपर्ने, वर्षे सिर्जनको ख्याल गर्नुपर्ने, दाजुभाइ सरसल्लाह गर्नुपर्ने जे जति सन्दर्भ जसरी आए तापनि बरुवालले हाम्रै लोकजीवनकै लोकोक्तिलाई जम्मा गरेर छोडेका छन् । २०७० कार्तिक ९ गतेदेखि उनकोभौतिक शरीर हामी माझ नभए तापनि उनले छोडेर गएको अमूल्य निधि हामीसँग सुरक्षित र संरक्षित रहेको छ । उनको कृतिमा हिजो सडकमा आएर गाउन नपाउँदाको अवस्थादेखि आफ्नो जीवनकालमा देखे भोगेसम्मका सन्दर्भ सङ्गृहीत छन् । यसैले उनका गीतमा विगतदेखि वर्तमानसम्मको युगजीवनको चित्र अटाएको छ । कथ्य शब्दको प्रयोगले नेपाली लोकसंस्कृतिको महिमा र लोकजनजीवनमा प्रचलनमा रहेका शब्दको भण्डारलाई अभिव्यक्त गरेको छ । सरल, सरल र व्यङ्ग्यपुटले भरिएका उनका गीतले लोकजीवनका लोकबोली बटुलेकाले हिजो मात्र होइन, आज र भोलि पनि उत्तिकै कालजयी देखिन्छन् । यसै सन्दर्भमा लोककवि वरुवालप्रति श्रद्धासुमन ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width