लाज नभएका नेताहरू

युवराज खनाल
मंसिर १९, २०७७

लोकतन्त्र अर्थात् जनताद्वारा गरिएको शासन । यी शब्दलाई यथार्थको धरातलमा विश्लेषण गर्न लामो समयसम्म हामी लड्यौँ । समाजका सबै पाटामा लोकतन्त्रको अनुभूति गर्‍यौं–गरेनौं यो छुट्टै वहसको विषय होला । तर, कम्तीमा देश हाँक्ने जिम्मा ‘विष्णुकादूत’बाट आफ्नै दूतलाई दियौँ ।

आजका सत्ताधारी अरू होइनन्, हाम्रै माझबाट हाम्रो विश्वास कमाएर गएका पात्रहरू हुन् । तर, तिनले आफ्नो अस्तित्व बिर्से । आफू चढ्ने गाडीको पेट्रोलदेखि आफ्नो क्वाटरको गलैँचासम्म गरीब जनताले दुःख गरी जुटाएर तिरेको करबाट किनेको भन्ने कुरा बिर्सिए । छोराछोरीको बिहेमा खर्च गरेको रकममा एउटा गरीबको पसिनाको थोपा मिसिएको छ भन्ने पनि भुले ।

हाम्रा विश्वासपात्र, हाम्रो सार्वभौमसत्ताका प्रतीक हाम्रा नेता हामीप्रति जवाफदेही छैनन् । हाम्रा नेता हामीसँग डराउँदैनन् । कम्तीमा हिजोसम्म राणा र राजा हामीसँग डराउँथे । जतिसुकै अधिकारमा बन्देज लगाएर जतिसुकै शोषण गरे पनि जनताको चेतनामा अडिएको आफ्नो सत्ता गुम्ला कि भन्ने डर यिनीहरूमा सधैं थियो । यो यथार्थ जब बिर्से तब आफ्नो अस्तित्व गुमाउन पुगे । जुन इतिहास साक्षी छ ।

वर्षौँसम्म जीवन वा मृत्युको ख्याल नगरी संघर्ष गरेका नेताले पनि सत्तामा पुगेपछि त्यहाँको दलदलमा फसेर आफ्नो जवाफदेहिता र कर्तव्य बिर्सिएका छन् । सात सालपछिको कुरा गर्दा कांग्रेसको उदयसँगै राजतन्त्रलाई कांग्रेस वैकल्पिक शक्ति पो बन्ने हो कि भन्ने चुनौती थियो भने कांग्रेसलाई राजावादीहरूबाट चुनौती थियो । दुवै पक्ष आ–आफ्नो साख र शक्ति जोगाउने क्रममै थिए । त्यसैले पनि दुवै पक्ष जनताप्रति जवाफदेही थिए । तर, आजका नेताहरूलाई यो डर छैन । र लाज पनि छैन, उनीहरूलाई डर र लाज हुन्थ्यो भने महामारीको समयमा अध्यादेश, वामदेव प्रकरण जस्ता गैरसंवैधानिक राजनीति छाडेर भोका जनताको पेट कसरी भर्ने भनी चिन्तन गर्थे, काठमाडौ मा भोकले तडपिएर खाना दिने संघसस्था कताबाट आउँलान भनी छोराछोरीलाई च्यापेर बसेकालाई यिनैका कारण आज म यो ठाउँमा छु भनेर एक पटक अडिएर सोच्थे । डराउँथे भने सीमा विवाद सम्बन्धमा आफ्नै शासनकालमा भएका घटनाबारे आफूलाई जानकारी नभएको जस्तो लापरवाह र आपत्तिजनक अभिव्यक्ति प्रधानमन्त्रीले राख्दैनथे । डराउँथे भने चुनावी भाषणमा गाली र टुक्काबाहेक गरीब जनताको आर्थिक उत्पादन क्षमता वृद्धि लक्षित एजेण्डाको चर्चा गर्थे । हिजो आज पनि प्रधानमन्त्रीज्यूले देश र जनताका बारेमा दिएका अभिव्यक्ति र वास्तविक व्यवहारले डराउथे । सभासद् बाटो छोडिएका साढे जस्ता हुने थिएन ।

उनीहरू जनतासँग डराउँथे भने एजेण्डाको नाममा समृद्धि, समाजवाद, ‘फेरिएको’ समाजवाद आदि जस्ता अस्पष्ट नारा लाउँदैन थिए । बरु आउने दिनका लागि आफ्नो नेतृत्वको उद्देश्य स्पष्ट राख्थे । डराउँथे भनेपछि परेका नेपाली समुदायको नाममा गरिएको विद्रोहको औचित्य गुम्न दिँदैन थिए बरु साँच्चैमा समावेशी रूपमा अघि बढ्थे । डराउँथे भने संविधानको अधीनमा आफू रहेको बुझ्थे न कि आफ्नो अधीनमा संविधान । तर, हाम्रै भोटले सत्ता चुमेका यी नेता हामीप्रति किन जवाफदेही छैनन् त ? यसका केही कारणहरू हुन सत्ताको दल–दल हुनु । क्रान्तिबाट लोकतान्त्रिक प्रणाली भित्र्यायौँ भनेर जति बाजा बजाए पनि राजनीतिक सफलता भनेको केवल २१ औँ शताब्दीको मूलधार राजनीतिक प्रणाली अङ्गीकार गर्नु मात्र होइन । राजनीतिक सफलताको अर्को आयाम हो अभ्रष्ट कर्मचारीतन्त्र ।

१९ औँ शताब्दीका जर्मन समाजशास्त्री म्याक्स वेबरले युरोपको आर्थिक राजनीतिक सफलताको कारणहरूमध्ये त्यहाँको प्रभावकारी कर्मचारीतन्त्र एक भएको भनी निष्कर्ष निकालेका थिए।तर, कमजोर नैतिक शिक्षाको धरातलमा बनेको हाम्रो कर्मचारीतन्त्र राजनीतिक दलहरू जत्तिकै वा अझ बढी भ्रष्ट छ भन्नेमा दुविधा छैन । जबसम्म कर्मचारीतन्त्रलगायतका संस्था अप्रभावकारी र भ्रष्ट रहन्छन्, तबसम्म राजनीति पनि भ्रष्ट नै रहन्छ । फलस्वरूप सत्ताको खेलमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उक्ति सान्दर्भिक रहिरहन्छ । त्यसैले होला पोखरामा कोरोनाका बेला पनि विगत नै बेस भएको भन्दै ठूलो प्रदर्शनी देखिएको । यही कारणले हो वर्षौँसम्म जीवन वा मृत्युको ख्याल नगरी संघर्ष गरेका नेताले पनि सत्तामा पुगेपछि त्यहाँको दल–दलमा फसेर आफ्नो जवाफदेहिता र कर्तव्य बिर्सिएका छन् । नेपाली राजनीतिमा पृथ्वीनारायण शाह र उनीपछिको नेपाली राजनीतिक इतिहासको चरित्र हेर्ने हो भने सत्ताको बाटो हिंसा नै रहेको छ ।

पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान, जङ्गबहादुर राणाको कोत पर्व, कांग्रेसको विद्रोह, एमालेको झापा विद्रोह, माओवादीको ‘जनयुद्ध’, मधेशवादी पार्टीको मधेश आन्दोलन । यी घटनाक्रमले एउटै कुरा जनाउँछन्– राजनीतिक सत्तामा तिनै पुगेका छन् जसले समाजमा हिंसाको बिऊ रोप्न सफल भएका छन् । हिंसाले ग्रसित समाज अहिंसात्मक हुनु रातारातको कमाल होइन । लामो समयसम्म रुढिवादी क्रिश्चियन ज्यादतीको शिकार भएको युरोप हिंसाको राजनीतिबाट बौद्धिक तर्कको राजनीतिमा परिणत हुन पुनरुत्थानको युग हुँदै दोस्रो विश्व युद्धको समाप्तिसम्म शताब्दीऔंको समय लाग्यो। त्यसैले हिजो युरोपमा क्रिश्चियन रुढीवादविरुद्ध बोल्नेले दर्दनाक मृत्यु भोग्थे भने आज ‘ब्रेक्जिट’ जस्तो क्षेत्रीय महत्वका विषयसँग सम्बन्धित आन्दोलनमा ज्यान गुमाउनेको संख्या एकभन्दा बढी भएन ।

नेपालमा भने राजनीतिको चलि आएको हिंसात्मक चरित्रले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिको प्रवद्र्धन गरेको छ । त्यसैले जिउँदै इँटाभट्टामा जलाउने आरोप लागेका मन्त्रीलाई अदालतको कठघरामा एक दशकपछि मात्र ल्याइन्छ । संगठित अपराधमा कनेक्सन भएको शंका गरिएका मन्त्रीको नाम सरकारी वकिलको कार्यालयबाट हटाइन्छ । अपराधले थप अपराधलाई जन्म दिन्छ र नेपाली राजनीतिमा निर्वाध रूपले प्रकट हुने यो प्रवृत्तिमा नेताहरूको जनताप्रति जवाफदेहिताको कर्तव्य सेतो गलैँचामा सियो हराए झैँ गुमनाम भएको छ । राजनीतिक नेतृत्वलाई बौद्धिक रूपले चुनौती दिन र विगतका आन्दोलनले कोरिदिएको समावेशी बाटोको नक्सामा चिन्तन गर्न सिकाउने शिक्षाको अभाव छ नेपालमा । फोहोरी राजनीतिले गर्दा कति बेला के हुन्छ थाहा छैन । सत्ता प्राप्तिकै लागि जे पनि गरिन्छ भन्ने उदाहरण हाम्रो सामु छन् । अब सत्ताका लागिनै दुई जना प्रधानमन्त्री हुने व्यवस्था नगर्लान भन्न पनि सकिँदैन । देश र जनताका लागि सोच्ने कुनै नेता भएनन् । चुनावमा सियो जस्तै भएका नेताहरू जब चुनावमा बिजयी बन्छन् तब हात्ती बन्छन् । गरीब जनताले खान पाउन नपाउन केही मतलब छैन । बिरामी परेका बेला औषधि उपचार पाउनु छैन । हो लाज पचेका नेताहरू हो तिमी तिम्रै कुर्चीका लागि रोइलो गरेर बस जनतालाई भोकभोकै मार किनकि तिमीहरूलाई न कसैको डर छ न लाज र घिन त्यसैले तिमीहरू त्यही रमाइलोमा रमाऊ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width