एसइईमा उत्कृष्टता हासिल गर्ने आधारभूत सूत्रहरू

कमल कोइराला
चैत्र १०, २०७९

आगामी चैत १७ बाट सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । पहिले राष्ट्रिय स्तरमा लिइने यो परीक्षा अहिले प्रादेशिक स्तरमा सङ्कुचित भएको छ । प्रादेशिक स्तरको परीक्षा भएका कारण विद्यालयीय तहमा लिइने अरू सामान्य परीक्षाभन्दा यस परीक्षालाई अलि पृथक् किसिमले लिने प्रवृत्ति अधिकांश विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकहरूमा देखिन्छ । कुनै पनि विषयमा संवेदनशीलता हुनु आवश्यक छ । तर, सफलताका नाममा अपनाइने अति संवेदनशीलताले लाभभन्दा हानि बढी निम्त्याउन सक्ने कुरालाई नकार्न सकिँदैन । एसईई परीक्षाप्रतिको दृष्टिकोणले विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न गराइरहेको हुन्छ । यस परीक्षालाई अन्य परीक्षाजस्तै सामान्य परीक्षाका रूपमा नलिई ठूलै हाउगुजीका रूपमा लिने र परीक्षाका वेला बढी अतालिने प्रवृत्तिले विद्यार्थीहरू अनपेक्षित परिणामको भागीदार बन्नुपर्ने अवस्थाको सिर्जना भइरहेको छ । यसो हुनु केवल विद्यार्थीका लागि मात्र नभएर सम्बन्धित विद्यालय, शिक्षक र अभिभावकका लागिसमेत दुर्भाग्यपूर्ण हो । आसन्न एसईई परीक्षालाई मध्यनजर गर्दै विद्यार्थी र परीक्षासँग सरोकार राख्ने अन्य पक्षका लागिसमेत उपयोगी हुने ठहर गरी सफलताका केही महत्त्वपूर्ण सूत्रहरू यहाँ प्रस्तुत्य ठानिएको छ :

१. पाठ्यक्रमबारे ज्ञान– एसइई परीक्षामा सहभागी हुने विद्यार्थीले कक्षा ९ उत्तीर्ण भएर १० मा पुग्नेबित्तिकै पाठ्यक्रमका बारेमा जानकारी हासिल गर्नु आवश्यक छ । विद्यालयीय तहका अन्य परीक्षामा पाठ्यक्रमलाई पूर्णरूपेण अङ्गीकार नगरिएको हुन पनि सक्छ । तर, राष्ट्रियस्तरमा लिइने परीक्षा भएकाले एसईई परीक्षामा पाठ्यक्रमकै परिधिमा रहेर प्रश्नपत्रहरू निर्माण गरिएका हुन्छन् । पाठ्यक्रमसम्बन्धी ज्ञानले विद्यार्थीलाई कति अंकभारका कस्ता खालका प्रश्नहरू कुन रूपमा सोधिन्छन् भन्ने कुराको जानकारी हुन्छ । पाठ्यक्रमबारे जानकारी भएपछि विद्यार्थीलाई तदनुकूल तयारी गर्ने पृष्ठभूमि तयार हुन्छ । समयमा पाठ्यक्रमको बोध नभएका कारण परीक्षाका वेला विद्यार्थीहरू मारमा परिरहेका भेटिन्छन् । यससम्बन्धी ज्ञान नहुँदा विद्यार्थीको उत्तर लेख्ने शैली, समय विभाजन आदिमा समेत असर पुग्ने भएकाले परीक्षामा सफलता हासिल गर्न चाहने परीक्षार्थीका लागि पाठ्यक्रमका बारेमा बोध हुनु अत्यावश्यक देखिन्छ ।

२. भ्रम निवारण– पहिल्यैदेखि प्रवेशिका परीक्षालाई फलामे ढोकाका रूपमा व्याख्या गरिएका कारण कतिपय विद्यार्थीहरू परीक्षा आउनुभन्दा महिनौँ अघिदेखि मनोवैज्ञानिक रूपमा आतकिंत हुने स्थिति अहिलेसम्म पनि विद्यमान छ । प्रादेशिक स्तरको परीक्षा भएका कारण यसका केही मर्यादित सीमाहरू हुन्छन् नै । त्यसैले पूर्वअनुभव नभएका विद्यार्थीका मनमा परीक्षाका बारेमा केही असामान्य कुतूहलताहरू जाग्नु स्वाभाविक हो । तर, अधिकांश विद्यार्थीले सोचेजस्तो यो परीक्षा आफैँमा त्यति जटिल भने छैन । कुनै पूर्वतयारीविनै परीक्षाभवनमा प्रवेश गरी पहिल्यै चिट चोरेर पास गर्ने योजना बनाउने संस्कारमा हुर्किंदै आएका विद्यार्थीहरूलाई यो परीक्षा जटिल हुन सक्ला । तथापि, पर्याप्त पूर्वतयारी गरेर जाने विद्यार्थीहरूका लागि यो विद्यालयीय तहमा लिने अन्य सामान्य परीक्षाजस्तै हो । सामान्य व्यवस्थापकीय र सुरक्षात्मक दृष्टिले बाहेक अन्य कुनै पनि दृष्टिमा यो परीक्षा अन्य परीक्षाका तुलनामा पृथक् छैन । तसर्थ आतङ्कित मनमा महिनौँदेखि जमेर बसेका सन्देह र भ्रम निवारण गरी परीक्षाको तयारीमा जुट्नेले नै उत्कृष्ट नतिजा हासिल गर्न सक्छ ।

३. आत्मविश्वास र निर्भीकता– आत्मविश्वासपूर्वक गरिएको जुनसुकै कामले मानिसलाई सफलताको शिखरमा पु¥याउँछ । आत्मविश्वास र निर्भीकता मान्छेको जीवन सफल बनाउने दुई प्रमुख तŒवहरू हुन् । परीक्षार्थीका लागि त यी दुवै कुरा सफलताका अचुक अस्त्र नै हुन् भन्दा अन्यथा हुँदैन । एसइई परीक्षा दिने विद्यार्थीहरूले यी दुई कुरालाई आफ्नो परीक्षा सफल पार्ने पृष्ठाधारका रूपमा ग्रहण गर्नु आवश्यक देखिन्छ । ‘आधा युद्ध त आत्मविश्वासले नै जितिन्छ’ भन्ने लोकोक्ति त्यसै प्रचलित भएको होइन । एसईई परीक्षा दिने विद्यार्थीहरूका मनमा धेरै किसिमका भयले बास गरिरहेका हुन्छन् । कमजोर विद्यार्थीका मनमा चिट चोर्ने अवसर नपाइने हो कि ?, सँगै बस्ने साथीले नदेखाइदिने हो कि ?, परीक्षाकोठामा खटिएको शिक्षकको आँखा खालि मैमाथि मात्र परिरहने हुन् कि ? भन्ने किसिमका डरहरू रहन्छन् भने प्रतिभाशाली विद्यार्थीमा अर्काले उत्तरपुस्तिका तानेर हैरान पार्ने हुन् कि ?, कमजोर विद्यार्थीहरूले अनावश्यक हल्ला गरेर लेख्नै नदिने हुन् कि ?, अनावश्यक आरोप लगाउने हुन् कि ?, कतै परीक्षा नै स्थगित पो हुने हो कि ? भन्ने जस्ता भयले दरिलो डेरा जमाइरहेको हुन्छ । त्यसबाहेक ग्रामीण भूभागका अधिकांश परीक्षार्थीहरूमा सुव्यवस्थित र मर्यादित परीक्षा सञ्चालनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले केही सानो त्रुटि गरिहालियो भने लगेर थुनिहाल्ने पो हुन् कि ? भन्ने त्रास पनि विद्यमान रहेको पाइन्छ । तर प्रत्येक परीक्षाकेन्द्रमा भरिशक्य परीक्षार्थीहरूले सोचेभन्दा भिन्न वातावरण सिर्जना गर्ने अधिकतम प्रयास गरिएको हुन्छ । त्यसैले मनमा कुनै संशय नराखी आत्मविश्वास र निर्भीकतापूर्वक परीक्षामा सहभागी हुनु आवश्यक छ ।

एसइई परीक्षा परीक्षार्थीका लागि पूर्ण अनुशासन र मर्यादाभित्र रहेर आत्ममूल्यांकन गर्ने सुनौलो अवसर पनि हो

४. पर्याप्त पूर्वतयारी– परीक्षापूर्व गरिने तयारीले विद्यार्थीलाई परीक्षाभवनभित्र तीन घन्टा व्यस्त बनाउँछ । पूर्वतयारीभित्र परीक्षाका लागि गरिने अध्ययनबाहेक अन्य धेरै कुराहरू पनि पर्दछन् । परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू व्यक्तिगत भयो भने यसले स्वयम् परीक्षार्थीलाई फाइदा पु¥याउँछ । त्यसैले सकेसम्म अघिल्लै दिन सम्बन्धित विषयका लागि आवश्यक सम्पूर्ण सामग्रीहरूको उचित व्यवस्थापन र तयारी गरिनु आवश्यक छ । मसी, कलम, मेटौरो, ज्यामितीय सामग्री, प्रवेश–पत्रजस्ता अत्यावश्यक सामग्रीहरू सधैं आफूसँग सुरक्षित हुनुपर्दछ । अत्यावश्यक अवस्थामा बाहेक अन्य वेला साथीहरूसँग सामग्रीहरू माग्नु त्यति राम्रो मानिँदैन । फेरि आफूलाई चाहिएका सबै सामग्रीहरू साथीसँग हुन्छन् भन्ने पनि छैन । त्यस्तै आफूले चलाइरहेको सामान आफूलाई प्रयोग गर्न जति सहज अनुभव हुन्छ त्यति अर्काको सामान नहुन पनि सक्छ । अरूसँग सामान माग्ने क्रममा परीक्षाकोठामा अनावश्यक हल्ला भई त्यसको असर अन्य परीक्षार्थीहरूमा समेत पर्ने भएकाले यस्तो बानी धेरै दृष्टिमा हानिकारक मानिन्छ ।

५. व्यक्तिगत स्वास्थ्यप्रति संवेदनशीलता– परीक्षाका बेला व्यक्तिगत स्वास्थ्यमा असाध्यै ध्यान दिनुपर्दछ । केही गरी परीक्षाका वेला बिरामी परिहालियो भने परीक्षा अपेक्षाकृत नरहन पनि सक्छ । त्यसका लागि परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि नै व्यक्तिगत स्वास्थ्यप्रति संवेदनशील भई स्वस्थकर बानी र आहारविहारमा ध्यान पुर्‍याउनुपर्छ । परीक्षा अवधिभर सन्तुलित भोजनको उपयोगमा असाध्यै ध्यान दिनुपर्दछ । शरीरलाई तत्काल असर नपुर्‍याउने किसिमका हलुका भोजन गर्ने बानी बसाल्नु आवश्यक छ । पर्याप्त पानी पिउने बानीले परीक्षार्थीलाई फाइदा पुर्‍याउँछ । तर, परीक्षाअवधिमा प्रशस्त पानी पिउँदा बाहिर निस्किरहनुपर्ने झन्झटप्रति भने विद्यार्थी स्वयं सजग हुनु आवश्यक छ । परीक्षाका बेला कतिपय विद्यार्थीहरूमा राती अबेरसम्म बसेर पढ्ने बानी भेटिन्छ । परीक्षा बिग्रने सम्भावना प्रबल रहने भएकाले यस्तो बानी परीक्षार्थीका लागि फाइदाकारी छैन । बरु अघिल्लो दिन बेलैमा सुत्ने र भोलिपल्ट सबेरै उठ्ने बानी बढी लाभकारी मानिन्छ । खासगरी मौसम परिवर्तन हुने वेलामा प्रवेशिका परीक्षा पर्ने भएका कारण परीक्षार्थीमा सामान्य रुघाखोकीलगायतका रोगहरूको संक्रमण बढ्न सक्छ । सुन्दा सामान्य लाग्ने तर सानो लापरबाहीले ठूलै असर पुर्‍याउने यस्ता कुरामा विचार पुर्‍याई परीक्षार्थीहरूले पूर्वसुरक्षाका उपायहरू अवलम्बन गर्नु आवश्यक देखिन्छ ।

६. सामूहिक छलफल र टिपोट– आफ्ना सहपाठी साथीहरूसँग प्रश्नहरूका बारेमा छलफल गर्ने बानीले प्रवेशिका परीक्षालाई सहज बनाउँछ । विद्यार्थी मूल्यांकनका लागि प्रवेशिका परीक्षामा विशेषतः ज्ञान, सीप र अभिवृत्ति मापन गर्ने प्रकृतिका प्रश्नहरू सोध्ने गरिन्छ । आफूले हल गर्न नसकेका प्रश्नहरू सहपाठीले हल गर्न सक्ने भएकाले त्यसका लागि पनि सामूहिक छलफल प्रवेशिका सफलताको उत्तम उपाय मानिन्छ । आफ्ना निजी तर्कहरू प्रस्तुत गर्नुपर्ने विश्लेषणात्मक प्रश्नहरूमा छलफल गर्ने बानीको विकासले कुनै पनि प्रश्नमा केन्द्रित रहेर धारणा निर्माण गर्ने कार्यमा पनि सहयोग पुर्‍याउँछ । सामूहिक छलफल विधिले प्रश्नको निष्कर्ष र समाधान निकाल्न पनि सजिलो हुन्छ । सहपाठीबीच छलफल गरी निकालिएका निष्कर्ष टिपोट गर्ने बानी गरेमा पछि बिर्सिहाले पनि सम्झन सकिन्छ । यो कार्य विशषतः परीक्षाका बेला तथा पूर्वतयारीका सिलसिलामा पहिल्यैदेखि पनि गर्न सकिन्छ ।

७. समयतालिका निर्धारण– कतिपय विद्यार्थीले सानै उमेरदेखि समयतालिका निर्माण गरी पढ्ने बानीको विकास गरेका हुन्छन् । एक सफल विद्यार्थीमा हुनुपर्ने गुणहरूमध्ये यो प्रमुख गुण मानिन्छ । तर, सबै विद्यार्थीले यो पद्धति अवलम्बन गरेको पाइँदैन । उत्कृष्ट अंकसहित प्रवेशिकामा सफलता हासिल गर्न चाहने विद्यार्थीका लागि समयतालिका निर्माण र तदनुकूलको नियमित अध्ययन गर्ने बानी हुनु अपरिहार्य छ । समय निर्धारण गर्ने कार्य घरमा पूर्वतयारी गर्ने क्रममा मात्रै नभई परीक्षामा सम्मिलित हुँदाका बखत पनि गर्नु आवश्यक छ । सम्बन्धित प्रश्नको अंकभारलाई दृष्टिगत गर्दै उत्तर लेख्ने बानीको विकास गरे समयभित्रै सम्पूर्ण प्रश्नहरू हल गर्न सकिन्छ ।

८. परीक्षाकेन्द्रको अवस्थितिबारे ज्ञान– यातायातका साधन उपलब्ध हुने सहरी क्षेत्रमा खासै समस्या नभए पनि ग्रामीण भूभागका अधिकांश ठाउँहरूमा पैदल हिँडेर परीक्षाभवनसम्म पुग्नुपर्ने अवस्था अद्यापि छँदै छ । द्वन्द्वकालमा भन्दा पछिल्ला वर्ष केही सहज भए पनि कतिपय स्थानमा घन्टौँ हिँडेर परीक्षाकेन्द्रसम्म पुग्नुपर्ने समस्या अझै कम हुन सकेको छैन । अतः आफूले परीक्षा दिने शिक्षणसंस्थाको अवस्थितिबारे विद्यार्थीहरू पहिल्यै जानकार हुनु आवश्यक छ । आफ्नो घरबाट परीक्षाकेन्द्र पुग्न लाग्ने समयको मोटामोटी अनुमान पहिल्यै गर्नुपर्दछ । घरबाट पुग्न सम्भव नभए केही दिनअगावै परीक्षाकेन्द्रमा पायक पर्ने गरी नजिकै बसोवासको प्रबन्ध मिलाउनुपर्दछ । आफूले परीक्षा दिने केन्द्रको अवस्थिति थाहा नभएर कतिपय विद्यार्थीहरू परीक्षाका दिन मात्र हस्याङफस्याङ गर्दे केन्द्रको खोजीमा भौतारिरहेका हुन्छन् । यसले उनीहरूको परीक्षामा समेत असर पुर्‍याउन सक्छ ।

९. अनुशासन र मर्यादापालन– हरेक परीक्षाका आफ्नै सीमा र मर्यादाहरू हुन्छन् । प्रादेशिक स्तरको परीक्षा भएकाले एसइई परीक्षाका त झनै ठूलो मर्यादा र परिसीमाहरू हुनै नै भए । वास्तवमा एसईई परीक्षा परीक्षार्थीका लागि पूर्ण अनुशासन र मर्यादाभित्र रहेर आत्ममूल्यांकन गर्ने सुनौलो अवसर पनि हो । त्यसैले परीक्षा दिनका लागि परीक्षाभवनभित्र प्रवेश गरेपछि प्रत्येक परीक्षार्थी अनुशासित र मर्यादित हुनुपर्दछ । चिट चोर्ने, शौचालय जाने बहानामा पुस्तक, अभ्यासपुस्तिका वा अन्य सहयोगी सामग्रीहरूको पाना च्यात्नतिर लाग्ने, आफूले मन लागेको गर्न पाइएन भनेर परीक्षा नै भाँड्न खोज्ने, अन्य परीक्षार्थीलाई नकारात्मक असर पुग्ने गरी कापी तान्नेलगायतका अराजक गतिविधिहरू परीक्षाको नीतिनियम र मर्यादाविपरीत मानिन्छन् । यस्तो काम गर्ने मनसाय भएका विद्यार्थीलाई कारबाही हुने प्रावधान पनि छ । यसले स्वयं परीक्षार्थीको परीक्षा पनि बिग्रने सम्भावना भएकाले अनुशासित र मर्यादित भएर परीक्षा दिनु श्रेयस्कर ठहरिन्छ ।

१०. मौलिक, तार्किक र संक्षिप्त उत्तरमा जोड– उत्तर लेख्ने शैलीबारे अनभिज्ञता पनि एसइई परीक्षामा अपेक्षित सफलता हासिल नहुनुको प्रमुख कारण हो । परीक्षाभवनभित्र प्रवेश गरेर उत्तरपुस्तिका हात पार्नसाथ परीक्षाका लागि आवश्यक आफ्नो व्यक्तिगत विवरण भरी दायाँबायाँ दुवैतिर पर्याप्त स्थान छाडेर उत्तर लेखनका लागि तयार हुनुपर्दछ । उत्तर लेख्दा पहिले प्रश्नको आशय राम्ररी बुझेर सकेसम्म बुँदागत रूपमा मौलिक र संक्षिप्त उत्तर दिनुपर्दछ । सम्बन्धित प्रश्नको अंकभारअनुसार समय विभाजन गरेर उत्तर दिने, उत्तरलेखनमा मौलिकपनको छनक दिने प्रयास गर्ने र सकेसम्म राम्रा अक्षरमा सुस्पष्ट र तार्किक शैलीमा उत्तर लेख्नु राम्रो मानिन्छ । प्रश्नले अपेक्षा गरेभन्दा विपरीत अनावश्यक कुराहरूमा बहकिने, टोलाएर बस्ने, अर्काको हेर्न पाइन्छ कि भन्ने आशामा व्यर्थै समय फाल्नेजस्ता कार्यहरू परीक्षामा कहिल्यै गर्नुहुँदैन । सजिला प्रश्नहरू पहिले हल गर्ने, कुनै पनि प्रश्न नछाड्ने बरु आफूले जानेजति उत्तर लेख्ने बानीको विकास गर्नुपर्दछ । लामो उत्तरको अपेक्षा गर्ने प्रश्नहरूमा आफ्नो निष्कर्ष दिने बानीले परीक्षार्थीको विशिष्टता झल्काउँछ ।

Related News

सम्बन्धित समाचार

hero news full width