सकम्बरी अर्थात् ओपन सेक्रेट

दुर्गा न्यौपाने
वैशाख १०, २०८०

नारी आद्य शक्ति हुन् । नारी शक्ति विना भगवान् पनि निरीह हुन्छन् भने मनुष्यको के कुरा । नारी प्रकृति हुन् । ब्रह्माण्डमा कुनै पनि प्राणी यदि प्रकृतिविरुद्ध जान्छ भने स्वयंको नाश हुन्छ । यही तथ्यको आत्मसात नहुँदा ठूला ठूला दुर्घटना निम्तिएको देखिन्छ । रामायण र महाभारत पनि त यसैको उपज हो । नारी हेपिनु भनेको प्रकृति हेपिनु हो । जुन समाजमा स्त्रीको सम्मान हुन्छ, त्यो समाज सभ्य हो । जहाँ आमाको सम्मान हुन्छ, त्यो स्वर्ग हो, यसमा कसैको दुईमत नहोला ।

केही दिन भए, नेपाली समाजको मथिंगल प्रकाश सपुतले हल्लाइदिए । जुन ओपन सेक्रेटको रुपमा समाजले सुन्दै र हेर्दै आएको छ । फूलमायाले भन्दा सकम्बरीले बजार तताई । हर कोहीको मष्तिष्कले बजारका अघोषित दृश्यको चित्र देखे । तर्क उब्ज्यो । बढी महिलालाई छोएर गई सकम्बरीले । फूलमायाका आशा भरोसा विभिन्न पुरुष पात्रले कसरी प्रयोग गरेका छन्, छर्लंग छ । आफ्नै बाउबाट धोका पाएकी फूलमायाको बाध्यता अपरिचित सहर हुँदै रंगीन रहरसम्म पुग्छ । ऊ नचाहँदा नचाहँदै कसरी दलदलमा भासिन्छे, देख्न सकिन्छ । आफ्नै नजिकको दाइ नाता बेइमान बनिदिन्छ । विश्वास त बाउबाटै गुमेको हो, तैपनि गाउँले दाइ, हुनसक्छ फूलमायाको भँमरा थियो । थोरै उद्धार गरिदिएबापत् फूलमायाले धेरै मूल्य चुकाउनुप¥यो ।

हाम्रो समाजले छोरा चाहन्छ । जुन अहिलेको तथ्यांकले पनि बोलेको छ । छोराभन्दा छोरी जन्मेको प्रतिशत कम छ । त्यसैको प्रतिनिधि पात्र हो फूलमायाको बाउ । त्यहाँ आमा नै कमजोर छ, कमजोर आमाका छोराछोरी कमै बलवान् हुन्छन् । समाजको संरचना नै यसरी बनेको छ कि जहाँ बुद्धिभन्दा बल माथि छ । पुरुषप्रधान समाजले फूलमायालाई निरीह बनाएको छ । आमा मौन छ, बाउले गरेको अत्याचारमा बोल्दिन, आफैंले पिठ्यूँ थापेकी छ । प्रतिवाद गर्दिन । सहजै पचाइदिन्छे । कैयौँ चोटहरू भाग्यको दोष ठान्छन् तमाम आमाहरू । फूलमायाकी आमा पनि त्यही ठान्दी हो, सायद ।

फूलमायाले पढ्ने वातावरण पाइन । परिणामतः गाउँले दाइको भर मानी । त्यही भर पनि तोड्यो दाइले । मुटु दुखाएर आगोमा होमिन बाध्य भई ऊ । एउटा सिमा काटेपछि लाज बाँकी रहन्न मान्छेसँग । ऊ सुरो हुँदै जान्छे । फूलमायाको विश्वास तोडिँदै गयो । भेटिएका लोग्नेमान्छेहरू सबै उस्तै थिए । गुलाबजस्तै फक्रेकी ऊ, काँडा बन्न सकिन । परिबन्दको दलदलमा गाडिँदै गई ।

प्रकाश, होनहार कलाकार हुन् । मुटु हल्लाउन सफल छन् उनी । समाजमा लुकाइएका व्यवहारमा उदांग पार्दिन्छन् । अनि तर्कवितर्क जन्मिन्छन् । नारी संवेदनशील प्राणी हो नै । कसैले यसलाई नारी अस्मितामा धक्का लागेको देखे । कसैले पुरुषलाई झापड हानेको देखे । फूलमायालाई सकम्बरी बनाउने पुरुष थियो । तर सुयोगवीरकी सकम्बरी थिइन ऊ । शिरीषको फूलमा कसैले हात नलगाएकी सकम्बरीलाई कसैले सम्झ्यो भने भ्रमित हुन सक्छ । यो प्रकाशकै सकम्बरी हो । हाम्रो समाज यस्तै छ अझ पनि । जति समृद्धि र लोकतन्त्रका भाषण र शासन गरे पनि व्यवहार उस्तै छ । केही पढेलेखेका महिलाका आँखामा बिझायो सकम्बरी । गाली खाए प्रकाशले । गालीभन्दा ताली खाए उनले । धेरैको मनसम्म पुग्न सकेको संगीत नै सफल संगीत हो । भारतमा डर्टी पिक्चरले गतिलो सन्देश छोड्न सफल भएकै थियो । विवाद सुनिएन । भाषण गरेको कसले सुन्छ र ? भन्न नसकेका कुरा गीत र संगीतले भन्ने गरिन्छ । उनले त्यसै गरे । त्यसैले यो सच्चिने र सच्याउनुपर्ने कथा हो । को को सच्चिने त्यो सम्बन्धितहरू आफैं जानून् ।

कसैले नारी अस्मितामा धक्का र कसैले पुरुषलाई झापड देखे । फूलमायालाई पुरुषले बनाए सकम्बरी

जसले जे जे भने पनि सबैका मनसम्म पुग्नु सानो कुरा हैन । दोषीलाई पक्कै घोच्यो होला । नारीलाई सदियौंदेखि कमजोर सोचिन्छ अवलाको संज्ञाले । यो नयाँ र नौलो कुरा थिएन । ‘झोला’ मुभी हेर्दा कुनै दर्शकका आँखा ओभाना थिएनन् । सती जानुपरेको कथा कम दर्दनाक थिएन । जहाँ पनि नारी चिथोरिएका, निचोरिएका, हेपिएका, चेपिएका कुरा नजोडि घतलाग्दा कथा बन्दैनन् । यथार्थ पनि त्यही हुन्छ ।

दृष्टिकोण फेरिनुपर्छ अब । यहाँ त पुरुष कमजोर देखिन्छ । के आफूभन्दा कमजोरलाई संरक्षण दिनु ठूलाको कर्तव्य हुँदैन ? जो रक्षक उही भक्षक हुन मिल्छ ? समाजको दिशा उल्टो छ । यहाँ कमजोरलाई हेपिन्छ । समीक्षा जस्तालाई गाली गरिन्छ । बलेको आगो ताप्छ समाज । सकम्बरी जन्माउने पुरुष हो । पुरुष पात्र कहीं पनि असल छैनन् । एउटा नजिकबाट संगत गरेको केटा साथीले केटीको बारेमा हजारौं प्रश्न गर्छ । शंकाको घेरामा राख्छ । अझ उसको रातारात हैसियत बदलियो भने ऊ प्रश्न गर्ने अधिकारी ठान्छ । त्यो अस्वाभाविक लाग्दैन । तिनै प्रश्नलाई प्रतिप्रश्न बनाउन पनि त मिल्छ । केटी मान्छेले पनि उसैगरी सोध्न सक्छे । नजिक मानिएको सम्बन्धलाई त्यो हक हुन्छ पनि । उसले लगाएका अवयवका बारेमा गरिएका प्रश्न कुनै नयाँ हैनन् । हिजो, आज र भोलि सधैं हुन्छन् । हरेकले सुने भोगेका प्रश्न हुन् । पुरुष प्रधान समाजमा पाइलैपिच्छै ठेस लाग्छ । स्कुटी र झुम्काको के कुरा । नारी लुटिनु कमजोरी होला, पुरुष पीडक हो । आन्दोलित त पुरुष हुनुपर्ने हो । बाउदेखि बाउसम्मकाको चरित्र नांगिएको छ । दाइदेखि साहुसम्म गिद्ध भएका छन् ।

समाजका अन्तरकुन्तरका फूलमायाको जीवन बोलेको छ कथाले । व्यथा देखिएको छ । पीडा दिने र लिनेलाई यो कथाले सियो झैं घोचेकै छ । साथै सहानुभूतिमा पनि कति हृदय कोतरिएका छन् । कैयौं निर्मला पन्तहरू न्यायको पर्खाइमा छन् । यहाँ छोरी चेलीहरू सुरक्षित छैनन् । छोरीहरूलाई नगरको पाठ सिकाउनेहरू छोराको गल्तीमा मर्द ठान्छन् । जहाँसुकै गल्ती महिलाकै हुन्छ । एउटी चेली बलात्कृत हुन्छे, इज्जत उसैको जान्छ । छोरी पढे पोइल जान्छे भन्ने समाजमा हुर्केका हामी सारा केटा मान्छेको गल्तीमा पनि केटीकै अस्मिता लुटिएको मात्र देख्छौं ।

सकम्बरी आमाका आँखामा बिझायो । बाउको आँखाले के देख्यो कुन्नि । को को, कहाँ कहाँ सच्चिनुपर्ने हो, प्रष्ट छ । कहीं ओझेल छैन । कला र साहित्यमा विम्ब हुनु स्वाभाविक हो । विम्बले अझ चोपिलो बनाउँछ कलालाई । साङ्लोलाई उत्तानो पार्नु पनि गतिलो सन्देश लाग्यो । गीतमा भएका हरेक शब्द नेपाली माटोमा उम्रेको जस्तो लाग्छ । आमा स्वावलम्बी हुन नसक्दा छोराछोरी सडकसम्म धकेलिन्छन् भन्ने पाठ पनि छ । साधारणतया, भालेले माया गर्ने पोथीलाई मात्र हो । धर्म र समाजले छोरा खोज्दा हजारौं फूलमायाहरू ठाउँ ठाउँमा भेटिन सक्छन् । सबैभन्दा ठूलो भोक हो । भोको पेटले अनुशासन र सभ्यता बुझ्दैन । यो कुरा अघाएकाले बुफ्ने कुरा हैन । राजा त्रिभुवनले त्यसै भनेनन्, प्रजाले दूध र भात पनि खान पाएका छैनन् भनेर । वास्तवमा नबुझेरै हो । सकम्बरीलाई हेरिरहँदा के एउटा बाउलाई कोक्याउँदैन ? दाइको इज्जत जाँदैन ? तमाम साहुजीहरूलाई लाज लाग्दैन ? छोरी समानकी केटीसँग रमाइलो मान्ने बाउहरूलाई ग्लािन हुँदैन ? यस्तै केसमा त हो, चमत्कार र बलत्कारका शब्द प्रयोग हुने । अभिभावकको रुपमा रहेको सरकारले के सोच्यो कुन्नि ? गीत नै पो ब्यान्ड गर्छ कि ? यद्यपि सबै पुरुषहरू दोषी हुँदाहुँदै आमाले थोरै पनि प्रतिकार गर्न सकेको भए लागेकै छ । केटीको महत्वाकांक्षा पनि दोषी छ । यसले दुर्घटना निम्त्याउँछ । अनुशासनमा एउटी छोरी मात्रै हैन, बाउ पनि बस्नुपर्छ । सिक्किमका पूर्व मुख्मन्त्रीले भनेको बिर्सनै सकेको छैन, ‘हाम्रो सहरमा रातिको १२ बजे छोरीहरू नांगेै हिँडे पनि सुरक्षित हुुनुहुन्छ’ भनेको । हाम्रोमा रहर छ त्यस्तो सुन्न ।

कमजोरीको फाइदा उठाउने धेरै छन् यहाँ । बलियाले निर्बलियालाई थिचेकै छ । धनीले गरिबलाई दबाएकै छ । पुरुषले महिलालाई शोषण गरेकै छ । यसो भनिरहँदा महिला पुरुषको सबाल पनि हैन । सोच र वादको कुरा हो । व्यवस्था र शासनको कुरा हो । के तन्त्र हो भन्दा पनि सरकारको शक्ति र व्यवस्थापनको कुरा ठूलो रछ । इज्जत अब पीडितको हैन पीडकको जानुपर्छ । अर्थात् जोसँग जे हुन्छ त्यही जाने हो । नहुनेको के जान्छ र ? प्रकाशकी सकम्बरी जस्ता सकम्बरे पनि प्रशस्तै देखिन्छन् । आखिर दृष्टिकोण हो । तपाईंको कोण कुन हो, त्यो तपाईँको कुरा हो ।

Related News

सम्बन्धित समाचार

hero news full width