सहाना प्रधान र कम्युनिस्ट आन्दोलन

झपट रानाभाट
असार २६, २०७९

विसं.१९८४ असार २७ गते बुबा शंकरलाल र आमा रम्भाको छोरीको रूपमा काठमाडौंको असन त्यौडामा सहाना प्रधानको जन्म भएको थियो । आमा रम्भाको निधन भएकोले सानै उमेरमा मातृवात्सल्यताबाट विमुख हुनुभो ।

क्रूर निरंकुुश, जहानिया, फासिस्ट एकतन्त्रीय राणाशासनको अन्धकारभित्र पनि विसं. २००४ सालमै महिला शिक्षाको माग गर्दै जुलुस निकाल्ने, आमरण अनशन बस्ने र पक्राउ खाने साहसी महिलाहरु सहाना, कनकलता, स्नेहलता र उहाँकी दिदी साधनामा पनि एउटा अग्रणी उहाँहरुको पनि नेता हुनुहुन्थ्यो सहाना प्रधान ।

सहानाको विवाह नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जो १९९७ सालका सहिद पर्वमा महान् सहिदमध्येका कान्छा सहिद गंगालालका सहोदर माहिला भाइ हुनुहुन्थ्यो ।

सम्मानित सहिद परिवार र नेपाली राजनीतिलाई नयाँ दिशा र गति दिने नेतासँग सहानाको आन्दोलनकारी बन्दै गएको व्यक्तित्व जोडिन पुग्दा त्यो अझ प्रकाशमय भयो तर वैवाहिक जीवनपछि र खासगरी २०१३ सालपछि पारिवारिक जिम्मेवारी सम्हाल्न लाग्दा सहानाको राजनीतिक व्यक्तित्व निष्किृय प्राय हुनपुग्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ, अग्रणी र निष्ठावान् नेता पुष्पलाल २०१७ पुस १ को महिन्द्रको राजनीतिक कदमपछि भूमिगत हुँदै भारत प्रवासिएको अवस्थामा प्रधान त्रिचन्द्र, पद्मकन्या र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस लगायतमा प्राध्यापन गर्न थाल्नु भयो र त्यसैबाट जीवन गुजारा गर्नुभयो । यो कुरा पञ्चायती शासकहरूको आँखाबाट लुकेको कुरा थिएन ।

राजाको प्रत्यक्ष निगरानीमा चलाइएको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाले आरम्भदेखि नै विरोधको सामना गर्नु परेको थियो । त्यसैले पञ्चायतइतरका कम्युनिस्ट र कांग्रेस, तिनका समर्थक तथा शुभचिन्तक एवं आफन्तहरूलाई अनेक किसिमले दुख दिने, धरपकड गर्ने, मुद्दा लगाउने र कारागार कोच्ने र हत्या गर्नेसम्मका दमनकारी हतकण्डा पञ्चायती शासकहरुले गरेका थिए ।

त्यसै क्रममा २०३२ सालमा त्रिभुवन विश्वविद्यालयका दर्जनौं प्राध्यापकहरू बर्खास्त गरिए । त्यसरी बर्खास्तमा पर्नेहरूमा सहाना प्रधान, बिसी मल्ल (वासुदेव चन्द्र मल्ल) हरूको नाम सबैभन्दा अगाडि थियो । मल्ल नेपाली कांग्रेस पक्षधर प्राध्यापक हुनुहुन्थ्यो । उहाँहरूलाई खासगरी २०३२ सालमा त्रिविविमा भएको विद्यार्थी आन्दोलनलाई सघाएको निहुँमा निष्कासन गरिएको थियो ।

त्यस घटनाले राजनीतिमा सक्रिय भएर पञ्चायत व्यवस्थाविरुद्ध उत्रिनुबाहेक अरु सबै बाटो बन्द भैसकेका थिए । त्यसैले सहान प्रधान नेपाल कम्युनिस्ट पार्टीका पुष्पलालसहितका शीर्ष नेतासँग सरसल्लाह गर्न थाल्नुभएको थियो । तर दुर्भाग्यवश नेपाल कम्युनिस्ट आन्दोलनका अग्रणी शीर्ष व्यक्तित्व, जनवादी क्रान्तिको कार्यक्रमका सूत्रधार तथा सिद्धान्त, संगठन र संघर्षलाई आत्मसात् गर्ने संयुक्त जनआन्दोनलका प्रणेता पुष्पलालको २०३५ साल साउन ०७ गते भारतको नयाँ दिल्लीस्थित बल्लभ भाइ पन्त अस्पतालमा हृदयरोगका कारण असामयिक निधन भयो ।

नेपाल कम्युनिस्ट पार्टीको संकटकालीन पाँचौ सम्मेलनले बलराम उपाध्यायलाई पार्टीको प्रमुख र सहाना प्रधानलाई पार्टीको केन्द्रीय नेतृत्वमा चयन ग¥यो र पार्टी प्रवक्ताको रूपमा सहाना प्रधानलाई जिम्मेवारी दियो । यसरी पुनः सहाना प्रधानको दोस्रो पटक सक्रिय राजनीतिक जीवन सुरु भयो ।

२०३२ सालमा अखिल नेपाल किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन कमरेड पुष्पलालकै प्रत्यक्ष नेतृत्वमा सम्पन्न भएको थियो र त्यसले किसान आन्दोलनलाई पुनः संगठित गर्ने र किसानहरूलाई शाही पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्ने ठोस नीति तर्जुमा गरी आन्दोलनको तयारीमा पार्टी लागेको थियो ।

राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका नेपाली कांग्रेसका शीर्ष नेता बिपी कोइरालाले ‘पञ्च कांग्रेससँग नतर्स, कांग्रेस पञ्चसँग नझस्क’ भनेर ‘न आन्दोलन न समर्पण’ अलमल र दोधारको बाटो अख्तियार गरिरहेको बेला उठेको संयुक्त विद्यार्थी आन्दोलनले फासिष्ट पञ्चायती व्यवस्थाको जग नराम्रोसँग हल्लाइदियो र निर्विकल्प भनिएको राजाको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभियो । प्रतिबन्धित दलहरूले जनमत संग्रको बेला खुल्ला काम गर्न थाले । त्यसबेला सहाना प्रधान सामन्ती अधिनायकवादी व्यवस्थाविरुद्ध तलैदेखि संयुक्त जनआन्दोलन उठाउनुपर्ने पुष्पलालको नीतिकासाथ देशव्यापीरूपमा जनसभा र जनसंगठन गर्ने अभियानमा नेपाल कम्युनिस्ट पार्टीको नेताको रूपमा सक्रिय भएर उत्रिनुभयो ।

वास्तवमा पञ्चायती व्यवस्थालाई परास्त गर्न र बहुदलीय व्यवस्थालाई पुनस्थापित गर्न जुन पाँच पूर्वशर्तहरू पञ्चायत नीति तथा जाँचबुझ समितको रूप लिएको गाउँफर्क राष्ट्रिय अभियानलाई भंग गरिनुपर्ने, माथिदेखि तलसम्मका पञ्चायती निकायलाई समाप्त तुल्याउनु पर्ने, सर्वपक्षीय राष्ट्रिय सरकारको गठन गरिनुपर्ने, १८ वर्ष उमेर पुगेका सबै नागरिकले मत दिन पाउनुपर्ने र यसरी जनमत संग्रहलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित तुल्याउनुपर्ने राखिएका थिए, त्यो नेपाल कम्युनिस्ट पार्टीले नै सर्वप्रथम अघि सारेको थियो ।

जनमत संग्रह धाँधलीपूर्ण तरिकाले गरिएकोले कथित सुधारिएको पञ्चायतको पक्षमा ५४ प्रतिशत र बहुदलको पक्षमा ४६ प्रतिशत मत आयो । यसले पनि भावी दिनमा पञ्चायती व्यवस्थाको आवरणमा चलाइएको राजाको निरंकुशताविरुद्धको जनआन्दोलनलाई अग्रगति दिन सकिने संकेत गरेको थियो ।

जनमत संग्रहको परिणामपछि २०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीबीच भारतको सारनाथमा पुष्पलालको नीति र कार्यक्रमका आधारमा छंैटौं राष्ट्रिय सम्मेलन गरी एकता भयो । त्यसले मनमोहन अधिकारीलाई महासचिव र सहाना प्रधानलाई सचिवको रूपमा निर्वाचित गर्‍यो ।

२०४६ साल माघ दुई गते नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरू मनमोहन–सहाना नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माले), नेकपा (निर्मल लामा समूह) नेपाल मजदुर किसान पार्टी, नेकपा (तुलसीलाल समूह), नेकपा (मानन्धर समूह) र नेकपा (बर्मा समूह) सम्मिलित संंयुक्त वाममोर्चा बन्यो । ती सबै घटकले सहाना प्रधानलाई मोर्चाको अध्यक्षमा चयन गरे । यो नै वास्तवमा सहाना प्रधानको राजनीतिक उत्कर्षमा पुगेको व्यक्तित्व थियो ।

संयुक्त वाममोर्चा र नेपाली कांग्रेको आह्वानमा उठेको संयुक्त जनआन्दोनलले ४९ दिनमा सामन्ती, अधिनायकवादी पञ्चायती व्यवस्थालाई ढालेको थियो । यसरी २००७ सालपछि पुनः अर्काे पटक नेपाली जनताले विजय पाएका थिए । विजयी नेपाली जनताको नेतृत्व गर्ने मध्येकी एक अग्रणी शिखर नेताको रूपमा यसरी सहाना प्रधान स्थापित हुनुभयो । एमाले बन्नुभन्दा पहिलाको सहाना प्रधानको व्यक्तित्व यसरी मुखरित भएको थियो ।

नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व उहाँको त्याग र वरियतानुरुपको हैसियत पार्टी र सरकार दुवैबाट प्राप्त नभएको विषय गम्भीरतापूर्वक समीक्षा गर्नुपर्दछ, यसबाट शिक्षा लिनु पर्दछ । अग्रजहरुको सम्मान गर्ने संस्कार र परिपाटीको विकास गर्नुपर्दछ किन कि,नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूह, माक्र्सवादी समूहका नेपाल कम्युनिस्ट पार्टीभन्दा जेठा कम्युनिस्ट पार्टीका सदस्यहरु नजोडी नेकपाको इतिहास पूरा हुन सक्दैन । सहानाले त्यो ल्याकत राख्नुहुन्छ । यस्ता वीराङ्गना र कम्युनिस्ट आन्दोलनको शिखर हस्ती साहना प्रधान २०७१ असोज ०६ दिवंगत हुनुभयो ।

उहाँले देखाउनु भएको न्याय, समानता र समृद्धिको यात्रामा निरन्तर लाग्ने प्रेरणा सम्पूर्णमा मिलोस् । दिवंगत सहाना प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग