रुकुम चौरजहारी त्रासदीपूर्ण घटनाको २ वर्ष

झपट रानाभाट
जेठ १७, २०७९

मानवीय उदय र सभ्यताको विकास सँगसँगै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ । मानिसको पूर्ण विकास नै शिक्षा हुनुपर्ने हो । समानतामूलक, समतामूलक र विभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृति, विसंगति, कुरीति, कुसंस्कार, अन्धविश्वास र रुढीवादीविरुद्ध जेहाद छेड्नुपर्ने हो । शिक्षासहितका प्रायः सबै उत्पादनका साधनमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करिब ३७ सय वर्षभन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति व्यवस्थाको सूत्रपात गरेको भए तापनि त्यो विभाजनले ‘फुटाऊ र शासन गर’ को नीतिजस्तै आफ्नो निहित स्वार्थ पूर्तिका लागि जनसमुदायलाई विभाजन गरेको सिद्ध भएको छ । दक्ष जनशक्तिको विभाजन गर्ने शासकहरुको कुत्सित षड्यन्त्रका कारण श्रमजीवी, परिश्रमकामी, मेहनतकस जनसमुदायमा परम्परादेखि विकास हुँदै आएको श्रम, सीप र कलामाथिको नाङ्गो हस्तक्षेप दिनदिनै बढ्दै आइरहेको छ । श्रम चल्छ, सीप र रगत चल्छ तर किन पानी चल्दैन ? वास्तवमा जातीय विभेद र छुवाछुत मानव उदय र सभ्यताको कलंक हो, वैज्ञानिक दृष्टिकोणले असत्य, सामाजिक रूपमा निन्दनीय र मानवीय दृष्टिले भयंकर अमानवीय र बर्बर असभ्यताको कुरा हो । शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार र विभेदको चरम पराकाष्ठा हो ।

नेपालको उदय र सभ्यताको विकासमा हरेक खाले निरंकुश, तानाशाही, फासिष्ट र एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्रको स्थापना गर्नको निम्ति हुनेखाने, टाठाबाठा उत्पादनका साधनमाथिको दोहन गर्नेहरुले सिर्जना गरेको तथाकथित ‘उत्पीडित’ समुदायको तर्फबाट ठूलो त्याग, समर्पण र बलिदान गरेको इतिहास दिउँसोको घाम जत्तिकै छर्लंग छ । अझ व्यवस्थामात्र हैन, शासन व्यवस्थाको प्रणाली नै परिवर्तन गर्न यो समुदायको तर्फबाट अवर्णित योगदान त्याग, समर्पण, बलिदान गरेको ०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र १० वर्षको हतियार बन्दसहितको जनयुद्धमा निकै राम्रोसँग अनुभूत गर्न सकिन्छ । महसुस गर्न सकिन्छ, यो जीवित यथार्थता हो र सच्चाइ पनि हो । यसरी मुलुकमा हुने ठूल्ठूला परिवर्तनहरुमा यी समुदायको तर्फबाट प्रभावकारी सहभागिता र उदाहरणीय भूमिका रहेको पाइन्छ तर पनि उत्पीडित समुदाय भनिने यिनै समूहहरुभित्र रहेको अन्तरजातीय विभेद पनि झन् साह्रो र मानवीय सभ्यताको तगारोको रूपमा रहनु अर्काे दुखद् कुरा हो ।

विद्यमान जातीय छुवाछुतजस्ता भेदभावहरु मौलाउँदै जाँदा व्यवस्था बदलिए पनि अवस्था उही रह्यो भने परिवर्तन पूर्ण हुन सक्दैन

जाति व्यवस्थाको उत्पत्तिदेखि नै जसलाई उत्पीडनमा पारियो, ती समुदायका मानिसहरू एवं न्याय, समानता र स्वतन्त्रताका सच्चा हिमायतीहरुले त्यस्ता खाले सामाजिक विकृति र विसंगतिहरुको उतिबेलै प्रतिवाद गरे, विरोध गरे । यद्यपि उत्पादनका साधनहरुमा जसको बोलवाला थियो, तिनीहरूले सिंगो राज्यशक्तिको आडमा सामन्ती व्यवस्थाको रूपमा रहेको जातीय विभेद र छुवाछुत जबर्जस्त थोपर्दै आए । विरोधमा उत्रनेमाथि कुटपिट गर्ने, जिब्रो थुत्ने र जेल हाल्नेसम्म गरिन्थ्यो । तर, २०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र जनयुद्धको फ्युजनपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी र समानतामूलक शासन व्यवस्थामा समेत दिनदिनै जातीय हिंसाका घटनाहरु घट्नु, अमानवीय एवं मानव सभ्यताको कलंकको रूपमा रहेका जातीय विभेद र छुवाछुतका घटनाहरु हुनु निकै लज्जाजनक र २१ औं शताब्दीको शिक्षा, विज्ञान र प्रविधिको उल्टो कुराहरू हुन् ।

गणतन्त्रात्मक शासन व्यवस्थाको मुख्य जग र आधार स्तम्भ ठानिएको भनिने माओवादी जनयुद्धको उद्गम स्थल रुकुम पश्चिमको दुखद् त्यो घटनाले कसलाई पो अहिले पनि सिरिंग सिरिंग र झस्यांग झस्यांग बनाएको छैन र? अन्तरजातीय विवाहको कारणले नवराज विकसहित ६ जना होनहार युवाहरुको बर्बर, घोर जंगली र क्रूरतापूर्वक हत्या भयो । सेतो पानी बग्ने भेरी नदीमा कहालीलाग्दो ढंगले ती ६ जना अबोध योद्धाहरुको रातो रगत बगेको १ वर्ष पुगेको छ, रगतको आहालमा लत्पतिएका क्रूर आपराधिक मानसिकताले ग्रस्त मानवीय सभ्यता विरोधी दोषीहरुलाई आफूलाई भयंकर क्रान्तिकारी ठान्नेहरुले उम्काउन खोजेका असम्भव कोसिस र प्रयास खेदजनक छन् । मानव अधिकारको रूपमा रहेको एउटा मानिसले अर्काे मानिसलाई प्रेमिल माया गर्न पाउने अधिकारको चिरहरण भएको १ वर्ष पुग्यो । नैसर्गिक अधिकारको रूपमा रहेको अर्काे मानिसलाई इच्छा गर्न पाउने, एकअर्कामा मन पराउन पाउने सार्वभौम अधिकारको हत्या गरिएको त्रासदीपूर्ण घटनाका दोषीहरुलाई जुनसुकै कारबाही गरे पनि कमै हुन्छ । ती घोर अपराधिक, क्रूर र अमानवीय हत्यामा संलग्न निकृष्ट दानवीय चरित्र बोकेकाहरुको बारेमा खेद व्यक्त गर्न सक्ने अहिले पनि कुनै शब्दावली नै छैन । त्यो घटनाले जो कोहीलाई अहिले पनि भावविह्वल बनाएको छ । एकाइसौं शताब्दीमा मानवीय सभ्यतालाई लज्जित बनाउने गरी भएको त्यो घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनको दायरामा ल्याउने कुरामा यो वा त्यो हिसाबले प्रभावित पार्नु वा अवरोध गर्न खोज्नु दुखद कुरा हुन् । जातीय विभेदले ओतप्रोत मानवीय सभ्यता र सिंगै मानवताका कलंक र कुलंगारहरुलाई धिक्कार्दैै समाजमा पुनः यस्ता दुस्कर्म नदोहोर्‍याउन नयाँ कदम चाल्नु पर्छ । यो लडाइँ कथित दलित र कथित गैरदलित बीचको होइन, मानव सभ्यताको हो । त्यसकारण राष्ट्रिय मानवअधिकार आयोग र अन्य अधिकारलकर्मीहरुले यो घटनाबाट के शिक्षा लिने र दिने भन्ने विषयमा छलफल गर्नुपर्छ । यो घटना सुखी नेपाली र समृद्द नेपालको बाधक हो । विद्यमान जातीय छुवाछुतजस्ता अमानवीय भेदभावहरु यसरी नै मौलाउँदै जाँदा व्यवस्था बदलिए पनि अवस्था उही रह्यो भने यसले परिवर्तन पूर्ण हुन सक्दैन । जबसम्म यस्ता मुद्दालाई सामाजिक मुद्दा बनाइँदैन तबसम्म प्रचलित कानुनको अर्थ रहँदैन । नभए नवराज विक, मैना सार्की, अजित मिजार जस्ता अझै मारिंदै जानेछन् अनि नियम कानुन निष्कृय भएपछि यसको मूल्य सारा राष्ट्रलाई नै भारी हुनसक्छ । जघन्य त्यो घटनामा गम्भीर ध्यानाकृष्ट भै यो घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको पालना गर्न गराउन अनि पीडितलाई उचित क्षतिपूर्ति र व्यवस्थापन अहिले पनि उत्तिकै आवश्यक छ तर त्यो त्रासदीपूर्ण र कहालीलाग्दो घटनाको टालटुल र उक्साउनेहरु नै आज सरकारको महत्वपूर्ण विभागीय नेतृत्वमा हुनु अर्काे दुखद र लज्जास्पद कुरा हो । मानवीय सभ्यताको कालो धब्बाको रूपमा रहेका जातीय विभेदमा संलग्न हुने अपराधीहरुले कुनै बहानामा उन्मुक्ति नपाऊन् । नवराज विकलगायत होनहार ती सबै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना ।

Related News

सम्बन्धित समाचार

hero news full width