ग्रामीण पर्यटन, सिरुबारी र कप्तान रुद्रमान गुरुङ

विश्वप्रेम अधिकारी
माघ २७, २०७९

जुनसुकै बेला म सिरुबारीको नाम सुन्छु तब पञ्चमूलको समग्र भूगोलको शृंखला घुमिरहेको अनुभव गर्छु । सिरुबारी, पञ्चमूल, मान्केस्वाँरा, आउडेरी, बाटास्वाँरा, राजस्वाँरा, माझकटेरी, थाप्ले, थुम्रो, पुतलीगैरा, फलाँटे, दह र डहरे देउरालीका बनोट र प्राकृतिक सौन्दर्यले अभिभूत हुन्छु । विकसित मुलुकले दिएको चेतना र प्राकृतिक परिवेशले सिँगारेको बौद्धिकताले दिएको आलोकको अनुसरणले पञ्चमूल निसन्देह अविस्मरणीय छ, सबैका लागि ।

तेह्र वर्षे किशोरवयमा नै म पञ्चमूल गएको थिएँ, विक्रम सम्वत् २०१२ सालको भाद्र महिनामा मेरो साथी थियो मेरै सहगोत्री भाइ रमाकान्त अधिकारी, मभन्दा एक वर्ष कान्छो । सानो तने झोलामा किताप कापी थिए तर सामल थिएन । हिँड्ने बेलामा आमाबाट पाएको तीन मोहोर । व्रतबन्ध गर्दा वेदको पुस्तक पीतवस्त्रमा बेरेर कम्मरमा बाँधेको झल्को आयो । रमाइलो झल्को । मूर्त सम्झना बोकेर अमूर्त प्राप्तिको खोजेको यात्रा । बायँखोलाबाट सुरु भएको उकालो सिउँडबारी पुगेपछि धुलेको उकालोले निकालेको पसिनाले विश्राम पाएको, तर्पाएँ हिँडेर दरौं पुगेपछि सल्यानका सेता ढुंगा गाडेर बनाएको बाघ थुन्ने खोर देखियो । अनौठो लाग्यो ।

दरौंबाट माझकटेरी, राजस्वाँरा हुँदै मान्केस्वाँरा पण्डित दण्डापाणि ढकालकी जेठी श्रीमती जमुना फुपूकहाँ पुगियो । मसँगै गएको भाइकी साख्खै फुपू, मेरी पनि फुपू देखे भेटेकी र चिनेकी, अफ्ठ्यारो भएन । २०१२ भाद्रदेखि २०१६ साल जेठसम्मका दिन त्यहीँ बिते । ज्योतिष र लघुकौमुदीको भ्यादिसम्म पञ्चमूलका पण्डित गुरु चिरञ्जीवीको पिढीं र धन्सारमा बसेर पढें । मेरा गुरु चिरञ्जीवी ढकाल पञ्चमूलको भाषा पाठशालाको शिक्षक (पण्डित दरबन्दी) हुनुहुन्थ्यो ।

पञ्चमूल राणाकालीन समयमा पनि पिंढी पाठशाला चलेको ठाउँ । पुरानो पिंढीका मान्छेहरु नै पनि वेद चण्डी, अग्नि स्थापना पढेका घरघरैजसो थिए । त्यहाँ यस्तो संस्कार, शैक्षिक चेतना फैलाउने मूल पुरुष आदरणीय गुरुका हजुर बा ज्योतिर्विद पण्डित भवानीशंकर ढकाल हुनुहुँदो रहेछ । त्यतिखेर पञ्चमूलमा जन्मेका सुबेदार मेजर गम्भीरसिंह गुरुङले विसं १९८६ सालमा नै आफ्नै पैसाले तेह्र हात लम्बाइ र नौ हात गजको अगाडि खुला भएको पौवा बनाइदिए र पण्डित भवानीशंकरको पिंढी पाठशालालाई मूर्तता प्रदान गरेको इतिहास मैले त्यतिबेलै सुनेको हुँ ।

सिरुबारी बाह्य र आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बनेको छ

कप्तान रुद्रमान गुरुङसँग मेरो सम्बन्ध २०३७ साल अगावै भएको हो । उहाँ भारतीय सेनाबाट सेवा निवृत्त भएपछि भेट हुन थाल्यो । २०४६ सालको आन्दोलनसम्म आइपुग्दा कप्तान रुद्रमान गुरुङ नेपाली कांग्रेसका नेताका रुपमा परिचित भइसक्नु भएको थियो । कप्तान रुद्रमान गुरुङको अभिव्यक्ति सुन्दा मैले केटाकेटी हुँदै सुन्दै आएको एउटा लोकोक्ति सम्झन पुग्थें, ‘गुरुङले ढाँट्न जान्दैन, भैंसीले लात्ती हान्न जान्दैन’ आफूले अनुभूत गरेको कुरा सोलत्र भनिदिने बानी थियो उहाँको । २०४६ सालको आन्दोलनले पञ्चायतलाई मिल्काइदिएर बहुदलीय व्यवस्थाको स्थापना भएपछि २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यो निर्वाचनमा क्षेत्र नं २ बाट नेपाली कांग्रेसको टिकटमा उहाँ निर्वाचित हुनुभयो । त्यतिखेर स्याङ्जामा चार ओटा निर्वाचन क्षेत्र थिए । त्यतिबेला चारै सिट कांग्र्रेसले जित्यो । २०५१ मा एकल बहुमतको सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाजीले संसद भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभयो । त्यतिखेर पनि कप्तान रुद्रमान गुरुङले उम्मेदवारी पाउनुभयो तर पार्टीभित्रको अन्तरविरोधले उहाँ मात्र होइन, नेपाली कांग्रेसका सबै उम्मेदवारले चुनाव हारे । हारपछि नेपाली कांग्रेसमा ‘छत्तिसे र चौरहत्तरे’ गुट र उपगुट देखिन थाले । छत्तिसे गुटका मित्रहरुले रुद्रमान गुरुङलाई ‘रअ को एजेन्ट’ भनेर प्रचार समेत गरे । यस्तो आरोप लगाउनेहरुले दूध पोखरी बनाउनेमा पानी पोखरी बनाएर कांग्रेसको साख समाप्त पारे ।

कप्तान रुद्रमान गुरुङ केही गर्नुपर्छ भन्ने मान्छे, निजी स्वार्थभन्दा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध मान्छे भएकाले पहिलोपल्ट सांसद बनेको बेला सुरु गरेका कार्यहरु पूर्ण हुन सकेका थिएनन् । उता माओवादी द्वन्द्व चर्कैंदै गयो । स्याङ्जा सदरमुकाममा आक्रमण गरेर १४ जना राष्ट्रसेवक प्रहरीहरुको विभत्स हत्या भयो । कांग्र्रेस कार्यकर्ताहरु भयभित भएर आन्तरिक निर्वासनमा जान बाध्य भए । यस्तो परिस्थितिले कप्तान रुद्रमान गुरुङ पनि किम्कर्तव्य विमूढ हुन पुग्नुभयो । अनि पञ्चमूलले बोकेको प्राकृतिक सौन्दर्य, शैक्षिक जागरण र इतिहासले उहाँमा साहस भर्न थाल्यो । अनि सिरुबारीलाई ग्रामीण पर्यटकीय स्थल बनाउने संकल्प जन्मन पुग्यो । ग्रामीण पर्यटनको प्रकृति प्रदत्त पूर्वाधार त थियो, भौतिक पूर्वाधार थिएन । अनि होमस्टे स्थापना गरियो ।

अहिले सिरुबारी बाह्य र आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बनेको छ । नौमती बाजाको झ्याईंझ्याईं र धुन घन्किरहेको पाइन्छ । पाहुनाहरुलाई घरघरमा आवास र भोजनको व्यवस्थापन गरिएको छ । सिरुबारीका होमस्टेहरुमा गरिने अतिथि सत्कार, त्यहाँ तयार गरिएको भोजनको स्वाद, सिजन अनुसारका फलफूल एवं सञ्चालकहरुको व्यवहारले सिरुबारीमा आउने जोसुकैले आफनै घरको वातावरण पाइरहेका छन् । यी र यस्तै परिस्थितिले गर्दा सिरुबारी दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय स्थल बनेको छ । सिरुबारी लाहुरे बहुल बस्ती हो र पनि त्यहाँका युवाहरु उच्च शिक्षा हासिल गरेर विश्वविद्यालयका प्रोफेसर भएर सेवा दिइरहेका छन् । सुविधाविहीन गाउँहरु उजाड र रित्तो भएका अनेक उदाहरणहरु छन्, तर सिरुबारीमा यो रोग लागेको छैन । धेरैको व्यवसाय चलेको छ । यो सब कप्तान रुद्रमान गुरुङको दूरदर्शितापूर्ण चिन्तनको प्रतिफल हो । म कप्तान रुद्रमानप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width