प्रतिज्ञा र विजयको द्योतक पर्व रक्षाबन्धन

ब्रह्माकुमारी सुधा
श्रावण २७, २०७९

प्रत्येक धर्म र सम्प्रदायभित्र मनाइने विभिन्न पर्वहरु, सम्पादन गरिने विभिन्न धार्मिक परम्पराहरु, अनेक रीतिरिवाज तथा जन्मजयन्ती इत्यादिहरु कुनै न कुनै रुपबाट आध्यात्मिकतासँग मानिसको सम्बन्धकारक बनेका हुन्छन् । यही कारण विज्ञानको चरम विकास, आधुनिकता र अति भौतिकतावादी सोचले ग्रस्त वर्तमान मानव समाज र उन्मादपूर्ण कलियुगी वातावरणमा पनि अन्योलता एवं अल्पज्ञानका साथ होस् अथवा आंशिक रुपमा मात्र किन नहोस् ईश्वरीय सत्ता र त्यसको अस्तित्व प्रतिको विश्वास जीवित छ । भक्तिमार्गको प्रारम्भकालमा आध्यात्म र ईश्वरप्रतिको यो आस्था अतिनै शुद्ध, श्रद्धापूर्ण र भावनायुक्त थियो । कालान्तरमा जब मानिसहरुमा श्रद्घा तथा स्नेह क्षीण हुँदै जान्छ तब त्यसमा निहित आध्यात्मिक सत्यको स्थान कर्म काण्ड तथा औपचारिकताले लिंदै गयो । आज हरेक पर्वहरु केवल परम्परागत औपचारिकता पूरा गर्न वा मनोरञ्जनार्थ मात्र मनाइन्छन् भन्दा अतिशयोक्ति नहोला । तापनि आज यस विज्ञान र विकासको अन्धानुकरणका कारण विक्षिप्त एवं मानसिक शान्तिका लागि दूर्भिक्ष मानव मनको पुनर्जीवनका लागि यी पर्वको पछाडि लुकेका आध्यात्मिक सत्यतथ्य उद्घाटन गर्न अति आवश्यक छ । जसबाट संसारमा व्याप्त अज्ञानता र तमोप्रधानता निरुत्साहित गर्दै मानवको सुषुप्त प्राचीन दैवी सभ्यतालाई ब्युँत्याउन सकियोस् ।

यसै सन्दर्भमा रक्षाबन्धन पर्व पवित्र सम्बन्धको प्रतीकात्मक पर्व हो । जुन खास नेपालसहित भारत र विश्वभरि छरिएका सनातन वा हिन्दु धर्मावलम्बीले मनाउने महत्वपूर्ण पर्व हो । क्षेत्रफलका हिसाबले सानो भए पनि नेपाल एउटा बहुआयामिक, बहुधार्मिक बहुसांस्कृतिक विरासतको संवाहक देश हो । नेपाल एवं भारतसहित संसारका अन्य देशहरुमा मनाइने पर्वहरु सम्पादन गर्ने शैली अलग अलग अथवा केही भिन्नता देखिए तापनि निष्कर्षमा पुग्दा सबैका भावनात्मक मान्यताहरु लगभग समान नै भएको पाइन्छ । रक्षाबन्धन पर्वको सन्दर्भमा भारत वर्षमा एकातिर दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन (राखी) बाँधेर आफ्नो रक्षाको अपेक्षा गरेकी हुन्छिन् भने अर्कोतिर पौराणिक मान्यतामाथि चिन्तन गर्दा स्पष्ट हुन्छ कि यो पर्व केवल दाजुभाइ र दिदीबहिनीसम्म मात्र सीमित थिएन । श्रावण महिनामा मनाइने यस पर्वलाई उपासना या संकल्प, प्रतिज्ञा वा प्रतिबद्धताको पर्व पनि भनिन्छ । श्रावण भन्नेबितिकै श्रावणी पूर्णिमाको यर्थाथता सिद्ध हुन्छ । पुराणहरुमा यस्तो मान्यता छ कि एकपटक ऋषि दुर्वासाले ग्रहहरुको प्रकोपबाट बच्नको लागि रक्षाबन्धनको व्यवस्था गर्नु भएको थियो । महाभारत युगमा श्रीकृष्णले ऋषिहरुलाई पुज्य ठानेर रक्षासूत्र बाँध्न आवश्यक ठान्नु भएको थियो ताकि ऋषिहरुको तपोबलबाट भक्तहरुको रक्षा हुन सकोस् ।

यो पनि मान्यता छ कि देवासुर संग्राममा देवताको विजयबाट नै रक्षाबन्धन पर्वको सुरुआत भयो । ऋगवेद्मा यही देवासुर संग्रामको सम्बन्धमा स्पष्ट रुपले वर्णन गरिएको छ कि जब देवता र असुरबीच युद्ध भयो तब देवतालाई आफ्नो विजयको बारेमा शंका उत्पन्न भयो । यस युद्धमा देवराज इन्द्रले पनि भाग लिएका थिए । तब राजा इन्द्रकी पत्नी इन्द्राणी श्रावण पूर्णिमाको दिन गुरु बृहस्पतिको पासमा गइन् र गुरु बृहस्पतिले विजयको लागि रक्षाबन्धन बाँध्ने सुझाव दिनु भयो, तत्पश्चात् नै राजा इन्द्रको विजय भएको थियो ।

रक्षाबन्धन सन्दर्भमा यस्ता कैयौं प्रसंग धर्मशास्त्रमा भेटिन्छन् तर जुनसुकै ऐतिहासिक तथा आध्यात्मिक मान्यता एवं प्रसंग केलाउँदा पनि वास्तवमा ‘रक्षाबन्धन’ मानव मनमा निहित आसुरी पन, खराबी वा लडाईंमा दुश्मनमाथिको विजयका लागि होस् अथवा दिदीबहिनी या भाइ, स्वयं वा आफन्तजन अथवा भक्तजनको रक्षाका लागि होस् मानवले अपनाउनु पर्ने पवित्रताको श्रेष्ठ आचरणको अवलम्बन तथा प्रतिबद्धताको स्मरणलाई तरोताजा राख्ने प्रतीकात्मक बन्धन हो । जसले गर्दा त्यस प्रतिबद्धतालाई जीवन्त राख्न सकियोस् । अथवा त्यसका लागि गरिने प्रतिज्ञाको द्योतकको रुपमा बाँधिने चिनारी हो । अर्को शब्दमा त्यस प्रतीज्ञाको पूर्णताका लागि गरिने दृढ संकल्प, सतत् साधना तथा तपस्याको प्रतीक बन्धन हो भन्ने बुझिन्छ ।

तर कालान्तरमा यसको रुप परिवर्तन हुँदै जाँदा आजको युुगमा खास नेपालमा प्रायः पुरोहित र यजमानमा र भारतमा अधिकांश रुपमा र दाजुभाइ र दिदीबहिनीबीच मात्र सीमित हुन आएको छ ‘रक्षाबन्धन’ (राखी) । वर्तमान समयमा त केवल शिष्टाचारका लागि अथवा सोख, वा सोखीन रीति पूरा गर्न दाजुभाइको हातमा सजावटसहितको आकर्षक फेसनेवल आधुनिक राखी बाँध्ने गरिन्छ र दिदीबहिनीले पनि त्यसपछि स्थूल धन वा उपहारको प्राप्तिको कामना राखेका हुन्छन् भने दाजुभाइले पनि दक्षिणा र उपहार स्वरुप केही न केही दिदीबहिनीलाई दिएर ऋण चुकाएको ठान्दछन् र यतिकैमा पुरा हुन्छ ‘रक्षाबन्धन पर्व’ । अब यो भन्नु अतिशयोक्ति हुँदैन कि आज यस पर्वप्रतिको भाव र भावना दुवै फेरिइसकेको छ र जीवित छ त केवल परम्परागत रीतिरिवाजमात्र ।

श्रावण महिनालाई सर्व आत्माका पिता, रक्षक, शिक्षक एवं सत्गुरु परमपिता भोलेनाथ शिवबाबाको महिना पनि भन्ने गरिन्छ । भनिन्छ, यस महिनामा शिव भोलेनाथ शीघ्र प्रसन्न हुनुहुन्छ । यही महिनामा रक्षाबन्धन पर्व पनि मनाउने चलन रही आएको छ । वास्तवमा यसमा अनेकांै रहस्य समेटिएका छन् । तर आज यस रक्षाबन्धन पर्वले नयाँ आवरणको रुप लिएको छ । जसकारण आध्यात्मिकताको शक्ति र एकताको शक्तिको मजबुती टुटिसकेको छ । आज यो पर्व भावनाको पर्वको सट्टा कामनाको पर्व बनिसकेको छ । यही कारण हो कि आजको समाजमा मानवीय मर्यादाहरु र पवित्र सम्बन्धहरु कलंकित भइरहेका छन् । आज कुनै पनि व्यक्ति आसुरी शक्ति र व्यभिचारीबाट आफूलाई सुरक्षित महसुस गरेका छैनन् । तसर्थ यस्तो मानवीय विभीषिकाको समयमा पुनः अब प्राचीन समयमा घटेका रक्षाबन्धनमा आधारित सत्य घटना तथा यथार्थ रहस्यलाई जान्न जरुरी छ । जबसम्म हामी यस पर्वको प्राचीन र आध्यात्मिक रहस्यलाई बुझ्दैनौं तबसम्म यो पर्व मनाउनु निस्सार अथवा केवल परम्पराप्रतिको कोरा शिष्टाचार मात्र हुनेछ ।

वर्तमान समयमा बढ्दै गएको अत्याचार, भ्रष्टाचार र व्यभिचारलाई समाप्त गर्न र पुनः एक मर्यादित समाज बनाउन यसको वास्तविक मर्मलाई बुझेर मात्र मनाउन जरुरी छ । अहिले त यसको रुपरेखा यतिसम्म परिवर्तन भइसकेको छ कि पहिलाको जमानामा जस्तो ब्राह्मणहरुले यजमानलाई रक्षासूत्र बाँध्नुको साथसाथै प्रतिज्ञा गराउने परम्परा नै समाप्त भइसकेको छ । आज न श्रेष्ठ र पवित्र आचरण भएका ब्राह्मणहरु पाइन्छन्, र न त यजमानहरु नै । न त पुरोहित या ब्राह्मणहरुले यजमानलाई विशेष, शुभ र श्रेष्ठ प्रतीज्ञा वा संकल्प नै गराउन सक्छन् र न त यजमानहरुले त्यसलाई दृढतापूर्वक अनुसरण गर्ने साहस नै गर्छन् ।

वास्तवमा ‘रक्षाबन्धन’ मानवले अपनाउनु पर्ने पवित्रताको श्रेष्ठ आचरणको अवलम्बन तथा प्रतिबद्धताको स्मरणलाई तरोताजा राख्ने प्रतीकात्मक बन्धन हो

वास्तवमा रक्षाबन्धन पर्वको प्रारम्भ निराकर ज्योति बिन्दु स्वरुप परपपिता शिवले गर्नुभएको थियो । जब यस सृष्टिमा मानवीय सभ्यता र समवेदना शून्य हुँदै जान्छन् मानवीय सम्बन्धहरु टुक्रिन थाल्छन्, तब परमात्मा अवतरित भएर सच्चा ब्राह्मणहरुको रचना गर्नुहुन्छ । अपवित्रतालाई समाप्त गर्ने तथा आसुरी वृत्तिबाट मुक्त हुने संकल्प दिनु हुन्छ । यस अर्थमा पनि रक्षाबन्धन पर्वलाई दाजुबहिनीको सम्बन्धसँग जोडिन्छ किनकि सम्बन्धहरुमा सबैभन्दा पवित्र सम्बन्ध दाजुबहिनी एवं दिदीभाइको हुन्छ । वर्तमान समय परमात्मा शिवले यही स्मरण गराउनु भएको छ कि तिमी सबै मनुष्य आत्मा एक परमात्माका सन्तान हौ । साथै आपसमा शारीरिक रुपले भाइबहिनी तथा आत्मिक रुपले भाइभाइ हौं । त्यसैले नै भनाइ छ, ‘हिन्दु, मुश्लिम, सिख्ख, इसाई आपसमा भाइ भाइ ।’

जहाँ भोलेनाथ परमपिता परमात्मा शिव प्रसन्न हुने कुरा छ यो सत्य हो कि जब कुनै सन्तान आफ्नो माता पिताको पूर्ण रुपमा आज्ञाकारी हुन्छन् भने अवश्य माता पिता पनि ऊसँग प्रसन्न हुने गर्दछन् । यसैगरी परमात्मा शिव पनि हामी सबै आत्माहरुका माता पिता हुनुहुन्छ । वर्तमान समय स्वयं परमात्मा शिवले यस पवित्र सम्बन्धको स्मृति दिलाइरहनु भएको छ र पवित्रताको रक्षासूत्रमा बाँधेर पवित्र नाता पवित्र समाज तथा एक वैश्विक, आध्यात्मिक क्रान्तिको उद्घोष गरिरहनुभएको छ । परमात्माको आदेश छ कि हे आत्माहरु, ‘अब जाग ! र यस पावन पर्वको अवसरमा पवित्रताको सच्चा राखी (रक्षाबन्धन) बाँधेर संसार सागरमा डुब्दै गएको मानवता रुपी नैयालाई पार लगाउन परमात्माको मद्द्तगार बन ।’
आज सारा विश्वमा प्रभुत्व जमाएको आसुरी शक्तिको ताण्डव नृत्यलाई समाप्त गर्न रक्षाबन्धन पर्वलार्ई परम्परागत रुपले मात्र नभई स्वयं जगत पिता परमात्मा शिवको आज्ञा सम्झेर प्रत्येक स्त्री पुरुषबीच पवित्रताको सम्बन्धलाई पुनस्र्थापना गर्नको लागि मनाइयोस् । आज प्रत्येक मनुष्यभित्र व्याप्त आसुरी र दैवी शक्तिको युद्धमा विजय हासिल गर्न यो पवित्र सम्बन्ध अति आवश्यक छ । यही रक्षाबन्धनको सच्चा संदेश तथा परमात्माको आदेश हो । अब आवश्यकता यो छ कि हामी सबै मानव आत्माहरुले पवित्रताको परम महात्म्यलाई स्वीकार गरेर यस विश्वबाट आसुरीयतालाई समाप्त गर्नेे क्रान्ति गरौं तब मात्र यो पर्व मनाउनुको सार्थकता चरितार्थ हुनेछ ।

‘रक्षाबन्धन’ को तात्पर्य केवल दाजुभाइले आफ्ना दिदीबहिनीको रक्षा गर्नुमा मात्र सीमित नभई पूरा विश्वको रक्षासँग यसको सम्बन्ध छ । रक्षाबन्धन पर्व इन्द्रियहरु माथि विजय प्राप्त गर्नुको सूचक हो अर्थात् भाइ र बहिनीको नातामा अन्तरनिहित मन, बचन र कर्मको पवित्रताको बोधक हो । अब समयको माग यो छ कि ‘जब कुनै दिदी बहिनीले आफ्ना दाजु भाइको नाडीमा राखी बाँध्छिन तब दाजुभाइसँग प्रतिज्ञा गराउन कि जसरी तिमीले म दिदी÷बहिनीलाई पवित्र एवं निर्मल दृष्टिले हेरेर रक्षा गर्ने संकल्प लिन्छौं, ठिक त्यसरी नै आजबाट यो प्रतिज्ञा गर कि मलाई मात्र नभएर पूरा विश्वका प्रत्येक नारीलाई श्रद्धापूर्ण श्रेष्ठ भावका साथ दिदीबहिनीको पवित्र दृष्टिले हेर्नेछु र उनीहरुको पवित्रताको गौरवको रक्षा गर्नेछु ।’

अर्को अर्थमा यस पर्वले यस्तो समयको याद दिलाउँछ कि जब परमपिता परमात्मा शिवले प्रजापिता ब्रह्माद्वारा कन्या माताहरुलाई ब्राह्मण पदमा आसीन गरी उनीहरुलाई ज्ञान अमृतको कलश दिनुभयो । उनकै द्वारा स्त्री पुरुषको सम्बन्धबीच पवित्रताको स्थापना गर्नुभयो जसको फलःस्वरुप सत्ययुगी पवित्र सृष्टिको स्थापना भयो । आज त्यही पूनित कार्यको पुनरावृत्ति भइरहेको छ र ब्रह्माकुमारी दिदीबहिनीहरु ईश्वरीय ज्ञान एवं सहज राजयोगको अभ्यासद्वारा ब्राह्मण पदमा आसीन भई शुद्ध स्नेह र पवित्र संकल्पको राखी जन जनलाई बाँधिरहेका छन् । यसका साथै मस्तकमा तिलक लगाउनु र मुख मिठो गराउनुको पनि भावार्थ यही हो कि यस शरीररुपी कुटियाको भृकुटी रुपी आसनमा स्थित हुनु अर्थात् आत्मिक स्थितिमा रहनु कि, ‘म एक चेतन दिव्य ज्योति आत्मा हुँ ।’ साथै सामाजिक सम्पर्कमा आउँदा मधुर बोली रुपी प्रसाद बाँड्नु । हाम्रोे बोलीचाली र व्यवहारमा कटुता र तितोपना न होस् तसर्थ जसरी एउटा कमल फूल हिलोमा रहेर पनि न्यारा र प्यारा रहनुको प्रतीक हो । त्यसरी नै रक्षाबन्धन खराबीहरुबाट स्वयंको रक्षा गर्ने र श्रेष्ठ आचरण तथा मर्यादाको बन्धनमा स्वयंलाई बाँधेर आफूप्रतिको सबैको उच्च भाव र दृष्टिलाई कायम राख्नुको सूचक हो ।

यस प्रकार भगवान् शिवबाबाको श्रीमत्मा चल्ने र जीवनलाई पवित्रताको बन्धनमा बाँध्ने दृढ प्रतीज्ञा गर्दै रक्षासूत्र ग्रहण गर्नाले मात्र आजको मानिस अनेक सांसारिक बन्धनहरुबाट मुक्त हुन सक्दछ । अनेक बन्धनबाट स्वयं मुक्त भई श्रेष्ठ आचरण, मर्यादा र पवित्रताको सुखदायी बन्धनमा बाँधिनाले नै संकटपूर्ण घडी एवं विविध विषम र विकट परिस्थितिहरुमा स्वयंको रक्षा सम्भव छ ।

अन्तमा, रक्षाबन्धन पर्व मानवमात्रमा आफूभित्रका अनेकौं खोट समाप्त पारी दिव्यता र पवित्रताको रक्षार्थ प्रेरणादायक र सन्देशवाहक बन्न सकोस् । परमपिता परमात्माको असीम वरदान यहाँहरु सम्पूर्णलाई प्राप्त हुन सकोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! ओम् शान्ति ।

Related News

सम्बन्धित समाचार

hero news full width