बधाई र शुभकामना ! लिङ्देनजी

दिनेश बस्नेत
पौष ११, २०७८

राजेन्द्र लिङ्देनको जीतले युवाहरुमा केही आशा र सम्भावनाको छनक छाएको छ । नेपाली जनमानसमा वितृष्णामुखी बन्दै गएको राजनीति, खोके बूढाहरुले वाक्क दिक्क बनाएको राननीति केही हदसम्म भए पनि सुध्रिन्छ कि? भन्ने एक प्रकारको आशा जनमानसमा जगमगाएको छ । विशेष गरेर युवावर्गहरु उत्साहित भएका छन् । वास्तवमा हुनपर्ने पनि यही हो । नेतृत्व बदलिनु आवश्यक छ, नेतृत्वसँग कार्यशैली पनि बदलिनुपर्ने अपरिहार्य भइसकेको छ । राष्ट्र र राष्ट्रियताका लागि नयाँ सोचशैली प्रवाह गर्न सक्ने युवा नेतृत्व आउन जरुरी छ । जसले पार्टीलाई पनि मजबुत बनाओस् । लोकतन्त्रलाई पनि मजबुत बनाओस् । देश समृद्धिको बाटोमा अघि बढोस् ।
यहाँ कुरा कमल थापाको पराजितको मात्र होइन । कमल थापा आफैंमा एउटा विरासत थिए । राप्रपाको निम्ति निश्चित रुपमा उनले राप्रपा संगठन बिस्तारमा गरेको योगदान अतुलनीय छ । निकै कठिन, जटिल र त्रासदीपूर्ण परिस्थितिमा उनले राप्रपालाई काँधमा बोकेर हिँडे । तर राप्रपाको सैद्धान्तिक मान्यतामा अडिन सकेनन् । क्षणिक व्यक्तिगत स्वार्थ नै उनको लागि अर्थपूर्ण बने । राजसंस्था र हिन्दुधर्मलाई मुखपत्र बनाएको पार्टीगत मान्यता बेवास्ता गरे । पटकपटक मन्त्री बने । सत्ताको माखे साङ्लोमा रमाए । आफू र आफन्तका पक्षपोषण गर्नु नै राजनीतिमा लाग्नुको मुख्य अभीष्ट हो भनेझैं स्वार्थी चरित्र देखाए । जसले गर्दा राप्रपामाथिको जनताको वैकल्पिक पार्टी हो भन्ने भरोसा टुट्यो । कमल थापाका कमजोरीले नै राप्रपा अधोगतिमय बन्यो । चुनावमा नराम्ररी हार व्यहोर्न पर्‍यो । तर उनको पदलोलुपता बीसको उन्नाइस भएन, ज्युँका त्यु रह्यो । आजका दिनसम्म अध्यक्षमा बस्न मरिहत्ते गरे । अर्थात् पदमा बहालरत रहँदारहँदै बह्मलीन हुन चाहने नेपाली राजनीतिको प्रवृत्तिबाट अछुतो रहेनन् । तर राप्रपाका कार्यकर्ताले राष्ट्र र पार्टीका निम्ति सही निर्णय गरे; कमल थापालाई दण्डित गरे भने लिङ्देनलाई विजय गराए ।
बधाईका योग्य छन्, राजेन्द्र लिङ्देन । शुभकामना पनि छ, डाँडामाथिको घाम जस्तै बनेको राप्रपालाइ्र्र उनको नेतृत्वले पुनर्जीवन दिन सकोस् । अर्थात, नेपाली राजनीतिको उदाहरणीय पात्र बन्न सकून् । वास्तवमै, नेपाली राजनीति घिनलाग्दो पोखरीजस्तो भएको छ । देश प्रतिदिन अधोगतिमा धकेलिएको छ । जनता निराश छन् । युवाहरु पासपोर्ट बनाएर लामबद्ध बसेका छन् । कोही बनाउन हतार छन् र कति बेला विदेशको यात्रा तय गर्ने होला भन्ने चिन्ताग्रस्त मनस्थितिमा छन् । अझ भनौं भने, विदेश जान पाउँदा र अर्काको देशमा पिआर पाउँदा खुसी हुनुपर्ने नेपाली युवाहरुको हबिगत छ । यद्यपि कालाबजारिया, भ्रष्टाचारी र नेता एवं नेताका आसपासेहरुका लागि नेपाल सुनखानी भएको छ । तिनको जीवनशैली हेर्दा जो कोहीलाई लाग्छ । केही न केही गलत गरेर उसले कमाएको छ । तर पनि कानुन नभएजस्तो छ । भए पनि पार्टीको हनुमान भएपछि या पार्टीको नेता भएपछि सबै छुट सरह हुन्छन् । यहाँ नेताहरुको बलमिचाइ र मिलेमतोमा नहुने काम केही छैनन् ।
भनिन्छ, कुनै पनि बालकलाई आमाको दूध खान छुट हुन्छ छ तर रगत खाने छुट हुन्न । नेपालमा यो भनाइ कार्यान्वयन हुन सकेको छैन । पटकपटक विभिन्न नारा दिएर, कहिले सर्वहारा भनेर, कहिले जातजातिको नाम दिएर, कहिले वर्गीय विभेद भनेर देशलाई लुटे । पछिल्लो समय त्यसरी लुट्ने कांग्रेस कम्युनिस्ट नै कहलिए ।
यद्यपि नेताले त किन आफ्नो गल्ती र कमजोरी स्वीकार्थे ? जसै चोरले म चोर हुँ कहाँ भन्छ र ? तर स्वयं तिनका कार्यकर्ता पनि नेताहरुलाई भगवान् जसरी मान्छन् । अन्धभक्त भएर समर्थन गर्छन् र यतिसम्म सोच्दैनन्, कसरी बन्यो नेताको महल ? कसरी किने करोडौंको गाडी र कसरी बिताएका छन् अर्बपतिको जीवनशैली ? आफ्नो पार्टीका नेताको अवगुण ढाकछोप गर्ने परिपाटीले हालिमुहाली पाएको छ । त्यो प्रवृत्ति किमार्थ राष्ट्रको निम्ति हितकर हुन सक्दैन । तर विडम्बना सत्य साँचो कुरा, जुन कुरा राष्ट्र, राष्ट्रियता र स्वाधीनताका लागि अपरिहार्य छ । सो कुरा पछि आजका कार्यकर्ता छैनन्, तिनै नेताले उठाएका तर्क र टुक्काहरु स्थानीय तहसम्म गुञ्जन्छन् । तिनै भ्रष्टाचारी नेताको गुनगान र भजन गाउँछन् । सायद कार्यकर्ता पनि केही आशा केही प्रलोभन र केही लालसामा आफ्नो अस्तित्व बन्धकी राखेका छन् । त्यसैले तिनका दृष्टिकोण स्वतन्त्र हुन सकेका छैनन् । नेताभित्रको चोरी डकैती र लुटेरा प्रवृत्तिको मुकदर्शक बनेका छन् ।
तर देश आज जर्जर स्थितिमा छ । नेताहरुले देश र जनतालाई दिएको धोका र घात कुनै चानचुने तराजुमा मापन गर्न सकिँदैन । केवल आफ्ना लागि र केवल आफन्तका लागि बनेको लोकतन्त्र खोक्रो बन्दै गएको छ । नेताहरुले आफूले गरेको तथाकथित त्याग र बलिदान, अनि जेल जीवनलाई आधार बनाएर कुर्सीका लागि बहस गर्दछन् । कुर्सी आफ्नो पेवा भएको जिकीर गर्दछन् । अनेकन नौटंकी तर्क बोलेर आफ्नो उपस्थिति लोकतन्त्रको लागि आवश्यक भएको जिकीर गर्दछन् । जनमत आफ्नो पक्षमा नहुँदा अर्थात् चुनाव हार्दा समेत पार्टीमा आफ्नो विकल्प देख्दैन । जुनखाले संस्कारले लोकतन्त्रका हिमायती पार्टी गनिने नेपाली कांग्रेस, एमाले र माओवादीमा जरो गाडेको देखियो ।
वास्तवमा राजनीतिक परिवर्तन चाहने हो भने देशलाई अग्रगामी हिसाबले समुन्नतिको बाटोमा हिँडाउने हो भन्ने सोचाइ र सिद्धान्तमा नवीनता चाहिन्छ । जुन अध्यायको लागि प्रवृत्ति र पात्रमा परिवर्तन हुन जरुरी छ । असफल र बदनाम नेताहरुलाई पाखा लगाउनु पनि राजनीतिक निकासको लागि टड्कारो आवश्यक छ । नाम नै लिएर भन्दा राजेन्द्र लिङ्देनहरु र गगन थापाहरुले पार्टीमा जिम्मेवारी पाउनु आजको आवश्यकता र जनताको अपेक्षा बनेको छ । जुन अवस्था अन्तिम विकल्पको रुपमा खडा भएको छ ।

ठूला दलहरुले कहिले सर्वहारा, कहिले जातजाति, कहिले वर्गीय विभेदका नारा भजाएर देशलाई लुटे

तर कुर्सीको स्वाद खाइपाई आएका वृद्ध नेताहरु त्यसो हुन दिन चाहन्नन् । कसो ऐनकेन राजेन्द्र लिङ्देनले अध्यक्षमा विजय प्राप्त गरे यसलाई एउटा शुभ संकेतको रुपमा लिन सकिन्छ । पार्टीका लागि मात्र नभएर राष्ट्रका निम्ति पनि आशातीत हिसाबले आकलन गर्न सकिन्छ । अझ उनले दिएको अभिव्यक्ति –‘भ्रष्टाचार गरेर खानु भनेको नेपाल आमाको रगत खानु सरह मान्दछ’ु भन्ने भनाइले उनलाई हेर्ने दृष्टिकोण र छबिमा केही फरक र फरकपन देखिएको छ । लगभग बिरामीको हालतमा पुगेका देश कुनै पनि डाक्टरले रोग निको पार्न नसकेपछि, ‘योसँग एक पटक जँचाएर हेरुँ न त’ जस्तो विकल्पको रुपमा लिङ्देनको उपस्थिति राजनीतिमा खडा भएको छ ।
हुन पनि उनी नेपाली जनताले अपेक्षा गरे जस्तो जनचेतनाका रुपमा आफू र पार्टीलाई चलायमान बनाउने जनबोली र जनधारणाअनुरुप अगाडि बढ्ने छाँटछन्न देखाएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनले गरेको भाषणले वास्तवमै नेपाली नेताहरुको हैसियत र हबिगत चित्रण गर्दछ । उनले निडरताका साथ कुनै आग्रह पूर्वाग्रह नराखी आफ्नो भाषणमा भने, ‘… सरकार सरकारजस्तो छैन । संसद संसदजस्तो छैन । अदालत अदालतजस्तो छैन । यो सबलाई ठीक लाउने कस्ले ? यो सबलाई ठीक लगाउने राजनीति ठिक छैन । यो राजनीति कस्ले ठिक लाउने ? नेताले, तर नेताप्रति जनताको विश्वास मरेको अवस्था छ । मेरो गाउँको भाषामा भन्ने हो भने हाम्रो गाउँ घरतिर चौतारा, सामुदायिक भवनमा कुनै पार्टीका कार्यकर्ताले नेता बोलाएर राख्छन् । अनि छर छिमेकी आमन्त्रण गर्न जान्छन् । आउनोस् एकछिन फलाना चौतारामा, फलाना सामुदायिक भवनमा नेता आउँदै हुनुहुन्छ भन्दा आजकल मेरो नाम भनौं कि अरु नेताको नाम भनौं, नभनौं कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ भन्छन् जनताले नेताप्रति गरेको विश्वासको अवस्था यस्तो छ …’ उनले त्यसो भन्दा पररर ताली बजे । जहाँ कि उनका कार्यकर्ता भएको आमसभा थिएन । उनको विचारको अनुमोदन सर्वव्यापी तबरले भयो । प्राय युवा जमातले मन पराए । राप्रपाजस्तो पार्टीका नेताले त्यो हिसाबले समर्थन बटल्नु लर्तरो विषय थिएन । त्यो पनि आफूलाई लोकतन्त्रवादी हुम भन्ने पार्टी नेपाली कांग्रेसको अधिवेशनमा । तर सत्य कुरा तीतो हुन्छ । जो कोहीलाई रुच्दैन, पच्दैन । त्यसैकारणले होला प्रचण्ड र ओलीले चर्काे शब्दमा उनको ‘चोर’ शब्दकोे खण्डन गरे । तिनीहरुको प्रतिक्रया दिने शैली कस्तो हुन्छ ? नेपाली जनता जग जाहेर छन् । त्यसैले वर्णन नगरौं । तर अचम्मलाग्दो कुरा एक ठाउँमा आफ्नो हैसियत बनाएर बासिरहेको भालेले भर्खरै बास्दै गरेको भालेलाई ठुँगेझैं प्रचण्ड र ओलीले लिङ्देनलाई ठुँगे । भलैे ओली प्रचण्ड जस्ता अपारदर्शी नेताहरुले लगभगलगभग (जीवनशैलीका हिसावले) भ्रष्टाचारी भन्न मिल्ने नेताले एकथरी जनताको भरोसा पाएका नेतालाई निन्दा र अवहेलना गर्नुभन्दा पहिला आफूउपर जनताले हेर्ने दृष्टिकोणमा ओरालो लागेको साखको मूल्यांकन गर्न जरुरी छ । तर आफ्नै आसेपासेले दिएको समर्थन र आत्मरतिमा रमाउने हो भने त भिन्न कुरा । नत्र भने राजेन्द्र लिङ्देनको व्यक्तित्वमा जनताको आशा र सम्भावना मौज्दात छ । जुन आशा र सम्भावना भरोसालायक बनोस्, शुभकामना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग