राजाको चौतारोमा संघीयताको चर्चा

मदन भण्डारी
श्रावण २६, २०७९

अमेरिकी ह्वाइट हाउसमा पटक–पटक लिंकन भेटिएका धेरैले उल्लेख गरेका छन् । दुई शताब्दी बित्दा पनि लिंकनलाई भेट्ने विश्वस्तरीय राजनेताहरु छन् । सन् १८०९ मा जन्मेका लिंकनले सानैदेखि मजदुरी गर्नु परेको थियो । युवावस्थामा बिहेको प्रस्ताव गरेको केही दिनपछि नै उनकी प्रेमिका बितेकी थिइन् । अब्राहम लिंकन आत्महत्याको अवस्थासम्म पुगेका थिए । सम्हालिँदै गएर उनी अमेरिकाको १६ औं राष्ट्रपति बने । दासप्रथा हटाए । उनको देशभक्ति अतुलनीय मानिन्छ ।

आफ्नो विदेश भ्रमणबारे सुनाउँदै साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ ले भने, ‘यहाँ पनि लिंकनकै जस्तो राम शाहको छायाँ आउँदो हो !’ यहाँ अर्थात् राजाको चौतारोमा हामी गफिइहेका थियौं । जरोटुप्पोको संयोजन भनिए पनि समाजसेवी विश्वमोहन गौचनको आग्रहमा हामी पोखरा बजारबाट राजाको चौतारो उक्लेका थियौं । ‘म अब फेरि–फेरि जान सक्दिनँ होला, यसपल्ट जाम्, अहिले मेरो लौरी पनि छ !’ दाइ गोमा भाउजूलाई लौरी भन्छन्् । म विरोध जनाउँछु, ‘नारीलाई नै अपमान हुनेजस्तो गरेर नबोल्नोस्, लौरी होइन सहारा भन्नोस् । गीत गाउनुहोस् ‘एउटै सहारा तिम्रो मायाको…!’

म ८२ वर्षे दाइको अनुहार पढ्छु । अलि छुचो बोलें कि भन्ने लाग्छ । छुटेको बोली र गोली फिर्ता हुँदैन । ८/१० सांसद सिट नजित्ने पार्टीका नेता १ सय सिट जित्ने दाबी गर्छन् । अरु त अरु, भर्खरै राजनीतिमा होमिएका रवि लामिछाने पनि स्वतन्त्र पार्टीले बहुमत ल्याउने ठोकुवा गर्छन् । उनको कुरा सुरु हुनेबित्तिकै पत्रकार असफल गौतमले भने, ‘बाँकेमा रवि लामिछाने आर्जु देउवाको बाजा बजाउँछु भन्दै चिच्याए । कुख्याति कमाएका कुनै एक नेतालाई रविले पछारे पनि हामी जनतालाई रमाइलै हुन्छ !’

२०७९ मंसिरमा हुने भनिएको चुनाव रमाइलै हुन पनि सक्छ, झनै विषादपूर्ण पनि हुन सक्छ । यो स्वाभाविक आवधिक चुनावमात्रै होइन, झण्डै–झण्डै जनमत संग्रहजस्तै हो । धेरै–धेरै बौद्धिकहरु संघीयता मुलुकलाई घाँडो भएको बताइरहेका छन् । प्रदेश सरकारका मन्त्रीहरु जनताका ढाडका किर्ना जस्ता बनेका छन् । केही काम तल हुन्छ, केही काम माथि हुन्छ । प्रदेश सरकारको वास्तविक स्वरुप २ नम्बर प्रदेशमा देखिन्छ । त्यसलाई पनि गण्डकी प्रदेशले उछिन्न खोज्दै आफ्नाका नाममा सालिक ठड्याउन उत्पात उचालिए । सातै प्रदेशका सरकार ‘कमाऊ धन्दा’ मा केन्द्रसँग प्रतिस्पर्धा गरिरहेका छन् । संघीयता फाल्न प्रमुख प्रतिपक्ष एमाले बिस्तारै मुख खोल्दै छ ।

प्रत्येक चिजवस्तु वा ब्रह्माण्ड सापेक्षतामा अडिएका छन् । निरपेक्ष कहीं कतै केही हुँदैन । जुगौँदेखिको हिन्दु राज्य नेपाललाई वैदेशिक प्रभावमा धर्म निरपेक्ष भन्न खोजियो । त्यहीं नेताले ठ्याक खाए । उनीहरुकै मानस पिता भारतेली रिसाए । सुशील कोइराला र प्रचण्डपुत्र प्रकाशले सिलटिम्मुर खानुप¥यो । संघीयता बलियो पार्छु भन्दै हौसिएर भारत पुगेका प्रचण्ड चुमुर्किएर फर्किए । बिपीवादी कांग्रेसीहरु हिन्दु राज्य स्थापनाका लागि सिँगौरी खेल्दै छन् । पश्चिमाका पैसा खानेहरु अल्मलमा परिसकेका छन् । अमेरिका र चीनको भिडन्त हुन थाल्दा जापान पुगेका प्रचण्डलाई अमेरिकी चाप्लुसीकै आरोप लाग्दै छ ।

जहाँ मान्छे, त्यहाँ राजनीति तर सक्रिय राजनीति गर्ने हामी कोही थिएनौं । अफगानिस्तान, युक्रेन, श्रीलंका, ताइवान आदि मुलुकका ताजा घटनाबारे ठेला ठेल्ने दाजुभाइ वा मकै पोल्ने दिदीबैनी समेत जानकार छन् । हामी पृथ्वीनारायण शाहका पूर्खाप्रति अनुगृहित थियौं । राम शाहको नियाँप्रियता उच्च कोटिको थियो । मनाङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा आदि भेगका राजाहरु कतिपय मामिला यही चौतारीमा निरुपण गर्थे अरे । जनता चुसुवाहरुले ०६२÷६३ सालताका राजाको चौतारो होइन जनताको चौतारो भन्नुपर्छ भन्दै यहाँ टिनको पातो टाँसेका थिए । डा. जगमान गुरुङले ऐतिहासिकता मेट्न नहुने अडान लिएछन् । उनकै पहलमा नेपाली सेनाले ऐतिहासिक चौतारोको वर्तमान संरचना निर्माण गरेर २०७८ मंसिर २४ मा उद्घाटन गरेछ । श्रीपेचमाथिको कृत्रिम झरना, स्तम्भमाथिको सेतो परेवा, पाटी र भित्ताका सूचना ! हामीलाई यहाँ आउनुमा गौरवबोध भयो । इतिहासप्रति मोह जाग्यो । साथीहरुले भक्कू फोटो खिचे ।

सावित्री गिरीका बाआमा र ठूलो भाइले हामीलाई स्वागत दर्शाउनु भयो । सावित्रीकी आमाले विश्व दाइसँग दुखेसो पोख्नुभयो, ‘म १३ वर्षपछि माइत गएँ, निर्मलपोखरी नामेट पारिएछ !’ पूर्व मेयरका यस्ता कुकृत्य धेरै छन् । मोबाइलमा एकोहारिएकी गोमा भाउजूले मतिर हेरेर सोध्नुभयो, ‘साध्यबहादुर भण्डारी बाबुको नाताको मान्छे हो ?’ ‘चिनजानको हो नाताको होइन, किन र भाउजू ?’ ‘ए, उनीहरु आजै नागरिकता विधेयक रोकी पाउन राष्ट्रपतिकहाँ गएछन् !’ राजा वीरेन्द्रले यस्तै राष्ट्रघाती विधेयक रोकेका थिए । राट्रपति रामवरण यादवले प्रचण्डको सत्ता कब्जाको दाउलाई छेकेका थिए । अहिलेकी राष्ट्रपतिले पनि त्यति काम त गर्नैपर्ने हो । म मौन भाषामा बोलें ।

‘अलि माथि मेरो कान्छो भाइको होटल छ, त्यहीं गएर चिया खाऊँ !’ सावित्री गिरीले प्रस्ताव गरिन् । प्रतापको पर्यटन व्यवसायको झल्को मैले पहिल्यै पाइसकेको थिएँ । यसैले विश्व दाइ हिँड्न कस्सिए पनि मैले गाह्रो मानें । ‘मेरो ठूलो भाइको गाडी आउँछ क्या सर !’ सावित्री गिरीले मेरो गाह्रोलाई सजिलो पारिन् । विश्व दाइ, गोमा भाउजू, बाबा, असफल गौतम, म, सावित्री र प्रिया सवार भयौं । महेन्द्रजीले गाडी चलाए ।

‘स्वप्नभूमि एग्रोफर्म’ को आकर्षक बोर्ड देखियो । प्रताप र उदीप कार्कीले परिसरमा रोपिएका विविध जातका बिरुवाबारे बताए । पाउलोनियाँ हाम्रो लागि नयाँ जातको रुख थियो । सुरिलो बोट, टुप्पामा हाँगापात । यो काठ बढो महत्वको हुँदो रहेछ । हाँस, लोकल कुखुरा र खसीबाख्रा पालिएका रहेछन् । विश्व दाइले प्रताप र प्रियाको सुखद् दाम्पत्यको कामना गर्दै त्यहीँ टिपिएका फूल दिए । हामीले टेबुलको वरिपरि बसेर प्रियाको हातबाट बनेको छोलेभटुरे खायौं । प्रियाले दिल्लीमा पकवान सिकेकी रहिछन् ।

‘हामी यहाँ आउनुको उद्देश्य राजाको चौतारोमा पर्यटन व्यवसायको सम्भाव्यता अध्ययन पनि हो । आज हामी रेक्की गरेर फर्किन्छौं, रुचि राख्ने अरुसँग पनि प्रतापजी, उदीपजीले कुरा राख्नुहोस्, थिति मिलाउन सकिए एउटा कार्यक्रम गरौं !’ असफलजीको कुरा भुइँमा खस्न पाएन । उदीपजीले हार्दिक समर्थन जनाए, ‘हुन्छ, प्रताप त्यस्तो काममा निकै रुचि राख्छन् । सफलताले हौसला प्रदान गर्दोरहेछ, हामीलाई खर्च धान्न धौधौ भयो । मैले केही समय विदेश जाने विचार गर्दै छु । हामी तपाईंहरुको मायाको भोका छौं !’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्षसमेत रहेका बाबा सापले अर्को प्रस्ताव तेस्र्याए, ‘जहाँ राम त्यहीँ अयोध्या, यहाँ केही साहित्यिक रचनावाचन गरिनुपर्छ । सावित्री बैनी राम्रो गायिका हुनुहुँदो रहेछ । बैनीको प्रत्यक्ष स्वरमा केही गीत पनि सुनौं ।’

‘तीजे गीतको एउटा एल्बम निकालेर म विदेशिएँ । यहाँ गीतले राम्रै रेस्पोन्स पाएछ । हरिदेवी कोइराला दिदीले मलाई खोज्नु भएछ !’ सावित्री गिरीले सजल नेत्र पार्दै भनिन्, ‘तर म दूरीले छेकिएकी थिएँ, बादलले छेकिएकी थिएँ…! आएर मनको छाल गजल संग्रह छापें । केही माया गर्नेहरु बनाएकी छु भन्ने लाग्छ । वरिष्ठ साहित्यकार–समालोचकज्यूहरुको प्रेरणा पाइरहेकी छु…!’

मुनामदनकी प्रथम स्रोता देवकोटाकी भाउजू धर्धती रुन्थिन् अरे । गजलका प्रथम स्रोता प्रताप पनि रोए अरे

हामी कटेजमाथि उक्लियौं । छापा डाँडो तलको सिद्धि गणेश प्राविलाई देखाउँदै उदीपले त्यहाँ शिक्षक हुने विद्यार्थी नहुने अवस्था रहेको बताए । हाम्रो नेपाल, हामी नेपाली; यस्तै छ हाम्रो हाल ।

विश्व दाइले कविता गाउँका होटल व्यवसायी सुवास गुरुङबाट विनोदको प्रतिमा स्थापनार्थ जग्गा प्रदान गर्ने प्रस्ताव आएको बताए । मोबाइलको म्यासेज देखाए । हामीले सुवास गुरुङका नाममा सम्मानको ताली बजायौं । धर्ती अनुर्वर छैन, पाखुराहरु विदेशिएका छन् । ८२ वर्षीय विश्व दाइले ज्येष्ठ नागरिकको हक दर्शाउँदै भने, ‘ल, आज तत्क्षण रचना लेखन र वाचनको कार्यक्रम गरौं । म तपाईंहरुलाई १० मिनेटको समय प्रदान गर्छु । तपाईंहरुले जुनसुकै विधाको छोटो रचना सुनाउनुहोस् !’ हामीलाई कागज र कलम थमाइयो । हामी निहुरमुन्टी पर्दै घोट्टियौं । लेख्यौं र सुनायौं । प्रतापले आफ्नो रचनावाचनको अन्त्य पछि गितार बजाएर गीत सुनाए :

संसारमा हरेक कुराका दुई पाटा छन्
अर्थपूर्ण जीवन जिउने हजार बाटा छन्

झुपडीमा बस्ने पनि महान् मान्छे हुन सक्छ…!’
बाबा साप प्रतापलाई धाप मार्न र हग गर्न पुगे, ‘लिंकन झुपडीमै जन्मेका थिए !’ बालबालिका र नयाँ प्रतिभाप्रति बाबा सापमा प्रशस्त थ्यांकफूलनेस पाइन्छ । बाबा सापका कविता पढिँदै आइएको हो । दुइटा कविता यहाँ पनि सुमधुर सुन्न पाइयो । खुसी र सिरानी शीर्षकात्मक कविता निकै बलशाली लागे ।

यो कुवाको चिसो पानी खेर गाको छ
कन्दराको मूल खोज्दै प्यासी आको छ !

मुनामदनकी प्रथम स्रोता देवकोटाकी भाउजू धर्धती रुन्थिन् अरे । यो गजलको प्रथम स्रोता प्रताप, दिदीलाई अँगालो हालेर रोएका थिए अरे । प्रतापको पौरख गजलमा मार्मिक ढंगले अभिव्यक्त छ । यहाँ शब्द–शब्दलाई सावित्रीले पीडाको चास्नीमा चोबलेर झिकेकी छन् । सावित्रीजीको यसै वर्षको तीजे गीत सुनेर पनि हामी बिस्मित भयौं । ‘युटुबमा पनि हेर्दिनुहोला !’ उनको आग्रह थियो । फिल्म निर्माता, गीत लेख्ने विश्व दाइले पनि कविता सुनाए । थपे, ‘आज मेरी गोमाजीको बर्थ डे पनि हो !’ ह्याप्पी बर्थ डे, ह्याप्पी बर्थ डे गोमा म्याडम ! हामीले उठेर ताली बजाउँदै गीत गायौं ।

चुनाव चुनावकै लागि मात्र भइरहेको छ । चुनाव लुटेराकै लागि मात्र भइरहेको छ । गठबन्धनको सरकारले काम होइन, नकाम गरिरहेको छ । यसपालिको चुनावलाई जनमत संग्रहकै रुपमा हेरिनुपर्ने छलफल चल्दै छ । संघीयता गलपासो भएको ठहर गरिंदै छ । ०७९ साउन २०, मंगलबारलाई मंगलमय बनाएर हामी फर्कियौं । बाटोमा नारेश्वरको बूढो रुख टिठलाग्दो देखियोे । मलाई कांग्रेसको चुनाव चिन्हको झल्को आयो । बाबा साप र मैले फोटो खिच्यौं । राजाको चौतारोमा हामी निक्खर जनताले संघीयताबारे छलफल गरेका थियौं । ८४ का गजेन्द्र तिवारी र ३÷४ जना अरु वृद्धहरुले संघीयताप्रति चित्त दुखाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width