कथा : रेडियो

दिनेश बस्नेत
माघ १५, २०७८

श्रीमती, आश्विनी हलेदो ताछेर सुठो बनाइरहेकी थिई । आलोक आँगनमा उभिएर कौसी हे¥यो । घरको धुरी, धन्सार जताततै पालो पालो हे¥यो । टोपी निकालेर टाउको कन्याउन थाल्यो । आश्विनीले सोची, ‘आज बुढा किन बिहानदेखि ताउरआउर भएका छन् । एक ठाउँमा स्थिरसँग बस्न सकेका छैनन् । यताउता गरिरहेका छन् । तर उसले केही भनिन । केही सोधिन ।
बरु आलोकले भन्यो, ‘तेरा गहना बेच्ने हो भने बाँडाले कति पइसो देला ।’
आश्विनीले बुझिहाली, लोग्नेको छटपटी र बेचैनीको कारण पैसा हो भनेर । तर पनि उसले बुझे जसरी विचार बदल्न सकिन । कति दुःख गरेर बनाएको गहना बेच्ने कुराले उसको मनमा पहिरो गयो । उसले लोग्नेले भनेको सुनेर पनि नसुने झंै गर्नु उचित ठानी । चुपचाप सुठो नाङ्लोमा फिँजाइ र घाममा सुकाइ ।
‘मैले भनेको सुनिनस् ।’ आलोकले अलि कडा स्वरले भन्यो ।
त्यसपछि उसले नसुने झँै गर्नुको बहाना रहेन । श्रीमतीलाई पनि थाहा थियो, घर ऋणमा चुर्लम्म डुबेको । छोरो विदेश पठाउँदाको ऋण, छोरीको बिहेदान गर्दाको ऋण, बाबुको उपचार र क्रियाकर्म गर्दाको ऋण, भैंसी ल्याउँदाको ऋण । गाउँमा उसले ऋण नथापेका मान्छे सित्तिमित्ति कोही थिएनन् । घरमा एकाबिहानैदेखि पैसा फिर्ता माग्न आउनेको आइजाई हुन्थ्यो । कहिले त कुनै घटना भए जसरी घरमा जमघट हुन्थ्यो ।
कतिलाई त भाका सारेर मनाएको थियो आलोकले । भैंसी किन्दा ऋण दिएको जुमकाजी भने तिनीहरुको समस्या सुन्न तयार थिएन । उसले एक महिनादेखि पैसाको लागि धरपकड गरेको थियो । मन उमठिने गरी वचन छाडेको थियो । आलोकले एक हप्ताको भाका दिएको थियो । त्यो भाका भोलि सकिँदै थियो । त्यसैले भोलि बिहान ऊ पैसा माग्न आउने निश्चित थियो ।
आश्विनीले खाँबामा झुण्डाएको रेडियो बजाई । लोकगीतमा आइरहेको थियो, छोरा चाहिँ हे माया हिँडद्छ डुलेर, तरुनीको है माया गफैमा भुलेर …. भैंसी छोड्यो है माया अर्काको भरमा, आफू हिँड्यो है माया दार्जिलिङ सहरमा ….. भैंसी लड्यो है माया भिरबाट हेर, नौ सय साठी है माया गइहाल्यो लौ खेर….।
अघि पछि लोकगीत घत मानेर सुन्ने उसले झनक्क रिसाएर भन्यो,‘नौ सय साठीमा कहीँ भैंसी पाइन्छ ? रेडियो बन्द गर । यहाँ मान्छेलाई भैंसीको ऋण तिर्न नसकेर कत्रो टेन्सन छ । भिरबाट हाम फालौं कि झुुन्डिएर ज्यान फालौं भएको छ । आजको दिन नगए हुन्थ्यो, भोलि कसरी जुमकाजीलाई टार्ने हो जस्तो भाको छ । तलाई भने रेडियो सुन्न पाए भयो ।’
‘कतै खोज्नुस् न सरसापटी । गहना बेच्ने कुरा त नगर्नुहोस् । ठुट्टै बुच्चै हुँदा त सत्तुर हाँस्दछन्’, आश्विनीले रेडियो बन्द गर्दै भनी ।
‘कहाँ खोज्नु पइसो । जताततै ऋण छ । एकपल्ट ल्याएको ठाउँमा फिर्ता गर्न पाए पो फेरि पाइन्छ । विश्वासिलो बनिन्छ । माग्नुमात्र छ, तिर्ने उपाय कहीं कतै छैन । अनि क्यारेर विश्वासमा चल्न सकिन्छ । क्यारेर पत्याउँछन् साहुले पनि,’ आलोकले दिक्क मान्दै भन्यो ।
उसो त ऋणले घिन बनाउँदो रहेछ भन्ने उसले पटक पटक महसुुस गरेको थियो । साहुका मुखिन्जेल ‘निहुरी मुन्टी न’ बनेर शिर झुकाउनु पर्दा बोल्ने शब्द पाउँदैनथ्यो । न त भाका दिएर तिनीहरुले पत्याउने अवस्था थियो । बिचरा ! आसामीका रुपमा आलोक गाउँभरि बदनाम भएको थियो ।
‘तैं खोज न त जुमकाजीलाई दिने पैसो, कता गएर खोज्छेस् । कताबाट ल्याउछेस् ल्याँ । नजिकै छन् माइती पनि । गएर पसना परे त्यही पनि उपाय लाग्छ कि !’ आलोकले नयाँ जुक्ति सुझाए जसरी भन्यो ।
उसका माइती हुने खाने थिएनन् । त्यहि पनि बकेर्र्र्र्र्नाे भैंसीको दूध पगारेर दुहे जसरी उसले धेरै पटक पैसा ल्याएकी थिई । घरको गर्जाे टारेकी थिई । तर चुहिने भाँडो जस्तो घर व्यवहारको अवस्था भएपछि, कतैबाट आय–आम्दानीको बाटो नभएपछि उसले माइतीबाट ल्याएको पैसा कता बिलायो कता । तर एउटा अप्ठेरो भने उसले भोगिरहेकी थिई । पैसोको कारण उसको माइत आउने जाने बाटो बन्द भएको थियो । दाजु भाइसँग मुख देखाउन सकेकी थिइन । त्यसैले आश्विनीले अलि झर्केर भनी, ‘बुझेर बुझ नपचाउ बुढा । त्यही पैसाको कारणले २ वर्षदेखि म माइत गएकी छैन । नातो टुटेजस्तो भएको छ । अब पनि पैसा माग्न जाँदा के भन्लान् । बा –आमा भए पो जसै तसै माथिल्ला गह्राको पानी तल्ला गह्रामा झरे जसरी मन फर्कन्थ्यो । मन रसाउँथ्यो ।’
आलोकले केही दगलफसल गरेन । जबर्जस्ती मन शान्त पारेर डहरतिर लाग्यो । उसको मनमा ‘कसरी भोलिसम्म १० हजार पुर्‍याउने ?’ त्यही रँगटो चलेको थियो । डहरमा हिँडुदा हिँडुदै एक दुई जना भराठलाग्दा आफन्त सम्झ्यो । त्यहीँ गएर आफ्नो बिलौना र व्यथा कहने विचार ग¥यो । नाताले अलि टाढाको भिनाजुको घरको तगारो खोल्यो ।
यसो सोच्यो, परारसाल दसें मान्न ल्याएको पैसा फिर्ता गर्न सकेको छैन, के भन्ने हुन् ? हुन त मान्छे धर्मात्मी र पैसाको जोगाड गर्ने खाले हुन्, कसो रित्तो हात फर्काउलान् त नि ।
‘बाबा घरमै हुनुहुन्छ भान्जी ?’ भैंसी चरनमा छाड्न खेदिरहेकी मुखबोली भान्जीसँग सोध्यो । ‘अँ हुनुहुन्छ, दाम्लो बाटुदै हुनुहुन्छ’, ती भान्जी भनाउँदीले भनिन ।
उ एउटा छेउ लागेर भैंसीलाई बाटो छाड्यो । अनि भैंसी अगाडि बढेपछि आलोक अगाडि बढ्यो । फूर्तिसाथ पाइला लम्कायो । ‘नमस्कार भिनाजुु’ अलि असजिलो मान्दै आलोकले भन्यो । ‘ल बस’, बाबियो झिकेर चोयो बाट्दै गरेका भिनाजुले भने, ‘धेरै पछि नाक मुख देखायौ त ?’
आलोक ङिच्च दाँत देखाएर प्रतिभाव प्रकट गर्‍यो । केही नबोलीकन आफ्नो कमजोरी जाहेर गर्‍यो । किन भने उसको मनमा पुरानो ऋण तिर्न नसक्दाको हिनताभास थियो । उ चाहेर पनि खुल्न सकेको थिएन ।
‘ओई बुढी ! तिम्रा भाइ आएका छन्, यसो चिया लिएर आऊ न, जाडो पनि के साह्रै बढेको’, उनले पोयो कपेटामा बेर्दै भने ।
‘यस्तो जाडोमा दाम्लो बाट्न लाउनुुु भएको, कति हात काठिए होलान् । दिउँसो घाम लाएपछि गरेको भए नि हुने क्यारे नि,’ आलोकले साखुल्य हुँदै भन्यो ।
एकछिन हाल खबरका कुरा भए । धेरै गफ त भएनन् आलोक र भिनाजुबीच । तर थोरै गफमा केही आफ्नोपन, केही आत्मपरक भाव र केही निकटवर्ती विचार आदान प्रदान भए । आलोकलाई पैसाको कुरा गर्न असहज महुसुस भएको थियो तर भिनाजुले स्थिति समथर पारिदिए । तब उसले लाउ पाए जसरी भूमिका बाँध्दै भन्यो, ‘भिनाजु एउटा समस्या परेको थियो । हुन त पहिले लगेको पनि तिर्न बाँकी छ । तर म अर्काे महिना लाग्ने बित्तिकै चुक्ता गर्छु ।’
यति भन्ने बित्तिकै उनले कुरो बुझिहाले । उसले पैसा माग्न आएको हो भनेर । तर उनी कृतघ्न र निष्ठुरी बन्न चाहेनन् । अलि पुण्यात्मा विचार भएका उनले उदारमनाका साथ भने, ‘पैसा भनेको चिज बाचुञ्जेल चल्ने चलाउने त हो नि । मरेर कस्ले पो लगेको छ र ! सधै सबैसँग हुँदा पनि हुँदैन । कहिले मसँग हुन्छ, कहिले तिमीसँग । बरु कति चाहिएको पो हो तिम्लाई ?’
‘दश हजार जति चाहिएको हो भिनाजु चिन्ता नलिनोस् अर्काे महिनामा पहिलाको बाँकी रकम पनि फर्चे गर्छु ।’‘मैले बुझिहाले दोहोर्‍याउनु पर्दैन । मभित्र दिदीसँग मागेर ल्याउँछु’, यति भन्दै उनी थर्कटीबाट उठे । ‘ओइ, बुढी’ ! चिया पनि ल्याइनस् , भाइ आएर बसेको छ’ भन्दै भित्र पसे ।
‘कत्रो कोसेली लिएर आउने भाइ हो र हकान्एिर जाउ त नि, यहाँ दही मोथ्दामोथ्दै । गोरु बेचेको साइनोजस्ता भाइ आउँछन्, जान्छन्’, दिदी चाहिले आवश्यकता भन्दा चर्काे बोली । बाहिर बसेको आलोक ले टक्लक्क सुन्यो । जाऊँ कि बसौंजस्तो भयो । तर आफ्नो हालतले गर्दा ऊ त्यहाँबाट हिँड्न सकेन । दिदी भनाउँदी को पिरो बचन पनि हलचल नगरी पचायो । पैसा हातलागी हुने कुरामा पनि उसलाई ग्यारेन्टी लागेन । उसको रुखो वचन सुन्दा दुविधा लाग्यो । ती दुईबीच केही क्षण गलफति भयो ।
‘त्यसरी चर्काे नबोल न, उसले सुन्छ,’ भनेको समेत बाहिर सनियो । अझ दिदीचाहींले भनेको ,‘ अरु कुरा गर्नाेस पैसा को कुरा नगर्नाेस् । त्यसलाई पैसा दिनु भनेको कुकुरलाई मासु पँैचो दिनु जस्तो हो’ कुराले आलोकको मन नराम्ररी हुडुल्यो । तैपनि सोच्यो, दिदी जे जस्ती भए पनि भिनाजु सज्जन छन् । दिदीलाई सम्झाई बुझाई गरी पैसा ल्याउलान् नि ।
बिचरा आलोकसँग अर्काे विकल्प थिएन । भिनाजु भित्रबाट बाहिर निस्किए । लोलोपोतो पारामा पैसा नभएको जानकारी दिए । आलोक खिस्रिक्क मस्यौराजस्तो अनुहार पारेर बाटो लाग्यो । केही उपाय लाग्छ कि ! झिनो आशा लिएर एका–दुई घर डुल्यो । उसलाई कसैले पनि सापटी पैसा दिन तयार भएनन् । उसको पुरानो रेकर्डले गर्दा आफ्नै गाउँ पनि उसलाई बिरानो मुलुक भयो । कोही पनि आफन्त, कोही पनि साथीभाइ, कोही पनि शुभ चिन्तक उसका भएनन् । उसको पिर मर्काको व्यवहार बुझ्न चाहेनन् । उ रित्तो हात र सुनसान मन लिएर घर फर्कियो ।
ऊ आँगनमा टेक्दा आश्विनी गुन्द्रक ढुंग्रामा खाँदिरहेकी थिई । त्यो काम छोडेर सुकेको सुठो ठहरमा राखी । खाँवामा झुन्डिएको रेडियो बजिरहेको थियो ।
यसो त त्यस घरमा मनोरञ्जनको साधन भन्नु एकमात्र रेडियो थियो । त्यो रेडियो आश्विनीले दाइजोमा ल्याएकी थिई । दाइजोमा रेडियो दिन्थे कि के गर्दथे ? आलोकले नै शर्त राखेको थियो, ‘बिहेमा रेडियो दिनुुपर्छ, बरु घडी नदिए पनि हुन्छ ।’ त्यसपछि उसका बाबुले रेडियो दिएका हुन् । त्यसरी ल्याएको रेडियाले श्रीमतीको भन्दा बढी महत्व पाएझैं लाग्थ्यो । किनकि जति बेला पनि ऊ रेडियो काँधमा भिरेर तल्लो गाँउ, डाँडा गाउँ डुल्थ्यो । कसैसँग कुरा गर्दा पनि रेडियोले भनेको समाचार मिसाउँथ्यो । बिहान उठेदेखि बेलुकासम्म रेडियो सुन्दा आश्विनीले आलोचना गर्दथी, ‘यसरी एकनासले बजाएर कति फारु हुन्छ र ब्याट्री ? खर्च कसरी पुर्‍याउन सकिन्छ ब्याट्रीलाई ? अब त समचार र घरि घरि लोक गीत आउँदामात्र खोल्नोस्,’ आश्विनीले भनेको आलोक टेरपुच्छर लाग्दैनथ्यो । जति बेला पनि रेडियोको कान बटारिहाल्थ्यो । त्यसरी सुन्दा उसलाई आनन्द र शान्त लाग्थ्यो ।
त्यतिविघ्न प्रियकर बनेको रेडियो त्यतिखेर उसलाई झर्काे लाग्यो । रेडियो बन्द ग¥यो । आश्विनीले उसको मुहारमा पुलुक्क हेरी । उसको मुड जथाभावी बिग्रेको देखी । केही बोल्न मनासिब ठानिन । तैपनि झिनो स्वरमा भनी, ‘एक बजेको समचार आउन लागेको छ, खोल्नु भएको भए पनि हुन्थ्यो क्यारे नि ।’
आलोकले मन नलागी नलागी रेडियो खोल्यो,‘यो रेडियो नेपाल हो, राम नेपालीबाट समाचार सुन्नुहोस्’ आलोकले कान टाढा बनायो, समाचार आइरहेको थियो……..‘जापानी सरकारले नेपाल सरकारलाई ५५ करोड बराबरको ऋण अनुदान दिने भएको छ, त्यस्तै चिनियाँ सरकारले दिने भनेको १ अर्ब चालिस करोड बराबरको ऋण सहायतामा दुवै देशका प्रतिनिधि बीच आज सम्झौतामा हस्ताक्षर भएको छ,….. रेडियोले अझ के के भन्दै थियो । समाचार पूरा भएको थिएन, आलोकले खाँबामा झुण्डाएको रेडियो बलजबस्ती तान्यो । रेडियोको डोरी चुँडिएर हातमा आयो । अनि उसले त्यो रेडियो न्वारानदेखिको बल प्रयोग गरेर पर्खालमा बजा¥यो । रेडियो टुक्रा टुक्रा भएर फुट्यो ।
आश्विनी छक्क परी । उसको रोद्रचण्डी रुप देखेर के बोलौ ; के बोलौ भई । उसले केही नभन्दै आलोकले नै भन्यो, ‘यहाँ आफूले गाउँ डुल्दा १० हजार कसैले पत्याएनन् । यो जाबोले भने करोड र अरबका कुरा गर्छ । मलाई हिस्सी गर्छ ।’

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width