फाटेका मनको राजनीतिक एकता !

 नगेन्द्रराज पौडेल
माघ १४, २०७८

कारण जेसुकै होस्, ३२ महिनाअघि एकीकृत भएको नेकपाभित्र पदको हानाथाप प¥यो । कसैलाई प्रधानमन्त्रीको रहर, कसैलाई पार्टी अध्यक्षको लतले छाडेन । सँगै बसेर यो सम्भव थिएन । क्रमशः अलगधार बनाएर विभाजनको अन्तिम संघारमा पुगेको बेला सर्वोच्चको एउटा फैसलाले पार्टी विभाजन गर्न चाहनेको रहर पूरा गरिदिएको पनि धेरै भैसक्यो । कृत्रिम मिलन एक्कासी चकनाचूर प¥यो । कृत्रिम यसकारण थियो कि, उनीहरुको मन मिलेको देखिएन । प्राविधिक मिलन धेरैबेर टिकाऊ हुन सम्भव पनि थिएन । अन्ततः कृत्रिम मिलनको परिणाम जे हुनुपर्ने थियो, त्यही भयो ।
गायक राजु परियारले पराइसँग साइनो गाँस्नेलाई गीतमा ‘लालुपाते नुघ्यो भुइँतिर, कि लाउ माया मैतिर कि लाउ उहीतिर, नीर नलाउ दुइतिर’ भनेर झटारो हानेका छन् । उनले गाएझैं गत वर्ष सर्वोच्चले कित्ता रोज्न अवसर पनि दियो । सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रका रामबहादुर थापालगायत नेताले एमाले रोजे भने एमालेका किसान श्रेष्ठहरु एमालेबाट विभाजित नेकपा समाजवादीको धारतिर समाहित भए ।
चर्चित गायक अरुणा लामाले भन्छिन्, ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाँले । त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें । यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो ? ’
नभन्दै नेकपामा हुँदा नराम्ररी मन फाटेकै हो । एकले अर्कोलाई गाली, आरोप, प्रत्यारोपमात्र होइन व्यक्तिगतस्तरमा ओर्लेर तथानाम गरेका नै हुन् । त्यसको निरन्तरता आजका शीर्ष भनिने नेताका भाषणमा पनि देख्न सकिन्छ । सायद यसरी यति छिटै एउटै घर फर्किनुपर्छ भन्ने थाहा हुँदो हो त त्यो स्तरमा झरेर गाली, कारबाही र आरोपको वर्षा गर्दैन्थे होला । यसको पीडा सुरुमा केपी शर्मा ओली र उनको समूहलाई निकृष्ट शब्दमा तथानाम गाली गर्ने तत्कालीन एमालेका विद्रोही नेता योगेश भट्टराईलाई बढी हुनुपर्छ । विगतको उनको गाली र आजको एउटै घर बस्दाको अवस्थाबीच उनले कसरी आफूलाई सम्हालेका होलान् ? अनुमान गर्न सकिन्छ । उनले ओली नेतृत्वको एमालेलाई पढे लेखेका नभैको गवारहरुको संगठन भनेका थिए । आज उनको यो भनाइ कथंकदाचित ओलीसहित सँगै बसेर सुन्ने अवस्था आएका उनको अनुहार कस्तो हुँदो हो ? सहजै अड्कल गर्न सकिन्छ । राजनीति नै सही, ऊबेला भट्टराईका लागि त्यतिसम्मको क्षुद्रता आवश्यक थिएन ।
यसबीचमा कर्णालीमा धेरै बहाव आइसकेको छ । भोलि आउला भनेर हिजो कसैले सोचेनन् । संयोग, अदालतको फैसला बन्यो । कित्ता प्रष्ट नबनाई सुखै रहेन तर मन फाटिसकेको छ । फाटेको मन सिउन अब लपस्तरो सियोले हुने देखिदैन । खापसियो नै सही, फाटेको मन नसिलाउने हो भने पार्टी ध्वस्त हुनसक्छ । यसकारण मन सिलाउनु नेकपाका लागि मात्र होइन माओवादी केन्द्रका लागि पनि अपरिहार्य भैसकेको छ ।

बिलखबन्दमा दश भाइ
नेकपा हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ज्यान फालेर लागेका भीम रावल, घनश्याम भुुषालसमेतका १० भाइहरुका कारण शक्तिशाली नेकपाको सरकार मात्र गएन, सिंगो पार्टीसमेत अंभभंग भयो । पार्टीको एकीकरण खारेजीमा परेपछि माओवादीलाई आफ्नो अलगै पार्टीमा जाने सुविधा भए पनि विद्रोही एमालेभित्रका माधव नेपालहरुका लागि संकट नै थियो । अन्त्यमा नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी खाल्ने योजनामा पुगेको माधव नेपालको समूहलाई परित्याग गरी रावल लगायत १० जना विद्रोहीहरु नेकपा एमालेमा नै बस्ने गरी १० बुँदे सम्झौता गरे । पार्टीका लागि यो सकारात्मक सन्देश थियो । लोकतन्त्रमा दल बलियो भयो भने मात्र जनता बलिया हुन्छन् । टुटेफुुटेकोभन्दा एकीकृत दल नै बलियो हुन्छ । यसका पछाडि वैज्ञानिक कारण समेत छन् । माओवादीबाट फुटे पनि क्रान्तिकारी धार अँगालेकै कारण मोहन वैद्यभन्दा विप्लव चर्चामा छन्, यो अलगै कुरा हो । फुटेकाहरु सबै विप्लव हुन पनि सक्दैनन् । दलमा फुटले कतिसम्म गर्छ भन्ने कुरा बुझ्न नेपाली कांग्रेसबाट शेरबहादुर देउवा प्रजातान्त्रिक कांग्रेसका नाममा फुट्दा र एमालेबाट बामदेव गौतम मालेका नाममा फुट्दाको विगत हेरे हुन्छ । तर यी दश भाइ एमालमा मिले पनि उनीहरुको मन मिलेको देखिंदैन । विगतमा १० बुँदे कार्यान्वयनको संयोजकबाट एमाले उपाध्यक्ष भीम रावलले राजिनामा दिएरमात्र होइन, अध्यक्षका लागि चुनाव लडेर उक्त पाटीभित्र नयाँ तरंग पैदा भएको छ । आज पनि एमालेको एउटा मत, भीम रावलको अर्को मत उक्त पार्टीभित्र आउन छाडेको छैन । मन नमिलेको परिणाम कस्तो हुन्छ भन्न यो अर्को दृष्टान्त हो ।

जनमत बिथोलियो
विगतको चुनावी परिणामले ५ वर्ष नेकपा नामको राजनीतिक दलले निर्वाध रुपमा काम गर्नुपर्ने थियो । चुनावअघि राजनीतिक दलहरु तथा उम्मेदवारहरु प्रचारप्रसारका लागि अहोरात्र खटे । जनतालाई आगामी ५ वर्षका लागि यो–यो गर्छौ भनेर आश्वस्त पनि पारे । चुनावकै संघारमा बाम एकातिर र गैर वाम अर्कोतिर पनि भए । मत तान्न एक अर्काबीच भनाभन, चर्काचर्की र कटाक्ष पनि चल्यो तर मतपरिणामले एउटा स्पष्ट जनादेश दियो । बामपन्थीले सरकार चलाऊ, नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर । यसबीचमा प्रतिपक्षी साच्चै भलाद्मी देखियो । सरकार कहिल्यै पनि प्रतिपक्षीसँग डराउनुपरेन । बरु, आफ्नै दलको डर, भय र त्रासमा हिंड्नुप¥यो । परिणाम ५ वर्षे जनादेश टिकेन । जनताले दिएको जनमतको कदर गर्दै चुनावी बाचा र कबोल पूरा गर्नतिर विजयी दल र तिनका उम्मेदवारहरु लाग्नुपर्ने थियो तर यसमा बहुमतप्राप्त दल नराम्ररी चुके ।

पहिला, दोस्रा वा तेस्रा कुन दल भयो भन्नुभन्दा पनि सबै दलका साझा एजेन्डा थिए–धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र र संघीयता

सनातनदेखि वल्ला घरे, पल्लाघरे, बूढाघरे, तलेघरे, आँटिवल्लाघरे, डाँडाघरे, लामाचौरे, पल्लाफाँटे, वल्लाफाँटे दाइ भाइको साइनो जीवितै छ । त्यसलाई जीवन्तता दिनुपर्नेमा सिउनै नसक्ने गरी आफन्तबीच मन फाट्यो । बहुमतवाला दलले चुनावी परिणामले दिएको सन्देश पूरा गर्न, गराउन सकेन ।

विगत दोहोरिएला
इतिहाबाट विगत भइसकेका विषय प्रतिकूल राजनीतिक अवस्थाका कारण व्युँुतिन खोजेका छन् । राप्रपाका अध्यक्षले खुलेरै राजसंस्थाको आवश्यकता बोलेका छन् । राज्यको धमै हुँदैन भनेर नेकाका महामन्त्री विश्वप्रकाश शर्माले भने पनि उनको विचारको खण्डन उनकै पार्टीका शीर्ष नेताले गर्दै आएका छन् । हिन्दूराज्य घोषणाको माग पनि सोही पाटीका शीर्षस्थ तहबाट हुँदै आएको छ । आवधिक चुनावकै कुरा उठ्दा संघीयताविरुद्ध स्वर सुुनिन थालेका छन् । प्रदेश सरकार आवश्यकताको पुष्टि आजसम्म हुन सकेको छैन । विगत भैसकेको राजतन्त्रका पक्षमा र धर्म निरपेक्षताका विरुद्ध पनि आवाज आइहेका छन् तर यी एजेन्डा त्यतिबेला नै पराजित भैसकेका हुन्, जतिबेला लोकतन्त्र, धर्म निरपेक्षता, गणतन्त्र र संघीयतालाई मुल एजेण्डा बनाएका राजनीतिक दल र तिनका उम्मेदवारलाई मतदान गरेर जनताले जिताइसके । संघीयता चाहिंदैन भन्ने चित्रबहादुर केसीको दलले पाएको मत र संघीयताका पक्षमा अरु दलले पाएको मत यसको साक्षी छ । पहिला, दोस्रा वा तेस्रा कुन दल भयो भन्नुभन्दा पनि सबै दलका साझा एजेन्डा थिए–धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र र संघीयता ।
भिरमा चरन खोज्दै गएको खसीलाई देखेर लड्ला र खाउँला भन्नेहरुको रहर पूरा भएन । अन्ततः जीत संघीयताकै भयो । गणतन्त्रकै भयो । लोकतन्त्रकै भयो । परिवर्तनका पक्षमा अडिग ३ राजनीतिक मूल धार (एमाले,कांग्रेस माओवादी) लाई जनताले अधिक रुचाए । यी ३ पार्टीको गठजोडकै कारण नेपालमा गणतन्त्र आएको थियो । लोकतन्त्रले संस्थागत स्वरुप पाएको थियो । जनता सार्वभौम भएका थिए । यी कुरालाई जनमतले पुष्टि गरिसकेकोले अहिले नेकपा नामको राजनीतिक दल वा माओवादी केन्द्र कमजोर भयो भन्दैमा विषयान्तर गर्ने छुट कसैलाई पनि हुनुहुँदैन । राष्ट्रपतिको जीवनशैलीसँग कोही असन्तुुष्ट हुन सक्छ, असन्तुुष्ट हुनुपर्ने अनेक घटना पनि छन् तर यसको विकल्प राजतन्त्र हुन सक्दैन । जनादेशले पनि यही कुरा अनुमोदन गरिसकेको छ ।

नफाटेका मनहरु
पार्टी सभापतिमा शेरबहादुर देउवासँग पराजित भएर पनि नेकाका बिमलेन्द्र निधि, प्रकाशमान श्रेष्ठले लगत्तै देउवासँग सहकार्य गरे । अघिल्लो निर्वाचनमा झापा–१ बाट पराजित कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले आफू पराजित भएपछि विजयी बाम उम्मेदवार राम कार्कीलाई आफ्नै बगैंचामा फुलेको फूलको माला आफैले गाँसेर लगाइदिएका थिए । ओखलढुंगाका नेकाका उम्मेदवार रामहरि खतिवडाले एमालेका विजयी यज्ञ सुनुवारलाई भेटेरै बधाई दिएका थिए । नेता सुनुवारले प्रतिद्वन्दी खतिवडालाई आफूले भिरेको माला निकालेर पहिराइदिएका थिए । त्यो बेला यो खबर छापाभरि छाएको थियो । प्रतिष्पर्धीको सम्मानका लागि यो भन्दा ठूलो उदाहरण के हुन सक्ला ? नुवाकोटका डा. रामशरणमहत (नेका) ले विजयी वाम उम्मेदवार हितबहादुर तामाङ (नेकपा माओवादी केन्द्र) लाई फेसबुकमार्फत बधाई दिएको कुरा उतिबेला निकै चर्चामा थियो । गुल्मी–१ बाट विजयी एमालेका प्रदीप ज्ञवालीलाई उनकै प्रतिष्पर्धी नेकाका चन्द्र भण्डारीले अँगालो मारेर बधाई दिदै खुसी साटासाट गरेका थिए । काठमाडौं–४ बाट नेकाका गगन थापा विजयी भएपछि उनका निकटस्थ प्रतिद्वन्द्वी एमाले उम्मेदवार डा. राजन भट्टराईले गगनका घरमै पुगी बधाई दिएको प्रसंग त्यतिबेला निकै चर्चामा थियो । यी नफाटेका मनको कुरा भयो । तर आज एउटै दलभित्र पनि सिलाउनै नमिल्ने गरी किन मन फाटेको छ? के हामी मन नफाट्ने व्यवहार प्रदर्शन गर्न सक्दैनौ ? एकपटक सोच्ने हो कि ? कृत्रिम एकता, कृत्रिम मिलन कति दिन टिक्ला ?

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width