पोखरालाई नमूना सहर बनाउँछु : डा. परमेश्वर पोखरेल

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९

आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखको रुपमा उम्मेदवार बन्न नेपाली कांग्रेसको तर्फबाट नाम टिपाएका १८ जना आकांक्षीमध्ये डा. परमेश्वर पोखरेल एक सशक्त राजनीतिक र सामाजिक व्यक्तित्व मानिन्छन् । २००७ सालको जनक्रान्तिमा सहभागी माइला बुबा प्रजातन्त्र सेनानी स्थानेश्वर पोखरेलको प्रभाव र प्रेरणाले नेपाली कांग्रेसमा आबद्ध उनमा २०३६ सालसम्म आइपुग्दा राजनीतिक चेत पलाइसकेको थियो । २०४६ सालको जनआन्दोलनमा पोखराका विभिन्न संघर्षमा सहभागी उनी साविक पोखरा १४, १५ र १८ नम्बर वडाको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए । २०४८ सालदेखि पार्टीको क्रियाशील सदस्यता लिएर विभिन्न कालखण्डमा नेपाली कांग्रेसलाई चुनाव जिताउन पार्टीको इमानदार कार्यकर्ताको रुपमा पनि उनी खट्दै आएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन होस् वा पूर्व प्रम केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्धका आन्दोलनमा डा. पोखरेलले सक्रिय सहभागिता जनाउँदै आएका छन् । यसैगरी पोखरेलीलाई पानीको प्यास मेटाउन अहिले जापानी सहयोगमा निर्माणाधीन पोखराको खानेपानी परियोजनाका सूत्रधारसमेत उनै पोखरेल हुन् । पोखरा–१४ छिनेडाँडाका बासिन्दा पोखरेलले जापानको चुवु विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका छन् । त्यसअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा उनले बिई गरेका थिए । पोखरेल सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको महासचिव, नेपाल खानेपानी संस्थानको पूर्व अध्यक्ष, नेपाल इन्जिनियर्स एसोसिएसन र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको सल्लाहकार पनि हुन् । पोखरा हाँक्ने प्रमुख (मेयर) बन्ने आकांक्षा व्यक्त गर्दै गर्दा उम्मेदवारी दिन खोज्नुको कारण, आधार र उनका योजनाबारे डा. पोखरेलसँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ः

मेयरको आकांक्षा व्यक्त गर्दै गर्दा पोखराप्रति यहाँले पु¥याउनुभएको योगदानलाई कसरी स्मरण गर्न चाहनुहुन्छ ?

म पेसाले इन्जिनियर र आफैं पनि विकासवादी सोचको मानिस हुँ । पोखराका हरेक ठाउँमा पुग्दा यो ठाउँमा के कसरी विकास र सेवा पुर्‍याउन सकिन्छ भन्ने हिसाबले मेरो मनमा प्रश्न उठिरहेको हुन्छ । पोखरा महानगरपालिका १४ मा २०४८ साल पछिका हरेकजसो विकास निर्माणका काममा मेरो सक्रिय सहभागिता पनि रहँदै आएको छ । यहाँ खानेपानी, बाटो निर्माण, पार्क र धार्मिक स्थलको विकासमा मेरो योगदान रहेको छ । एक पटक काहुँडाँडा पुग्दा जब मैले धरहरा चढी पोखरा नियालें तब पोखराका हरेकजसो ठाउँ र सराङकोटलगायत पर परका क्षेत्रमा पक्की सडक पुगेको पाएँ । तर मलाई के अचम्म लाग्यो भने सम्भावनाले भरिएको काहुँ डाँडामा भने त्यस्तो अवस्था देखिनँ । अनि मैले योजना आयोग र भौतिक योजना मन्त्रालय पुगेर यस विषयमा कुरा राखी पक्की मोटरबाटो बनाउने वातावरण तयार पारें । अहिले यो सम्झँदा गर्व लाग्छ । काहुँडाँडा अहिले राम्रो पर्यटकीय गन्तव्यसमेत बनेको छ ।

यसैगरी नेपाली कांग्रेस नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा मैले नेपाल खानेपानी संस्थानको अध्यक्षको जिम्मेवारी पाएँ । त्यो समय यो संस्थानको हालत कस्तो थियो भने देश विदेशका कुनै निकायले ऋण नपत्याउने कमजोर संस्थाको रुपमा दर्ज भएको थियो । संस्था नै लथालिंग र करिब खारेज हुने हो कि भन्ने अवस्थामा पुगेको थियो । यस्तो अवस्थाको संस्थालाई मैले पछि सशक्त संस्थाको रुपमा उभ्याएँ । सोही ताका पोखराका वडा र टोलहरुमा पानीका लागि राखिएका रित्ता गाग्रीको लाइन देखिन्थ्यो । पानीका लागि बोरिङ खन्ने लहर चलेको थियो । धारामा आउने पानीमा पनि माछा, भ्यागुता र धमिलो पानी झर्ने अवस्था थियो । अनि मैले अठोट लिएँ, पोखरामा खानेपानीको अवस्था सुधार्छु । तब मैले आफ्नै सम्पर्क, भूमिका र इच्छाशक्तिले बजेटका लागि पहल गरें । नेपालका लागि तत्कालीन जापानी राजदूत समक्ष यस विषयमा कुरा गर्दा उहाँ सकारात्मक देखिनुभयो, राम्रो प्रतिक्रिया पाइयो । यो कुरा जापान सरकारसम्म पुगेपछि ५ अर्ब रुपैयाँको नयाँ खानेपानी योजनाले स्वीकृति पायो । अहिले जापानी सहयोग नियोग (जाइका) को सहयोगमा पोखराका चोकचोकमा बन्दै गरेको खानेपानी योजना त्यसैको उपज हो । अहिले ठाउँठाउँमा पाइप बिछ्याउने र पानी टंकी तथा ट्रिटमेन्ट प्लान्ट बनाउने काम अगाडि बढेका छन् । निर्माणपश्चात् धारामा पानी समानुपातिक वितरण प्रणालीका आधारमा हुने छ । हरेक ठाउँमा पानी पुग्नेछ र नियमित पानी आउनेछ । यति मात्र नभई फूलबारी, बिरौटा र हेमजामा समेत अलि पहिलासम्म पानीको ठूलो अभाव थियो । यसका लागि बजेट व्यवस्था गर्ने, बोरिङ खन्ने र हेमजाका घरघरमा धारा पुर्‍याउने कामसमेत मैले गरेको छु ।

पोखराको प्रमुख पदमा उम्मेदवारी दिने सोच कसरी पलायो, तपाईंको उम्मेदवारी किन ?

सर्वप्रथम त पोखरा महानगर चरम भ्रष्टाचार र अव्यवस्थाको अखडा भएको छ । मेरो दल र जनताले मलाई मेयरको जिम्मा लगाएमा यसलाई नियन्त्रण गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । फेवा सिरानमा बनाइएका सिल्ट्रेसन पोखरी र बाँध भत्किए, त्यसको जिम्मा कसले लिने? यहाँ भ्रष्टाचारको विषय जोडिएको छ । पोखरा पर्यटकीय सहर भए पनि यहाँ ठूलो र व्यवस्थित बसपार्क छैन । बसपार्कको विषय राजनीतिक नारामात्र बन्दा पेसाकर्मी र सामाजिक व्यक्तिमात्र नभई बाहिरबाट हेर्दासमेत यो लज्जाको विषय भएको छ । अवसर पाए यो समस्या म तत्काल हल गर्न योजना अगाडि बढाउँछु । अर्को कुरा पोखरामा ४÷५हजार व्यक्ति एकै ठाउँमा बसेर सभा सम्मेलन गर्ने ठाउँको पनि अभाव छ । त्यसकारण पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नेतर्फ मैले पहल गर्नेछु । यसैगरी पोखरामा केही बाटा त बने तर यी कस्ता बने भने पैदल यात्रीका लागि पूर्णतः बेवास्ता गरी बनाइएका । न यी अपांगमैत्री छन्, न साइकल लेन नै छन् यिनमा । व्यवस्थित सडक मेरो योजनामा हुनेछ ।

  • म खानेपानी संस्थानको अध्यक्ष हुँदा गरेको कामकै उपज जाइकाको सहयोगमा बन्दै गरेको खानेपानी योजना हो

  • पोखराका खानेपानी अभाव भएका क्षेत्रमा बोरिङ खन्ने र हेमजाका घरघरमा धारा पुर्‍याउने, बजेट व्यवस्था गर्ने पहल गरेको छु

पोखरा चौतारा र पोखरीहरुको नमुना सहर थियो कुनै बेला । अहिले यी अधिकांश मासिएका छन् । पोखरीको पानीले सिंचाइ र जमिन रिचार्ज गर्ने काम गथ्र्यो । पोखराको चौतारा र पोखरीको संस्कृतिलाई पुनर्जीवित गर्ने मेरो योजना हुनेछ । पोखराको ढल व्यवस्थापन आधुनिक ढंगले गर्न ठूला पोखरीहरु निर्माण गरी काम अगाडि बढाउन सकिन्छ । यसैगरी पोखराको फोहोर मैला व्यवस्थापन अर्को चुनौतीको काम बनेको छ । ल्यान्डफिलसाइट फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान होइन । म जापान बसेको समयको अनुभवको आधारमा फोहोरमैला व्यवस्थापन गर्न सकिने धेरै तरिकाहरु छन् । फोहोर मैला व्यवस्थापनको विषय नै अर्को हो । सर्वप्रथम त फोहोरको आयतन घटाउने काम हुनुपर्छ । अनि कुहिने र नकुहिने फोहोर घरघरमा छुट्याउनुपर्छ । नागरिकलाई सोही अनुसारको चेतना दिने र प्रशिक्षित गर्ने काम गर्नुपर्छ । कुहिने फोहोरलाई जैविक मल बनाउने र नकुहिनेलाई इन्सिनुरेटरमा राखेर जलाएर सानो आयतनमा पु¥याएर सहज व्यवस्थापन गर्न सकिन्छ । यसो गर्न सके फोहोर व्यवस्थापन कार्य एउटा उद्योगको रुपमा अगाडि बढ्न सक्छ । रोजगारी बढाउन सकिन्छ । अनि मानिसहरुले यहाँ ल्यान्डफिलसाइट नल्याऊ भनेर छिः छिः र दूरदूर गर्ने अवस्था नै आउँदैन ।

व्यवस्थित पोखरा निर्माणतर्फ यहाँको सोच र योजना के कस्ता छन् ?

अहिले सार्वजनिक जग्गाहरु कतिपय दल र संस्थाहरुले कब्जा गरेको अवस्था छ । जग्गाहरु कब्जामुक्त गरी सार्वजनिक पार्क बनाउने मेरो दृढता हो । यसै सन्दर्भमा के भन्न सकिन्छ भने अव्यवस्थित सकुमबासी बस्तीहरु पोखराको सुन्दरताका लागि कलंक भएका छन् । सुकुमबासीकै सहमतिमा त्यहाँ व्यवस्थित हाउजिङ र अपार्टमेन्टमार्फत् उनीहरुलाई आधुनिक बसोबासको व्यवस्था गर्न सकिन्छ । र, बाँकी जमिनलाई पार्कको रुपमा विकास गर्न सकिन्छ । शैक्षिक क्षेत्र सुधारको कुरा गर्दा जति पनि सामुदायिक विद्यालयहरु छन् ती भौतिक पूर्वाधारका हिसाबले राम्रा नै छन् । अग्रजले जुटाएका जग्गा, भवन वा अन्य थुप्रै सुविधा पनि त्यहाँ छन् तर विद्यार्थी छैनन् । यस्तो विडम्बनाबीच महँगो निजी विद्यालयमा पढ्न पुगेका विद्यार्थीलाई आर्थिक भार न्यून गर्दै सामुदायिकमा ल्याउन उचित वातावरण तयार गर्ने योजना मेरो छ । भारतमा अरविन्द केजरीवालको मोडल यहाँ लागु गर्न सकिन्छ । यस्तो गर्न हामी सक्छौं, केवल इच्छाशक्तिको अभाव भएर मात्र अहिलेको अवस्था विद्यमान रहेको हो । स्वास्थ्य क्षेत्रमा पनि अनिवार्य बिमा र निशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने योजना मसँग छ । बिमाको नाममा अहिलेको उपचार झन्झटिलो छ, प्रभावकारी बनेन । आवश्यक परे महानगरकै अस्पताल चलाउने र विशेषज्ञ डाक्टरमार्फत् सेवा दिन पनि म पछि पर्ने छैन । यसैगरी उच्च माध्यमिक तहदेखि माथि अध्ययन गरिरहेकालाई महानगरले समन्वय गरी अल्पकालीन रोजगारीको व्यवस्था गर्ने, अन्तर्राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्न सहयोग र समन्वय गरी खेल पर्यटनलाई टेवा पुर्‍याउने, पोखराका सबै तालहरुलाई जोड्ने मार्ग बनाउने, धार्मिक पर्यटन प्रोत्साहन तथा प्रवद्र्धन गर्ने, साहित्यिक पर्यटनको विकास, पोखरामा ड्राइपोर्टको व्यवस्था र पोखराको समग्र मास्टरप्लान बनाई योजनाबद्ध विकास पनि मेरा योजना हुन् । तर पनि पोखरा अहिले आर्थिक र राजनीतिक रुपमा ठगिएको छ ।

आर्थिक र राजनीतिक रुपमा पोखरा कसरी ठगिन पुग्यो ?

स्थानीय तहहरुको पुनः संरचना कास्की जिल्ला र पोखराका सन्दर्भमा उति व्यावहारिक र वैज्ञानिक हुन सकेन । सँगैको पर्वत र गोर्खा जिल्लामा स्थानीय तहहरुको संख्या ९ देखि ११ सम्म रहेको छ । यत्रो कास्कीमा भने जम्मा ५ वटा मात्र । यस हिसाबले ठगिएको भनेको हुँ । पोखरामा मात्र १२ वटा पालिकाको सम्भावना छ । पोखरा छँदै थियो, लेखनाथ र हेमजालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न सकिन्थ्यो । माछापुच्छ्रेमा २ पालिका, निर्मल पोखरी र भरतपोखरी मिलाएर एउटा, रुपामा २ र पुम्दी तथा भदौरे तामागी मिलाएर १ र अन्य केही स्थान तल माथि गरी दर्जन पालिकाको यहाँ सजिलै सम्भावना थियो । तर त्यो बेलाको राजनीतिक नेतृत्वले राजनीतिक स्वार्थका लागि यस्तो गरेन । यी पालिकाले प्रत्येकले कम्तीमा ४० करोड रुपैयाँका दरले बजेट पाउँथे । तर अहिले जनताका लागि धोका दिने काम भयो । आगामी दिनमा वैज्ञानिक र व्यावहारिक संरचनाका लागि पुनः विचार गर्न तयार हुनुपर्छ ।

अहिले चुनावलाई जोडेर तालमेल र गठबन्धनको कुरा गरिएको छ, पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीको दाबीबीच उम्मेदवारी नेपाली कांग्रेसकै भागमा पर्छ र कांग्रेसले चुनाव जित्छ भन्ने के निश्चित छ?

सरकार अहिले गठबन्धनको छ । यो सरकार किन र कसरी बन्यो भन्ने जनतालाई थाह छ । प्रतिगमनकारी ओली सरकारले गर्दा यो सरकार जन्मन पुग्यो । यो बाध्यता नै बन्न पुग्यो । गठबन्धनका सहयात्री दल र नेता यसप्रति सचेत छन् । यो एमाले भन्ने दल नै व्यवस्थाका लागि खतरा छ भन्ने हामीले बुझेका छौं । यसलाई चुनावमा कसले कसरी पराजित गर्न सकिन्छ भन्ने हिसाब हामीसँग छ । पोखराको मेयरमा पनि कांग्रेसले मात्र चुनाव जित्न सक्छ भन्ने हाम्रो आकलन हो । अहिलेको एमाले ओरिजिनल एमाले होइन । यो परमादेशले जन्माएको एमाले हो । सर्वोच्च अदालतले जन्माएको एमाले हो । वास्तविक एमाले त हामीसँग गठबन्धनमा छ । योसँग हामी डराउन्नौं । यो एमाले बुख्याँच्चा हो । त्यसैले परमादेशले जन्माएको एमाले हराउने कांग्रेसले नै हो, यसो भए गठबन्धन पनि पछि सम्म कायम रहने अवस्था रहन्छ ।

चुनाव लड्न करोडौं बजेट लाग्ने भन्ने चर्चा अहिले व्यापक छ, कांग्रेस नेता सशांक कोइरालाले पनि यो खुलासा गर्नुभयो । तपाईं के भन्नुहुन्छ?

जनप्रिय नेतालाई जिताउने भनेको जनताले हो पैसाले होइन । व्यक्तिको खल्ती कस्तो र कत्रो छ भन्ने कुरा ठूलो होइन । नेता लोकप्रिय भयो भने उसको सहज जीत हुन्छ । पैसाले हुने भए यो देशको प्रधानमन्त्री विनोद चौधरी हुने थिए । जनताले पत्याए भने एक रुपैयाँ नभए पनि जनताले नै आवश्यक खर्च गर्छन् । पैसा ठूलो कुरा होइन । वास्तवमा भन्ने हो भने अहिले पोखरेली गलत व्यक्तिलाई मेयर बनाइएछ भनेर पश्चताप गर्दै छन् । पोखरामा अहिले भ्रष्टाचार हटाउने र सुशासन दिने व्यक्तिको खाँचो छ । त्यो क्षमता म मा छ । मसँग पोखरालाई पोखरेलीको मात्र नभई एउटा नमूना अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना र दृढ इच्छाशक्ति छ । मौका पाउँदा मैले पोखराका लागि काम र योगदान पनि गरेको छु ।

Related News

सम्बन्धित समाचार

hero news full width