पञ्चकोट : नाम एक, अनुभूति अनेक

के.वी. मसाल
भाद्र १३, २०७८

फुर्सदको बेला घुमफिरमा निस्कने धेरै नेपालीहरुमा संस्कार बन्दै गएको छ । घुमफिरको संस्कृति बढ्नु पर्यटन प्रवद्र्धनका लागि राम्रो पक्ष हो । मानिसहरु किन घुमफिर गर्दछन् ? घुमफिरको उद्देश्य फरक हुन सक्दछ । तर सबैको मुख्य उद्देश्य भनेको नयाँ ठाउँको घुमफिरबाट अध्यन अवलोकन र मनोरञ्जन गर्नु हो । नेपालमा धेरै ग्रामीण पर्यटकहरु प्राकृतिक सम्पदासँग रमाउँछन् । पछिल्ला दिनहरुमा ग्रामीण पर्यटन उद्देश्य फराकिलो हुँदै गएको छ । ग्रामीण पर्यटकहरुको संख्या पनि प्रत्येक वर्ष वृद्धि हुँदै जान थालेको छ । गाउँघरमा पर्यटनको विकास गर्नु पर्दछ भन्ने धारणा विकास भएको छ । गाउँमा पुग्ने पर्यटकलाई बस्न खानको सुविधा दिन होमस्टे सञ्चालन हुन थालेका छन् । यी कुरालाई पर्यटन व्यवसायको लागि राम्रो पक्ष मान्नु पर्दछ ।
ग्रामीण पर्यटकहरुका लागि पुग्नैपर्ने स्थान हो बागलुङको पञ्चकोट । पञ्चकोट घुमफिरको प्याकेज बनाउन सके राम्रो हुन्छ । गण्डकी प्रदेशमा पर्ने बागलुङ ऐतिहासिक जिल्ला हो । इतिहासमा चासो राख्ने पर्यटकहरुलाई बागलुङ घुमफिरले धेरै अध्ययन अवलोकन गराउँछ । पञ्चकोट पुग्दा घुमफिरको समय बढाउन सके गल्कोट, विहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट जस्ता ऐतिहासिक कोटहरुमा पुग्न सके राम्रो हुन्छ । यो बाहेक कालीका भगवती मन्दिर, ढोरपाटन, गाजा दह, भकुण्डे धुरी, हाँडीकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक, लोङाको धुरी, भैरवस्थान, घोडा बाँधे, फागुनेको धुरी, थाप्लेको धुरी र जैमिनेश्वर क्षेत्र जस्ता पर्यटनका गन्तव्यहरु पनि बागलुङमा रहेका छन् । पछिल्लो समयमो बलेवा र पर्वत जोडिएका केबल पुल, अग्लो पुल, बन्जी पुल र बांगे चौर–अदुवाबारी जोड्ने लामो पुलले पनि पर्यटकहरुलाई आकर्षण गराएको छ ।
पर्वततिरबाट बागलुङ जाँदा मालढुंगाको कालीगण्डकीको पुल तर्नासाथ रमणीय सडकको नागबेली उकालो काटनेबित्तीकै बागलुङ घुमफिर गर्न जाने पर्यटकहरु कालिकाको मन्दिरमा पुग्दछन् । बागलुङ कालिका भगवती मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । मन्दिरको वरपरको जंगल, प्राकृतिक मनोरम वातावरणले पर्यटकहरुलाई लोभ्याउँछ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको कालिका मन्दिरमा पूजा आराधना गर्दा मनोकांक्षा पूजा हुने तीर्थाटन पर्यटकहरुको विश्वास छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिँदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ । मन्दिरको इतिहास खोज्ने हो भने पर्वतका राजा प्रतापी नारायण मल्लले विस.१५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग विवाह भएको थियो । विवाहमा छोरीले देवीको मूर्तिलाई पनि दाइजोको रुपमा बुबासँग मागेर दुलही राजकुमारीले आफूसँगै ल्याएकी थिइन् । पाल्पाबाट पर्वत जाँदा बाटोमा पर्ने अहिलेको कालिकाको मन्दिर भएको ठाउँमा देवीको मूर्ति राखेको डोली भरियाले बिसाएछन् । पछि डोलीलाई उठाउँदा नउठेपछि मन्दिरको स्थापना गरी कालिका देवीको प्राण प्रतिष्ठान गरिएको हो ।
कालिका दर्शन गरेपछि तीर्थाटनका पर्यटकहरुलाई लामो पुल अवलोकन गर्ने उत्सुकता हुन्छ । कालीगण्डकीको मालढुंगामाथि निर्माण भएको बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोडने पुल अहिले सम्म निर्माण भएको झोलुंगे पुलमा लामो मानिन्छ । यो पुलको लम्बाई ५ सय ६७ मिटर छ भने १ सय ३८ मिटर अग्लो छ । पुलको जिपमा बागलुङतर्फ सहिद पार्क निर्माण भएको छ । पर्यटकहरु पुलमा पुगेपछि कोही फोटो खिच्न व्यस्त हुन्छन् भने कतिपय लामो पुल तरेर पर्वतको अदुवाबारीतर्फ जान्छन् । हुन त बागलुङ पुग्ने पर्यटकहरुले पर्वत जिल्लामा नै धेरै पुलको अवलोकन गरेका हुन्छन् । तर पनि लामो पुल तर्न पाउँदा पर्यटकहरु रमाउँछन् ।
बागलुङ पुगेपछि पुग्नैपर्ने ठाउँ हो पञ्चकोट । बागलुङ नगरपालिका ६ मा पर्ने पञ्चकोट अवलोकन एवं तीर्थाटन गर्न ग्रामीण पर्यटकहरु पुग्छन् । पञ्चकोट बागलुङ बजारबाट ८ किलोमिटरको यात्रामा पुग्न सकिन्छ । समुन्द्री सतहदेखि १ हजार १ सय मिटरको उचाइमा रहेको पञ्चकोट जाँदा बाटोमा देखिने दन्ते लहरझैं खुलेका हिमाल, नागबेली आकारका सुन्दर पहाडी मनोहर भू–बनोट । कालीगण्डकीको सुन्दर दृष्य, खेतीयोग्य खेतबारी, रंगीचंगी घर देख्न पाउँदा सबै पर्यटकहरु आफ्नो यात्रालाई भू स्वर्ग नै मान्दछन् । पञ्चकोटभित्र बागलुङ नगरका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट पर्दछ ।

पञ्चकोटअन्तर्गत ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट पर्छन् । पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माण हुँदै छ

पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि, निलगिरिलगायत दर्जनभन्दा बढी हिमशृंखला पर्यटकहरुले अवलोकन गर्न सक्दछन । पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माण हुँदै छ । करिब १ सय रोपनी क्षेत्रफलमा ३ तलाको अतिथि आवास र कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भएको छ । गण्डकी माताको मन्दिर र गरुडशिलाको निर्माण भएको छ । सिस महल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घरसमेत निर्माण भएको छ । ५ हजार ५ सय ५५ केजीको महाघन्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटबाट बागलुङ बजारको मनोरम दृश्यावलोकनसमेत गर्न सकिन्छ । उच्च स्थानमा पुगेर चारैतिर देख्ने मन कसलाई हुँदैन र ? प्रकृतिसँग रम्न पञ्चकोट पुगेपछि पर्यटक रमाउनेमात्र होइन प्रकृतिको रोमाञ्च अनुभूति प्राप्त गर्दछन् ।
बागलुङको पहाडी भूगोलमा विभिन्न रमणीय प्राकृतिक सम्पदाहरु छन् । जहाँबाट भरपुर आनन्दमात्र होइन प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । ती गगनचुम्बी डाँडाकाँडाहरु आफैंमा प्राकृतिक भ्युटावर बनेका छन् । बागलुङका डाँडाकाँडा प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । सूर्योदय र सूर्यास्तको अवलोकन लागि पनि पञ्चकोट एउटा उपयुक्त गन्तव्य स्थल बनेको छ । सूर्योदय र सूर्यास्तको दृश्य पञ्चकोटको डाँडाबाट रोमाञ्चक देखिन्छ ।
पञ्चकोट अन्तर्गतका ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट पाँचवटा यी सबै कोटको आफ्नै इतिहास रहेको छ । सबै कोटमा बाइसे चौबिसे राजाहरुको पालामा देवीको पूजा आराधना गर्न कोटहरुको स्थापना भएका थिए । पाँचवटा कोटमध्ये अहिले तीर्थाटन पर्यटकहरुका लागि सबैभन्दा धेरै पूर्वाधार निर्माण भएको ताराजालकोट हो । पञ्चकोट जाँदा पदमार्गमा रमाउने पर्यटकहरुका लागि कारिकोट पनि पुग्न सकिन्छ । ताराजालकोटमा रहेको हनुमानको मूर्तिभन्दा माथिल्लो डाँडाको थुम्कामा कारिकोटको मन्दिर पर्दछ । कारिकोट मन्दिरमा भूरे टाकुरे राजाहरुको पालामा चढाएका तरबार र दाउहरु पनि देख्न पाइन्छ । कारिकोटमा पनि भुरे टाकुरे राजाहरुले निर्माण गरेको भगवतीको मन्दिर रहेको छ । डाँडाको थुम्कामा रहेकाले कारिकोट मन्दिरको परिसरबाट पर्यटकहरुले हिमाल र अन्य रमणीय दृश्यहरु अवलोकन गर्न सक्दछन् ।
कारिकोटभन्दा केही मिनेट उकालोको यात्रामा माझकोट रहेको छ । माझकोटबाट करिब १ घन्टाको पैदल यात्रामा पुगिने राङराङकोटमा बाह्रौ र तेह्रौ शताब्दी तिरका राजासँग जोडिएको इतिहास छ । पञ्चकोटको अन्तिम कोट संसारकोट हो । बागलुङ जिल्लाको दोस्रो अग्लो पहाड पनि संसारकोट हो । संसारकोटमा भुरे टाकुरे राजा रजौटाका दरबारका केही भग्नावशेष, धान कुटने ढिकी, ओखलजस्ता केही ढुंगाहरु देख्न सकिन्छ । पञ्चकोटबाट करिब डेड घन्टाको उकालो यात्रामा पुगिने संसारकोटको चुचुरो पर्यटकका लागि रमणीय मानिन्छ । संसारकोटको चुचुरोबाट हेर्दा वरिपरि हरिया पहाडहरु, पाखा, पखेरा, झरनाहरु र उत्तरमा रहेका धवलागिरि, नीलगिरि, माछापुच्छे«, अन्नपूर्णजस्ता सुन्दर हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ । संसारकोटबाट पर्यटकको साथमा दुरबिन छ भने पर्वतको कार्कीनेटा, म्याग्दी, गुल्मीका केही पहाडी थुम्का, कास्की र मुस्ताङका केही गाउँहरुका र कास्कीको फेवाताल, पश्चिमको घुम्टेको लेक र शोलेको धुरी, ढोरपाटनको धुरी र दक्षिणको गाँजाको धुरीसमेत देख्न सकिन्छ ।
बागलुङ जिल्लाको घुमफिरमा समय भयो भने पुराना खानीहरु पनि अवलोकन गर्न सकिन्छ । गल्कोटका राजाको पालामा ३ वटा तामा र १ वटा फलाम खानी सञ्चालन गरी राज्यलाई आर्थिक उत्पादनमा लगाएका थिए । बागलुङ जाने ग्रामीण पर्यटकहरु गलकोट दरबारबारे चासो राख्छन् । कतिपय पर्यटक गलकोट पुग्ने अभिलाषासमेत राख्छन् । गलकोट दरबार गलकोट नगरपालिकाको हरिचौरमा पर्दछ । बागलुङ बजारदेखि हरिचौरसम्मको दूरी करिब ४८ किलोमिटर पर्दछ । साना सवारी साधनबाट हरिचौर पुग्न करिब २ घन्टा लाग्छ । गल्कोटका राजा गर्मीको समयमा ढोरपाटन क्षेत्रमा र जाडोको समयमा ताकममा बसी राज्य चलाउने गर्दथे । पर्यटकहरुका लागि गल्कोटका खानीका क्षेत्र पुग्न सके धेरै अध्ययन अवलोकन हुन्छ ।

पर्यटकहरु बागलुङ घुमफिरमा जाँदा घुम्टेको लेक पुगेनन् भने घुमफिर अधुरोजस्तै हुन्छ । बागलुङको मध्यभागको पहिचान हो घुम्टेको लेक । जुन लेकलाई पृष्ठभूमिमा राखेर कयौं कलाकारले गीत बनाएका छन् । गलकोट नगरपालिकामा पर्ने घुम्टे लेक समुद्री सतहदेखि १ हजार ३ सय ९३ फिट उचाइमा रहेको छ । बागलुङ सदरमुकामदेखि करिब ५० किलोमिटरको दूरीमा पर्ने घुम्टेलेक जान खास गरी ३ वटा बाटाहरु प्रयोग गर्न सकिन्छ । गलकोट पाण्डवखानी, हरिचौर र ताराखोलाबाट घुम्टेको लेक जान सकिन्छ । घुम्टेबाट देखिने सुन्दर हिमशृखला, विभिन्न प्रजातिका लालीगुराँस पर्यटकहरुले देख्न सक्दछन् । घुम्टेको शिरमा सिद्ध र भैरवको मन्दिर पनि छ ।

बागलुङ जिल्लाको अधिकांश भू भाग पूर्वी भागमा ढल्केको छ । पूर्वी भेगको सिमाना पवित्र कालीगण्डकीले दिएको छ । म्याग्दी, पर्वत र बागलुङको बीचमा कालीगण्डकी बहने हँुदा वातावरणीय हिसाबले पनि बागलुङ राम्रो ठाउँ मानिन्छ । बागलुङ जिल्लामा घुमफिर गर्दा प्राय सबै ठाउमा कच्ची भए पनि सडक मार्ग पुगेको छ । कुन पनि गाउँमा खाना बस्न पर्यटकहरुलाई असुविधा हँुदैन । बागलुङमा मध्यपहाडी लोकमार्ग १४० किलोमिटर पर्दछ । बागलुङ पर्वतको सिमाना कालीगण्डकी किनारको मालढुंगादेखि लोकमार्गले जोडिन्छ । मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लामा बागलुङ बजार, अक्षेते, बिरुको रिजालचोक, गलकोट हटिया बजार, नरेठाटी, खर्बाङ बजार, न्वारा खौलार, खाराबजार, भीमघाट, बुर्तिवाङ बजार भएर पूर्वी रुकुमको सिमाना पातिहाल्ने स्थान पार भएपछि लोकमार्गले लुम्बिनी प्रदेशमा जोडिन्छ । लोकमार्गमा बागलुङमा बागलुङ–बेनी सडक, बागलुङ नगरपालिकाको विभिन्न वडाका सडक, अक्षेते र ताराखोलाको ग्रामीण सडक, दुलियामाटी, नरेठाटी, हरिचौर, मल्म पाण्डखानी, रिघा, खर्बाङ सिसाखानीका ग्रामीण सडक पनि जोडिएका छन् । त्यसैगरी ज्याङना, ग्वालीचौर, भीमगिठे दर्लिङ र ढोरपाटनको सडकसमेत जोडिएको छ । बुर्तिवाङभन्दा अगाडि तमानको ग्रामीण सडक र देवीस्थानमा सालझण्डी–ढोरपाटनको सडक पनि मध्यपहाडी लोकमार्गमा जोडिएपछि प्रदेशको सिमाना पातिहाल्ने पुग्दछ ।
ग्रामीण पर्यटकहरुको लागि बागलुङ जिल्ला घुमफिरको लागि राम्रो मानिन्छ । प्रायः सबै जाती, जनजातीहरुको बसोबास भएको जिल्ला हो बागलुङ । ग्रामीण क्षेत्रमा बोलिने मीठो स्थानीय भाषाको माध्यमबाट पाहुनाहरुको स्वागत गर्नमा पछि पर्दैनन् बागलुङका दूरदराज बस्तीका मानिस । बागलुङ पुग्ने पर्यटकहरुले कहिल्यै नसुनेको स्थानीय भाषाको स्वर भैच्च, खाइच्च, भनिच्च, हन्त, भन्ने जस्ता धेरै नयाँ स्थानीय भाषाको अनुभूति गर्न पाउँछन् । आजभोलि बागलुङमा ग्रामीणक्षेत्रमा समेत व्यापारी केन्द्रहरुको संख्या बढेको छ । पुरानो बुर्तिबाङ बजार बिस्तार भएको छ । सडक यातायातले छोएका दूरदराजका बस्तीमा समेत व्यापारी कारोबार बढ्दै गएको छ । खर्बाङ बजार, शेरा बजार र खार बजारले ग्रामीण बस्तीमा पुग्ने पर्यटकहरुलाई आवश्यक सामान किनमेल र खान बस्न सहज भएको छ । त्यसैगरी हटिया बजार, हरिचौर, रिजालचोक बिहू वरेङ बजार हुम्दीशिर, खाल बजार भीमगिठेले पनि ग्रामीण बजारको बिस्तार भएको छ ।
बागलुङ जिल्लाबाट धौरागिरि, माच्छापुच्छ«ेजस्ता प्राकृतिक दृष्यले मनमोहक बनाउने हिमाल देखिए पनि बागलुङ जिल्लामा हिमाल छैन । तर पनि हिमाली हावापानी, हिमाली भेगमा पाइने वन्यजन्तुको बारेमा अध्ययन गर्न र दृष्यावलोकन गर्नलाई भने ढोरपाटन छ । बागलुङ, म्याग्दी, रुकुम र डोल्पा जिल्लाको बीचमा पर्ने ढोरपाटनमा पार्मी ताल, उत्तर गंगा नदीको उद्गम क्षेत्र, र ढोरपाटन सिकार आरक्ष पर्छ । सामुन्द्रिक सतहबाट ४ हजार ४ सय ७८ मिटरको उचाइमा रहेको ढोरपाटन बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि ८० किमी पश्चिममा पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width