दन्तबझान धेरै भयो

दुर्गा न्यौपाने
चैत्र १०, २०७८

भयो बन्द गर्नुस्, एक अर्काेलाई गाली गर्न । जनताले आरोपप्रत्यारोप सुन्न खोजेका छैनन् । को कस्तो छ, चिनेका छन् । देश विकासका कुरा गर्नुस् । लाइभ कार्यक्रम चलाउनुस् । अमेरिकाको जस्तो । कसले राम्रो बोल्छ । सभ्य बोल्छ । देशका योजनाका बारेमा बोल्छ । व्यावहारिक बोल्छ । त्यो सुन्न चाहेका छन् । उसले उसलाई गाली गरेको छ, उसले उसलाई सराप्या छ । तलकाले के सिक्ने तपाईंहरुबाट ? पुस्तान्तरण गर्दा दलको नाम मात्र हैन, सभ्यता र व्यवहार हस्तान्तरण गर्नुस् नेताज्यूहरु । आफ्ना राम्रा कामको व्याख्या गरे मात्र पुग्छ । बुझ्छन् जनताले । नबुझेजस्तो गर्ने कार्यकर्ताले हो । यति र उति भोट आउँछ भन्नुभन्दा पनि गल्ती भए आत्माआलोचना गर्नुस् । नभए आगामी राम्रा योजना र भिजनका कुरा गर्नुस् । आफ्ना नेताले भनेको सबै राम्रो नलाग्न पनि सक्छ । विरोधै नगरे पनि मूल््यांकन त हुन्छ नै । कृपया सुधार गर्नुस्, आफूलाई र आफ्नो पार्टीलाई । दलको नाम अनुसार बन्न सिक्नुस् । अति भो । अब नि चेत नपसे धेरै ढिला भइसकेको हुनेछ ।
दोष कसलाई दिने ? धेर थोर सबैको छ । सबैभन्दा ठूलो दोष प्रवृत्तिको छ । सोचको छ । नेता र कुर्ची पर्याय भयो । देशभन्दा दल ठूलो छ । दलभन्दा गुट र गुटभन्दा व्यक्ति । आलोचनामात्रै नभई आत्मा आलोचना पनि हुन्छ भन्ने सुनिन्थ्यो । अचेल त आलोचनामात्रै छ बजारमा । बिना तथ्यका आलोचना । आरोप । जुन अर्थहीन छ । कानुन लाग्दैन । कारबाही हुँदैन । संविधानमाथि नै छन् अगुवा ? । जसले बढी आलोचना गर्न सक्यो, उसैको बढी भोट आउला झैँ गर्छन् नेताहरु ? । अरुलाई लगाएको लाञ्छनाले भोट बढ्दैन बरु घट्छ । अनुशासन ताछिँदै छ । युवा त्यही सिको गर्दै छन् । सुन्न र हेर्नै नसकिने शब्दहरु प्रयोग हुन्छन् । के गणतन्त्रमा हुनुपर्ने यही हो र ? समाजको चरम विकास यसैलाई भनिन्छ ? अन्त पनि यस्तै छ कि ? हाम्रोबाट चामल लगेर खाने कोरिया विश्वमा टप टेनमा छ अहिले । हामी उस्तै छौं । सधैं भारत परस्त । परनिर्भर । देशको माटो र पानी सुहाउँदो योजना बनाउँदा के बिग्रन्थ्यो । गाउँ रित्तिदै छ । बजारमा सहरी योजना छैन । अव्यवस्थित घर थपिँदै छन् । बस्ती बाक्लिँदै छ । युवा हुलका हुल विदेशिदै छन् । चाहे रोजगारका लागि होस् कि सिस्टम खोज्न होस् । पाए उतै बस्न खोज्छन् । कम पढेका जीजिविषाका लागि बाहिरिन्छन् । पढेलेखेका सिस्टम र फेयरनेसका लागि पलायन हुँदै छन् । नातावाद र कृपावादविरुद्धमा फलाकेर नथाक्ने नेताहरु अहिले आफैं त्यही गरिरहेछन् ।
दुख गर्न तयार छन् युवाहरु । अब रोजगार सिर्जना हुनुपर्छ । चाहे पहराबाट पानी निकाल्न किन नपरोस् । खाडीका मरुभूमि हरियाली बनाउने हाम्रै युवा हुन् । मात्र खाँचो छ, उचित परिचालनको । चुनावको एजेन्डा युवाको लागि हुनुपर्छ, कृषिको लागि हुनुपर्छ । रित्तिएका गाउँ घरको लागि हुनुपर्छ । सामाजिक संरचना र सभ्यताको लागि हुनुपर्छ । सुरक्षा र न्यायको लागि हुनुपर्छ । खेतीमात्र हैन, मान्छेको उत्पादन पनि उन्नत बनाउनुपर्छ । उन्नत मान्छे मात्र असल समाजको हिस्सा बन्न सक्छ । सिस्टम बन्नुपर्छ । यसपटक स्थानीय तहले कानुन र नीतिको खोजी गर्दागर्दै बितायो । बाटोघाटोमा ध्यान दियो । तर जति हुनुपथ्र्यो त्यति हुन सकेन । योजनाबद्ध भएन । रणनीति र दीर्घकालीन योजना बन्न सकेनन् । अर्बान प्लालिङका सबाल न्यून रहे । ताल तलैया र नदीहरुका रुप परिवर्तन हुन सकेनन् । संरक्षण पाएनन् । व्यवस्थित बस्ती विकासमा छलफल हुन सकेन । जनप्रतिनिधि र कर्मचारीको इनर्जीलाई सिनर्जीमा बदल्नेतिर ध्यानै गएन । गर्नुपर्ने धेरै थियो । केन्द्रस्तरमा महत्वपूर्ण काम हुँदै थिए । बिथोलिए । सरकारको समय किचलोमा बित्यो । कुर्चीका लागि जति मेहनत हुन्छ, त्यति विकासका लागि हुन्न । हाम्रो कल्चर नै देश विकासभन्दा खुट्टा तान्ने बन्यो ।
विदेशीले अमूल्य देख्छन् नेपाल । यहाँको तुलना कसैसँग हुनै सक्दैन । विकसित सिटीहरु कंक्रिट जंगल देखिन्छन् । तैपनि त्यहाँ प्राकृतिकजस्ता देखिने विकास हुँदै छन् । चीनले कृत्रिम चन्द्रमा बनायो । पानी पा¥यो । जंगल बनाए, समुद्रमा पुल बनाए अरुले । चिन्तनबाट नयाँ नयाँ आविष्कारको हुन्छ । सृजनाको हुन्छ । यहाँको चिन्ता फगत कुर्चिको । सरकार ढाल्ने र फाल्नेको । रातारात धनी बन्नेको । तेरो र मेरोको । जनता आजित छन् । दलहरुको विकृत हर्कतले । नेताहरुको बोली र व्यवहारले ।

चुनावी नमस्कार पछि युटर्न नहोस् । केही नेता राजा बनेको देखियो । राजा बन्ने मन सबैलाई लाग्दोरहेछ

बीसौं वर्षपछि स्थानीय तहको निर्वाचन भयो । मुलुकले स्थायी सरकार पायो । जनताको मन मनमा खुसी फुल्यो तर भनेजस्तो फल लागेन । स्थायित्व रुचेन । पचेन । दुई तिहाइ नाममात्रको भयो । सुनिन्छ, राजनीतिमा स्थायी शत्रु हुन्न तर सिद्धान्तत हुन्छ । वर्गीय शत्रु हुन्छ । वर्गले चरित्र निर्धारण गर्छ । चरित्रले व्यवहार बदल्छ । दृष्टिकोण बदल्छ । सेतोलाई कालो देख्छ । कालो देख्नु उसको दोष हैन । भए वर्गीय दोष हो । यहाँ कुनै चरित्रै भएन । सबैको एउटै चरित्र । एउटै प्रकृति । एउटै प्रवृत्ति । छिर्केमिर्के गन्तव्य । गोल कन्फर्म भए पो, मिसन फरक हुन्छ । हाम्रोमा गोल भनेको कुर्चीमात्र हो । त्यसैले कुर्ची घुमाइ खेल खेलिन्छ । दाजुभाइमा झगडा पर्छ । बाटोको टिप्न खल्तीकै खसालिन्छ । बाटो र पाटो फरक हुन सक्छ । हुनुपर्ने जनताको खुसी नै हो । कैयौं देखियो । तन्त्र र मन्त्र जे भए पनि चरम विकास भएकै छ । तन्त्र त माध्यम मात्र रहेछ । चीन देखियो । कोरिया देखियो । अमेरिका र बेलायत देखियो । जापान र थाइल्यान्ड पनि देखियो । गणतन्त्र के के न ठान्ने नेपालीलाई कागका लागि बेलजस्तो छ । कागले बेल सिर्फ हेर्ने न हो । छाम्न पनि सक्दैन । जो सत्तामा जान्छ, उसैलाई गणतन्त्र लाग्ला । अन्यथा जनता खुसी छैनन् । गोलमटोल लाग्छ । गणतन्त्रमा एउटै एजेन्डा नागरिकको खुसीबाहेक केही हुनै सक्दैन । हुनुहुँदैन । नेताले हारे केही हुन्न । देश हार्नुहुँदैन । जनताले सधैं जित्नुपर्छ । मान्यता यही हो । यही कुरो स्थिर हुन सकेन । अस्थायी भई नै रह्यो ।
राजनीति दिगो शान्तिको लागि हुनुपर्छ । न्यायको लागि हुनुपर्छ । सामाजिक सद्भावको लागि हुुनुपर्छ । समग्रमा देशको माटो, पानी र मन बुझ्नुपर्छ । आफ्नाको माया त सामान्य प्राणीले पनि गर्छ । निषेध र विरोधको कल्चर त्याग्नैपर्छ । गुण र दोषको बहस जरुरी छ । राम्रोको वकालत गरौं । हाम्रोको हैन । बिडम्बना, झन् क्रूुरता बढेकै छ । अन्याय घटेकै छैन । दबिने दबिएकै छ । दबाउनेले दबाएकै छ । दास प्रथा अझै छ । स्वतन्त्र हुन सकेका छैनन्, नागरिक । चरम भ्रष्टाचार छ । बलात्कारका रुप बढ्दै छन् । कमी भएकै छैन । दण्डहीनता उत्तिकै छ । इमानको लेखाजोखा छैन । भए बेइमानकै होला । झुटकै शिर ठाडो छ । आत्मासम्मान उसकै छ । झुट र बेइमानीको अन्त हुने भाषण हैन योजना चाहिन्छ । राष्ट्रभक्ति जगाउने सामाजिक अभियान चाहिन्छ । दूरदर्शिता उत्तिकै खाँचो छ । डाइनामिक लिडर आजको आवश्यकता हो । बेला यही हो । सही मान्छे सही ठाउँमा नभएर धेरै दुर्घटना भएका छन् । अबको स्थानीय चुनावमा यो दोहोरिन हुन्न ।
जब चुनाव आउँछ, अनि कार्यकर्तालाई गाउँ जान हवाला दिइन्छ । प्रायः बाह्रै महिना हुनुपर्छ यस्तो । साक्षात्कार गर्नुपर्छ जनतासँग । पिर व्यथा बुझ्नुपर्छ । अनि पो नीति र योजना बनाउन सजिलो हुन्छ । जनता सधैं झुक्किँदैनन् । सचेत हुँदै छन् । भाषणले वाक्क छन् । दिक्क छन् । चुनावको बेलामा चिप्लो कुरा गर्छन् भन्ने बुझिसकेका छन् । केही बेरोजगारहरु प्रयोग भइरहेछन् । भोको पेटले राजनीति बुझ्दैन पनि । उनीहरु वाद्य छन् दुरुपयोग हुन । चुनावी नमस्कार पछि यू टर्न नहोस् । केही नेता राजा बनेको देखियो । आखिर राजा बन्न मन सबैलाई लाग्दो रहेछ नै ।
त्यसैले दल र नेतृत्वले स्वमूल्यांकन गर्नुपर्छ । कमजोरी सच्याउनैपर्छ । वाचा गर्नुस्, विकासको । जनतासँग इमानदार बन्नुस् । गल्ती गरेको भए माफी माग्नुस् । उदार दिलका छन् जनता । माफी दिन सक्छन् । राम्रो गरेको सुनाउनुस् । सबैले नबुझेका होलान् । एमसिसीबारे बुझाउनुस् । धेरैले बुझेका छैनन् । भ्रमलाई चिर्नुस् । धरातल नभुल्नुस् । खोलो तरेर लौरी नबिर्सनुस् । अन्यौलताको कुइरो हटेमात्र जनताले मनैदेखि माया गर्लान् । अन्यथा सराप्दै भोट दिन्छन् । दिए पनि । नेताको दन्तबझान धेरै भयो । केही रमितेले रमाइलो माने पनि यथार्थमा गलत गलतै हो । यसले नयाँ पुस्ता बिग्रन सक्छ । बेलैमा सचेत हुन जरुरी छ । अन्यथा समाज विकृत हुनेछ । यही विकृतिले विद्रुपता जन्माउनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width