के हामी श्रीलंकाकै बाटोमा छौं ?

रुद्रप्रसाद अधिकारी
असार ३१, २०७९

‘नेपाल पनि श्रीलंकाकै बाटोमा’ पछिल्लो समयमा सामान्य चिया गफदेखि संसदको बहसमा सुनिने शब्दावली हु्न्, यी । सर्वसाधारण जनतादेखि राजनीतिक दलका नेता एवं निति निर्माण तहमा बसेका गन्यमान्य व्यक्तिहरुले नेपालको अर्थतन्त्र समस्याग्रस्त भएको छिट्टै श्रीलंकाको जस्तै हुने बताउने गरेका छन् ।

समस्या समाधानका उपाय निकाल्नुपर्ने र निकास दिनुपर्ने जिम्मेवारी बोकेका उच्च पदस्थहरुले समेत हामी श्रीलंकाकै बाटोमा छौं भन्दै आमजनतालाई तर्साउने काम गरिरहेका छन् । नेपालमा के के उत्पादन गर्न सकिन्छ, नेपालमा उत्पादित वस्तुले विदेशबाट आयात भैरहेका के के वस्तुलाई विस्थापित गर्न सकिन्छ, कसरी द्रूत गतिमा उत्पादन बढाउन सकिन्छ, कसरी निर्यात प्रवद्र्धन गर्न सकिन्छ, कसरी व्यापार घाटा कम गर्न सकिन्छ, आर्थिक संकटोन्मुख अवस्थामा सर्वसाधारण जनता, निजी क्षेत्रका उद्योगीव्यापारी र सरकारी संयन्त्रहरु आदिको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा बहस गर्नुपर्ने, योजना बनाउनुपर्ने र तत्काल कार्य थाल्नुपर्नेमा जतिबेला पनि मुलुक श्रीलंका बन्नेवाला छ भन्दै त्रास देखाइरहेको पाइन्छ ।

के हामी साँच्चिकै श्रीलंकाकै बाटोमा छौं त ? वास्तवमा भन्नुपर्दा हामी अहिले नै श्रीलंकाको जस्तो अवस्थामा छैनौं । किनभने नेपालको कुल ग्राहस्थ उत्पादन कम र व्यापार घाटा उच्च भए तापनि श्रीलंकाको तुलनामा नेपालको वैदेशिक ऋणको अनुपात निकै कम छ । साथै दातृनिकायले प्रदान गर्ने ऋण तथा अनुदान रोकिएको अवस्था छैन ।

कोभिड १९ पछि सुस्ताएको अर्थतन्त्र गतिशीलतातर्फ उन्मुख छ । रेमिटेन्सको आप्रवाहमा क्रमिक रूपमा सुधार हुँदैछ भने पर्यटन क्षेत्रको पुनरुत्थानसँगै आर्थिक गतिविधिमा सुधार आइरहेको छ । हामीकहाँ विदेशी मुद्रा सञ्चिती श्रीलंकाको तुलनामा धेरै नै छ । जुन ५/६ महिनाको आपूर्ति धान्न पर्याप्त छ ।

बजारमा महँगी बढेता पनि कुनै पनि वस्तु तथा सेवाको चरम अभाव देखिएको छैन र अबका केही महिनासम्म त्यस किसिमको गम्भीर समस्या आइाल्ने अवस्था पनि छैन । यो अवस्था भनेको सम्भावित आर्थिक संकट टार्नका लागि गर्नुपर्ने पूर्वतयारीका लागि प्राप्त महत्वपूर्ण अवसर पनि हो ।

अब हामीले मुलुकलाई श्रीलंकाकै बाटोमा जान दिनु हुँदैन । हामी सर्वसाधारणदेखि नीति निर्माण तहमा हुनेहरु बेलैमा सचेत हुने हो भने त्यो अवस्था आउँदैन, कहिल्यै आउन दिनु हुँदैन । अब प्रश्न उठ्न सक्छ के हुन सक्छ त विकल्प ?

विकल्प धेरै छन् । हाम्रो देशमा उपलब्ध श्रोतसाधनको उचित परिचालन गर्ने हो र हामी उत्पादनमा केन्द्रित हुने हो भने हामीसँग विकल्प धेरै छन् । मानवश्रोत, जमिन खनिज, जल सम्पदा, जंगल जडिबुटी आदि श्रोतसाधनमा हामी सम्पन्न छौं । मात्रै खाँचो छ उच्चतम परिचालन, सदुपयोग, उत्पादन र बजारीकरणको ।

अर्थतन्त्रमा सुधार ल्याउन हामीले उपरोक्त स्रोतसाधनको परिचालन मार्फत उत्पादित वस्तु तथा सेवाको स्वदेशमात्र नभई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नु आवश्यक छ । अन्तर्राष्ट्रियस्तरमा बजारीकरणका लागि नेपाल सरकारले अन्य मुलुकका सरकारसँग वार्ता गरी पहल थाल्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हामीले गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

अब हामी नागरिकस्तरबाट एउटा अभियान नै चलाऔं ‘विदेशी सामान छोडौं, नेपाली सामान रोजौं’

अब कुरा आउँछ, हामीले के के निर्यात गर्न सक्छौं त ? सन् २०१९ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रकाशन गरेको प्रोडक्ट्स फ्रम नेपाल पुस्तकमा उल्लेख भए अनुसार हस्तकलाका सामाग्री, कार्पेट, पस्मिना, जडिबुटीजन्य उत्पादन, अदुवा, चिया, कफी, फलफूल, तरकारी, जुत्ता, छालाजन्य उत्पादन, मह, तयारी चाउचाउ आदि उल्लेख गरिएको छ । तर यसबाहेक पनि डेरी उत्पादनहरु, कुखुराको मासु, अण्डा पनि निर्यात गर्न सक्छौं ।

सबैभन्दा महत्वपूर्ण र उच्च आय हुने भनेको विद्युत निर्यात गरेर हो । त्यसबाहेक नेपाली इन्जिनियरहरु अन्तर्राष्ट्रियस्तरका सफ्टवेयर उत्पादन गर्न सक्षम छन् त्यो पनि हामी निर्यात गर्न सक्छौं । हामीले सिमेन्ट निर्यात गर्न सक्छौं । हामीले काष्ठकला र फर्निचरका सामाग्री पनि निर्यात गर्न सक्छौं ।

हालसम्म अध्ययन र प्रयोग नै नभएको खनिजलाई हामी प्रयोगमा ल्याउन सक्छौं, खपत गर्न सक्छौं र निर्यात पनि गर्न सक्छौं । बायोफ्युल अर्थात् जैविक इन्धनको पनि नेपालमा उत्तिकै सम्भावना छ । जडिबुटीलाई प्रशोधन गरी विभिन्न औषधी उत्पादन गरि निर्यात गर्न सक्छौं ।

आयातित पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा हामीले अत्याधिक महँगीको सामना गर्नु परिरहेको छ । तसर्थ विद्युतीय सवारीसाधन, विद्युतीय चुल्हो र अन्य विद्युतीय सामानको प्रयोगमा जोड दिन सरकारले तदअनुसार कर छुट लगायतका सुविधा दिनुपर्छ । पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनलाई विद्युतीय इन्जिनमा रुपान्तरण गर्न आवश्यक पर्ने उद्योगको अध्ययन गरी स्थापनाका लागि पहल थाल्नुपर्छ ।

हामीले हाम्रो अर्थतन्त्र सुधार गर्न अपनाउन सक्ने उपायहरु धेरै छन् तर हामी समस्यामा मात्र बढी केन्द्रित भइरहेका छौं । समाधानका उपायमा ध्यान केन्द्रित गर्न सकिरहेका छैनौं । कृषि र ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि गरेर अन्तर्राष्ट्रियस्तरमा व्यापार प्रवद्र्धन गर्न मात्रै सक्ने हो भने पनि हामी आर्थिक रूपमा मजबुत स्थितिमा पुग्न सक्ने छौं ।

कोभिड १९ का कारण धारासायी भएको पर्यटन क्षेत्रको पुनरुत्थानका थप कार्यक्रमहरु, गैरआवसिय नेपाली एवं विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने कार्यक्रमहरु, रेमिट्यान्सलाई वैधानिकीकरण गर्न थप आकर्षक योजनाहरु, घरेलु उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु, मुलुकको हितमा हुने आर्थिक कुटनीति आदि त सम्बन्धित क्षेत्रका सरोकारवाला एवं विज्ञले सुझाउँदै आएकै उपायहरु हुन् ।

सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, वीर गोर्खालीको ईतिहास, संसारकै अग्ला हिमालहरु, नेपाली कला संस्कृति आदिले आकर्षण गर्ने पर्यटकलाई अब अन्तर्राष्ट्रियस्तरका भैरहवा र पोखरा विमानस्थलहरुले समेत स्वागत गर्न आतुर छन् ।

अनावश्यक खर्च, भ्रष्टाचार र अनियमितताप्रति जनआक्रोश बढ्दो छ । कृषिमा ठूला लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीहरुको आकर्षण बढ्नु अथतन्त्रमा अर्को सकारात्मक संकेत हो ।

‘हामी एकदुई जनाले गरेर मात्रै के हुन्छ र ?’ू भन्ने हाम्रो सोचले हामी पछाडि परेका हौं । हामीले बिहान उठेबाट बेलुका सुतेसम्म प्रयोग गर्ने सामान पाएसम्म नेपाली प्रयोग गर्ने बानी बसालौं त , जस्तो बिहान बाथरुममा प्रयोग हुने टुथपेस्ट, साबुन, तौलिया नेपाली पाइन्छ तर विदेशी प्रयोग गरिरहेका छौं भने त्यो विस्थापित गरौं । जुत्ता नेपाली ब्राण्डका लगाऔं । कपडा पाइएसम्म नेपाली लगाऔं । खानामा त प्रायः नेपाली परिकार नै हुन्छन् सकिन्छ भने ब्राण्डिङ र प्याकेजिङ गरेर विदेश पुर्‍याऔं ।

कार्यालयमा प्रयोग हुने कागज सम्भव भए नेपाली, पोसाक नेपाली, फर्निचर नेपाली, मसलन्द पाइएसम्म नेपाली प्रयोग गर्ने गरौं । विदेशी सामान के के विस्थापित गर्न सकिन्छ गरौं । दैनिक प्रयोग गर्ने करिब ४० देखि ५० प्रतिशत सामान विस्थापित गर्न सक्यौं भने पनि नेपाली उत्पादनको ठूलो हिस्साले नेपालमै बजार पाउँछ । यसले कुल ग्राहस्थ उत्पादन वृद्धिमा सघाउ पु¥याउँछ ।

अब हामी नागरिकस्तरबाट एउटा अभियान नै चलाऔं ‘विदेशी सामान छोडौं, नेपाली सामान रोजौं’ । अनि सरकारलाई पनि दबाब दिऔं कि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणलाई प्राथमिकता दिन सरकारले पनि हदैसम्म काम गरोस् ।

त्यसपछि विदेशमा नेपाली उत्पादन देख्यौं भने हामी विदेशमा भएका लाखौं नेपालीले पनि महँगो नै भए पनि नेपाली उत्पादन रोज्छौं । अनि गुणस्तरीय भएमा विदेशीहरुले पनि खोजीखोजी प्रयोग गर्छन् । तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय अपनाउनु पर्छ । आखिर जसरी हुन्छ हामीले हाम्रो देशको अर्थतन्त्र मजबुत बनाउनेतर्फ ध्यान दिनैपर्छ । श्रीलंका जस्तो कदापि बन्न दिनु हुँदैन । समस्या देखाउने मात्रै होइन, आ–आफ्नो ठाउँबाट समाधानको लागि भूमिका खेल्नैपर्छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width