“म” र मेरो पार्टी नेकपा”

डा. टुवराज शर्मा बाँस्तोला
भाद्र १२, २०७७

(क) “म”

वि.सं. २००० साल साउन २० गते बुधबारका दिन साढे चार बजे बेलुका जन्मेको मान्छे हूँ । मेरा पिताजी र मेरा पुर्खा जिजु बाजे र बराजु हुनुहुन्थ्यो– एक असल, अनुशासित, समाजसेवी र गुरु, पुरोहित, पण्डित परिवारका । उहाँहरु गुरु, पुरोहित पण्डित परिवारका सदस्य मात्र नभई एक उच्च कोटिका शास्त्रीय विद्वान् पनि हुनुहुन्थ्यो ।

यसको प्रमाण तत्कालीन राणा शासनको विगविगीमा, कुनै एक दिन, आजभन्दा करीब २०० वर्षभन्दा अगाडि हाम्रा जिजु बाजे–वराजु कुनै एकले औंसी तिथिको दिनमा आफ्नो सहयोगी श्रमिकलाई हलो जोत्न लगाएर (त्यति खेर औंसीको दिनमा गोरुद्वारा हलो जोत्न लगाउन नहुने चलन थियो) लगाएमा लगाउने व्यक्ति सरकारद्वारा कडा सजायको भागी हुनुपथ्र्याे । यस्तो कडा शासनको अवस्थामा हाम्रा विद्वान् वाजेले हलो जोत्न लगाउनु भयो । यसको परिणाम उहाँ सरकारद्वारा जेलनेल सहित काठमाडौँ बोलाइनु भयो, झिकाइनु भयो । उहाँलाई राणा प्रधानमन्त्रीद्वारा दरबारिया राजगुरु, राजपुरोहित समक्ष “औंसीको दिनमा गोरु जोत्न लगाउने” शास्त्रीय प्रमाणहरु पेश गर्न आदेश दिइयो ।

हाम्रा बाजेले शास्त्रीय धर्मशास्त्र, नीतिशास्त्र, ज्योतिष शास्त्र र विभिन्न शास्त्रका प्माणहरु पेश गर्नुभयो, जसको फलस्वरूप, प्रमाण स्वरूप राजपुरोहित, राजगुरुहरु र स्वयम् तत्कालीन प्रधानमन्त्री समेत खुसी हुनु भई हाम्रा बाजे, वराजुलाई पुरस्कार स्वरूप ८८ अठासी रोपनीको जग्गा प्रदान गर्नुभयो, जो वर्तमान समयमा पोखरा महानगरपालिका, वडा नं. १२, माटेपानीमा फूलबारीका बाहुनहरुको “विर्ता” जग्गा भनेर चिनिन्छ ।

स्वास्नी, लोग्ने, छोराछोरी, बाबु आमा भन्ने यी केही होइनन्, दुई दिनका पाहुना हुन्, वर–पिपलको चौतारीमा भेट भएका बटुवा साथी जस्तै हुन्, एक छिनपछि सबै आआफ्नो बाटो लाग्छन् । “आफ्नो पेट भरिने बाहेक अरू बढी जसले कमाउँछ, त्यो चोर हो, डाँका हो, ठग हो, त्यसलाई दण्ड दिनुपर्छ” भन्छन् हाम्रा पुराणहरु ।

यिनै शास्त्रीय विद्वान्को “म” खनाति डा. टुवराज शर्मा बाँस्तोला भनेर चिनिन्छु र धेरैले मलाई टुवराज गुरु भन्ने गर्दछन् ।

मलाई चिन्नेमा– नेता सोमनाथ अधिकारी “प्यासी”, नेता खगराज अधिकारी, तुलबहादुर गुरुङ, नेतृ सीता गिरि, प्रदेश सांसद कृष्ण थापा, प्रभा कोइराला, मीना गुरुङ, पोखरा मेयर मानबहादुर जी.सी., उपमेयर मञ्जु गुरुङ, सांसद चूडामणि जङ्गली, खेलकुद मन्त्री जगत् बहादुर वि.क., वर्तमान प्रतिनिधि सभा सदस्य, सांसद् विद्या भट्टराई र भू.पू. मन्त्री स्व. रवीन्द्र अधिकारीसँग त मेरो बाबुछोराको जस्तो अभिन्न एवम् घनिष्ठ सम्बन्ध थियो, जसले गर्दा उहाँ मलाई समानुपातिक सांसद, बनाई शिक्षामन्त्री अथवा संस्कृत विश्वविद्यलायको उपकुलपति अथवा पार्टीको केन्द्रीय समितिको सल्लाहकार, अथवा प्रज्ञा प्रतिष्ठानमा कुलपति वा प्राज्ञ, अथवा प्रधानमन्त्री अथवा राष्ट्रपतिको सल्लाहकारको लागि म प्रधानमन्त्रीज्यूसमक्ष प्रस्तावराख्छु भन्नुहुन्थ्यो । विचरा उहाँ स्वयम् त्यस्तो अकल्पनीय, अतुलनीय दैवी दुर्घटनामा परी यो जीवन लीला समाप्त गर्नुप¥यो, यो मेरो पनि दुर्भाग्य हो, रहेछ ।

वर्तमानमा उहाँकै धर्मपत्नी, जीवनसङ्गीनी प्रतिनिधि सभा सदस्य, सांसद विद्या भट्टराईजीलाई कास्की जिल्ला, क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य तथा सांसदमा अत्यधिक बहुमतले विजय गराई संविधान सभामा पठाएका छौँ । पठाउनेमा “म” पनि एउटा पर्छु भन्ने मलाई लाग्छ । उहाँ के भन्नुहुन्छ ? यो उहाँलाई नै सोध्दा थाह हुन्छ । यो वर्तमानको कुरा भयो ।

अब भूतकालतिर जाऔँ– पटक पटक, प्यासी (सोमनाथ अधिकारीजी) लाई, कमरेड तथा भू.पू. स्वास्थ्यमन्त्री खगराज अधिकारीजीलाई, भू.पू. मन्त्री तुलबहादुर गुरुङलाई, भू.पू. संस्कृति तथा पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीलाई पटक पटक मतदान दिई विजयी गराएकै हो ।

यसरी पार्टी र पार्टीका उम्मेदवारहरूलाई सहयोग गरी विजयी गराएर पठाएकै हो, मन्त्री बन्ने मौका पनि दिलाएकै हो । यसरी पार्टी र पार्टीका उम्मेदवारहरूलाई सहयोग गर्दा पनि आजसम्म कुनै नेता, उम्मेदवारहरूसँग पैसा मागेर, खाएर, कुनै पद लिएर हिडिएको छैन, खाने मनसाय राखिएको पनि छैन । देशको सेवा, जनताको सेवा गर्नुपर्छ, गर्छु भनेरै आज ७८ अठहत्तर वर्षको भइयो जन्मले, नागरिकताले ७४ वर्षको भइयो । पार्टी सदस्यता– वि.सं. २०१९ साल भदौ ४ गते लिइएको हो । यस हिसाबले अहिले “म” पार्टी सदस्य भएको पनि ५८ अन्ठाउन्न वर्ष भयो ।

सङ्क्षिप्तमा मेरो परिचय दिनु पर्दा–

१. जन्म : वि.सं. २००० दुई हजार साल श्रावण २० गते,

२. नागरिकता : वि.सं. २००४।०५

३. जन्म स्थान : फूलबारी, पोखरा–११, पोखरा महानगरपालिका, कास्की, गण्डकी प्रदेश ।

४. शिक्षा :

संस्कृत साहित्यमा आचार्य, वाराणसेय संस्कृत विश्वविद्यालय, वाराणसी, काशी, भारत ।
एम्.ए. संस्कृत, नेपाली, त्रि.वि.वि., नेपाल ।
पी.एच्.डी. सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, भारत ।
डी.लिट्. सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, भारत ।

५. सेवा : प्राध्यापन, शिक्षण, ३३ वर्ष, हाल निवृत्त

६. संस्थागत सेवा :

क) शिवशक्ति क्याम्पस, संस्थापक अध्यक्ष
ख) शिवशक्ति मा.वि. संस्थापक अध्यक्ष
ग) संस्थापक अध्यक्ष  : आदिकवि भानुभक्त आचार्य साहित्य प्रतिष्ठान, पोखरा ।
घ) संयोजक : कवि शिरोमणि लेखनाथ विकास समिति
ङ) सल्लाहकार : लेखनाथ साहित्य प्रतिष्ठान, पोखरा
च) सल्लाहकार : ज्येष्ठ कम्युनिस्ट मञ्च, कास्की, २०६५
छ) अध्यक्ष : वैदिक ब्रह्म समाज, नेपाल
ज) सल्लाहकार : ब्राह्मण समाज, नेपाल
झ) केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको सल्लाहकारमा मनोनितको लागि सिफारिस गरी नाम पठाइएको छ भन्ने कुरा नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले भनेको कुरा मेरा कानले सुनेको छु ।
ञ) सम्मान र पुरस्कार
वि.सं. २०२५ साल फाल्गुण ७ गते श्री ५ महेन्द्रवीर विक्रम शाहदेवद्वारा “महेन्द्र विदा भूषण” स्वर्ण पदकद्वारा विभूषित तथा सम्मानित ।
वि.सं. २०६७ सालमा गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा “क” श्रेणीको “विद्याभूषण” स्वर्ण पदकद्वारा विभूषित तथा सम्मानित
वि.सं. २०६५ सालमा शिक्षामन्त्री शङ्कर पोखरेलद्वारा “ज्येष्ठ कम्युनिस्ट मञ्च” को सल्लाहकार भएकोमा सम्मानित
२०६६ सालमा शिक्षामन्त्री प्रदीप नेपालद्वारा शिक्षण सेवामा उत्कृष्ट सेवा गरे बापत “शिक्षा पुरस्कार” द्वारा सम्मानित तथा पुरस्कृत
यस्तै धेरै संस्थाद्वारा सम्मानित तथा पुरस्कृत हुँदै आइएको छ ।

७. अन्तिममा मेरो इच्छा: राष्ट्रपतिको अथवा प्रधानमन्त्रीको सल्लाहकार बन्ने अथवा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति बन्ने अथवा नेकपा पार्टी केन्द्रीय समितिको सल्लाहकार बन्नेछ ।

(ख) मेरो पार्टी “नेकपा”

वि.सं. २००६ सालमा कमरेड पुष्पलाल श्रेष्ठद्वारा संस्थापित “नेपाल कम्युनिस्ट पार्टी” विभिन्न आरोह–अवरोह पार गर्दै, चिरा–चिरा हुँदै, माक्र्सवाद, लेनिनवाद, माले, एमाले, झालेमाले, माओवाद हुँदै आज नेकपामा परिणत भएको छ, रुपान्तरित भएको छ, जनतामा शान्ति र खुसी ल्याएको छ, हर्ष विभोर भई जनताले झण्डै दुई तिहाई मत दिई अत्यधिक बहुमतको सरकार बनाउने बाटो खुला गरेको छ र सरकार बनेको छ । सरकार प्रमुख प्रधानमन्त्री के.पी. ओली र राष्ट्रपति विद्या भण्डारी बन्नु भएको छ, जो धन्यवादका पात्र पनि हुनुभएको छ । जसले गर्दा “नेकपा पार्टी” पनि गौरवान्वित बनेको छ भने हामी सम्पूर्ण कम्युनिस्ट पार्टीका सदस्यहरु पनि गौरवान्वित भएको महसुस गरिरहेका छौँ भन्ने यस्तो मलाई लाग्छ ।

यो पार्टीलाई यस्तो बनाउन र यहाँसम्म ल्याउन जजसको योगदान रह्यो, उहाँहरु सबैप्रति म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । यसको लागि सर्वप्रथम कमरेड पुष्पलालदेखि लिएर मनमोहन अधिकारी, मदन भण्डारी, के.पी. ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, पुष्पकमल दाहाल “प्रचण्ड”, बाबुराम भट्टराई, सी.पी. मैनाली, आर.के. मैनाली, विद्या भण्डारी, ईश्वर पोखरेल, विष्णु पौडेल, विद्या भण्डारी, मदन भण्डारी, जीवराज आश्रित, नारायणकाजी श्रेष्ठ आदिको योगदान प्रशंसनीय र अनुकरणीय रहेको छ । यसको लागि उहाँहरु सबैलाई धन्यवाद दिनै पर्छ । जस जसले गर्दा पार्टीले बहुमत ल्यायो, सरकार बनायो, सीमा नक्साङ्कन ग¥यो, भारतसँग र चीनसँग राम्रो सम्बन्ध जोड्ने प्रयास गर्‍यो, गर्दैछ, विश्वका अन्य राष्ट्रका सामु नेपालको छवि अगाडि बढाउँदै छ । भूकम्प, बाढी, पहिरो, कोरोना, सलह, डेंगु आदि दैवी र प्राकृतिक प्रकोपसँग लड्दै र भिड्दै रोग र भोकको समस्या हल गर्दै समय–समयमा फकाउने र निहूँ खोज्ने भारतीयहरुको हेपाहा र मिचाह बानीसँग पनि लड्दै र भिड्दै आफ्नो देश र सीमा सुरक्षामा आफ्नो बल र बुताले भ्याएसम्म पछि नहटी डटेर आफ्नो साहस र बहादुरी देखाउने र आफ्नो राष्ट्रवाद, राष्ट्रभक्ति प्रदर्शन गर्ने चतुर र साहसी प्रधानमन्त्री र सहयोगी बहादुर सेना र सुरक्षाकर्मी एवम् प्रमुख सल्लाहकार तथा मन्त्रीगण, सहयोगी मित्रहरु प्रचण्डजी, झलनाथजी, माधवजी, वामदेवजी, बाबुरामजी, ईश्वरजी, विष्णुजी आदि सबैले मिलेर काम गर्नुहोला । सल्लाह र कुरो मिले ठीकै छ, नत्र पदको बाँडफाँड गरेर भए पनि एउटाले सरकार, एउटाले पार्टी चलाएर भए पनि शानले र मानले सरकार र पार्टी चलाउनु पर्छ, भूत, वर्तमान र भविष्य सोचेर काम गर्नुपर्छ । जसरी पनि पार्टी र सरकार राम्रोसँग चलाउनु पर्छ । यसमा भागवण्डा, गूटबन्दी, गुण्डागर्दी, तेरो, मेरो, हाम्रो, राम्रो, तेरो नराम्रो नभनी सत्य र तथ्यमा आधारित, सेवा र योग्यता, क्षमता र विद्वत्ता हेरी कार्य र पदको जिम्मेवारी बाँडफाँड गर्नुपर्छ । उमेर र सेवा अवधि पनि गणना गरिनु पर्छ । अनि मात्र सबैको चित्त बुझ्छ । कुरा सबैको, सबैले सुन्नु र बुझ्नुपर्छ । त्यही अनुसार गरेमा सबैले सबैको कुरा बुझी चित्त बुझाउने कुरा हुन्छ ।

अन्यथा यो तेरो, यो मेरो भन्ने र गूट, उपगूट बनाउने, निहूँ खोज्ने, राम्रो काम गरे पनि नराम्रो ठान्ने, मान्ने हुन्छ । यो मानवीय प्रकृति हो, स्वभाव हो । यो स्वभाव देव, दानव, मानव, पशु, पक्षी, कीट, पतङ्ग, भूत, वर्तमान, भविष्य, सत्य, त्रेता, द्वापर र कलि युग, यो देश, ऊ देश नभई यो विश्वव्यापी महामारी, महाप्रलय ल्याउने र विश्व नै ध्वस्त पार्ने र अर्काे नयाँ सृष्टि गर्ने प्राकृतिक ईश्वरीय खेल हो, संरचना हो, लीला हो । यो कुरा तपाई, हामी सबैले बुझ्नुपर्छ । तपाईहरू धर्मशास्त्रका, नीतिशास्त्रका, गीताका, पुराणहरुका, अर्थशास्त्रका (कौटिल्यका) मुख्य मुख्य कुराहरू पढ्नुहोस्, वेदका मन्त्रहरु हेर्नुहोस्, सुन्नुहोस् त कस्ता मर्मस्पर्शी, हृदयस्पर्शी, आनन्ददायी, शान्तिदायी, परोपकारी, निःस्वार्थी, “धन भन्ने केही होइन, मन जित्न सक्नुपर्छ”, तेरो मेरो भन्ने केही छैन, सबै छाडेर जानु पर्छ” स्वास्नी, लोग्ने, छोराछोरी, बाबु आमा भन्ने यी केही होइनन्, दुई दिनका पाहुना हुन्, वर–पिपलको चौतारीमा भेट भएका बटुवा साथी जस्तै हुन्, एक छिनपछि सबै आआफ्नो बाटो लाग्छन् । “आफ्नो पेट भरिने बाहेक अरू बढी जसले कमाउँछ, त्यो चोर हो, डाँका हो, ठग हो, त्यसलाई दण्ड दिनुपर्छ” भन्छन् हाम्रा पुराणहरु ।

“संसार परिवर्तनशील छ, परिवर्तन भइनै रहन्छ । यो प्राकृतिक नियम हो” भन्छ– हाम्रो भविष्य पुराण । “संसारमा शान्ति होस् जताततै” “सबैको कल्याण होस्” सबै सुखी रहून्, दुःखी कोही नरहोस्” भन्छन् हाम्रा वेदहरु इत्यादि । वेद, पुराणहरु, धर्मशास्त्र, गीता, रामायण, महाभारत, उपनिषद, दर्शन आदि शास्त्रले “सत्कर्म निःस्वार्थ भावले गर, दुष्कर्म कहिल्यै नगर, मान्यजनको आदर र सम्मान गर, घमण्ड कहिल्यै नगर, यसले तिमीलाई नै खान्छ”, तिमी आफूलाई ज्ञानी र ध्यानी मान्छौ भने विनयशील, आज्ञाकारी, परोपकारी र क्षमाप्रार्थी बन” । यो हो सम्पूर्ण शास्त्रको सार । अब म तपाईहरूको प्राकृतिक स्वभाव र स्वभावको छोटो परिचय दिन चाहन्छु ।

  • राष्ट्रपति विद्या देवी भण्डारी: सीधा साधा, भद्रभलादमी, सज्जन, महालक्ष्मी र महासरस्वतीको प्रतिमूर्ति जस्ती, गम्भीर मुद्रा, शोकमग्न, चिन्ताग्रस्त, आकूल व्याकूल भए जस्तो अनुहार, अब मलाई के चाहियो र ? पतिदेव नै गुमाएपछि भनेर टोलाए जस्ती ।
  • प्रधानमन्त्री के.पी. ओली: टाठोबाठो, फूर्तिफार्तीको, चतुर, चङ्खे, नीडर, मौका छोपेर काम गर्न र बोल्न सक्ने बोलक्कड, स्वाभिमानी, राष्ट्रप्रेमी र जनसेवी, पक्षी र विपक्षीलाई आफ्नो काबूमा राख्न सक्ने, स्व्देशी र विदेशीलाई समेत हो हो भन्ने पारेर आफ्नो समर्थनमा ल्याउन सक्ने चतुर नेता । उखान, टुक्का भनेर भए पनि आफ्नो भनाइलाई प्रभावकारी ढङ्गले पुष्ट्याउन सक्ने खुबी भएका नेता ।
  • पुष्पकमल दाहाल (प्रचण्ड): साहसी, मिलनसार, चतुर, राजनैतिक समसामयिक विश्लेषक, भावुक हृदय भएका, शत्रु–मित्र, पक्षी, विपक्षी, कठोर, कोमल जस्तोसुकै व्यक्तिसँग पनि मिलेर हाँस्न, रुन सक्ने, अगिपछि पनि सर्न सक्ने, गल्तीमा क्षमा याचना गर्न र शक्तिमा हाँक्न पनि सक्ने राजनैतिक गुण भएका चतुर नेता ।
  • झलनाथ खनाल:भद्रभलादमी, हँसमुखा, मीठो बोल्ने, झट्टै नरिसाउने, अरूले जे भने पनि आफूले झट्ट केही नबोल्ने, बरु हाँसेर बस्ने, कसैले केही भनिहाल्यो भने पनि केहीबेरपछि (वातावरण शान्त भएपछि) मात्र हाँसी–हाँसी त्यस विषयलाई कोट्याउने, गिज्याउने र शान्त पार्ने स्वभावका ।
  • माधव नेपाल: अरू नेताभन्दा भिन्नै स्वभावका, अलि गम्भरि प्रकृतिका, कूटनैतिक खालका, मुखभन्दा आत्माबाट धेरै बोल्ने, भित्र के छ ? के छ ? झट्टै बुझ्न गाह्रो, बुझेपछि मात्र ढुक्कसँग बोल्न सकिने, एक्लै आफू बोल्न नसक्ने, ठूलो साथी पाएपछि मात्र बोल्न कसिने, मौका पाए जसो पनि गर्न तम्सिने, विगार्न भने कसैलाई केही नबिगार्ने, सचेत भने गराउने ।
  • बामदेव गौतम : हकी स्वभावका, आँटिला, आँटेपछि गरिछाड्ने, पछि नहट्ने, आँटेको काम पूरा गरि छाड्ने, बोलेपछि बोल्यो–बोल्यो, जे परोस्, जस्तो परोस्,भनेर काम गरिहाल्ने, गरिछाड्ने, गल्ती भए गल्ती पनि स्वीकार्ने र माफी पनि माग्ने एउटा असल नेतामा हुनुपर्ने स्वभाव र गुण भएका मान्छे । अरूलाई धेरै सहयोग गर्ने तर आफूले अरूसँग कम सहयोग माग्ने नेता ।

सङ्क्षिप्त सार:

विशेष अनुरोध : तपाईहरू मिल्नुको विकल्प छैन । कुनै हालतमा फुट्न हुँदैन । बरु एक पद, एक व्यक्ति गर्नु धेरै राम्रो, देश र जनता तथा पार्टी र पार्टी कार्यकर्तालाई हुनेछ अन्यथा “लथालिङ्ग, देशको भताभुङ्ग चाला, देश र जनता, पार्टीका कार्यकर्ता कहाँ जाला ? के खाला ?” भन्ने अवस्थाको सिर्जना हुन जाला । कसै चित्त बुझ्दैन भने– राष्ट्रपति, प्रधानमन्त्री अध्यक्षको पछि को बन्ने भन्ने बारेमा समय तालिका बनाउने र सबैले सही गरेर राख्ने, त्यसले पनि नभए अहिले नै गोला राख्ने र टुङ्गो लगाउने । अस्तु ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width