सहिद र राष्ट्रिय विभूतिप्रति सम्मानः राष्ट्रिय स्वाभिमान

शिवप्रसाद गौतम
माघ १६, २०७८

देशमा प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, यस्तै देश र जनताको हितमा विविध कार्य गर्ने नीति, राज्यको शासन व्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली, राज्य र प्रशासनसँग सम्बन्धित सामाजिक शास्त्र राजनीति हो । राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने, राजनीति शास्त्रका ज्ञाता, राजनीति बुझेको, कूटनीति जानेको व्यक्ति राजनीतिज्ञ हो । व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको हितमा कार्य गर्ने व्यक्ति शासक वास्तविक रूपमा राजनीतिज्ञ हुन् । राजालाई नै राजनीतिको मियो मान्ने नेपाली परम्परा अनुसार वडामहाराजाधिराज पृथ्वीनारायण शाहले वि.सं. १८२५ आश्विन २५ गते आफ्नो नेतृत्वमा काठमाडौंमा विजय हासिल गरेकै दिन नेपाल राष्ट्र निर्माण गरेको घोषणा गरेका थिए । उनले आफ्ना दिव्य उपदेशमा नेपाल ४ जात ३६ वर्णको फूलबारी हो भनी घोषणा गरेको २५३ वर्ष पुगिसकेको छ । राष्ट्र निर्माताले आफ्नो दिव्योपदेशमा नेपाललाई टाप्रेघारी, वनमाराघारी, होइन फूलबारी भनेर घोषणा गर्नु भएको छ तर अहिले आएर नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको अखडा बनाइरहेका छन् । देश र जनताको हितका लागि मन, वचन र कर्मले काम गर्ने व्यक्ति सच्चा राष्ट्रसेवक हुन् सहिद हुन् ।
राष्ट्रको गौरव बढाउन आआफ्ना क्षेत्रबाट विशिष्ट योगदान दिने महापुरुष नेपालका राष्ट्रिय विभूति हुन् । राजा जनक, सीता, अरनिको, अंशुवर्मा, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, बलभद्र कुँवर, भानुभक्त, मोतीराम, श्री ५ त्रिभुवन आदि राष्ट्रिय विभूति हुन् । राष्ट्रिय विभूतिहरुले राष्ट्रलाई जुन योगदान दिए त्यो नेपालको इतिहासमा अविस्मरणीय रूपमा रहेको छ ।
सन्दर्भ सहिद दिवसको छ । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा राष्ट्रिय राजनीतिमा स्वतन्त्रता प्राप्तिका निम्ति आफ्नो व्यक्तिगत तथा परिवार आफन्तजनको स्वार्थ त्यागेर अन्याय, अत्याचार भ्रष्टाचार निर्मुल पार्नका लागि बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन् । सहिदहरुको सम्झना गर्दै उहाँहरूप्रति श्रद्धा भक्ति पूर्वक श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन माघ १६ गते सहिद दिवस हो । सहिदहरुको अमर सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहव्यापी कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने एक साता सहिद सप्ताह हो । सहिदको अमरत्वको सम्झनामा स्थापित वा निर्मित चिन्ह सालिक, कुञ्ज, द्वार आदि जस्तै सहिद मैदान, सहिद द्वार वा गेट आदि सहिद स्मारक हुन् । दुखका साथ भन्नुपर्छ अहिले सहिदहरुको अपमान भएको छ । पोखराको पृथ्वीचोकमा निर्मित नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक तोडेर लखन थापाको सालिक राखिएको छ । पृथ्वीनारायणको सालिक तोडेर त्यही ठाउँमा लखन थापाको सालिक राख्नुपर्ने आवश्यकता थिएन । लखन थापा सहिद हुन् उनको पनि सम्मान हुनुपर्छ । उनको सालिक अर्काे ठाउँमा राख्न सकिन्छ । अहिले पृथ्वीचोकमा लखन थापाको सालिक राखेर लखन चोक नाम राखे पनि जनजिब्रोले नाम लिँदा पृथ्वीचोक नै भन्दछन् खै त लखन चोक भनिएको ? यो कार्य जसजसबाट भयो उनीहरुबाट लखन थापाको अपमान भएको छ । चोकमा लखन थापाको सालिक छ तर जनजिब्रोमा पृथ्वीचोक छ । वास्तविक इतिहास कसैले मेटेर मेट्न सकिँदैन । पृथ्वीनारायण शाह नेपालका राष्ट्रिय विभूति हुन् । लखन थापा पहिलो सहिद हुन् भनी सबै नेपालीले मानिआएको कुरा हो । यदि कसैले म राष्ट्रभक्त नेपाली हुँ भनेर गर्भ गर्छ भने उसले राष्ट्रिय विभूति र सहिदहरुप्रति अपमान होइन उनीहरुहरुले देश र जनताप्रति गरेको योगदानको कदर गर्दै आफूले पनि तदनुरूप कार्य गर्नु राष्ट्रिय विभूति र सहिदहरूप्रतिको वास्तविक सम्मान र श्रद्धाञ्जली अर्पण हो । राष्ट्रिय विभूति र सहिदको अपमान गर्नेहरू राष्ट्रद्रोही हुन् ।
वि.सं. १९९७ मंसिर २ गते सिंहदरबारको पुतली बैठकमा राणा प्रधानमन्त्री राजा त्रिभुवनलाई खडा गराए । १९ जनवरी १९४१ ई. मा विशेष अदालतले राजा त्रिभुवनको उपस्थितिमा देशद्रोह र राजद्रोहको अभियोग लगाई नागरिक अधिकार समितिका संस्थापक शुक्रराज जोशीलगायत प्रजा परिषद्का धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई अंश सर्वस्वसहित मृत्युदण्डको सजाय सुनाए, जसअन्तर्गत शुक्रराज शास्त्रीलाई पचलीमा झुण्ड्याइयो, धर्मभक्तलाई सिफलमा र दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी मारियो ।
टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद, गणेशमान सिंह, हरिकृष्ण, गोविन्दप्रसाद, पुष्करनाथ र बलबहादुर पाण्डेलाई अंश सर्वस्वसहित जन्म कैदको सजाय गरे भने केहीलाई ६ वर्ष देखि १८ वर्षसम्मको कैदको सजायँ सुनाइयो । केही ब्राह्मणहरुलाई ४ पाटा मुडेर जातिच्युत गरे । ३२ जना जरिवाना तिरी छुटे भने १८ जनालाई सजाय गरिएन । २० जुलाई १९४४ ई. मा गणेशमान सिंह जेलको पर्खाल नाघेर भाग्न सफल भएका थिए । वि.सं. १९९७ माघ १० देखि १६ सम्म ७ दिनको बीचमा राणाहरुले देशभक्त नागरिकलाई सर्वस्वसहित अंश हरण र मृत्युदण्ड दिएको घटनालाई सहिद सप्ताहाको रूपमा मनाइँदै आइएको हो । तर वर्तमानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन बनेपछि पनि सहिदको सम्मान हुन छाडेको छ । यो अत्यन्त दुखद परम्परा हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले सहिदको अपमान गरेको छ । अहिले जनमतको पूर्ण अपहेलना भएको छ

शासन व्यवस्था, परिस्थिति, नियम अनुशासन आदि नमिलेको अवस्था, शान्ति र सुखमय व्यवस्था नभएको शासन अव्यवस्था र अराजकता हो । अहिले मुलुकमा यस्तै परिस्थिति छ । राज्यहीन शासन व्यवस्था मान्ने मत विनाशबाट समाज चल्छ भन्ने एक किसिमको सिद्धान्त अराजकवाद हो । अराजकवादका अनुयायी, अराजकतावादका समर्थकहरु अराजकवादी हुन् । राष्ट्रको हत्यारो, राष्ट्रघातक राष्ट्रघाती हो भने राष्ट्रको ठूलो हानि हुने काम गर्ने राष्ट्रघातक हुन् । आफ्नो राष्ट्रको उन्नति र विकासलाई सर्वाेपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति भाव र व्यवहार राष्ट्रवाद हो । राष्ट्रवादको मन मान्ने, राष्ट्रवादसित सम्बन्ध भएका व्यक्तिहरु राष्ट्रवादी हुन् । अहिले मुलुकमा राष्ट्रवादी शासकहरुको अभावको अवस्था छ । जसले गर्दा देश र देशवासीहरु रोइरहेको अवस्था छ । राष्ट्रमा सार्वजनिक उत्तरदायित्व बहन गर्ने पद प्रतिष्ठामा रहेका व्यक्तिहरु, सरकार वा कुनै संगठित संस्थाप्रति लिइएको सपथ वा सर्त कबुल वा सम्झौताअनुसार प्राप्त भएको नियुक्ति, मनोनयन वा निर्वाचन हुने कुनै लाभको पदधारण गरेका वा सो पदमा बहाल रहेसम्मका अवस्थाका व्यक्तिबाट निभाउनुपर्ने राष्ट्र सेवकको उत्तरदायित्व राष्ट्रिय विभूति र सहिदहरुले निभाएझै ंअहिलेका शासक र प्रशासकले निभाएको अवस्था छैन । यस्तै कारणहरुले नेपालमा पटक पटक जनआन्दोलन गरेर जनताले शासन प्रणाली परिवर्तन गर्दै आएका छन् ।
भनिन्छ, वि.सं. २००७ सालको क्रान्तिले एउटा राजनीतिक अन्धकारको युग नै समाप्त भयो । नेपाली जनजीवनका हरेक पक्षमा नयाँ मोड ल्यायो । राणाहरुको १०४ वर्षको निरंकुश शासन ढल्यो । जनताका हितका लागि जनताले नै छानेका प्रतिनिधिहरुबाट शासन चल्ने प्रजातान्त्रिक शासन पद्धतिका लागि वातावरण मिल्यो । ‘जनता नै शासन व्यवस्थाको मेरुदण्ड हो’ भन्ने सिद्धान्तअनुसार जनताको विश्वास प्राप्त व्यक्ति मात्र प्रधानमन्त्री हुनसक्ने र जनआवाजविरुद्ध कोही पनि जान नसक्ने साथै जनइच्छा अनुसार बनेको कानुनका अधिनमा सबै हुने हुकुमी शासनविरुद्ध कानुनी शासन स्थापना हुने भयो । वर्तमानमा आएर यो झुट सिद्ध भएको छ ।
राजाको समेत सबै अधिकार खोसेर हुकुमी शासन चलाइरहेका राणाहरुले जनतालाई राजनीतिक सहभागिताबाट बञ्चित गरे । जनताको कदर गरेनन् । जनचाहनाअनुसार शासन चलाएनन् । निरंकुश शासन चलाए । आफ्ना विरोधीहरुलाई सधैं दमनमात्र गरे । विरोधीहरुको कुरा सुन्ने उनीहरुको सुझाव लिने कार्य गरेनन् । देशको राजनीतिबाट अलग्याएर जति सुकै दमन गरिएको भए तापनि जनताले यस्तो अराजकताको शासनविरुद्ध आवाज उठाइनै रहे । वि.सं. १९९७ माघमा गंगालाल, दरशथ चन्द, धर्मभक्त र शुक्रराजलाई प्राणदण्ड दिइनाले जनतामा आक्रोश फैलियो । जनतामा राजनीतिक चेतनाको लहर फैलियो । २००७ सालमा प्रजातन्त्र आयो । ९ वर्ष ९ महिना २४ दिनपछि शासन व्यवस्था फेरियो । पञ्चायती व्यवस्था आयो । यसलाई निरंकुश व्यवस्था मानियो । २०४६ सालको जनआन्दोलनले ३० वर्षे शासन ढल्यो । संसदीय प्रजातन्त्र आयो । १ ६ वर्षसम्म विभिन्न राजनीतिक उतारचढाब भयो । २०६२÷०६३ को आन्दोलनपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । यो समयमा माओवादी १० वर्षे जनयुद्धको मार देश र जनताले सहन प¥यो । यो समयमा १७ हजार नेपाली जनताले सहादत प्राप्त गरे । यसपछि सहिदहरुको अवमूल्यन भयो । प्रत्येक राजनीतिक दलले आफ्ना दलका राजनीतिक कार्यकर्तालाई राजनीतीकरण नभई अन्य कारणबाट मृत्यु भए पनि सहिद घोषणा गरे । यही आएर सहिदहरुको ठूलो अपमान भएको छ । राष्ट्रिय विभूति र सहिदहरुको सम्मान गर्ने परम्पराको अन्त्य भएकोले देशमा नानाप्रकारका संकटहरु आइपरेका छन् । सहिद दिवसलाई राष्ट्रिय पर्वको रूपमा विभिन्न कार्यक्रम राखेर सरकारी बिदा गरेर राष्ट्रिय सम्मान स्वरूप मनाउने परम्परा थियो । डा. बाबुराम भट्टराईको प्रधानामन्त्रीत्वकालदेखि सहिद दिवस सार्वजनिक बिदा गरेर मनाउने चलनको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले सहिदको अपमान गरेको छ । अहिले जनमतको पूर्ण अपहेलना भएको छ । जनताले मत दिएर ५ वर्षका लागि गठन गरेको संसद देशको शासन सञ्चालन गर्ने ऐन बनाउनुपर्नेमा नबनाई अर्थात् कामै नगरी हाजिर जनाएर भत्ता खाएका छन् । भन्दा सार्वभौम सत्ता जनतामा भनेर भाषण ठोकिन्छ तर जनतालाई सुविधा दिने कुरामा मुठी बाँधिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागु भए पनि राष्ट्रिय विभूति र सहिदको अपमान भएको छ । देश र जनतालाई धुरुधुरु रुवाइएको छ । अस्तु । सन्दर्भ सहिद दिवस २०७८

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग