नमस्कार संस्कृति र सभ्यता

भोला शर्मा
असाेज १४, २०७७

नेपालका केही नमस्कारभोगीहरु अधिनस्थले नमस्कार गर्न बिर्संदा त्यस दिन ठुस्सिने तर सम्मानपूर्वक नमस्कार गर्दा एकहातले फर्काउने गर्दछन् । यसबाट नमस्कार गर्ने मानिसमा जोश जाँगर पनि हराउँछ र भोलिदेखि गर्ने नमस्कारमा गिरावट आउँछ । आफ्नो श्रद्धाप्रति अपमान भएको महशुस हुन्छ । यो शाारीरिक, मानसिक, नैतिक आध्यात्मिक र भावनात्मक कुनै पनि दृष्टिकोणले राम्रो होइन जसबाट मानिस बिना मूल्यमा पनि अमूल्य आध्यात्मिक लाभ लिनबाट बञ्चित हुन्छ ।

घर, कार्यालय, बैठक, सेमिनार, भेटघाट, पत्राचार, टेलिफोन, इ–मेललगायतका कार्यक्रममा प्रयोग गरिने पहिलो स्वागतजन्य सम्मानजनक शुभ शब्द हो–नमस्कार । नमस्कार जस्तो पवित्र शब्दको उत्पत्ति संस्कृत भाषाको नमस शब्दबाट भएको हो जसको अर्थ एक आत्मबाट अर्को आत्मलाई शिर झुकाएर, हात जाडेर वा हात उठाएर आभार प्रकट गनुरहेको छ । नमस्कार एउटा सम्मानजनक पवित्र अभिवादन हो जो आँफूले मान्नु पर्ने ठूलाबडा व्यक्तिहरुलाई आदरपूर्वक गरिन्छ । यो जो कसैलाई शिर झुकाएर, हात जोडेर वा हात उठाएर आँफूतर्फ ध्यानाकृष्ट गराइन्छ । नमस्कारमा निकै सुन्दरता छ, आकर्षण छ, शक्ति छ, ऊर्जा छ । यो मानिसलाई मात्र होइन ३३ कोटी देवी देवतालाई पनि गरिन्छ । नमस्कारले दुवै व्यक्ति बीचको नकारात्मक ऊर्जा कम हुने भनेर विभिन्न शास्त्रमा पनि उल्लेख गरिएको छ । नमस्कार गर्दा दुई हातको चक्र मिलाएर राखिन्छ र आँखा हल्का बन्द गरी शिर झुकाइन्छ । यसप्रकारको माध्यमबाट अभिवादन गर्ने संस्कारले एकले अर्को व्यक्तिलाई नछोइकन परस्पर रुपमा एक किसिमको ऊर्जा प्राप्त गर्दछन् । राजा त्रिभुवनले शिष्टाचारका लागि गरिने सलामको सट्टा “नमस्कार” गर्ने चलन चलाएका थिए । त्यस अघिसम्म सर्वसाधारणलेसमेत शिष्टाचार प्रकट गर्दा सैनिकले जस्तै गरी सलाम गर्नु पर्ने प्रचलन थियो ।

विविधतायुक्त नेपालमा १० धर्मावलम्बी, १२५ जातजाति र त्यसै अनुरुपका संस्कृति छन् । नमस्कार, नमन, सेवारो, तारेमाम, झेर्ले, राधेराधे, दर्शन, ज्यू, नारायणम, कृष्ण कृष्ण, जयशिवशंकर, हरि–हरि, जय श्री मुक्तिनाथ इत्यादि धार्मिक, भाषागत र समुदायगत शब्दको पृथकताबाट एक आपसमा नमस्काररुपी अभिवादन गर्ने गरिएको छ । यो एउटा शुभ संस्कार, संस्कृति र सभ्यताको मानक हो । मानवीय मर्यादा र प्रतिष्ठाको संकेत हो । नमस्कार हेर्दा सामान्य शब्द भएपनि यसमा भयंकर शक्ति छ । यसमा यस्तो भावनात्मक शक्ति हुन्छ जसले रिस राग र आवेगलाई भोगाइ, सहानुभूति र परानुभूतिको कोमल भावनासहित माया, ममता र विश्वास जगाउँछ । मानिसलाई शान्त, स्वस्थ, मायालु, अनुशासित, सभ्य, शालीन र संस्कारी बनाउन मद्दत गर्दछ । त्यसैले प्रत्येक घरका नानीबाबुहरुलाई हुर्कन नपाउँदै ज्यू गर अर्थात नमस्ते गर भनेर सिकाइन्छ । यो बाल नैतिक शिक्षाको संकेत पनि हो । बच्चाले पनि छिट्टै सिक्दछ यो शुभ संस्कार । नमस्कार जति पटक ग–यो उति पटक शारीरिक र मानसिक व्यायाम हुन गई शरीरमा एक किसिमको ऊर्जा प्राप्त हुन्छ । तत्पश्चात मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुँदै जान्छ ।

नमस्कारलाई शान्तिको प्रतिक मात्र होइन कहीं कतै काम पट्याउने माध्यम पनि हो भनेर चाकरीबाजी शब्दको रुपमा अथ्र्याउने गरेको पाइन्छ । कसैले ठूलो मान्छेलाई दश औंला जोरेर शिर झुकाएर नमस्कार गर्दा यसले के काम लिन खोज्यो भनेर गिज्याइन्छ । कसैले अज्ञात मान्छे, सामान्य मान्छे र जुनियरलाई नमस्कार गर्दा पनि शंकाको दृष्टिकोणले हेर्ने गर्दछन् । तर यो सुक्ष्म मानवता अर्थात साँघुरो मानसिकता हो । समझदार र इमान्दार मान्छेले त्यस्तो सोच्दैन, कसैले सोच्नु पनि हुँदैन । किनकि यसमा लचकता छ र यो जो कोहीलाई पनि गर्न सकिन्छ । आफ्नो शिष्टाचारमैत्री अभिप्सा पूरा गर्न यो मानवीय सम्मान सबैका लागि सधैं निःशुल्क उपलब्ध छ ।

सप्तरङ्गी नेपालमा मान्छेका आनीबानी थरि–थरि छन्, कोही दुई हात जोरेर नुगेर, कोही सीधा हात जोरेर मात्र, कोही छातीमा हात राखेर, कोही एकहातले, कोही धारे हातले, कोही हात मिलाएर, कोही गला मिलाएर त कोही हक गरेर नमस्कार वा दर्शन गर्ने प्रचलन छ । गर्नेले श्रद्धापूर्वक गरेको नमस्कार फर्काउनेले पनि स्नेहीपूर्वक फर्काउनु पर्दछ । एकहात उठाएर मात्र हुँदैन । नेपालका केही नमस्कारभोगीहरु अधिनस्थले नमस्कार गर्न बिर्संदा त्यस दिन ठुस्सिने तर सम्मानपूर्वक नमस्कार गर्दा एकहातले फर्काउने गर्दछन् । यसबाट नमस्कार गर्ने मानिसमा जोश जाँगर पनि हराउँछ र भोलिदेखि गर्ने नमस्कारमा गिरावट आउँछ । आफ्नो श्रद्धाप्रति अपमान भएको महशुस हुन्छ । यो शाारीरिक, मानसिक, नैतिक आध्यात्मिक र भावनात्मक कुनै पनि दृष्टिकोणले राम्रो होइन जसबाट मानिस बिना मूल्यमा पनि अमूल्य आध्यात्मिक लाभ लिनबाट बञ्चित हुन्छ ।

कोरोना भाईरस डिजिज (कोभिड–१९) को संक्रमणले ग्रस्त पारेको वर्तमान समयमा पनि उक्त महामारी फैलिन नदिन मानिसहरुको आपसी सम्पर्क कम गर्नु पर्ने हुन्छ । त्यसका लागि मानिसहरुको भेटघाटमा पूर्वीय शास्त्रीय अभिवादन संस्कार नमस्कार गर्नु नै सर्वत्र सर्वोत्तम हुन्छ न कि पश्चिमा संस्कृति अनुसारको हात मिलाउने र हग गर्ने । मानिस प्रकृतिको सर्वश्रेष्ठ बुद्धीजीवि प्राणी हो । मानिसमा चेतना हुन्छ, धैर्यता हुन्छ, अनुशासन हुन्छ अनि सबैभन्दा ठूलो कुरा त उसमा ठीक–बेठीक छुट्याउन सक्ने विश्लेषणात्मक विवेकशीलता हुन्छ । विवेकशील मानिससँग बिहानदेखि बेलुकासम्म जेजति मान्यजनहरू भेटिन्छन्, ती सबैलाई श्रद्धापूर्वक अभिवादन गर्दछन्, दश औंला जोरेर सम्मान गरेकै भरमा प्रतिष्ठा मात्र होइन भरपूर ऊर्जा प्राप्त गर्दछन् ।
नमस्कार बहुविधामा प्रयोग गरिने शब्दको रुपमा विकास भएको छ । यो मानिसलाई भेट्दा मात्र गरिंदैन, बिदाबादी हुँदा पनि गरिन्छ । त्यसैगरी टीका लगाएर आशीर्वाद ग्रहण गरेपछि, गल्ती गरेर माफ माग्दा, कसैले कसैलाई अन्जानमा कुल्चेर पनि नमस्कार गर्ने गरिन्छ । मन्दिरका देवीदेवता, वर, पिपल, बेल, स्वामीका रुख, बगिरहेको गंगा, पूल, साँझपख बाल्ने बत्ती, कुल्चिएको दुवो, नेपालको राष्ट्रिय जनावर गौमातालगायत सजवीनिर्जीव सबै प्राणी, वनस्पतिलाई श्रद्धाले गरिन्छ । यस अर्थमा नमस्कार बहुमुखी विधा र प्रयोजनमा प्रयोग गरिने पवित्र शब्द हो ।

सार्वजनिक प्रशासनका पछिल्ला सिद्धान्तहरुः नयाँ सार्वजनिक व्यवस्थापन, सुशासन, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन आदिले पनि जनतालाई जनार्दन हैसियतमा राख्ने मान्यता राख्दछन् । मुस्कानसहितको सार्वजनिक सेवाको निर्देशन गर्दछन् र उनीहरुलाई नमस्कार गरेर सम्मानपूर्वक सेवामा स्वागत गर्नुपर्छ भन्ने दिशामा राष्ट्रसेवकहरुलाई मार्गदर्शन गर्दछन् । यसबाट सेवाग्राही नागरिकहरुले आँफूलाई सेवाप्रदायकले अधिकारिक मान्यता दिएको महशुस गरी सार्वजनिक सेवाप्रति उत्प्रेरित हुन्छन् । अन्ततः नागरिक सामू निजामती सेवा र अन्य सरकारी सेवाहरुको गरिमा सदैव उच्च रहन्छ । त्यसैले अमूल्य तर विना मूल्यको नमस्कार सबैतिर सबैले प्रयोग गरौं, लाखौं, करोडौंको आशीर्वाद, सन्तुष्टी र भरपूर ऊर्जा प्राप्त गरौं ।

(सहायक निर्देशक, नेपाल विद्युत प्राधिकरण, तनहुँ जलविद्युत आयोजना)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width