मुस्लिम समुदायमाथि संकीर्ण सोच किन ?

मोहम्मद वाहिद अली
चैत्र ८, २०७७

‘कुनै एक व्यक्तिको जीवन बचाउनु सम्पूर्ण मानवजातिको जीवन बचाउनु र कुनै एक व्यक्तिको हत्या गर्नु मानवजातिको हत्या गर्नु जस्तो हो’ कुरान ५ः३२ । यो कुरानको महत्वपूर्ण सन्देश हो । कुरानभित्र यस्ता ६२३६ आयत (वाक्य) हरु छन् जसले केवल शान्तिको सन्देश दिने गर्दछ । गैर मुस्लिम समक्ष यी सन्देश पुर्‍याउनु भनेको धर्म परिवर्तन गराउने भनिन्छ । कानुनत यो गलत हो । तर इस्लामोफोबियाहरु इस्लामलाई अशान्ति धर्म हो भनेर गलत प्रचार निर्बाधरुपमा गरिरहेका छन् । वास्तवमा यसलाई पनि कानुनत गलत मान्नु पर्दछ । कुनै एक व्यक्तिले गरेको गल्तीलाई बारम्बार इस्लाम धर्म तथा इस्लाम धर्मका अन्तिम सन्देष्टा (उहाँमाथि शान्ति होस्) माथि समाचार, आर्टिकल, कार्टुन लगायत विभिन्न माध्यमबाट दोष, भय, भ्रमको प्रचार गरिन्छ । विश्व विख्यात समाचार संस्थाहरुले सो भ्रमलाई सही साबित गर्न ठूलो कसरत गर्दछन् । कालोलाई सेतो अनि सेतोलाई कालो बनाउने स्वार्थसहितका उनीहरुको एजेन्डाले संसारलाई फनफनी घुमाइदिन्छन् । जुन भूमरीको वेग कहिलेकाहीँ हाम्रो देशभित्र पनि प्रवेश गर्दछ । केही भिजिलान्तेहरु आफ्नो ख्यातिको दुरुपायोग गर्दै इस्लाममाथि हमला गर्दछन् ।

नेपाली मुस्लिमका निम्ति कालो इतिहास

इराक घटना हरेक मुस्लिमको मानसपटलमा अझै ताजा छ । २०६१ साल भदौ १६ गते इराकमा काम गर्न पुगेका १२ नेपालीलाई अतिवादी समूहले विभत्स हत्या गरेको थियो । सो घटनाले नेपालभित्र उग्ररुप लिएको थियो । घटनाको विरोधमा उत्रेका विरोधीको निशानामा काठमाडौंका मस्जिद, मुस्लिम व्यापारीहरु तथा सर्वसाधारण परेका थिए । धर्मबाहेक नेपाली मुस्लिम र इराकबीच दूर दूरसम्म कुनै सम्बन्ध थिएन, छैन । त्यसो त विश्वमा घट्ने कुनै पनि मुस्लिम आरोपित आपराधिक घटनामा आजसम्म नेपाली मुस्लिमको संलग्नता देखिँदैन तथापि यो घटनाले नेपाली मुस्लिम समुदायलाई स्तब्ध बनायो । फलत लामो समयसम्म नेपालभित्र मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोणमा गहिरो प्रभाव पार्यो । यो सबालमा सरकार पनि हाम्रो समुदायसँग निष्पक्ष रहेन । हालका दिनहरुमा पनि हाम्रो मस्जिद मदरसामा सुरक्षा निकायबाट गोप्य निगरानी रही आएको छ ।

सम्बन्धविच्छेद हुनुपूर्व जोडीलाई मिलाउने प्रयास असफल भएमा साक्षी राखी ३ तलाक बोलिन्छ । महिला वा पुरुष दुवैको समान हक अधिकारको व्यवस्था हुन्छ । अदालत र कानुनले पनि यही निर्णय गर्दछ । तथापि यो विषयलाई केवल मुस्लिमहरुको कुरीति भनेर गज्जबले प्रचार भइरहन्छ ।

केही समय पहिले भारतमा चलेको ३ तलाकको सम्बन्धमा नेपालमा पनि धेरै बहस चलाइयो । खास गरी सामाजिक सञ्जालहरुमा यसको तर्कवितर्क हुन थाल्यो । तलाक जसको नेपाली अर्थ सम्बन्धविच्छेद हुन्छ । पुरुष अथवा महिला जसले पनि विवाहको सम्बन्धलाई अघि बढाउन नसकिने निधो गरेपछि इस्लामिक प्रक्रियामार्फत ३ तलाक बोलिने गरिन्छ । सम्बन्धविच्छेद हुनुपूर्व सम्बन्धविच्छेद गर्ने जोडीलाई सकेसम्म मिलाउने प्रयास गरिन्छ । यो प्रयास असफल भएमा साक्षी राखी ३ तलाक बोलिन्छ । जसमा महिला अथवा पुरुष दुवैको हक अधिकार पाउने अवस्था रहिरहन्छ । सम्बन्धविच्छेदको सवालमा अदालत र कानुनले पनि यही निर्णय गर्दछ । तथापि यो विषयलाई केवल मुस्लिमहरुको कुरीति भनेर गज्जबले प्रचार भइरहन्छ । हिन्दु धर्ममा सिन्दुर हालेपछि बिहे कायम हुन्छ भने जस्तो तलाक बोलेपछि सम्बन्धविच्छेद हुन्छ । यो धर्मिक प्रक्रिया हो भनेर बुझाउन मुस्लिम समुदाय सक्षम भएन ।

अजान ( प्रार्थनाको निम्ति आऊ भन्ने पुकार) पनि पछिल्लो समय धेरै चर्चा हुने विषय मध्य एक हो । भारतीय गायक सोनु निगमले सुरु गरेको अजानको विरोध नेपाल आउन समय लागेन । गायत्री मन्त्र ॐ भूर् भुवः स्वः । तत् सवितुर्वरेण्यं । भर्गो देवस्य धिमहि । धियो यो नः प्रचोदयात् । । लगायत धेरै मन्त्र अनि भजन सबै नेपालीलाई कण्ठस्थ छ । किन कि हरेक टोल छिमेकमा रहेका मन्दिर अनि रेडियो, टेलिभिजन आदिको माध्यमबाट हामीले दैनिक सुन्ने गर्दछौं । मन्दिरका घन्टी, गुम्बाको मन्त्र हामीलाई स्वीकार भयो अजान धेरैका निम्ति बिझाउने भयो । विभिन्न जिल्लाहरुमा सिडियोको ठाडो आदेशमा माइकमा अजान दिन रोक्ने काम पनि भयो । यस्तै मस्जिद, मदरसा अनि कबरस्थानको जग्गा, स्थान लगायतको विषयमा विमतिहरुले कहिलेकाहीँ चर्को रुप लिने गर्दछ । यो दिगो समस्या हामीबीच रही आएको छ ।

कोभिडले संसारभरि महामारीको रुप लिँदै गर्दा नेपाली मुस्लिमलाई कोरोना फैलाउने निराधार आरोप लगाइयो । कोरोना भाइरसले जस्तै इस्लामोफोबियाले नेपाली मुस्लिम माथि तीव्र हमला गर्ने मौका मिल्यो । कोरोनाले केही भिजिलान्तेहरुको नियत साफ पारिदियो । जनकपुरको महावीर चोकमा पैसामा थुक लगाएर फ्याँक्ने २ मुस्लिम महिला तथा उदयपुरमा तब्लिगी जमातमा आबद्ध मानिसले कोरोना संक्रमण फैलाएको हो भन्ने विषयलाई भुसको आगो जस्तो फैलाइयो । कतिपय सञ्चारमाध्यमले तब्लिगी जमात त्यहाँ ‘लुकेर बसेको’ भनेर मुख्य हेडलाइन बनाए । देशभरिका मदरसाहरुमा सबैको निगरानी बढ्न थाल्यो । मदरसाको शिक्षकहरु शंकाको घेरामा रहे । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लाञ्छना लगाउने गरी भ्रामक सम्प्रेषण तथ्यलाई फैलाउने एउटा मोर्चा नै लाग्यो । तथापि यो दुवै विषय कृत्रिम र कमजोर थिए । यो हल्ला लामो समय टिकिरहन सकेन । किन कि हल्ला जस्तो वास्तविकता थिएन । तर केही संकीर्ण मानसिकता भएका मनिसहरुको निम्ति सामाजिक सद्भाव खल्बल्याउन ठूलो अवसर मिल्यो । यो घटनाहरुमा कति मानवीय त्रुटि थिए होलान् तर यसको मानसिक तनाव सम्पूर्ण मुस्लिम समुदायमा पर्न गयो ।

यी सबै केवल प्रतिनिधि घटनाहरु हुन् । यस्ता समस्याहरु समाधान गर्न कार्य योजनासहित अधिकार सम्पन्न आयोगको आवश्यकता भयो । जस अनुरुप मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा मुस्लिम समुदायको सशक्तीकरण गर्नको लागि नेपालको संविधानको धारा २६४ बमोजिम मुस्लिम आयोग गठन भयो । आयोगको काम, कर्तव्य र अधिकारको पहिलो बुदामा मुस्लिम समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नु पर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ । हिजोको दिनहरुमा मुस्लिम समुदायको हक, अधिकार राज्य सञ्चालन गर्ने पार्टी अथवा व्यक्तिको विवेकमा भर पर्ने गर्दथ्यो । मुस्लिम आयोगको गठनले सम्पूर्ण मुस्लिमलाई अधिकार प्राप्त गर्न सहजता गरिदियो । जुन मुस्लिम समुदायको निम्ति ठूलो उपलब्धि हो ।

मुस्लिम आयोगको गठन भएसँगै आयोगलाई विवादित बनाउने प्रयास धेरै भएका छन् । जसमा धार्मिक संकीर्ण सोच भएका भिजिलान्तेहरुदेखी आफूलाई समाजमा अब्बल प्रमाणित गर्न खोज्ने मुस्लिम अगुवा तथा व्यक्तिगत दुश्मनी भएकाहरु समावेस छन् । आयोग एउटा व्यक्ति होइन यो सम्पूर्ण मुस्लिमहरुको साझा संस्था हो । पछिल्लो समय आयोगलाई पुन विवादित बनाउने प्रयास भएको छ । मुस्लिम आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्णय कार्यान्वयनका लागि पठाएको पत्र जसमा मुस्लिम बालिकालाई सरकारी तथा निजी विद्यालयमा अध्ययन गर्नको लागि लगाउने पोसाक मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक मान्यतालाई सम्मान गर्दै विद्यालयमा प्रयोग हुने कपडाको मुस्लिम समुदायले लगाउने पहिरन (कुर्ता, सुरुवाल तथा हिजाब) नै लगाउन दिने व्यवस्था गर्नका लागि नीतिगत व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गर्ने भनी निर्णय भएकाले निर्णय कार्यान्वयनका लागि पठाएको निर्णयानुसार अनुरोध भनिएको छ । जुन मुस्लिम आयोगको परिच्छेद ३ आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धान गरी त्यस्तो भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने मुस्लिम आयोग ऐन, २०७४ मा भने बमोजिमको अधिकारको प्रयोग गरेको हो ।

यो पत्रको सम्बन्धमा सामाजिक सञ्जालमा निकै मतभेद जाहेर भएको छ । जसमा कहलिएका गैर मुस्लिम विद्वानदेखि उच्च पदस्थ मुस्लिम तथा पत्रकार सामेल छन् । विद्यालयमा प्रयोग हुने कपडाको मुस्लिम समुदायले लगाउने पहिरन (कुर्ता, सुरुवाल तथा हिजाब) नै लगाउन दिने व्यवस्था भनेर किन भनियो । यो आयोगको संकुचित सोच भयो । महिला स्वतन्त्रताको हनन भयो, जस्तो आशयका लेख, स्ट्याटसहरु आउँदै गर्दा पुन यस्ले नेपाली मुस्लिम समुदायलाई विवादित बनाएको छ । पत्रको मर्म अनुसार यदि कुनै मुस्लिम महिला दिदीबहिनी पहिरनका कारण शिक्षा लिनबाट बञ्चित छन् भने उनीहरु निर्बाधरुपले पढ्न पाऊन् भन्ने हो । पत्र अनुसार नेपाली मुस्लिम छात्राहरुलाई मुस्लिम पहिरन लाद्न खोजिएको थिएन तर पत्रको गलत व्याख्या गरी गलत सावित गर्दै पुन मुस्लिमहरुको संकीर्ण सोच हुन्छ भन्ने दुश्प्रचार गरियो । आयोगको गलत निर्णयप्रति हामी सबैको खबरदारी हुनु पर्दछ । तर केही गलत नियतका साथ बार बार आयोगलाई विवादित बनाउनु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नुजस्तो हो । यसले केवल इस्लामोफोबियाहरुलाई मात्र फाइदा पुग्नेछ ।

आयोगमात्र होइन विश्वभरि मुस्लिमका हरेक गतिविधिलाई केवल संकीर्ण सोच, संकीर्ण धर्मको रुपमा प्रस्तुत गरिन्छ । जसको सिको गर्दै नेपालमा पनि हालका दिनहरुमा यस्तो कुराहरुलाई धेरै प्राथमिकता दिँदै गएको देखिन्छ । संकीर्ण सोच कसको भन्ने निर्णय आफ्नो सोचमा भर पर्ने कुरा हो । सिसन बानियाँ, भीम उपाध्यायको दाह्री मनमौजी हुने मुस्लिमको दाह्री अतिवादी हुने । योगी विकासानन्द, अरुणकुमार सिंह ‘स्वामी आनन्द अरुण’ का कुर्था सुरुवाल पाकिस्तानी नहुने । जैन धर्मावलम्बीको सेतो मास्क, ब्रह्मा कुमारीको सेतो बस्त्र साथै बौद्ध भिक्षुको पहेलो बस्त्र अतिवादी नहुने । कन्या क्याम्पसको कुर्था सल्बार अनि संस्कृत विश्वविद्यालयका धोती, कछाड, कुर्था अनि मुन्डन गरिएको कपालमाथि कहिल्यै स्वतन्त्रताको आवाज कहिले नउठ्ने । गुम्बाका लामा र आनीहरु साथै कर्णाली प्रदेशको हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्दछन् यी सवाल कहिले नउठ्ने । यी सबै स्वीकार्य हुने । तथापि मुस्लिमका सामान्य कुराहरुको बबन्डर मच्चाउनु भनेको केवल मुस्लिम धर्ममाथि संकीर्ण सोच हुनु हो ।

धर्मलाई आफू अनुकूल व्याख्या अपव्याख्या गर्दै आफू अनुरुप ढालेर हामी आजको यो रुपको मुस्लिम भयौं । जस्तो ती गोबरले लिपपोत गरिएको चुल्हो भान्छामा बुरुक्क उफ्रीभित्र गएर भोजन गर्ने शुद्ध बाहुनहरु भेट्न गाह्रो छ । मुस्लिम लगायतका अन्य सम्पूर्ण धर्मावलम्बीको उस्तै अवस्था छ । यदि इस्लामिक मूल्यमान्यता अनुसारको माग मुस्लिम आयोगले माग्दै गर्दा आयोगको माग संकुचित हुन्छ भने हामी आफ्नो तरिकाले चली आएका थियौं मुस्लिम आयोगको आवश्यकता किन भन्ने प्रश्न पक्कै पनि गलत नहोला । बहुसंख्यकलाई रिझाउने क्रममा आफ्नो अस्तित्व नाश गराउनु मुर्खता हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width