तिनले भनिन्, ‘म नाङ्गै छु !’

मदन भण्डारी
जेठ १४, २०७९

झम्के साँझमा हामी मनाङ पुग्यौँ । मुलुककै विशिष्ट ठाउँमा होइन, अर्कै लोकमा पुगेको अनुभूति भैरह्यो । विशाल–विशाल चट्टानी पहाडका खोंचमा खस्दै गरेको अँध्यारो र चिसो हावाले अन्यमनस्कको भाव उठ्थ्यो । भगवान् कृष्णले पुत्रशोकका अर्जुनलाई यस्तै–यस्तै चन्द्रलोकमा पुर्‍याएका थिए । मलाई साथी कृष्णले ढिपी गरेरै मनाङ ल्याए । जरोटुप्पोले नियात्रा लेखनको अभियान चलाउँछ भन्ने, यात्रा पनि त गर्नुपर्‍यो नि ! कृष्णजीले मलाई उकासेका थिए । बजार पुछारको गाडी पार्कबाट हामी २/३ मिनेटको उकालो उक्ल्यौं । बत्तीले बजार झिलिमिली थियो । हामी तिलिचो होटलको बोर्ड खोज्दै थियौं । कृष्णजी मोना होटलको झकिझकाउ कम्पाउण्डभित्र छिरे । म बाहिरै ठडिएँ । कृष्णजी जतासुकै पेपर बाँड्थे । रिसेप्सनमा उभिएकी महिलालाई मैले सुरुमा त डल हो कि ठानेको थिएँ । हिउँजस्तै गोरी तिनले मुसुक्क हाँसेर कृष्णजीलाई नमस्ते गरिन् । तिनको मुस्कानले कतै देखे–देखे जस्तो लाग्यो । छिटै सम्झेँ, तिनी देवी थिइन् । टिसर्ट र जिन लगाउने उहिलेकी फुच्ची देवी अहिले पातलो गुलाबी साडीमा थिइन् । तिनको छाती ब्रेसियरले मात्रै छोपिएको थियो । मुटु छेड्ने चिसोमा त्यस्तो पहिरन । म पनि भित्र छिरें । भित्र न्यानोको व्यवस्था रहेछ । ‘देवीजी, तपाईं यहाँ ?’ ‘हो सर, म नाङ्गै छु !’

बल्लभमणि उपाध्येको ठूलै थियो इज्जत
छोरी पोइल जानाले भयो बेइज्जत !

०४७ सालमा बहुदल भित्रिँदै गर्दाको तीजमा पोखरामा यस्तो गीत निकै चलेको थियो । क्याम्पस पढाउने ठूला पण्डित बल्लभमणि उपाध्यायकी १३/१४ वर्षकी छोरी देवीले ३०/३२ का लोकबहादुर घोडासैनीसँग भागी बिहे गरेकी थिइन् । मणि बूढाले फेवा तालमा डुबेर आत्महत्या गरेको हल्ला फैलियो । लास भेटिएन ।

हामी रिसेप्सनभित्रको सानो कोठामा लगियौं । कफी आयो । कृष्णजी र म आम्नेसाम्ने बस्यौं । देवी मेरो नजिकै बसिन् । तिनको शरीरको सुगन्ध फैलियो । मैले कृष्णजीलाई भनें, ‘उहाँ मणि सरकी छोरी देवी !’ ‘ए…..!’ कृष्णले लामो लेग्रो ताने । उनी छिटो–छिटो कफी सिध्याएर ‘म एकदुई ठाउँ पत्रिका फाल्छु है’ भन्दै उठे ।

‘देवीजी, तपाईं दाइसँग कोरोला टुर गएको वर्णन सुनाउनु हुन्थ्यो !’
‘तपाईंलाई अझै याद छ ?’
‘राम्रोसँग याद छ, प्रलेसको कार्यक्रममा तपाईंलाई बोल्नै दिइएको थियो !’
‘अहिले त कोरोला गाडी जान्छ अरे !’
‘लोक सर खै त ?’
‘उहाँ ठमेलमा होटल चलाउनुहुन्छ !’
‘यहाँ तपाईं ?’
‘अँ, यहाँ मै चलाउँछु । यो बेचेर अब पोखरा जाने मन छ !’
‘हजुरको सन्तान ?’
‘भएन, लोकेको पहिल्यै श्रीमती र छोराछोरी रहेछन् । उसले परिवार नियोजन गरिसकेको रहेछ । उसले मलाई खैरेसँग पोर्न फिल्म खेल्न कर गर्‍यो । हामीले डिभोर्स गर्‍यौं ।’
देवीको कुराले मलाई भाउन्न भयो । कृष्ण आउँदा राहत पाएँ ।
‘तिलोचे पसें, हाम्रा लागि डिएसपी सा’पले कोठा भन्दिसक्नु भा’रैछ !’
‘देवी, हामी जान्छौं !’ म नमस्ते गर्दै उठें । कोठामा जीवनका रङ र रुपबारे कुरा गरियो । अघि भर्खरै हामीलाई मंगलले अचम्मित पारेका थिए । ५० नपुग्दैका मंगल विकका दाँत झरेछन् । खुट्टो भाँचिएछ । अनुहारभरि चोट । उनले हामीलाई चामेको चुनावको नतिजा सुनाएका थिए :

‘चामेको अध्यक्षमा कांग्रेसले हार्‍यो, एमालेले जित्यो । सदस्यमा मेरी श्रीमतीले जितिन् । जुलुस आउँदै छ । म बुढीलाई खादा लगाइदिन आएको….!’ उनले खल्तीको खादा देखाए । अनुहारमा खुसी छरिएको थियो । यो हालतका श्रीमान्, त्यो हैसियतकी श्रीमती !

चुनावको परिणाम आउन थाल्दा ०७९ जेठ ७ गते बिहानै हामीले पोखरा छाड्यौं । तनहूँको मानूँ, चूडामणि खनालको घरमा पस्यौं । साहित्यकार खनाल चुनावकै राती बितेका थिए । शोक सन्तप्त परिवारजनलाई भेट्यौँ । भीम रानाभाट अघिल्लै दिन पुगेछन् । हामी निस्कँदा डा. कुसुमाकर न्यौपाने, डा. लक्ष्मीशरण उपाध्याय पुगे । हामी सडकमा झरेर बेंसीसहरतिर हुइँकियौं । बेँसीसहरमा ‘अन्तरङ्ग’ को कार्यालय पहिल्याउन गाह्रो परेन । साहित्यकार–पत्रकार नवराज पहाडीको स्वागत प्राप्त गर्‍यौं ।

सिजन अफ हुन थाल्दा हिमाली भेगको यात्रा थाल्नुभएछ । लसुनपानी खाइरहनु होला

‘सिजन अफ हुन थाल्दा हिमाली भेगको यात्रा थाल्नुभएछ । लसुनपानी खाइरहनु होला । सशस्त्रका डिएसपी मेरा भाञ्जा हुन्, भेट्नु होला !’ पहाडीजीको सुझाव थाप्लोमा राख्दै हामीले चामेको माइक्रोबस समात्यौँ । …बाहुन डाँडासम्म किताब पढियो, ठाउँमा पुगिएको थिएन । पुस्तुनप्रति मनमा मोह थियो । अग्लै ठाउँमा जन्मे हुर्केका भएर होला, माधव घिमिरे राष्ट्रकविको उचाइसम्म पुगेका थिए । उनका कवितामा मस्र्याङ्दीका अनेक छाल देख्न सकिन्छ । ढुंगैढुंगाको कापको बाटो जोखिमपूर्ण, अलिकति बितल परे छ्वाङ्ङै मस्याङ्दीमा खसिने । मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको…मैले आवाज ननिकालेरै गीत गाएँ । म्यार्दी खोलाको पुल तरेपछि लमजुङ छाडिने, मनाङ जिल्ला सुरु हुने रहेछ । मैले मनाङ टेकियो भनेँ । गुरुजीले मनाङ पुग्न त चामेबाट पनि गाडीमा दुई घन्टा हिँड्नुपर्छ भने । तालभीर गाउँ देखिने ठाउँमा चिया खान रोकियौँ । ०७४ को बर्खामा यहाँ बाढीले उत्पात मच्चाएको दृश्य टिभीमा देखिएको थियो । यस्तो सधैँको खतरा ठाउँको बस्तीलाई सरकारले किन अन्यत्र सार्दैन होला ? मनमा प्रश्न उब्जे । यस्ता अनुत्तरित प्रश्न मनमा उब्जिरहन्छन् । पोखरामा एमालेकी उपमेयर र मेयरमा नेकपा एसका उम्मेद्वारले जित्ने पक्कापक्की हुँदै थियो । काठमाडौंमा वालेन शाह र धरानमा हर्क राई कुनै बेलाका मदन भण्डारीभन्दा पनि उज्ज्वल सम्भावनाका साथ चम्किरहेका थिए । चोर, डाँका, हत्यारा, देश बेचुवा नेताले यिनलाई पनि सडाउने शंका मनमा उब्जिन्थे । बाटामा सैयौँका संख्यामा हिम पहराका झरना देखिए । कालाम्मे अँध्यारो हुँदा मात्रै चामे पुगियोे । गुरुजीले जहाँ बस्न भने हामी त्यही होटलमा बस्यौं । अध्यक्षका कांग्रेस उम्मेद्वारको होटल परेछ । सबै सरकारी कार्यालय सदरमुकाम चामेमा रहेछन् । बिहानै उठेर डुल्दा छक्क परियो; लमजुङ, हिमाल, मनासुलु, अन्नपूर्ण आदिले वेष्टित यो ठाउँ मस्र्याङ्दीको ठ्याक्कै किनारमा अवस्थित रहेछ । दायाँबायाँ घट्टे खोला र ठाडे खोला । साम्नेमा गजधम्मको नाङ्गो चामे पहाड । परारको बाढीले धेरै क्षति गरेको । लोकप्रिय माविको भवन मुश्किलले झुण्डिएर बाँचेको । हामीले बिहानको खाना खायौं र मस्र्याङ्दी तरेर खास मनाङ्तिर रवाना भयौं । फाँटमा ४/५ फिटकै उचाइमा फल्ने इटालियन स्याउको बगैँचा देखियो । स्वर्गद्वारी पहाड देखियो । प्यूठानको स्वर्गद्वारी फूलैफूलले ढाकिएको छ, मनाङ्को स्वर्गद्वारीमा घाँसको पित्को छैन । यसलाई चट्टानी पहाड नभनेर किन स्वर्गद्वारी भनियो होला ! दार्जिलिङ्को एउटा फुच्चे डाँडोलाई रक्की हिलको नाममा प्रचारित गरेर पर्यटक ओइर्‍याइन्छ । स्वर्गद्वारी हेर्न कति नेपाली पुग्लान् ? यस्तै उपेक्षाले हामीले लिम्पियाधूरा र लिपुलेक गुमाएका छौँ ।

बाटोमा यता आउँदैको गाडीलाई साइड दिन हाम्रो गाडी थोरै ब्याक् गर्नुपर्‍यो । आउँदैका गाडीबाट ओर्लने सज्जनद्वय मनाङ्को चुनाव सकेर फर्किंदैका सशस्त्रका डिएसपी र सिडियो रहेछन् । उनीहरु उत्रे, हामी पनि उत्रियौं । ‘तपाइँहरु पत्रकार ?’ अभिवादनका साथ हामीलाई सोधियो । नमस्ते गर्दै हामीले भन्यौँ, ‘हजुर, पोखराबाट आएका हौँ !’

‘तिलेचोमा बस्नु ठीक होला, केही समस्या परे फोन गरिहाल्नु होला !’
‘हजुर हस् !’ हामीहरु आ–आफ्ना गाडीमा चढ्यौं । हाकिमहरु दायित्वबोध गर्ने जस्तै लागे ।

हुम्दे एयरपोर्टमा कहिलेकाहीं हेलिकोप्टर जाँदो रहेछ । त्यहाँको फाँटमा पनि स्याउ खेती सपारिँदै रहेछ । ठाउँठाउँको ढलान बाटोमा सिंहदरबारको अगाडि झैँ गाडी गुड्छ । हामीले संसारकै अग्लो ताल तिलिचो पुग्ने आँट त गरेनौँ, तिलिचे होटलमा चाहिँ बास बस्न पुग्यौँ । अनेकौं माने र पुराना गूम्बाको दर्शन गर्‍यौं । गाइड साथीहरु बटुलेर जरोटुप्पो साहित्यिक सभा गर्‍यौं । मीठामीठा चुट्किला सुनियो । कृष्णजीले दमदार मुक्तकहरु सुनाए । चारै बजे उठिएछ । पाँच बजे पैदल यात्रा थाल्यौं । टाडा–टाडामा फट्याकफुटुक घर देखिन्छ, लामा–लामा मानेहरु कहाँका मान्छे जम्मा भएर बनाए होलान् ? तन लखतरान भए पनि मन रौसिइरह्यो । कृष्णजीकी मेडमले फोन गर्नुभयो । स्कुटर लिएर आउनु त मेडम् हिँड्न गार्‍हो भयो । कृष्णजीले ठट्टा गरे । तीन घन्टा पैदल हिँडेर हुम्दे आइयो । खाजा खाइयो । सशस्त्रका साथीहरुको सौजन्यमा गाडी पाइयो । बेँसीसहरको बासले थकाइ नमेटिने हुँदा पहाडीजी कहाँ नपसेरै पोखरा आउने निधो गरियो ।

‘फटाहा लोकेको संगत छुटेछ, देवी अब पोखरामा धेरै ठूलो पर्यटन व्यवसायी बन्न सक्छिन्’ कोत्रे पुल तर्दै गर्दा कृष्णजीले भने । कृष्णप्रसाद बाँस्तोला आदर्श समाज दैनिकका संस्थापक, प्रधान सम्पादक, स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष । देशैभरि संस्था फैलाउन प्रयत्नशील । स्वतन्त्रताको निकै मर्मज्ञ । मेरा मित्रलाई म जेएस मिलकै रुपमा देख्छु ।

मैले अघोर प्रतिभाशाली र अनुपम् सुन्दरी देवीलाई सम्झें । सबै मान्छे कपडाभित्र नाङ्गै हुन्छ । हाम्रा नेता साहै्र घिनलाग्दा भए । आफ्नो लाज त आफैंले ढाक्ने हो । खै कुन अर्थमा हो, तिनले भनेकी थिइन्, ‘म नाङ्गै छु !’

Related News

सम्बन्धित समाचार

hero news full width