नेपाली कार्ल माक्र्स : जबजका प्रणेता मदन

झपट रानाभाट
असार १४, २०७९

नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, नेपाली भूगोलका कार्ल माक्र्स जनताको बहुदलीय जनवादका प्रतिपादक, सबै नेपाली जनसमुदायका बराबर र प्यारा नेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

नेपालको पूर्वी क्षेत्रमा रहेकोे ताप्लेजुङ र ढुंगेसाँघुमा बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको माइला छोराको रूपमा मदन भण्डारीको जन्म भएको हो । उनका बुबालाई गाउँलेहरुले सुब्बाको मान दिएका थिए । जसले गर्दा उनको बाल्यकाल राम्रो वातावरणमा बित्यो । २०१५ सालमा गाउँकै हिउँदे स्कुलमा भर्ना हुनु भएको उनले २०२३ सालमै गाउँको स्कुलको पढाइ पूरा गरे । तेज स्मरणशक्ति भएकै कारण बाल्यकालमै चण्डी याद गर्नसक्ने प्रतिभाकै कारण उनको नाम गाउँभर प्रख्यात थियो। २०२४ सालमा उनकोे परिवार मोरङको इटहरीमा बसाइँ सर्‍यो । उनी आफ्नो थप अध्ययनका लागि भारत गए । २ वर्ष मथुरा, त्यसपछि देहरादून हुँदै बनारस पुगेका उनले २०३३ मा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे ।

मदन भण्डारीको राजनीतिक जीवनको सुरूआत पुष्पलालसित भेटेपछि भयो । पुष्पलालसित भेट भएको १ वर्षमा पुष्पलालको पार्टीले गठन गरेको जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य भए । २०३० सालमा उनी भूमिगत भए । २०३३ सालमा मदन भण्डारीलगायत नेताहरूले मुक्तिमोर्चा गठन गरे । त्यसपछि मुक्तिमोर्चा गठन गरेका नेताहरुले पुष्पलालसित विद्रोह गरी कोअर्डिनेसन केन्द्रमा आबद्ध भए । मुक्तिमोर्चालाई त्यसमा मिलाए । यो संगठन विकास हुँदै जाँदा २०३५ साल वैशाख १० गते नेकपा माले स्थापना भयो, उनी गौरवशाली पार्टी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य भए ।

प्रखर वक्ता र साहित्य लेखनमा समेत विशेष अभिरुचि राख्ने उनी २०४१ सालमा तत्कालीन नेकपा मालेको पोलिटब्युरो सदस्य भए । २०४६ सालको जनआन्दोलनपछि भूमिगत जीवनबाट बाहिर आई होनहार युवाहरूको आकर्षणको पार्टी तत्कालीन नेकपा माले र मनमोहन अधिकारीलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विश्वास कमाएका पुरानो इतिहास बोकेका पाका नेताहरु भएको नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी एकीकरण गरी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले) को अध्यक्ष पूर्व पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र महासचिव मदन भण्डारी बने । अहिले आम सच्चाइसहित सार्वभौम सच्चाइको नजिक पुगेको सिद्धान्त बहुदलीय जनवादको नीति प्रतिपादन गरेका उनले २०४८ साल वशाख २९ गते भएको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट तत्कालीन बहालवाला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरी सर्वाधिक चर्चाको शिखरमा पुगे । साथै मनमोहन अधिकारी र उनले नेतृत्व गरेको तत्कालीन नेकपा एमाले एक्लैले अरु कम्युनिस्ट पार्टीबाहेक पनि संसदमा कांग्रेसको ११२ सिटविरुद्धमा ६९ सिटसहित विजयी तुल्याए ।

तत्कालीन राजालाई चुनौती र टक्कर दिएर थरथर कमाउन सक्ने खुबी भएका प्रखर वक्ता मदन भण्डारीको भाषण जादुमयी थियो

बहुदलीय व्यवस्थाको स्थापना भएपछि बाहिर आएका उनको भाषण सुन्न टुँडिखेल खुल्ला मञ्चमा लाखौं जनसमुदायहरु निकै टाढाबाट आउने, घन्टौं उनको भाषण उत्सुकतापूर्वक सुन्न व्यग्र र धैर्यतापूर्वक रहने कुरा सामान्य थियो । सरल, मीठासपूर्ण र अनुप्राशयुक्त ठेट भाषासहित कठोर राजनीतिक शब्दावलीमा भाषण गर्ने मदन भण्डारीका भाषणका प्रत्येक बुँदामा लाखौं जनसमुदायको ताली र सिटी बज्थ्यो । तत्कालीन समयमा राजालाई नै चुनौती र टक्कर दिन सक्ने, थरथर कमाउन सक्ने खुबी भएका प्रखर वक्ता मदन भण्डारीको भाषण जादुमयी हुन्थ्यो नै । त्यतिबेला विश्व प्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले प्रशंसा गर्दै कार्ल माक्स लिभ्स इन नेपाल (कार्ल माक्स नेपालमा जीवित हुनुहुन्छ) भन्दै नेपाली जनताका सर्वाधिक प्यारा नेता मदन भण्डारीको अन्तरवार्ता नै छाप्यो ।

मदन भन्थे,‘हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झौता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन । राजा मान सम्मान पाएर बसिरहून् । यो कुरा सुन्दाखेरि, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिस्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्, ‘हामी राजावादी भयौं रे ! अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति सन्तुलनको, वर्ग संघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरु जनतालाई सुम्पिएर मान सम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दा हामी अराजावादी भएका छैनौ, हामी राजावादी हैनौ, नोट गरेर राखे हुन्छ ।’ मदन विचारमा यति प्रष्ट थिए कि, मदनको यो कुराको पुष्टि ०६२/०६३ को जनआन्दोलन र हतियार बन्दको जनयुद्धको फ्युजनबाट भयो । मदनको रहस्यमय जिप दुर्घटना हत्याको २० वर्षपछि उनले प्रतिपादन गरेको सिद्धान्त सार्वभौम सच्चाइको नजिकैको आम सच्चाइ भएको छ ।

विसं २०३९ मा जननेता कमरेड मदनको बिहे अनेरास्ववियु पाँचौका तत्कालीन रापस विद्या पाण्डेसित भयो । उनका २ छोरीहरु उषाकिरण र निशाकुसुम छन् । मदनले आफ्नो राजनीतिक यात्राको सपनालाई मूर्त रुप दिन नपाउँदै २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा षड्यन्त्रमूलक ढंगले भयो। यो हत्याको छानबिन यद्यपि अहिले पनि हुनै पर्दछ ।

अल्पायुमै जीवन गुमाउनु परे पनि जननेता मदनले नेपाली क्रान्तिको बाटो देखाइछोडे, कम्युनिस्ट पार्टी त्यही जनताको बहुदलीय जनवादको प्रकाशमा लोकतान्त्रिक प्रक्रियामा उच्चतम श्रेष्ठता हासिल गर्दै सामाजिक परिवर्तन, विभेदको अन्त्यसहित सुखी नेपाली र समृद्ध नेपालको महान् अभियानमा विभिन्न घेराबन्दी र तिकडम अनि षड्यन्त्रहरुको सामना गर्दै निरन्तर अगाडि बढिरहेको छ, जनताको बहुदलीय जनवादको प्रतिपादनमा मदन भण्डारीसित सँगसँगै रहेका कमरेडहरुको साथमा यो अभियानको नेतृत्व केपी ओलीले गरेका छन् । जे जे नामले सम्बोधन गरे पनि जनताको बहुदलीय जनवाद जडसूत्रवाद हैन, समयनुरुप गतिशील छ, जसले विसर्जनवादलाई स्वीकार्दैन, जनताको बहुदलीय जनवाद र जनताको जनवादमा तथ्यगत हिसाबले सार हिसाबले हामी फरक देख्न सक्दैनौं ।

मदन हाम्रो पार्टीको मात्र नेता थिएनन् । उनी त सबै नेपाली जनसमुदायका प्यारा जननेता थिए । असाधारण क्षमताको सर्वाधिक प्रिय नेता थिए, दूरदृष्टि भएको सिद्धान्तकार थिए । समग्र नेपाली राजनीतिको लोकतान्त्रीकरणमा उनको योगदान अतुलनीय र अवर्णित छ । सन् १९९० को दशकमा लेनिनले विश्वमा सबैभन्दा पहिले स्थापना गरेको सोभियत समाजवादलगायत पूर्वी यूरोपका धेरै देशमा समाजवादी व्यवस्था ढलेपछि विश्वभरिका प्रतिक्रियावादीहरु एक गठ भएर अब कम्युनिस्टहरु संग्रहालयमा राख्ने वस्तुजस्ता भए, डाइनोसरझैं भए भनेर कोकोहोलो मच्चाइरहेको बेलामा, रोइलो गरिरहेको बेलामा सगरमाथाको देश नेपालमा ब्यालेटको माध्यमबाट कम्युनिस्ट पार्टीको शक्तिशाली झण्डा सगरमाथाको टुप्पोमा फहराउने क्रान्तिका महान् नायक, सिद्धान्तकार मदन भण्डारी थिए । उनले प्रतिपादन गरेको सिद्धान्तकै प्रकाशमा नेपाल अहिले निरन्तर समृद्धिको अबिश्रान्त यात्रामा छ । सबै कम्युनिस्ट पार्टीको मत जोड्ने हो भने त २०४८ सालकै चुनावमा कम्युनिस्ट पार्टी नेपालको सबैभन्दा ठूलो पार्टी थियो । यसकारण मदन भण्डारी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउनु हुने युगपुरुष थिए । उनको अभाव हामीले जहिल्यै महसुस गरिरहने छौं । छोटो समयमै कमरेड मदनले देखाउनु भएको इच्छाशक्ति, दृष्टिकोण, विचार र साहसले उनको भौतिक शरीर नभए पनि सदा अमर रहनेछन् उनको अस्वाभाविक निधन हिमालय पर्वतभन्दा गह्रौं छ । ७१ औं जन्मजयन्तीमा जननेता कमरेड मदन भण्डारीप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली । (सन्दर्भः मदन जयन्ती)

Related News

सम्बन्धित समाचार

hero news full width